दोलखा सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ

आश्विन १४, २०८०

केदार शिवाकोटी

दोलखा — दोलखा प्रहरीले चिनियाँ नाकाबाट सुन तस्करीमा संलग्नको भएको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विगु गाउँपालिका–१ का ३० वर्षीय चसमान तामाङ र अन्दाजी २७ वर्षीय राज तामाङ रहेको प्रहरीले जनाएको छ ।

सुन तस्करीमा संलग्न रहेको ओरोपमा चसमानलाई लामाबगरबाट आइतबार र राजलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरी दोलखा ल्याइएको प्रहरी नायब उपरीक्षक दिपक खड्काले बताए ।

दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैध रुपमा ल्याएर लुकाएको सुन बुधबार ४ केजी र शुक्रबार ३ केजी बरामद गरेको थियो । सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका ७ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले हालसम्म तस्करले ल्याएको ७ केजी सुन पक्राउ गरेको छ । फलाकबाट चीनको रोङजिया नाकाबाट ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । सुन तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ । फरार रहेकाहरुसँग तस्करी गरी ल्याएको सुन हुनसक्ने अनुमानमा प्रहरीले खाजी कार्य गरिरहेको छ । 

केदार

Link copied successfully