कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

गौरीकुन्डको पहिरोमा परेका ३ नेपालीको शव फेला, ११ अझै बेपत्ता

राजेश मिश्र

नयाँदिल्ली — भारतको धार्मिकस्थल केदारनाथको प्रस्थान बिन्दु गौरीकुन्डमा गत बिहीबार राति गएको पहिरोमा परेर बेपत्तामध्येका तीन नेपालीको शव भेटिएको छ । कालीकोटका प्रकाश कामी, टेकबहादुर विक र देवी विकको शव भेटिएको दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी उमाप्रसाद चतुर्वेदीले बताए । पहिरोमा परेर बेपत्ता नेपालीमध्ये अझै ११ जना फेला परेका छैनन् ।

गौरीकुन्डको पहिरोमा परेका ३ नेपालीको शव फेला, ११ अझै बेपत्ता

जुम्ला पातारासी गाउँपालिका घर भएका अमर बोहराले सडक छेवैमा चलाएको होटल पहिरोले बगाउँदा त्यसमा उनको ७ जनाको परिवार तथा त्यहाँ रहेका अन्य नेपाली परेका थिए । पहिरोमा परेर होटल सञ्चालक अमर र उनकी श्रीमती, छोरा पृथ्वी र वकिल, छोरी राधिका र पिंकी हराइरहेका छन् । त्यस्तै पातारासीकै धर्मराज बुढा, चन्द्र कामी, सुखराम रावत र बमबहादुर बोहरा पनि पहिरोमा परेका छन् । ‘अहिलेसम्म पहिरोमा ११ नेपाली बेपत्ता रहेको र ३ जनाको मृत्यु भएको यकिन भएको छ,’ एसएसपी चतुर्वेदीले भने, ‘अरू दुई नेपाली हराएको भनिए पनि नाम प्राप्त भएको छैन । नेपालतिरबाट कोही हराएको जानकारी आएको छैन ।

पहिरो खसेका बेला होटल रहेको घरमा अरू पनि मानिस रहेको स्थानीयको आशंका छ । गौरीकुन्डमै होटल चलाएर बसेका जुम्लाकै नरबहादुर कुँवर घटनाको रात अमरको होटलमा कम्तीमा २० जना रहेको अनुमान गर्छन् । ‘मजदुरी गर्नेहरूले खाने र बास बस्ने होटल हो, त्यहाँ प्रायः २० जना हाराहारी हुन्थे,’ उनले कान्तिपुरसँगको टेलिफोन सम्पर्कमा भने । उनका अनुसार गौरीकुन्डदेखि केदारनाथसम्म यात्रुलाई घोडा, खच्चड चढाएर लैजाने, डोको पालकी बोक्ने, सरसामान बेच्ने, होटल चलाउने, मजदुरी गर्ने जस्ता कार्यमा नेपाली संलग्न छन् ।

गौरीकुन्ड प्रहरी चौकीका इन्चार्ज सबइन्सपेक्टर कलिन्दरसिंह रावतले पहिरोमा नेपालीसहित १९ जना हराइरहेको जानकारी दिए । ‘प्रारम्भमा बेपत्ता भनिएका १९ जनाबाहेककै मानिसको शव भेटिएकाले हराएकाहरूको संख्या थपिन सक्छ,’ फोनमा उनले भने, ‘मन्दाकिनी नदीमा पानीको बहाव उच्च छ । वर्षा पनि भइरहेकाले उद्धारमा कठिनाइ छ । केन्द्र र प्रदेश सरकार मातहतको दक्ष उद्धार टोली खोजी कार्यमा निरन्तर खटिएको छ ।’ श्रीनगर, ऋषिकेश र हरिद्वारसम्म नदीमा रहेका च्यानल तथा फाटक बन्द गराएर ड्रोनसमेतको प्रयोगमा बेपत्ताको खोजी गरिरहेको उनले जानकारी दिए । उनका अनुसार पहाडी क्षेत्र हुनुका साथै पानीको बहाव तीव्र रहेकाले नदीभित्र गोताखोरलाई प्रवेश गराउन मुस्किल भएको छ । भेटिएका नेपालीको शव पोस्टमार्टमपछि आफन्तजनलाई जिम्मा लगाएको पनि रावतले जानकारी दिए ।

प्रकाशित : श्रावण २२, २०८० ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×