काठमाडौँ — राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाएको सुन तस्करीका घटनाको थप अनुसन्धान गर्न सरकारले उच्च अदालतका न्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ । जाँचबुझ ऐन २०२६ को व्यवस्थाबमोजिम गठन भएको आयोगमा किशरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य छन् ।
कार्की र जोशी पूर्वप्रशासक हुन् । कार्की अर्थ र जोशी गृह मन्त्रालयको लामो अनुभव सँगालेका पूर्वप्रशासक हुन् । थापा प्रहरीको अतिरिक्त महानिरीक्षकबाट केही समयअघि अवकाश प्राप्त हुन् । थापाले सोमबारदेखि नै आयोगले काम अघि बढाउने बताए ।
सरकार र विपक्षी दलबीच भदौ ६ मा भएको समझदारीअनुसार मन्त्रिपरिषद् बैठकले आचार्य नेतृत्वमा आइतबार जाँचबुझ आयोग गठन गर्नुका साथै तत्काल काम अघि बढाउन क्षेत्राधिकार (टीओआर) समेत तोकेको छ ।
भदौ ६ को समझदारीमा असोज ५ गते आयोग गठन गर्ने र त्यसै दिनबाट काम थाल्ने उल्लेख थियो । तर, अनुसन्धानको क्षेत्राधिकार विषयलाई लिएर सत्तारूढ दल र एमालेबीच विवाद बढेपछि आयोग गठनमा ढिलाइ भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल न्युयोर्क र चीन भ्रमणबाट शनिबार फर्केलगत्तै आयोग गठनमा एमालेसँग समझदारी जुटाउन व्यस्त भएका थिए । आयोग नबनेमा एमालेले आइतबारदेखि नै संसद्को कारबाही अघि बढाउन नदिने निर्णय लिएको थियो । दबाबमा रहेका प्रधानमन्त्रीले संसद् बैठक सुरु हुनुअगावै आयोग गठन गरेर संसद् बैठकमा पुगेका हुन् । आइतबारबिहान एमालेसहित विपक्षी दलहरूसँगको बैठकमा आयोगको क्षेत्राधिकारको विषयमा सहमति भएपछि आयोग गठनको बाटो खुलेको थियो ।
‘सुन तस्करीको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र, निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न’ आयोगलाई दिइएको क्षेत्राधिकार सम्बन्धमा एमालेसँग भएको सहमतिमा भनिएको छ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धान पूर्ण नभएको भन्दै एमालेले आयोगलाई नयाँ शिराबाट अनुसन्धान गर्न ‘टीओआर’ दिनुपर्ने अडान लिएको थियो ।
आइतबार क्षेत्राधिकारको विवाद मिलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । ‘सीआईबीले गरेको छानबिनमा ‘थप अनुसन्धान गर्नुपर्ने भएमा’ भन्ने शब्द राखेर जाउँ भन्ने थियो तर एमालेले सीआईबीको छानबिनलाई विश्वास नगरेर निष्पक्ष र स्वतन्त्र छानबिन गर्न दिनुपर्छ भन्ने माग राख्नुभएको थियो,’ लेखकले भने, ‘यी दुवैका बीचबाट सहमति जुटाउने काम भएको हो ।’ एमाले प्रमुख सचेतक महेश बर्तौलाले सुन तस्करीको जालो भत्काउने गरी आयोगले काम गर्ने भरोसा भएको बताए । ‘आयोगले निष्पक्ष र स्वतन्त्र ढंगले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनेमा भरोसा राखेका छौं,’ उनले भने ।
