केदारनाथ पहिरो : चौरगाउँका ९ बेपत्ता, आफन्तहरू चिन्तामा

श्रावण २०, २०८०

डीबी बुढा

जुम्ला — भारतको केदारनाथमा बिहीबार राति गएको पहिरोमा परी एकै घरका सातसहित एकै गाउँका नौ जना बेपत्ता भएपछि जुम्ला पातारासी ३ को चौरगाउँका आफन्त चिन्तित छन् । गाउँका हरेक घरको ओटालोमा बसेर स्थानीय घटनाको दुःखना गरिरहेका छन् । गाउँलेहरु शनिबार कुनै पनि काममा निस्केनन् ।

स्थानीय पदमबहादुर रावतका अनुसार चौर गाउँमा कामका लागि भारत गएकाहरु कहिल्यै पनि बाढीपहिरोमा परेका थिएनन् । यो पहिलो घटना हो । धन कमाउला भनेर भारत गएकाहरु पहिरोमा पुरिएर बेपत्ता भएपछि गाउँमा सन्नाटा छाएको छ । 

केदारनाथमा गएको पहिरोमा चौरका २८ वर्षीय अमर बोहोरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, ८ वर्षीया छोरी पिंकी, ७ वर्षीय छोरा पृथ्वी, ६ वर्षीय छोरा जटिल र ३ वर्षीय छोरा वकिल बेपत्ता भएका छन् । उनीहरुसँगै चौरगाउँकै सुखीराम रावत र बमबहादुर बोहोरा बेपत्ता भएका हुन् ।

एकै पटक यति धेरै बैपत्ता भएपछि गाउँमा रुवाबासी नै चलेको छ । 'पहिरोले बेपत्ता भएकाहरु अझै भेटिएका छैनन् । उनीहरु भेटिन्छन् भन्ने ग्यारेन्टी पनि छैन,' उनले भने, ‘पहिरोमा बगेका आफन्तहरु नभेटिन पनि सक्ने भएकोले स्थानीय विधिअनुसार अघि बढेको हो । ’

पातारासी-२ पेरे गाउँमा पनि रुवाबासी चलेको छ । पहिरोमा २२ वर्षीय चन्द्र नेपाली र धनराज बुढा बेपत्ता छन् । 'भारतमा गएर धन कमाउला, घर बनाउला, सुखसँग बसौंला भन्ने सपना बोकेर उनीहरु भारतमा रोजगारीका सिलसिलामा गएका थिए तर नफर्कने गरी पहिरोमा पुरिएपछि गाउँ शोकाकुल बनेको छ,' ६० वर्षीया बुद्धिलाल सार्कीले भने, ‘धन कुमाउने भुनि भारत गयाछिया तर कहिले नुआउने गरी अस्ताए । अब आउँछन् भन्ने क्या आश छर ? सम्झ्यापै मन रुँदो छ । अझै जिउँदै होला जइथो लाग्दो छ । तर पहिरोले बगाएका मान्ठ क्या आउन्या छिया ।’

पहिरोमा पुरिएकामध्ये अमर होटल चलाएका बसेका थिए । अन्य युवाहरु केदारनाथमा मान्छे बोक्ने,पल्लीदारी गर्नेदेखि स्याउ बोक्ने र बगैंचाको हेरचाह गर्नेसम्मको काम गरिरहेका थिए । राज्यले रोजगार दिँदैन । घरमा आयस्रोत हुँदैन । भारत जानुको विकल्प छैन । 

२ सय १९ घरधुरी रहेको चौरगाउँबाट मात्रै ७० भन्दा बढी परिवार काम खोज्दै भारतका विभिन्न क्षेत्रमा पुगेका छन् । फाटफुट त सबै घरका युवाहरु भारतमै छन् । अहिले संघीयताले तीन तहको सरकारको परिकल्पना गरेको छ । तर बेरोजगारी अन्त्यका गफबाहेक केही गर्न सकिरहेको छैन ।

स्थानीय श्रीराम थापाले भने, ‘वडामा बजेट ४० लाख रुपैयाँ आइरहेको हुन्छ । चार गाउँको एक वडा भएकोले एक गाउँमा १० लाख बजेट आइरहेको हुन्छ । काम गर्दा दैनिक दुई सयसम्मको ज्याला बस्छ । कसरी पाल्न सकिन्छ पेट ? पेट पाल्न भारत जानुको विकल्प छैन ।'

बाढीपहिरो

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully