भत्केका घर बनाउन २० लाख र ५ लाख बराबरको खाद्यान्न र लुगा पठाइयो
बुटवल — बुटवल उपमहानगरपालिकाले भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । त्यसअन्तर्गत भूकम्पले भत्केका घर तथा संरचना बनाउन २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
जाजरकोट र रुकुम पश्चिममा भत्केका संरचना बनाउन संघीय, प्रदेश र तत् स्थानीय सरकारको समन्वयमा उपलब्ध गराउने निर्णय गरेको प्रमुख खेलराज पाण्डेले बताए । उपमहानगरले ५ लाख रुपैयाँ बराबरको खाद्यान्न र लत्ताकपडा पठाएको छ ।
यसबाहेक संघसस्था र सामाजिक संस्थासँग उठाउन सुरू गरेको छ । अहिलसम्म राहत पठाउन बुटवल उद्योग वाणिज्य संघ बुटवल र रुपन्देही व्यापार संघले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यस्तै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनीले ५० हजार नगद र अन्य सहयोग गर्ने तथा पश्चिमाञ्चल ट्रक व्यवसायी प्रालि बुटवलले ४ वटा ट्रकको भाडा बराबर ४ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
बुटवलभित्रका संघसंस्थादेखि राहत दिन चाहनेसँग समन्वय गर्नका लागि बुटवल उपमहानगरपालिकाले विपद शाखाका प्रमुख योगेश चापागाईंलाई सम्पर्क व्यक्तिका रुपमा तोकेको छ ।
