उरै नाका बन्द भएपछि सीमावर्ती व्यापार मात्रै चौपट भएको छैन, बझाङी र तिब्बतीबीचको परम्परागत मितेरी सम्बन्धमा पनि बाधा पुगेको छ
बझाङ — साइपाल गाउँपालिका–१, धलौनका ६१ वर्षीय कालु धामी भेडा पालक किसान हुन् । अवस्था सामान्य हुन्थ्यो भने भदौ लाग्दै गर्दा उनी सीमावर्ती तिब्बती बजार ताक्लाकोट छेउको तलिगुम्फा गाउँतिर भेडा चराइरहेका हुन्थे र त्यहीं रहेका आफ्ना मीत डुगा तुन्डुपको घरमा बसेर गफिरहेका भेटिन्थे ।
प्रत्येक वर्ष साउन/भदौमा भेडा/च्यांग्राको बथानसँगै तिब्बतको पुराङ काउन्टी पुग्नु, त्यहाँका तलिगुम्फा, माछागाड, लोकोट, खोचेरलगायत गाउँमा रहेका अलग–अलग मीतसँग भेटघाट गर्नु र दुई महिना त्यतैका जंगलमा भेडा चराउनु उनको दैनिकीजस्तै थियो । भदौ अन्तिमतिर मात्रै उनी ताक्लाकोट बजारबाट जुत्ता, कपडा, नुन र तिब्बती मदिराका बोतल भेडालाई बोकाएर आफ्नै गाउँ धलौन फर्किन्थे । १२/१३ वर्षको उमेरदेखि निरन्तर यही काम गर्दै आएका उनी गएको चार वर्षयता भने यसमा क्रमभंगता आएको बताउँछन् । उमेरले बूढो भएर वा भेडाच्यांग्रा पाल्न छोडेर उनको तालिका खलबलिएको भने होइन । कोरोनाको कारण देखाउँदै चीन सरकारले बझाङको उरै नाकाबाट तिब्बत प्रवेशमा रोक लगाएका कारण उनको दैनिकी फेरिएको हो ।
‘पूरै जिन्दगी भोट, औल गर्दै बितायौं । अहिले यो कोरोना भन्ने के पो आयो,’ उनले भने, ‘चार वर्ष भैग्या, त्यहँको सामान ल्याउनु त परै छाडौं, मीतसँग पनि भेट्न पायाको छैन ।’ सुरुको वर्ष चिनियाँ सुरक्षाकर्मीले प्रवेश नदिएको र अहिले सीमामै सीसी क्यामरा जडान गरेर निगरानी गरिरहेको बताएपछि जानै छाडेको कालुले सुनाए । ‘ताक्लाकोट छिर्न दिन्छ कि भनेर उरैसम्म पुग्दो छु । २०७६ सालमा आर्मीले फर्कायो । अहिले त ठुल्ठूला क्यामरा लायाका छन्,’ उनले भने, ‘त्यसैबाट हेर्दा भन्दा छन् । देखिहाल्नान भनेर डरले जानै छाड्या ।’
गाउँमा उत्पादन भएको टिमुर, उवा, जौ, गुराँसको दाल, खुर्सानी आदि लिएर तिब्बतमा बिक्री गर्ने र त्यहाँबाट फर्किंदा ल्याएको सामान गाउँमा बिक्री गर्दै आएका कालुजस्ता दर्जनौं बझाङीको नाका बन्द भएका कारण व्यापार र पशुपालन चौपट भएको छ । साइपाल गाउँपालिकाको धलौन गाउँका कालुको मात्रै होइन, यहाँका प्रायः सबै घरका मान्छेको तिब्बती गाउँका कुनै न कुनै घरका स्थानीयसँग मितेरी सम्बन्ध छ । धेरैजसो परिवारको त तिब्बतका विभिन्न गाउँका एकभन्दा बढीसँग पनि मितेरी सम्बन्ध रहेको छ ।
तलकोट, मस्टा, खप्तडछान्ना, छबिस, दुर्गाथली गाउँपालिका तथा बुङगल र जयपृथ्वी नगरपालिकाका भेडा पालक किसानहरूको पनि तिब्बती गाउँका कसै न कसैसँग मितेरी सम्बन्ध छ । कतिपय परिवारको त सात–आठ पुस्तादेखिको सम्बन्ध अहिलेसम्म निरन्तर छ । बझाङलाई तराईसँग जोड्ने जयपृथ्वी राजमार्ग खुल्नुभन्दा पहिला नुन, ऊन आदि सामानका लागि यहाँका स्थानीयहरू पूर्ण रूपमा भोटकै भर पर्नु पर्थ्यो । उतिबेला भोट जाँदा त्यहाँ बास बस्न र किनमेल गर्न सजिलो होस् भनेर उनीहरू तिब्बतका स्थानीयसँग मितेरी साइनो लगाउँथे । साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीले यही सम्बन्धका कारण उनीहरू उता गएका बेला मीतका घरमा बस्ने चलन रहेको बताए । त्यो सम्बन्ध दोहोरै हो । १५/१६ वर्षअघिसम्म पनि भोटका मान्छे बर्खामा नुन र ऊन ल्याएर बझाङका गाउँगाउँ पुगेर बिक्री गर्थे । फर्किंदा यहाँका सामानहरू लिएर जान्थे । ‘उनीहरू पनि यहाँ आएर मीतकै घरमा बस्ने गर्थे,’ पूर्वअध्यक्ष धामीले भने, ‘नाका बन्द हुनुभन्दा अघिसम्म पनि त्यहाँका मान्छेको साइपालमा आउजाउ थियो । ठप्प भएको त चार वर्षमात्रै भयो ।’
तिब्बतका सीमावर्ती गाउँका बासिन्दाहरू अहिले पनि नेपाली भाषा बोल्ने र नेपालबाट गएकाहरूसँग नेपालीमै सञ्चार गर्ने गर्छन् । चार वर्षयता उरै नाका बन्द हुँदा बझाङ र तिब्बतबीचको मितेरी साइनोमा मात्रै असर परेको छैन, झन्डै हजार वर्षदेखि चल्दै आएको भोट–औल व्यापारिक सम्बन्ध पनि टुटेको छ । बझाङको उरैलेक र हाल चीनको पुराङ काउन्टीअन्तर्गत ताक्लाकोट बजार र सीमावर्ती गाउँको करिब १ हजार वर्षदेखि व्यापारिक सम्बन्ध रहँदै आएको विभिन्न अभिलेखमा भेट्न सकिन्छ । यसरी बझाङमा आएर व्यापार गरेको र भेडा, चौंरी चराएबापत तत्कालीन बझाङ राज्यले ऊन, नुन र सुन सिर्तो (कर) बापत लिने गरेका लिखतहरू अहिले पनि भेटिन्छन् ।
स्थानीयका अनुसार २०५० सालसम्म पनि बर्खायाममा साइपाल गाउँपालिका हुँदै तिब्बत जाने बाटोमा निकै चहलपहल हुन्थ्यो । भोटतिरका मानिसहरू त्यही बाटो भएर भेडा र चौंरीहरूमा ऊन र नुन बोकाएर नेपालतर्फ आउँथे । हाल साइपाल गाउँपालिकाअन्तर्गत पर्ने साइपालको चौर, कालंगा र ग्राफुमा प्रत्येक बर्खामा हाटबजार लाग्ने गर्थ्यो । बझाङका स्थानीयले सातु, खुर्सानी, टिमुर, निगालोबाट बनेका सामग्री, जडीबुटी र काठका सामानहरू त्यहाँ लगी बिक्री गर्थे । पहिला पहिला वस्तु विनिमय गरेर व्यापार हुने गरेकामा पछिल्लो समय नगदमा कारोबार हुने गरेको थियो । नेपालमा माओवादी द्वन्द्व चर्किएका कारण चिनियाँ व्यापारीहरूले असुरक्षा महसुस गरी आउन छोडेपछि यो चलन हटेको हो ।
महिनौं लाग्ने यस्ता हाटबजारमा तलमाथि गर्नेको भीडभाड हुन्थ्यो । तलकोट गाउँपालिका–६, लुगाडाका ७७ वर्षीय अफिलाल विष्टले आफू पनि नुन र ऊन ल्याउन र यताको सामान बेच्न उक्त हाटमा पुगेको सम्झना सुनाए । मानसरोवरको जल ल्याउन, हिँड्न र भारी बोक्न सक्नेहरू पुराङसम्म पुग्ने गरेको तर छिटो घर फर्किनुपर्ने र उचाइमा हिँड्न नसक्नेहरू नेपाली भूमिमा लाग्ने हाट बजारबाटै सामान किनेर फर्किने गरेको उनले सुनाए ।
तिब्बती नआएपछि साइपालमा हाटबजार लाग्न छोडे पनि साइपाल, तलकोट, मस्टालगायत पालिकाका बासिन्दाका लागि कोरोनाअघिसम्म ताक्लाकोट मुख्य व्यापारिक केन्द्रका रूपमा रहेको थियो । यहाँका बासिन्दाहरू निगालोबाट बनेका डोका, छाप्रा, काठका सामान, स्थानीयस्तरमा उत्पादन हुने मुसुरो, स्थानीय गुराँसको दाल, उवा, जौको सातु, टिमुर, खुर्सानी आदि ताक्लाकोट बजार र आसपासका गाउँमा बेचेर राम्रो आम्दानी गरिरहेका थिए । साइपालको धलौन गाउँका रामगिरी बोहराले कोरोनाअघिका वर्षमा ताक्लाकोट पुगेर डोको बेचेर मात्रै वार्षिक तीन लाख रुपैयाँसम्म कमाएको बताए । ‘धलौनमा दुई सयमा बिक्री हुने डोको त्यहाँ पुर्याएपछि तीन हजार पाइन्थ्यो,’ उनले भने, ‘नाका बन्दपछि सबै चौपट भयो ।’ विभिन्न स्थानीय उत्पादन तिब्बतमा बेचेर साइपालका स्थानीयले वर्षमा एक/डेढ लाख रुपैयाँसम्म कमाउने गरेकामा नाका बन्द भएपछि यो क्रम रोकिएको र सीप हुनेहरू पनि बेरोजगार भएको उनले बताए ।
उरै नाका बन्द भएपछि व्यापार गर्ने मात्रै नभएर तिब्बतमा मौसमी रोजगारी गरेर आम्दानी गरिरहेकाहरू पनि अहिले बेरोजगार भएका छन् । कोरोना महामारीअघि यहाँका स्थानीयले मौसमी ज्यालादारी काम गरेर राम्रो आम्दानी गरिरहेका थिए । मालवाहक गाडीमा सामान लोड/अनलोड गर्ने, ऊन केलाउने, भारी बोक्ने, केराउ, उवा काट्ने तथा चुट्ने र निर्माणको काममा मजदुरी गर्न यहाँबाट प्रत्येक वर्ष युवाहरू ताक्लाकोट र आसपासका गाउँमा जाने गर्थे । कामको प्रकृति र दक्षता हेरेर दैनिक मजदुरी गरेबापत उनीहरूले १ सय ५० देखि ३ सय युआन (२ हजार ५ सयदेखि ५ हजार रुपैयाँ) सम्म कमाउँथे । बर्खाका चार/पाँच महिना यहाँ मजदुरी गर्नेहरूले राम्रो रकम पाउने गरेकामा नाका बन्द भएपछि आम्दानीको त्यो बाटो पनि बन्द भएको स्थानीयले बताए । ‘खर्च कटाएर एक सिजनमा चार–पाँच लाख रुपैयाँ कमाइ हुन्थ्यो । नाका बन्द भएपछि त्यो पनि रोकिएको छ,’ धुलीका किन्थ्या रोकायाले भने, ‘ताक्लाकोट खुला हुँदा गाउँमा कोही युवा पनि खाली हात हुन्थेनन् । अहिले त धेरै बेरोजगार छन् ।’
उरै नाका रेसममार्ग (सिल्करोड) को मुख्य शाखामध्येको एक हो । यही मार्गका कारण नेपाल र तिब्बतबीचमा परम्परादेखि नै चलिआएका धार्मिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध रहेको बझाङका स्थानीयसमेत रहेका नेपाल, चीन र भारतको सीमासम्बन्धी अध्येता रतन भण्डारी बताउँछन् । ‘यस्ता सवालमा दुई देशबीच छलफल गरेर समस्या समाधान गर्नु जरुरी छ,’ उनले भने, ‘यस्ता कुराले दुई देशका नागरिक तहसम्म आपसी सम्बन्ध बन्ने र सद्भाव बढाउने सेतुका रूपमा पनि काम गर्छ ।’
परम्परामै तगारो
विसं. २०१७ सम्म उरै नाकाबाट हुने तिब्बत–नेपाल व्यापारलाई नियमन गर्न र राजस्व संकलन गर्ने कामका लागि साइपाल गाउँपालिकामा धुली भन्सार र तलकोट गाउँपालिकामा सुनी भन्सार कार्यालय स्थापना गरिएका थिए । ती भन्सारबाट स्थानीय भाषामा ओइसो भनिने राजस्व उठाउने गरेको बझाङ राज्यको इतिहासका जानकार विष्णुभक्त शास्त्रीले बताए । ०१७ सालतिर राजस्व कसले उठाउने भन्नेबारे बझाङी राजा र तल्कोटी रजबारबीच विवाद भएको थियो । ‘तलकोटीले अवरोध गरेपछि त्यसको नेतृत्व गरेका ललित सिंहलाई बझाङी राजाले सजायस्वरूप भोपुरको गोठमा थुनेको देख्ने हामी धेरै मानिस अहिले पनि जीवितै छौं,’ शास्त्रीले भने, ‘पछि यो मुद्दा डोटी गौंडासम्म पुग्यो । डोटीबाट अबदेखि कसैले पनि ओइसो उठाउन नपाउने भन्ने फैसला आएपछि भन्सार नै बन्द हुन पुग्यो ।’ त्यसताका तिब्बतबाट सुन, ऊन, नुन, जुत्तालगायत सामग्री आयात हुने गरेको बताउँदै यो इतिहासबारे थुप्रै लिखतहरू अझै पनि भेटिने उनले सुनाए ।
बझाङ र तिब्बतको धार्मिक, सांस्कृतिक र व्यापारिक सम्बन्धका बारेमा थुप्रै किंवदन्ती पनि छन् । कैलाश जाने क्रममा लागाले तत्कालीन बझाङी राजा सारीबम्म, साइपालको धुलीका कुन्जर्या बोहरा र तिब्बतको जितैकोट तथा आसपासका गाउँका तत्कालीन शासक सुनर्या विष्ट र छेछे लामासँग सन्धि गराएको मस्टो संस्कृतिका अध्येता श्याम खड्काले सुनाए । ‘यस्तो सन्धिपछि नेपाल–तिब्बत व्यापार खुलेको हो,’ उनले भने, ‘नेपाली तीर्थयात्रीहरू बेरोकटोक भोट जान पाएका हुन् ।’ उक्त सन्धि स्वर्णपत्रमा लेखिएको उनी बताउँछन् । जितैकोटको दरबारमा रहेको उक्त स्वर्ण पत्र चीनको सांस्कृतिक क्रान्तिताका त्यहाँबाट लगिएको र अहिले कहाँ छ भन्नेबारे कुनै जानकारी नरहेको पनि उनले सुनाए । सन् १९५० को दशकमा बझाङको बाटो हुँदै तिब्बतसम्म पुगेका ब्रिटिस लेखक सिडनी विग्नलले आफ्नो पुस्तक ‘स्पाई अन द रुफ अफ द वर्ल्ड’ (१९९६) मा यो सन्धि र सिर्तो उठाउने परम्पराबारे उल्लेख गरेका छन् ।
यहाँका स्थानीयले प्रत्येक वर्ष मानसरोवरको जल ल्याएर साइपालस्थित टाडको मन्दिरमा चढाउने र पूजा गर्ने गरेकामा नाका बन्द भएपछि यो परम्परा पनि रोकिएको साइपाल गाउँपालिका अध्यक्ष मानवीर बोहराले बताए । ‘त्यहाँका मान्छे जल चढाउन यहाँ आउने मात्रै होइन, यहाँबाट लागाँका धामीलाई बाजागाजासहित घोडामा चढाएर आफ्नो गाउँ लैजाने गर्थे,’ उनले भने, ‘नाका बन्द हुनुभन्दा पहिलासम्म यहाँका धामीलाई तिब्बत लगेर देवाली (धामी काँप्न लगाएर हेराउने) गर्थे ।’ नाका नखोल्दा अहिले उनीहरूको पूजाआजा मात्र होइन, पुर्खादेखि चलिआएको मितेरी सम्बन्धमा पनि समस्या आएको उनले सुनाए ।
कोरोनाअघि बझाङका स्थानीयलाई तिब्बत प्रवेशका लागि अस्थायी अनुमतिपत्र दिने गरेको जिल्ला प्रशासन कार्यालयले अहिले त्यो पनि बन्द गरेको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले नाका बन्द भएका कारण अनुमतिपत्र दिने कि नदिने भन्ने विषयमा राय माग्नका लागि गृह मन्त्रालयलाई लेखेर पठाएको भए पनि भदौ १ गतेसम्म जवाफ नआएको बताए ।
यो नाका खोलेर पूर्ववत् सञ्चालन गर्नुपर्ने भन्दै दबाब सिर्जना गर्न बझाङका स्थानीय तथा जनप्रतिनिधि सिंहदरबारसम्म धाइरहेका छन् । साउन अन्तिम साता मात्रै बझाङका सांसद भानुभक्त जोशीलगायत १ सयभन्दा बढी स्थानीयले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर यो समस्याबारे जानकारी गराएका थिए । यसअघि उनीहरूले परराष्ट्रमन्त्री एनपी साउदलाई यो समस्याबारे ज्ञापनपत्र पनि बुझाइसकेका छन् ।
