कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सशस्त्र द्वन्द्वको आधार भूमिमा ‘अमेरिकी सपना’

दुई दशकअघि ‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध नारा उराल्दै माओवादीले सशस्त्र द्वन्द्व सुरुआत गरेका गाउँका युवा अहिले अवैध बाटोबाट अमेरिका पुग्ने आसमा संगठित मानव तस्करको जालोमा परेका छन्, रोक्न न राजनीतिक चासो देखिन्छ न त कानुन नै पर्याप्त छ
अवैध बाटो गएकाहरूलाई एकातिर कुरा बाहिर ल्याए दलालले फसेको रकम फिर्ता नदिने धम्की दिइरहेका हुन्छन्, अर्कोतिर यस्तो कुरा बाहिर आउँदा आफू नै कारबाहीमा परिन्छ कि भन्ने डर हुन्छ
जनकराज सापकोटा

काठमाडौँ — पुथा उत्तरगंगा गाउँपालिका–१० का वडाध्यक्ष भरत बुढालाई उनकै गाउँ तकका थुप्रै युवा ‘तल्लोबाटो’ हुँदै अमेरिका पुगेको र केही बाटोमै रहेको थाहा भए पनि ठ्याक्कै संख्या थाहा छैन । तर, अमेरिका पुगेका ८ जना डिपोर्ट भएको (सुरक्षाकर्मीले पक्राउ गरी फर्काएको) र उनीहरूले करिब साढे चार करोड रुपैयाँ गुमाएको चाहिँ उनलाई प्रस्ट थाहा छ । 

सशस्त्र द्वन्द्वको आधार भूमिमा ‘अमेरिकी सपना’

अमेरिकाबाट डिपोर्ट हुने युवाका अनुसार उनीहरू अनेकौं हन्डर खाएर रित्तै फर्केका मात्र छैनन्, औसतमा प्रतिव्यक्ति ६० लाख रुपैयाँ गुमाएका पनि छन् ।

दुबई, मस्को, बोगोटा, बोलिभिया, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको वा यिनै छेउछाउका देश अवैध रूपमा पार गर्दै अमेरिका छिर्ने बाटोलाई पूर्व रुकुम, पश्चिम रुकुम र दाङका गाउँमा तल्लोबाटो भनेर बुझिन्छ ।

गुजमुज्ज ४२५ घर रहेको रुकुम पूर्वको तक गाउँ सशस्त्र द्वन्द्वका बेला माओवादीको आधारभूमि मानिन्थ्यो । मध्यपहाडको विकट भूगोलमा रहेको तकका बासिन्दाको मुख्य पेसा भेडापालन र जडीबुटी संकलन हो । विपन्न यो एउटा गाउँबाट मात्रै अवैध बाटो पछ्याउँदै अमेरिका पुगेर डिपोर्ट हुनेले अनुमानित ४ करोड रुपैयाँ गुमाएका छन् । अमेरिका जाँदाजाँदै बीचैबाट फर्किएकाहरूको न यकिन संख्या थाहा छ, न त उनीहरूले गुमाएको रकमको हिसाबकिताब । अमेरिका जान यहाँका युवाले आफन्त र गाउँकै साहु–महाजनबाट ३६ प्रतिशतसम्म ब्याजमा कर्जा लिएको देखिन्छ । यही तथ्यांकबाट काफी छ, रुकुमका गाउँ–गाउँमा संगठित मानव तस्करीको जालो कसरी फैलिएको छ भनेर बुझ्न ।

वडाध्यक्ष बुढाले तक गाउँका आधाजसो घरबाट कम्तीमा एक जना विदेश गएको बताए । २०३८ सालमै यहाँका युवा रोजगारीको खोजीमा बहराइन पुगेको सम्झिँदै उनले भने, ‘६/७ वर्षदेखि हो, अमेरिका जाने चलन सुरु भएको । पैसा मात्रै जुटाउन सक्ने हो भने सिंगो गाउँ नै अमेरिकातिर हिँडिदिन्छ ।’ उनकै छोरा पनि २०७४ सालमा ३२ लाख रुपैयाँ खर्चेर तल्लोबाटो हुँदै अमेरिका पुगेका रहेछन् । सशस्त्र द्वन्द्वका बेला तक गाउँका घरका भित्ता–भित्तामा क्रान्तिका नारा ठुल्ठूला अक्षरमा लेखिएका हुन्थे । तन्नेरीदेखि बूढापाकासम्मले जीवन सहज हुने आशामा माओवादीलाई सघाए । तर, अहिले तस्बिर ठ्याक्कै उल्टो छ । त्यसबेला माओवादीले ‘दुस्मन र साम्राज्यवादी’ भन्ने गरेको देश अमेरिका अवैध रूपमा भए पनि छिर्न तन्नेरीहरू दलालका पछि लागेका छन् । र, यसको मूल्य तक गाउँले विभिन्न स्वरूपमा चुकाइरहेको छ ।

सपनाको अवसान

अमेरिकाबाट डिपोर्ट गरिएका केही युवा ऋणको भार र साहुको दबाब खेप्न नसकेर गाउँबाटै पलायन भएका छन् । यसरी गाउँ छाड्नेहरू तक गाउँमा मात्रै कम्तीमा पाँच परिवार रहेको त्यहींका एक बासिन्दाले बताए । तिनैमध्ये एक थियो– राम बुढाको परिवार ।

सम्बन्धित समाचार

क्यारेबियन सागरमा डुंगा दुर्घटना, ३ नेपालीसहित ७ को मृत्यु

आठ वर्ष मलेसियामा काम गरेर फर्केका राम २०७२ वैशाख १५ मा संगठित मानव तस्करको सहयोगमा अवैध रूपमा अमेरिका जान तल्लो बाटो हिँडे । महिनौं लामो यात्रापछि अमेरिका छिरेका उनी २७ महिना त डिटेन्सन क्याम्प (अध्यागमन हिरासत) मै बसे । शरणार्थी आवेदन अस्वीकार भएपछि २०७६ मंसिर अन्तिम साता नेपाल फर्काइएका उनले यसक्रममा ४५ लाख रुपैयाँ सिध्याए । अहिले ब्याजसमेत जोड्दा उनको ऋण ६० लाख नाघेको छ । काठमाडौंको तारकेश्वरमा भाडाको जग्गामा तरकारी खेती गरिरहेका रामले सुनाए, ‘साहुहरू कराउन थालेपछि गाउँमा राम्रोसँग बस्न सकिएन ।’ तस्करकै सहयोगमा अमेरिका पसेर उतै बस्ने अनुमति पाएकाहरूले जति सानका साथ आफ्ना कथा सुनाउँछन् उति नै पीडादायी कथा छ– अमेरिका पुगेर डिपोर्ट भएका र बाटोबाटै फर्किनु परेकाहरूको ।

तक गाउँको माथिल्लो लहरमा ढुंगाले बनेको सानो घरमा नन्दकला घर्ती उराठलाग्दा दिनहरू बिताइरहेकी छन् । श्रीमान् धनलालले अमेरिका जाने अवैध बाटो नसमातेको भए चार सन्तान हुर्काइरहेकी उनलाई यो दुःख आइलाग्दैनथ्यो । धनलाल चार वर्षअघि ६ महिना लामो कष्टसाध्य यात्रा गरेर अमेरिका पसेका थिए । अमेरिका पुगेलगत्तै पक्राउ परेका उनी चार वर्ष डिटेन्सन क्याम्पमा थुनिए र नेपाल डिपोर्ट गरिए । दुई वर्ष कतार र दुई वर्ष साउदी अरबमा मजदुरी गरेर कमाएको रकम र त्यसमाथि लिएको ऋणसमेत ६० लाख रुपैयाँ यात्राकै क्रममा खर्च भइसकेको थियो ।


नन्दकला घर्ती

अहिले धनलाल र नन्दकला साहुबाट घेरिएका छन् । नन्दकला आफूहरू मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताउँछिन् । सानो छोरातिर देखाउँदै भन्छिन्, ‘अब यो कहिले ठूलो होला र विदेशमा कमाएर परिवारको ऋण तिर्ला ?’

सम्बन्धित समाचार

अमेरिका हिँडेका ८१ नेपाली मोरक्कोबाट फर्काइए

साउदीको कमाइबाट रुकुम पश्चिमको खलंगामा किनेको १०५ वर्गमिटरको घडेरी बेच्ने सुरमा भए पनि धनलालले ग्राहक भेटेका छैनन् । अमेरिकाबाट फर्किएपछि लागेको ऋण तिर्न उनले क्रोएसिया जाने प्रयास पनि गरे तर काठमाडौंमा १५ दिन बिताउँदा पनि काम नभएपछि घरै फर्किए । नन्दकलाले सुनाइन्, ‘अब अर्को दलाललाई पासपोर्ट बुझाउने हो, यहाँ बसेर त कामै छैन ।’

उस्तै–उस्तै कथा

पुथा उत्तरगंगाको भन्दा फरक अवस्था छैन, सिस्ने गाउँपालिकामा पनि । खोजिपस्ने हो भने यहाँका हरेक चोकमा अमेरिका जान हिँडेका वा उता पुगेर शरणार्थीको मुद्दा लडिरहेकाको थुप्रै कथा सुन्न पाइन्छ । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी अमेरिका पुगेर डिपोर्ट भएका मात्रै सात जनालाई आफूले चिनेको बताउँछन् ।

सम्बन्धित समाचार

विदेशमा नेपालीको गुमनाम मरण

सिस्ने–३ माथिल्लो पोखराका गंगाराम खड्काले मौरी र कुखुरापालन गरेका छन् । २०७४ चैत १३ मा उनी गाउँका अरू तन्नेरी जस्तै दलालको पछि लागेर अवैध बाटो अमेरिकातर्फ लागेका थिए । नेपालगन्जबाट भारतको नयाँदिल्ली पुगेर त्यहाँबाट मस्को–बार्सिलोना–बोगोटा–पनामा–कोस्टारिका–निकारागुवा–होन्डुरस–ग्वाटेमाला–मेक्सिको हुँदै अमेरिका पसेका उनले झन्डै ११ महिना डिटेन्सन क्याम्पमा बिताउनुपर्‍यो । २०७५ चैत १ मा डिपोर्ट गरिएका उनले दलाललाई ३२ लाख रुपैयाँ बुझाएका थिए भने २० लाख रुपैयाँ शरणार्थी बन्ने मुद्दा लड्दा खर्च गरे । भन्छन्, ‘नेपालमै कमाएर ऋण तिर्न सम्भव छैन, ब्याज कम गराएर फेरि विदेशतिर लाग्ने सोचमा छु ।


गंगाराम खड्का

डिपोर्ट भएको ६ महिनासम्म आत्तिने, डर लाग्ने र टाउको दुख्नेजस्ता समस्या आएको बताउने उनी डिपोर्ट हुनेहरू र तिनका परिवारले भोग्ने सास्तीको वर्णन गर्नै नसकिने बताउँछन् । माथिल्लो पोखरा गाउँमा अमेरिकाबाट डिपोर्ट गरिएका तीन जनाको हालत पनि आफ्नो जस्तै रहेको उनले सुनाए । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटका केशव केसी सामान्य ठेक्कापट्टाको काम गर्थे । आफ्नै स्कोर्पियो गाडी र बस थियो । मासिक ५०/६० हजार सजिलै आम्दानी हुन्थ्यो तर उनको मन यता अडिएन । उनले सुनाए, ‘सबै साथी अमेरिका हिँडेको देखेपछि मलाई पनि जाउँजाउँ भयो ।’ मुसीकोट–५ का मात्रै कम्तीमा २० जना अवैध रूपमा अमेरिका गएको उनी बताउँछन् ।

सम्बन्धित समाचार

अदालतले सजाय तोकेका दलाललाई प्रहरीले छाड्दा

२०७५ असारमा अमेरिकाका लागि हिँडेका उनी पयर्टक भिसामा दुबई गए । एक महिनापछि दलालको सहयोगमा इथियोपिया पुगेर २२ दिन बस्दा पनि अगाडि बढ्ने मेसो नमिलेपछि काठमाडौं फर्किए । केही दिन काठमाडौं बसेपछि फेरि दुबई, ब्राजिलको साउपाउलो हुँदै चिली पुगे । त्यहाँबाट पेरु र कोलम्बिया अनि एक सातासम्म घोस्ट ट्रेल भनिने पनामाको जंगलमा हिँडेर कोस्टारिका पुगे । उनका अनुसार यो यात्रामा पाँच जना नेपालीसहित १२ जनाको समूह थियो । कोस्टारिकाबाट होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै अवैध रूपमा अमेरिका छिरेका उनले यतिन्जेल ३२ लाख रुपैयाँ गुमाइसकेका थिए । डिटेन्सन क्याम्पमा १३ महिना बसेर शरणार्थीको मुद्दा लड्दा पनि आवेदन अस्वीकार भएपछि उनी नेपाल फर्काइए । कुल ५४ लाख रुपैयाँ सिध्याएर रित्तै फर्केका ३५ वर्षीय केशवले यतिबेला बल्ल बुझे– अमेरिका यसरी अवैध रूपमा जाने ठाउँ नै होइन ।

सुरक्षाकर्मीको आँखा छल्दै दलालको हप्कीदप्की सुन्दै असुरक्षित बाटो हिँड्दा ठाउँ–ठाउँमा लुटेरा समूहसँग जुध्नुपर्ने यो यात्रालाई उनी जानाजान मृत्यु खोज्न गए जस्तो ठान्छन् । तर अमेरिकाका लागि यत्रो मरिहत्ते किन त ? ‘एक त यहाँ रोजगारी छैन, अर्को बाबुआमा र आफन्त नै फलानोको छोराले अमेरिका पुगेर यति पैसा कमाइसक्यो, तँ यहाँ के गर्दै छस् भनेर दबाब दिन्छन्,’ उनले कारण खुलाए । मुसीकोट–४ को बोहरा गाउँमा बस्ने ४० वर्षीय टीकाराम पुन पुराना दिन सम्झिन पनि चाहँदैनन् । २०७४ असोजको पहिलो साता संगठित मानव तस्करका भरमा उनले १७ देशका सीमा पार गरेर अमेरिका छिरे । त्यसबेला आफ्नो समूहमा रहेका ४१ मध्ये ३१ पूर्व र पश्चिम रुकुमकै भएको उनले सुनाए ।


टीकाराम पुन

अमेरिका छिरेलगत्तै पक्राउ परेका टीकारामले त्यसपछिका २४ महिना डिटेन्सनमा बिताए । शरणार्थी आवेदन अस्वीकार भएपछि उनीसहित ८ नेपाली डिपोर्ट गरिए । उनी भन्छन्, ‘दलाललाई बुझाएको, मुद्दा लडेको र बाटो खर्च गरेर जम्मा ९२ लाख रुपैयाँ खर्च भयो ।’ फर्केपछि हारगुहार गरेर दलालबाट पाँच लाख रुपैयाँ मात्रै फिर्ता पाएका उनले भएको साढे दुई रोपनी जग्गा १३ लाख रुपैयाँमा बेचेर ऋण घटाएका छन् । भन्छन्, ‘फर्किंदा त कुरै बिर्सने, एकोहोरो हुने समस्या थियो । अझै स्वस्थ भइसकेको छैन ।’ अहिले पनि साहु र आफन्तबाट ऋण तिर्न ताकेता खेपिरहेका उनले दिने जवाफ एउटै हुन्छ, ‘मसँग केही छँदै छैन त के दिऊँ ?’

जो बाटोमै अस्ताए

कोलम्बियाबाट सामुद्रिक बाटो हुँदै क्यारेबियन कोस्टस्थित कपुरगाना पुग्ने र त्यहाँबाट पनामाको घना जंगल पार गरेर कोस्टारिका पुग्ने योजनामा थिए रुकुम पश्चिम बाफिकोट–३ का रूपक बोहरासहितका ७ नेपाली र १० बंगलादेशी । तर, उनीहरू चढेको डुंगा समुद्रमा पल्टियो । दुर्घटनामा ६ नेपालीसहित १२ जनाले ज्यान गुमाए । बाफिकोटमा रहेकी रूपककी पत्नी गीताले यो खबर घटनाको ६ दिनपछि २०७८ असार ११ मा पाइन् ।

सम्बन्धित समाचार

कोही किन ज्यानको बाजी लगाएर अमेरिका छिर्न खोज्छ ?

१९ वर्षमा बिहे गरेकी र दुई छोरी हुर्काइरहेकी २४ वर्षीया गीता भन्छिन्, ‘मलाई अझै पनि ठ्याक्कै के भएको हो भन्ने थाहा छैन ।’ उनलाई थाहा भएको एउटै कुरा छ– अब भरोसा दिने रूपक छैनन् र अधुरो यात्रामा खर्च भएको ५० लाख रुपैयाँ ऋणको भारी छ । गीताले आफ्नो मोबाइलमा रहेको श्रीमान्‌सँगको फोटो देखाउँदै भनिन्, ‘अब सम्झना मात्रै त रह्यो नि ।’

घटनाको डेढ महिनापछि रूपकको शव उनको गाउँ आइपुग्यो, परिवारले सानी भेरी किनारमा दाहसंस्कार गरे । अहिले फेरि रूपककै परिवारका सदस्य अमेरिका जाने तारतम्य मिलाउन दुबई–काठमाडौं ओहोरदोहोर गरिरहेका छन् । रूपक चढेकै डुंगामा थिए, दाङको घोराही–१२ का २१ वर्षीय एन्जल बुढामगर । घटनाको दुई वर्षपछि भेट्दा पनि एन्जलका बाबु राजेन्द्रको मुहार शोकाकुल नै थियो । उनले सुनाए, ‘कसैले अमेरिका र छोराको नाम मात्रै लियो भने पनि असाध्यै पीडा हुन्छ ।’


राजेन्द्र बुढामगर

राजेन्द्रले पाएको सूचनाअनुसार युवाहरूको समूहलाई निकोक्लीबाट कपुरगाना लैजान दलाललाई ३ सय डलर खर्च गर्नुपर्थ्यो तर उसले एक सय डलर मात्रै खर्चेर जोखिमपूर्ण तरिकाले रातमा समुद्र पार गराउन खोज्यो । उनले भने, ‘२ सय डलर नाफा खाने चक्करमा छोराको ज्यानै लिए ।’ सात जनाको ज्यान गएको यो घटनामा राजेन्द्रबाहेक कसैले पनि मानव तस्करका एजेन्टविरुद्ध उजुरी दिएनन् । राजेन्द्रले भने दाङकै एजेन्ट टोपबहादुर जीसीविरुद्ध मानव बेचबिखन नियन्त्रण ब्युरोमा उजुरी दिए । राजेन्द्रको उजुरीपछि टोपबहादुर बेपत्ता भए । भागेर युक्रेन पुगेको निष्कर्ष निकालेको प्रहरीले पक्रिन प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मार्फत रेडकर्नर नोटिस जारी गर्‍यो । नोटिस जारी भएपछि अदालतमा हाजिर हुन आएका जीसीलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालले अभियोग दाबी नपुग्ने ठहर गर्दै चैत १९ मा सफाइ दिइसकेका छन् ।

सम्बन्धित समाचार

कसले पुर्‍यायो नेपाली युवालाई कोलम्बिया ?

राजेन्द्रले छोरालाई पठाउँदा चार कट्ठा जग्गा बेचेर आएको पैसासहित झन्डै ३२ लाख रुपैयाँ खर्चेका थिए । उनी भन्छन्, ‘पैसा त फेरि कमाउन सकिएला, तर छोरो सधैंका लागि गयो ।’

न राजनीतिक चासो, न त कानुनी व्यवस्था

तक गाउँ छिर्ने मुखैमा छ, चेवाङ खोलाको पक्की पुल । पुलको भित्तामा ‘संसारका श्रमिक तथा उत्पीडित वर्ग एक हौं’ लेखिएको नारामाथि मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्बिर बनाइएको छ । तर, यहाँको जीवन भने पुलमा लेखिएको नाराले संकेत गरेजस्तो छैन । संगठित मानव तस्करका दलालको पछि लागेर अमेरिका जानेको होडले गाउँ नै रित्तिएला जस्तो भइसकेको छ । संगठित अपराधको यो यात्रालाई रोक्न न स्थानीय सरकार सक्रिय देखिन्छन् न त राजनीतिक दलहरूको चासो यसतर्फ देखिन्छ ।

पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती गाउँबाट अमेरिका जान हिँडेकामध्ये उता पुग्नेभन्दा फर्किने धेरै भएको सुनाउँछन् । हुलै बाँधेर अमेरिका जाने अवैध बाटो समाउनु चिन्ताको विषय भए पनि आफूले केही गर्न नसक्ने उनको भनाइ छ । भन्छन्, ‘हामीले गर्न सक्ने केही छैन । नजाऊ पनि कसरी भन्नू ? रोक्नका लागि विकल्प दिन सक्नुपर्‍यो नि ?’

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको बुझाइमा नेपालमा गाँजा खेतीमा प्रतिबन्ध लागेपछि सुरु भएको गरिबीको चक्रमा माओवादी द्वन्द्वले थप प्रभाव पारेपछि युवाको विस्थापन बढेको हो । शान्ति प्रक्रियापछि पनि अर्थतन्त्र बलियो नहुँदा र जनताले योग्यताअनुसारको रोजगारी नपाउनुको फाइदा मानव तस्करहरूले उठाएको उनी बताउँछन् । भन्छन्, ‘मिटरब्याजीले पनि यो धन्दालाई प्रमोट गरिरहेका छन् ।’

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाठाले भने, ‘लौन यसलाई कसरी रोक्ने ? छोराछोरी पढाउनमा कसैको ध्यान छैन, जसरी हुन्छ अमेरिका जाने ध्याउन्न छ ।’ उनले संकलन गरेको तथ्यांकअनुसार बाफिकोटबाट ४ सय ९३ जना अमेरिका पुगेका छन् । अध्यक्ष बाठाका अनुसार अवैध रूपमा अमेरिका जाने एक जनाले औसतमा ४५ लाख रुपैयाँ खर्च गर्छ । यही अनुमानलाई आधार मान्दा बाफिकोटबाट अमेरिका जानका लागि मात्रै कम्तीमा २२ करोडभन्दा धेरै रकम पलायन भएको छ । उनी पनि युवा यसरी अमेरिका जान चाहनुको मुख्य कारण राजनीतिक अस्थिरता र बेरोजगारी देख्छन् ।

सम्बन्धित समाचार

क्यारेबियन सागरमा हराए ७ नेपाली

रुकुम मात्रै होइन, दाङको तुलसीपुर र घोराहीमा पनि यसैगरी अमेरिका जाने तयारीमा रहेका वा उता पुगेर डिपोर्टमा परेकाहरू सजिलै भेटिन्छन् । घोराही–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेय अमेरिका हिँडेकाहरू ठगिए पनि वडामा उजुरी नपरेको बताउँछन् । भन्छन्, ‘उजुरी गर्ने त साउदी कतारवाला मात्रै हुन् ।’ उनकै कुराबाट बुझ्न सकिन्छ अवैध रूपमा अमेरिका हिँडेका परिवारका सदस्य वा फर्केकाहरू हत्तपत्त यो कुरा अरूलाई बताउन चाहँदैनन् । उनीहरूलाई एकातिर यो कुरा बाहिर ल्याए दलालले फँसेको रकम फिर्ता नदिने धम्की दिइरहेका हुन्छन्, अर्कोतिर यस्तो कुरा बाहिर आउँदा अवैध यात्रामा हिँडेको आफू नै कारबाहीमा परिन्छ कि भन्ने डर हुन्छ ।

मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ पछिका पाँच वर्षमा अमेरिकाबाट १७४ पुरुषसहित १७८ जना डिपोर्ट भएका छन् । जसमध्ये सबैभन्दा धेरै ४९ जना रुकुमका र ३७ जना दाङका छन् । यो तथ्यांकमा बीचबाटै फर्कनुपरेका र उतै पुगेर शरणार्थी हैसियत पाउन मुद्दा लडिरहेकाको संख्या समेटिएको छैन । तर यतिले मात्रै पनि अमेरिका जान तल्लोबाटो समाउनेहरू माओवादी द्वन्द्वका बेला आधार क्षेत्र मानिएका ठाउँका युवा छन् भन्ने प्रस्टै बुझाउँछ ।

मानव बेचबिखन नियन्त्रण ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जीवन श्रेष्ठ डिपोर्ट भएर फर्केका र बीचबाटै फर्केकाहरूले प्रहरीमा उजुरी नगर्ने भएकाले अमेरिकाको अवैध यात्राका पीडित कति छन् र कति रकम डुबाएका छन् यकिनका साथ भन्न नसकिने बताउँछन् । ‘यो काम सोझै मानव तस्करी हो । तर, कानुनको अभावमा मानव बेचबिखन तथा ओसारपसार ऐन २०७४ अनुसार मुद्दा चलाउनु परेको छ । जसमा अधिकतम जरिवाना दुई लाख रुपैयाँ र जरिवानाको ५० प्रतिशत क्षतिपूर्तिको व्यवस्था छ ।’ कमजोर कानुनकै कारण प्रहरीले मानव तस्करीका घटनामा मानव बेचिबखन तथा ओसारपसार ऐन मात्रै नभएर ठगी र संगठित अपराधको मुद्दा पनि जोड्ने गर्छ । एकातिर पीडितले प्रहरीमा उजुरी गरिरहेका छैनन् भने अर्कोतिर दलालको फेरो समातेर अमेरिका जाने चलन झन्–झन् बढिरहेको छ ।

चेवाङ खोलाको छेउमै छ, श्री कामीको मासु पसल । उनी १८ वर्षको उमेरमा दलाललाई ६० हजार रुपैयाँ बुझाएर साउदी अरब गएका रहेछन् । ११ वर्ष साउदी र दुई वर्ष कतारमा बिताएका उनी त्यहीं छँदा छोराले अमेरिका जान तल्लोबाटो समाएछन् । पाँच वर्षअघि विभिन्न देश हुँदै झन्डै चार महिनापछि ब्राजिल पुगेर नेपाल फर्किएका उनले २७ लाख रुपैयाँ गुमाए ।

लाखौं गुमाइसक्दा पनि श्रीका छोराको अमेरिका यात्रा रोकिएन । घर फर्केको केही महीनापछि फेरि अर्को दलालको फेरो समातेर उनले तल्लोबाटो पक्रिए । श्रीले सुनाए, ‘दोस्रो पटक अमेरिका जाँदा ३४ लाख रुपैयाँ खर्च भयो, शरणार्थीको हैसियत पाउन थप ३२ लाख ।’ उनका छोरा अहिले शरणार्थीको मान्यता पाएर अमेरिकामै काम गरिरहेका छन् । छोराको ‘पौरख’बारे गर्व गरेझैं श्रीले सुनाए, ‘कि आँटले खान्छ, कि ढाँटले । छोराले आँटैले खायो ।’

– साथमा महेश केसी (रुकुम पूर्व) र दुर्गालाल केसी (दाङ) (खोज पत्रकारिता केन्द्रसँगको सहकार्यमा)

प्रकाशित : असार १०, २०८० ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?