सिमसार अतिक्रमण, जंगल फँडानी, डढेलो, चोरी सिकारी र बढ्दो सहरीकरणले बासस्थल मासिन थालेपछि सिकारी चरा आउने क्रम घट्दो
कपिलवस्तु — थाइल्यान्डको कासेटसर्ट विश्वविद्यालयका प्रोफेसर डा. चाइयान कोसोडोकेबुवा पहिलो पटक सन् २०१५ मा नेपाल आएका बेला यहाँका सिकारी चरा देखेर हुरुक्कै भएका थिए । त्यसयता उनी चरा अवलोकनकै लागि भनेर चारपटक नेपाल आइसकेका छन् ।
पेसाले पशु चिकित्सक उनी पछिल्लो पटक सन् २०२१ मा नेपाल आएका हुन् । ‘त्यहाँ पाइने सिकारी चरामा रहेको विविधताले विदेशी चरा पर्यटकलाई आकर्षित गरिरहेको छ,’ तीन साताअघि इमेल कुराकानीमा उनले भने, ‘कास्कीको ठूलाखर्कर्मा गोमायु महाचिल र हिमाली गिद्धले उडान भरेको देख्दा स्वर्गमै पुगेको अनुभूति हुन्छ ।’ थाइल्यान्डमै बसेर पनि नेपालका चराबारे अध्ययन र जानकारी बटुलिरहेको उनले सुनाए । ‘खास गरी वासस्थान विनाश र बालीमा विषादी प्रयोगले नेपालमा सिकारी चरा घट्दै गएको देखेर चिन्ता लाग्छ,’ उनले भने ।
प्रोफेसर कोसोडोकेबुवाको जस्तै अनुभूति छ, जापानका चराविद् डा. तोरुयामाजाकीको पनि । चार दशकदेखि सिकारी चराबारे अध्ययन–अनुसन्धानमा सक्रिय उनी बुद्ध जन्मस्थल लुम्बिनीमा सिकारी चराले कावा खाँदै उडेको देख्दा मनै आल्हादित हुने सुनाउँछन् । ‘त्यहाँ त एकैछिनमा ८/१० प्रजातिका सिकारी चरा देख्न पाइन्छ,’ उनले भने, ‘ती चरालाई नजिकैबाट हेरेर फोटो खिच्दा अत्यन्त रोमाञ्चित बन्छु ।’ एसियन र्याप्टर रिसर्च एण्ड कन्जरभेसन नेटवर्क जापानका अध्यक्षसमेत रहेका उनको चिन्ता पनि यहाँ सिकारी चराको बासस्थान मासिँदै गएको र चराहरू देखिनै कम भएकामा छ । उनी बर्सेनि नेटवर्कमा आबद्ध चार/पाँच जना चराविद् लिएर नेपाल आउँथे । तर, घट्दो चराको संख्याका कारण चार वर्षयता आफ्नो टोली नेपाल नआएको उनले सुनाए । चराविद् एवं पर्यटनकर्मी डीबी चौधरीका अनुसार नेपाल आउने विदेशी पर्यटकमध्ये करिब १० प्रतिशत चरा अवलोकनकै लागि आउने गरेको बताए ।
सिकारी चराको अध्ययनमा संलग्न व्यक्तिका अनुसार अहिले यी पन्छीको संख्या घट्दै गएको छ । उनीहरूका अनुसार बढ्दो सहरीकरणले बासस्थान संकटमा परेको हो । आहारको कमी छ । खेतबारीमा अत्यधिक मात्रामा विषादीको प्रयोग र सिमसार क्षेत्रको अतिक्रमणले पनि सिकारी चरा संकटमा पर्दै गएका हुन् । समस्या यतिमै मात्र सीमित छैन । तालतलैया, पोखरीमा धेरै माछा मार्दा सिकारी चरालाई आहार अभाव भएको छ । सर्वसाधारणले गुँड भत्काउँदा र चल्ला हुर्किन नदिई चलाइदिँदा पनि समस्या बढेको छ । सिकारी चरामा विद्यावारिधि गरेका डा. तुलसी सुवेदीले यी समस्याका अलावा चोरी सिकार, अवैध व्यापार, बिजुलीका तारसँग ठोक्किने र करेन्ट लाग्ने समस्याले पनि सिकारी चरालाई समस्या थपिरहेको बताए । ‘यी यावत् समस्याले गर्दा किसानलाई साथीका रूपमा गुन लगाउँदै पारिस्थितिकीय प्रणाली सन्तुलन राख्न सहयोग गर्ने सिकारी चरा दिन प्रतिदिन घटिरहेका छन्,’ उनले भने, ‘यसले कृषकदेखि पर्यटन र वातावरणलाई नकारात्मक असर गरिरहेको छ ।’
आधुनिक विकास निर्माणको असर मानव जीवनमा मात्र परेको छैन, यहाँका अन्य जीवजन्तुमा समेत परेको विज्ञहरूको भनाइ छ । मानव वासस्थान सुविधासम्पन्न बने पनि प्रकृतिका अन्य साझेदार प्राणीको जीवन भने संकटबाट गुज्रिरहेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । जलवायु परिवर्तनले पृथ्वीको तापक्रम वृद्धि हुँदा पानीका मूल र सीमसार क्षेत्र सुक्ने, वायु र ध्वनि प्रदूषण बढ्नुले चराको बासस्थान विनाश हुँदै गएको उनले लुम्बिनी फार्मस्केप पुस्तकमा उल्लेख गरेका छन् । आहारको कमी हुँदै गएपछि सिकारी प्रजातिका चराको संख्यामा पनि कमी हुँदै आएको डा. सुवेदीले बताए । सन् २०१२ देखि सुवेदी र सन्देश गुरुङले सिकारी चराको अनुसन्धान गरिरहेका छन् । त्यही समयदेखि नेपालमा सिकारी चराको गणनासमेत हुँदै आएको छ । उनीहरूका अनुसार सिकारी चराको आवागन हुने मुख्य थलो कास्कीको अन्नपूर्ण गाउँपालिकाको ठूलाखर्क हो । लोभलाग्दो हिमशृंखलाअघि छ्याङ्ग खुलेको आकाशमार्ग हुँदै बसाइँ सर्ने सिकारी चराको गणना उनीहरूको उमेर अनुसार अल्प–वयश्क, वयस्क अनि बच्चा भनेर गरिन्छ । ‘बसाइँ सरेर आउने करिब ३३ प्रजातिका चरा गणना गर्छौं,’ चराविद् डा. सुवेदीले भने, ‘अन्य चरा सय र पचासको संख्यामा गणना हुन्छन् ।’
सिकारी चरा अध्ययन अनुसन्धान गर्ने द पेरिग्रिन फन्डका अनुसार विश्वमा धेरै सिकारी चरा अवलोकन गर्न पाइने प्रमुख दस स्थानमध्ये सात ठाउँ नेपालमै छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, वरन्डाभार जंगल एवं सिमसार, अन्नपूर्ण संरक्षण क्षेत्र र लुम्बिनी–जगदीशपुर कृषि भूमि र सीमसार क्षेत्र रहेका छन् । तर, पछिल्लो समय जंगल फँडानी, डढेलो, बढ्दो सहरीकरण र चोरी सिकारीले बासस्थल विनाश हुँदा सिकारी चरा समस्यामा परेको र देखिन छाडेका छन् । त्यसैले विश्वमै धेरै प्रजातिका सिकारी चरा पाइने नेपालका ६ ठाउँमध्ये लुम्बिनी–जगदीशपुर कृषि भूमि र सीमसार क्षेत्रबाहेकमा सिकारी चरा घटिरहेको द पेरिग्रिन फन्डले उल्लेख गरेको छ ।
विश्वमा सिकारी चरा करिब ५ सयभन्दा बढी प्रजातिका छन् । अहिले १८ प्रतिशतको हाराहारीमा लोप हुने खतरामा पुगेको र ५२ प्रजातिको संख्या घट्दो क्रममा रहेको चराविद्हरू बताउँछन् । सिकारी चरा अनुसन्धान र संरक्षण गर्ने विश्वकै अग्रणी संस्था द पेरिग्रिन फन्डका अनुसार ५९ प्रजातिका सिकारी चराको विश्वव्यापी आकार अनुमान पनि नगरिएको अवस्थामा रहेको छ ।
नेपालमा ८ सय ९२ प्रजातिका चरा पाइन्छन्, जसमध्ये ८३ प्रजातिका सिकारी चरा हुन् । तीमध्ये दिनमा गिद्ध, चिल, बाज र बौडाइलगायत ६० प्रजाति र रातमा लाटो कोसेरोलगायतका २३ प्रजाति सक्रिय हुन्छन् । दिनमा सक्रिय हुने ६० प्रजातिमध्ये १२ प्रजाति विश्वव्यापी रूपमै खतराको सूचीमा छन् । त्यसमध्ये ४ प्रजाति अति संकटापन्न, ४ प्रजाति संकटापन्न र ४ प्रजाति संवेदनशील सूचीमा रहेका छन् । २८ प्रजातिका सिकारी चरा राष्ट्रियस्तरमा खतराको सूचीमा छन् । त्यसमध्ये १३ प्रजाति अतिसंकटापन्न, ४ प्रजाति संकटापन्न र ११ प्रजाति संवेदनशील छन् । विश्वमा सिकारी चरा झन्डै ५ सय प्रजातिका छन् । सिकारी चरामध्ये १८ प्रतिशतको हाराहारीमा लोप हुने खतरामा पुगेको चरा संरक्षणका लागि बनाइएको राष्ट्रिय रातो किताब २०१६ मा उल्लेख छ ।
अंग्रेजीमा र्याप्टर्स भनिने सिकारी चरा धेरै घुमफिर गर्ने पन्छी मानिन्छ । तेजिला आँखा भएका तिखा र बलिया नंग्राहरू भएका सिकारी चराका ठुँड अंकुसी परेको, धारिलो र बलियो हुन्छ । अरू चराको तुलनामा बढी उड्ने क्षमता भएका यिनका पखेटा र खुट्टा पनि बलिया हुन्छन् । अपवाद बाहेक मासुबिना बाँच्न नसक्ने सिकारी चराहरूमध्ये सानाले सर्प, छेपारा, फट्यांग्रा, धमिरा, सलह र गाइने किरालगायत आहार गर्छन् भने ठूला बाजले साना चरा, मुसा र भ्यागुताको सिकार गर्छन् । चिलले कुखुरा, माछा, खरायो, लोखर्के र साना स्तनधारी पन्छीलाई सिकार बनाउँछ । गिद्धले सिनोलाई महत्त्व दिन्छ । पर्यावरण सन्तुलित बनाउन यसको महत्त्वपूर्ण भूमिका छ । मुसेचिल, कालो चिल, लघुमहाचिल र श्येन बाज लगायतका चराले मुसाको बढी सिकार गर्छन् । त्यसपछि सुगा, भँगेरा र पानीचरालगायतको सिकार गर्छन् ।
ठूलो संख्यामा बसाइँ सरेर गोमायु महाचिल र हिमाली गिद्ध नेपालमा आउँछन् । चराविद्हरूका अनुसार सन् २०१३ मा यी दुई प्रजातिका सहित १३ हजार ४ सय ८५ चरा नेपाल आएका थिए । २०२१ मा घटेर ७ हजार ७ सय २४ चरा यहाँ आइपुगेको कुरा सिकारी चराविद् डा. तुलसी सुवेदी र सन्देश गुरुङद्वारा गरिएको अनुसन्धानमा उल्लेख छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको ठूलाखर्क सिकारी चराको बसाइँ सर्ने मुख्य मार्ग हो । चराविद्हरूका अनुसार यी चराहरू नदी, पहाड, पहरा र तारालाई पछ्याउँदै एउटै बाटो प्रयोग गरेर बसाइँ सर्छन् । ‘ठूलाखर्कमा ४०/४५ मिटरमाथिबाट चराले माइग्रेसन गरेको देखिन्छ,’ चराविद् कृष्णप्रसाद भुसालले भने, ‘अन्नपूर्ण हिमशृंखलासँगै माइग्रेसन गर्ने चरा देख्दा रोमाञ्चक महसुस हुन्छ ।’
सिकारी चरा बसेको ठाउँमा चिसो बढेपछि सहजताका लागि उनीहरू नेपाल प्रवेश गर्छन् अनि नेपालभरि छरिन्छन् । चराविद् भुसालका अनुसार गोमायु महाचिलले ढुंगेपहरा भएको घाँसे क्षेत्रमा बच्चा हुर्काएर मंगोलिया र चीनबाट यता आउँछन् । हिमाली गिद्ध भने चीन र तिब्बतबाट आउँछन् । हिमाली गिद्ध कहिले नेपाल बस्छन् त कहिले भारतको मध्य प्रदेशसम्म पुग्ने र मे सुरुतिर हिमाल पार गरेर चीनतिरै फर्किने गरेको उनले बताए । ‘सिकारी चराहरू चार/पाँच दिनदेखि साता/दश दिनसम्म उडेर नेपाल आउने गर्छन्,’ चराविद् भुसालले भने, ‘हिमाली गिद्धको अनुसन्धान गर्दा एक दिनमा ३ सय ९० किमिसम्म उडेको देखिएको छ ।’
त्यस्तै नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । हिउँदमा जाडो छल्न बसाइँसराइ गरी नेपालसम्म आइपुग्ने गिद्धमा राज, खैरो र लामो ठुडे गिद्ध पर्छन् । यिनीहरूले यहाँ बच्चा कोरल्दैनन् । पछिल्लो समयमा सन् २०११ बाट लामो ठुडे गिद्ध नियमित आउन थालेको चराविद् भुसालले बताए । जाडो छल्न बसाइँ सर्ने क्रममा बटुवाका रूपमा नेपाल झर्ने खैरो गिद्ध पनि पछिल्लो समयमा लामो समय नेपालमा बस्न थालेको उनले सुनाए । पूर्वी हिमाल कञ्चनजंगादेखि मकालु वरुण रेन्जबाट सिकारी चरा बसाइँसराइका क्रममा बढी नेपाल छिर्छन् ।
चराविद् डा. सुवेदीले बसाइँ सरेर आउने सिकारी चराको संख्या बर्सेनि घट्दै गएको पनि बताए । सन् २०२०/२१ मा डा. सुवेदी र गुरुङको टोलीले गरेको प्रति १ सय बिजुलीका पोल अनुगमन गर्दा ८ वटा चरा मरेको फेला पारेका थिए । त्यसरी मृत्यु हुनेमा दुई वटा सिकारी चरा पनि थिए । नेपालका लुम्बिनी, अन्नपूर्ण, पोखरा र चितवनका १ हजार १ सय ८ बिजुलीका पोल अनुगमन गरिएको थियो । यो अध्ययनले बिजुलीको तारमा ठोक्किएर, पोलमा बस्दा करेन्ट लागेर चरा मर्ने गरेको निष्कर्ष निकालेको छ ।
कास्कीको पन्चासेमा गत वर्ष बिजुलीको पोलमा बस्दा करेन्ट लागेर एउटा जुरेचिलको मृत्यु भयो । त्यही नजिकैको तारमा ठोक्किएर हिमाली गिद्धले पनि प्राण त्याग्यो । गत चैतमा पूर्व नवलपरासीको नवलपुरको कावासोती नगरपालिका–३ मा पाँच वटा डंगर गिद्ध विष सेवन गर्दा मरे । स्थानीयले विष प्रयोग गरी मारेको स्याल खाँदा ती गिद्ध मरेका थिए । चराविद् डा. सुवेदीका अनुसार बसाइँ सरी नेपाल आउने मुख्य सिकारी चरामा चिल, गिद्ध, मधुहा, बाज, बौडाइ, बेसरा, भुइँ चिल र महाचिल (सुपर्ण, जीवाहार, रणमत्त, राग, गोमायु तथा लघु) छन् । त्यस्तै कालोचिल, चल्लाचोर भुइँचिल, श्वेत भुइँचिल, तोपबाज, शाहीबाज, सानो बौडाइ, अमुरबाज, लघु महाचिल र कमकम चिल पनि बसाइँ सरेर नेपाल आउँछन् । बढ्दो पर्यावरणीय संकटका कारण यी चराहरूको संख्या घट्दै गएको डा. सुवेदीले बताए ।
विश्वव्यापी रूपमा सिकारी चराको संरक्षण गर्ने उद्देश्यले अमेरिकामा स्थापित द पेरिग्रिन फण्डले पनि नेपालमा सिकारी चरा घट्दै गएको जनाएको छ । सन् २०१८ मा फन्डका निर्देशक क्रिस म्याकलोरको स्टेट अफ वर्ल्ड र्याप्टर्स : डिस्ट्रिब्युसन, थ्रेट एन्ड कन्जरभेसन रिकम्नेडेसन शीर्षकमा बायलोजिकल जर्नलमा प्रकाशित अनुसन्धानमा समेत नेपालमा सिकारी चरा घट्दै गएको उल्लेख छ । ‘यो राम्रो पक्ष होइन । सिकारी चरा संरक्षणका नीति र योजना बनाई प्रभावकारी कार्यान्वयनमा जान ढिलो गर्नु हुँदैन,’ जर्नलमा भनिएको छ, ‘सबै वन्यजन्तु र मानवको फाइदाका लागि विश्वव्यापी रूपमा सिकारी पन्छीहरूको संरक्षण गर्न आवश्यक भइसकेको छ ।’
मुख्य बासस्थान लुम्बिनी
सिकारी चराका लागि नेपालमा लुम्बिनी क्षेत्र स्वर्गसरह रहेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । खुला ठाउँ, खेतबारी, घाँसे मैदान, सिमसार, हरियाली र रूखबिरुवाको विविधताले अहिले लुम्बिनी सिकारी चराको राम्रो बासस्थान रहेको उनीहरूको तर्क छ । दिनमा सक्रिय हुने ६० प्रजातिका सिकारी चरामध्ये ४५ प्रजातिका चरा लुम्बिनीमा बस्ने गरेको डा. हेमसागर बरालले बताए ।
विश्वमा पाइने सिकारी चरामध्ये १९ प्रतिशत यहाँ पाइने उनले आफ्नो पुस्तक लुम्बिनी फार्मस्केपमा उल्लेख गरेका छन् । उनका अनुसार नेपालमा पाइनेमध्ये ७५ प्रतिशत सिकारी चरा लुम्बिनीमा अवलोकन गर्न पाइन्छ । विश्वकै दुर्लभ १२ प्रजातिका चरा लुम्बिनीमा देख्न पाइन्छ । जीवाहार, लघु, रणमत्त, गोमायु, राग महाचिल, डंगर, खैरो, सेतो, सुन र लामो ठुडे गिद्ध तथा तोपबाज र सानो कमकम चिल दुर्लभ प्रजातिका सिकारी चरा यहाँ सजिलै देख्न पाइने नेसनल रेड लिस्ट अफ बर्ड्स अफ नेपाल पुस्तकमा पनि उल्लेख छ ।
मुलुकमा विश्वकै दुर्लभ लघु महाचिल ३० देखि ७० वटा रहेको अनुमान छ । सिकारी चराविद् डा. तुलसी सुवेदी, सन्देश गुरुङ र धीरज चौधरीद्वारा गरिएको एक अनुसन्धानमा यीमध्ये १५ वटा चरा लुम्बिनीमा रहेको तथ्यांक संकलन गरिएको थियो । लुम्बिनीमा हिउँदमा २५/३० प्रजातिका सिकारी चरा देख्न पाइने सिकारी चराविद् डा. तुलसी सुवेदीले बताए ।
