प्रधानमन्त्रीले राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूलाई बालुवाटार बोलाए

आश्विन १४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — संसद् सञ्चालनका विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक दलका नेताहरूलाई बोलाएका छन् । सुन तस्करीको छानबिन गर्नका लागि आयोग बनाउने सहमति भएको तर त्यसको कार्यान्वयन नभएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री दाहालले संसद्‍मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका नेताहरूलाई प्रधानमन्त्रीले छलफलमा बोलाएका हुन् । 

प्रधानमन्त्री दाहालले आइतबार बिहान बालुवाटारमा राजनीतिक दलका नेताहरूलाई बोलाएका हुन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले दलहरूबीच भएको सहमति कार्यान्वयनका जुन विन्दुमा अड्किएको हो त्यसबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न नेताहरूलाई बोलाएको जानकारी दिए । 'प्रधानमन्त्रीले राष्ट्रिय मान्यताप्राप्त दलहरूलाई बोलाउनुभएको छ । सुन तस्करीको छानबिन गर्न भनेर आयोग बनाउने सहमति भएको थियो संसद् खुलाउनका लागि तर यसबीचमा आयोग बन्न सकेन । त्यस विषयमा जुन विन्दुमा अड्किएको छ त्यसैबाट अगाडि बढ्ने गरी छलफलमा दलहरूलाई बोलाउनुभएको हो,' मल्लले भने । 

आयोग गठन असोज ५ मा गरिसक्नुपर्ने सहमति भएको थियो । भदौ ६ मा भएको राजनीतिक दलहरूबीचको सहमति कार्यान्वयन आयोगको कार्यक्षेत्र के हुने भन्ने विषयमा सहमति नहुँदा गठन हुन सकेको छैन । यस बीचमा दलहरूबीच प्रयास भए पनि प्रधानमन्त्री विदेश भ्रमणमा रहेका कारण आयोग गठन हुन सकेको थिएन । 

पछिल्लो समय संसद्को प्रमुख प्रतिपक्षी एमालेले आयोग गठन नगरिएसम्म संसद्‍मा फेरि अवरोध गर्ने बताउन लागेको छ । एमाले सचेतक महेश बर्तौलाले सरकारले आयोग गठन नगरी सहमति कार्यान्वयन नगरेकाले संसद् अवरोध हुन सक्ने बताउँदै आएका छन् । 

प्रधानमन्त्रीले बोलाएको बैठकमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र सचेतक महेश बर्तौला बालुवाटार गएका छन् । 

प्रतिनिधिसभाको बैठक लामो समयपछि आइतबार बस्दैछ । त्यसपहिले नै प्रधानमन्त्री दाहालले सम्भावित अवरोधको निकासबारे छलफल गर्न लागेका हुन् । 

कान्तिपुर

Link copied successfully