पाल्पामा पहिरोले जिप च्याप्दा तीन जना घाइते

श्रावण २२, २०८०

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सोमबार बिहान पहिरोले गुडिरहेको जिपलाई च्याप्दा तीन जना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको जिपलाई च्याप्दा तीन जना घाइते भएका हुन् ।

जीपमा सवार तानसेन नगरपालिका–१४, अर्गलीका ४० वर्षीय दिलीप न्यौपाने, सुद्धोधन गाउँपालिका–४ रुपन्देहीका २४ वर्षीय चन्दन कार्की र नवलपुर विनयी त्रिवेणी–७ का ३२ का विवेक कार्की रहेको प्रहरीले जनाएको छ ।

घाइते तीन जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।

राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रको नागको मन्दिर नजिकै माथिल्लो भागबाट ढुंगासहितको पहिरो खसेर जिप च्यापेको प्रहरीले जनाएको छ ।

केही समय अवरुद्ध भएको राजमार्ग ढुंगा फालेर एकतर्फी खुलाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

बाढीपहिरो

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully