विदेशमा नेपालीको गुमनाम मरण- समाचार - कान्तिपुर समाचार

विदेशमा नेपालीको गुमनाम मरण

अवैध रुपमा युरोप वा अमेरिका छिर्ने क्रममा विश्वका विभिन्न देशका कुनाकाप्चामा पुगेर दुर्घटनामा मर्ने वा घाइते हुने नेपालीबारे सरकार बेखबर 
अकाल मृत्युवरण गरेका नेपालीका परिवारले न्याय पाउनु त परैको कुरा अधिकांशको शवसमेत ल्याउन सकिएको छैन
जनकराज सापकोटा

काठमाडौँ — मंसिरको अन्तिम साता अवैध रूपमा अमेरिका छिर्न हिँडेका दाङका २१ वर्षीय एक युवाको पेरुमा मृत्यु भएको खबर आयो । ज्वरो आउने र रुघा लाग्ने जस्ता लक्षण देखिए पनि ढिला गरी अस्पतालमा भर्ना भएका उनको त्यहीं मृत्यु भएको खबर पेरुका केही अखबारहरूले पनि प्रकाशित गरे ।

तर पेरुमा मृत्यु भएका नेपालीलाई अवैध रूपमा कसले त्यहाँसम्म पठाएको थियो ? यो अवैध यात्रामा उनले कति रकम खर्चेका थिए भन्नेजस्ता सूचनाहरू सरकारी संयन्त्रसम्म पुगेन । किनकि न मृतकको परिवार प्रहरी सम्पर्कमा आयो न त कुनै सरकारी संयन्त्रले नै मृत्यु हुने युवाबारे थप खोजीनितीको पहल गर्‍यो । ती युवकको पूर्ण विवरण नै सार्वजनिक भएन ।

मंसिर ४ मा रुकुम मुसीकोटका २८ वर्षीय रूपक बोहराको दक्षिण अफ्रिकी देश घानाको राजधानी अक्रास्थित रिज अस्पतालमा मृत्यु भयो । संगठित मानव तस्करका गिरोहको भर परेर अमेरिका पस्न हिँडेका उनले विभिन्न चरणमा दलाललाई ४० लाखभन्दा धेरै बुझाएका थिए । उनका बाबु देवबहादुर रुकुमको बाँकेकोट गाउँपालिका–३ का वडासदस्य हुन् । तर यो प्रकरणमा समेत रूपकलाई लैजानेमाथि कारबाहीको प्रक्रिया अघि बढेको छैन ।

मनग्य कमाउने लोभमा संगठित मानव तस्करको पासोमा परेर अफ्रिकादेखि ल्याटिन अमेरिकी देशका विभिन्न कुनाकाप्चामा दुर्घटनामा वा बिरामी परेपछि उपचार नपाएर मृत्यु हुनेमा दाङ र रुकुमका यी दुई युवक मात्रै छैनन्, थुप्रै जना छन् । नेपालको सामान्य कूटनीतिक सम्बन्ध पनि स्थापित नभएका देशमा मानव तस्करको भर परेर हिँड्दा–हिँड्दै अकालमा मृत्युवरण गरेका नेपालीका परिवारले न्याय पाउनु त परैको कुरा मृतक अधिकांशको शवसमेत नेपाल ल्याउन सकिएको छैन । जस्तो कि पेरु र घानामा मृत्यु भएका दुवैको शव घटना भएको हप्तौं बितिसक्दा पनि नेपाल ल्याउन सकिएको छैन ।

गत असार ५ मा कोलम्बियाबाट अमेरिका छिर्न भन्दै हिँडेका ७ नेपालीसहित १५ जना सवार डुंगा दुर्घटनामा पर्‍यो । घटनामा परेका १ नेपाली र ५ बंगलादेशीको तत्कालै उद्धार भए पनि अरू सात नेपालीको अवस्था ६ महिनायता पनि अज्ञात नै छ । घटनामा परेका दाङ घोराहीका एन्जल बुढामगरको परिवारले भने उनको मृत्यु भइसकेको ठहर गर्दै अन्तिम संस्कार सकिसकेको छ । अन्य ६ का परिवारले भने अझै पनि उनीहरूकै आशा राखेर बाटो हेरिबसेका छन् । तर घटनाको ६ महिना भइसक्दा पनि उनीहरू न सम्पर्कमा छन् न त परिवारका सदस्यले उनीहरूलाई अवैध बाटोबाट अमेरिका लैजाने हिँडाएका मानव तस्करहरू विरुद्ध प्रहरीमा जाहेरी दर्खास्त नै दिएका छन् ।

उक्त डुंगा दुर्घटनामा परेका दिनेश गौतमका बाबु तिलप्रसादले केही समयअघि कान्तिपुरसँग कुराकानी गर्दै आफूहरू छोराको बाटो कुरिरहेको बताएका थिए । दिनेशका परिवारका एक सदस्यले घटनाको महिनौं बिते पनि आफूहरूले पत्यारिलो खबर पाउन नसकेको बताए ।

अदालतले सजाय तोकेका दलाललाई प्रहरीले छाड्दा

अमेरिका वा अन्य युरोपेली मुलुक छिर्ने आशा मानव तस्करलाई लाखौं रुपैयाँ बुझाएर अवैध रूपमा हिँडेकामध्ये कैयन्को मृत्युको आधिकारिक खबरसम्म परिवारका सदस्यले नपाइरहेको अवस्था छ । जस्तो कि, टर्कीबाट ग्रिस छिर्न खोज्दा सम्पर्कविहीन भएका नवलपरासी रजहरका नवीन तिवारी झन्डै तीन वर्षयता बेपत्ता छन् । उनलाई पनि संगठित मानव तस्करको गिरोहले अवैध रूपमा ग्रिस छिराउन हिमपातले भरिएको जंगलको बाटो हिँडाएका थिए । उनीसँगै ग्रिस छिर्न खोजेका इलामका मोती गुरुङले घटनालगत्तै हिँडदाहिँड्दै नवीन बिरामी परेको र एजेन्टले छोडिदिएको बताएका थिए ।

२०७५ जेठमा भक्तपुरकी सुमित्रा कुँवरसहित तीन महिला संगठित मानव तस्करको भर परेर कलाकारको नक्कली कागजात बनाएर हैटी पुगेका थिए । उनीहरूलाई पनि मानव तस्करहरूले डुंगामा अवैध रूपमा अमेरिका छिराउन हिँडाएको थियो । सोही क्रममा जहाजले बाटो बिराएर समुद्रमा हराएपछि भोक र प्यासका कारण सुमित्राको मृत्यु भएको थियो । शव गन्हाउन सक्ने भन्दै जहाजमा सवार अन्य यात्रुले उनको शव क्यारेबियन समुद्रमा फ्याँकिदिएका थिए ।

उनीसँगै यात्रारत अन्य दुई नेपाली त्यहाँबाट उम्केर नेपाल फर्केपछि सुमित्राको मृत्युको घटना सार्वजनिक भएको थियो । यो घटनाका दुई पीडितले घटनाको महिनौंपछि महानगरीय प्रहरी अपराध महाशाखामा जाहेरी दरखास्त दिए पनि उक्त घटनामा मुख्य अभियुक्त पक्राउ पर्न सकेका छैनन् । मृतकको पीडित परिवारले पनि मृत्युको घटनाबारे सरकारी संयन्त्रबाट न कुनै आधिकारिक सूचना पाए न त मृतकको शव नै खोजेर नेपाल ल्याउन सकियो ।

कसले पुर्‍यायो नेपाली युवालाई कोलम्बिया ?

मनग्य कमाउने आसमा अवैध रूपमा दलालको फेर समातेर हिँडेकाहरूको मृत्युको घटनाबारे मात्रै होइन यस्ता यात्रामा दुर्घटनामा पर्नेहरूको घटना पनि नेपालको सरकारी संयन्त्रमा बिरलै आइपुग्छ । मंसिरको पहिलो साता ग्रिसबाट अवैध रूपमा टर्की छिर्न खोजेको एउटा गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो ।

उक्त दुर्घटनामा २ जना नेपाली पनि घाइते भएको समाचार बेलायती पत्रिका गार्डियनले प्रकाशित गरेको थियो । बुझ्दै जाँदा घटनामा ४ नेपाली घाइते भएको पुष्टि भयो । घटनाको धेरै दिनपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मा पत्राचार गर्‍यो । ग्रिस प्रहरीको इन्टरपोल युनिटले ७ मंसिरमा तीव्र गतिमा टर्कीबाट ग्रिस छिर्न खोजेको गाडी दुर्घटनामा परेको र त्यसमा नेपाली पनि रहेको भन्दै सूचना पठायो । उक्त सूचना आउने बेलासम्म घाइते चारै नेपाली उपचार गराएर अस्पतालबाट निस्किसकेका थिए ।

यो घटनामा पनि न कुनै घाइते सदस्यहरूले उद्धार वा कानुनी उपचारको खोजी गर्दै सरकारी संयन्त्रमा सूचना दिए । तर उनीहरू को थिए र कसले कसरी अवैध रूपमा त्यहाँसम्म पठाएको थियो भन्ने खुलेन, सरकारी छानबिनको प्रक्रिया पनि अगाडि बढेन । मंसिर अन्तिम साता पनि मेक्सिकोबाट अमेरिकातर्फ जाँदै गरेको अवैध आप्रवासीहरू बोकेको ट्रक दुर्घटना हुँदा त्यसमा सवार ५३ जनाको मृत्यु भएको सूचना बाहिर आयो । जसमा केही भारतीय परेको भनिए पनि दुर्घटनामा नेपाली थिए कि थिएनन् भन्ने पुष्टि कतैबाट हुन सकेन । किनकि अवैध रूपमा अमेरिका छिर्न हिँडेका सयौं नेपाली भारतीय, बंगलादेशी, पाकिस्तानीहरूसँगै मेक्सिकोकै बाटो हुँदै जान्छन् ।

कैयन् पीडितलाई उनीहरूकै आफन्त वा चिनेजानेका मानिसहरूले अवैध रूपमा विदेश पठाउने हुँदा पनि दुर्घटना वा मृत्युका घटनापछि परिवार हतपती प्रहरीमा नआउने प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोकी प्रमुख एसएसपी दुर्गा सिंहले बताइन् ।

क्यारेबियन सागरमा हराए ७ नेपाली

नेपालीमा व्याप्त विदेश मोहकै कारण युवाहरू जस्तोसुकै जोखिम मोलेर पनि हिँडेका घटनाहरू भइरहेको उनको भनाइ छ । केही पीडितहरू भने दुर्घटना वा मृत्युको घटनामा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअन्तर्गत कारबाही नचालेर वैदेशिक रोजगार ऐनअन्तर्गत कारबाही गर्न भन्दै सम्बद्ध विभाग पुग्ने गरेको पनि पाइएको एसएसपी सिंहले बताइन् ।

श्रम तथा आप्रवासनका विज्ञ गणेश गुरुङ संगठित मानव तस्करका गिरोहले नेपालीहरूलाई संसारका अनेक कुनाकाप्चामा अवैध रूपमा पुर्‍याउने क्रम नरोकिएसम्म यस्ता खबरहरू आइरहने बताउँछन् । ‘नेपालीहरूको कुकुर मराइको अवस्था भइरहेको छ तर देशले उनीहरूलाई खोज्छ न तिनका परिवारले नै,’ उनले भने ।

देशभित्र व्याप्त बेरोजगारी र जसरी भए पनि युरोप वा अमेरिका छिर्ने लालच दुवैको फाइदा संगठित मानव तस्करहरूले उठाइरहेको भन्दै उनले बताए । ‘न हाम्रो कूटनीतिक संयन्त्र बलियो छ न अनुसन्धान गर्ने र मानव तस्करलाई दण्ड दिने प्रणाली बलियो छ । यस्तै घटना हुँदासम्म अन्तर्राष्ट्रियस्तरमै नेपालीको बेइज्जत भइराख्छ,’ उनले भने ।

प्रकाशित : पुस ६, २०७८ १०:११
प्रतिक्रिया
पठाउनुहोस्

लालपुर्जा माग्न बाँदरझुलादेखि काठमाडौं

राम मन्दिरका लागि भन्दै राज्यले बजेट छुट्याइरहँदा आफूहरु भने भूमिहीन बस्नुपरेको, निकुञ्ज र वन्यजन्तुको हैरानी खेप्नुपरेको गुनासो
जनकराज सापकोटा

काठमाडौँ — चितवन माडीको बाँदरझुलाबाट ४० जनाको टोली अधिकार माग्न आइतबार बिहानै काठमाडौंको माइतीघर मण्डल आइपुगेको छ । चेपाङ, तामाङ र दलित समुदायका उनीहरूको गाउँ एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मेको ठाउँ भन्दै मन्दिर स्थापना गरेको अयोध्यापुरीबाट झन्डै दुई घण्टाको दूरीमा पर्छ ।

राम मन्दिरको विकास र विस्तार भन्दै राज्य संयन्त्रले बजेट छुट्याइरहँदा आफूहरू भने दशकौंदेखि भूमिहीन बस्नुपरेको, निरन्तर निकुञ्ज प्रशासन र वन्यजन्तुको हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ । त्यही सुनाउन उनीहरू राजधानी आएका हुन् ।

बाँदरझुलाको टोलीले आइतबार माइतीघर मण्डलमा केहीबेर धर्ना दिएपछि र्‍याली लिएर बानेश्वरस्थित संसद् भवनका छेउमा पुगेर कोणसभा गर्‍यो । त्यसपछि फर्केर उनीहरू फेरि माइतीघर नै आइपुगे । साँझ पर्दै गर्दा उनीहरू कहाँ बास बस्ने भन्ने चिन्तामा थिए । काठमाडौं आएको टोलीलाई अगुवाइ गरिरहेका जगराम प्रजाले ६ सय २५ घरधुरी वर्षौंदेखि भूमिहीन भएको सुनाए । ‘राज्यले देउताका नाममा लाखौं खर्चन्छ । हामीले राष्ट्रिय निकुञ्ज र त्यहाँका सैनिकहरूबाट पाएको दुःख बुझ्दैन । त्यसैले आफ्नो समस्या सुनाउन काठमाडौं आएका हौं,’ उनले भने ।

चितवनको दुर्गम पहाडी क्षेत्रका साथै तनहुँ र लमजुङका परिवार गाँसबासको खोजीमा २०४७ कात्तिकदेखि बाँदरझुलामा बसाइँ सरेका हुन् । उनीहरूको आफ्नै नाममा जमिन छैन । राष्ट्रिय निकुञ्जसँग निरन्तर द्वन्द्व झेलिरहेका छन् । केही साताअघि मात्रै स्थानीय रत्नबहादुर स्याङ्तानलाई घर अगाडि दाउरा चिरिरहेका बेला सेनाले पक्राउ गरेर लग्यो । झन्डै दुई साता थुनामा बसेर उनी साढे आठ हजार रुपैयाँ धरौटीमा छुटे । उनीमाथि राष्ट्रिय निकुञ्जको स्रोत उपयोग गरेको आरोप थियो । केही समयअघि शिवराम प्रजा जंगली भालुको आक्रमणका परेर सख्त घाइते भए । उनी कैयन् दिन अस्पतालमा उपचार गरेर बल्लतल्ल निको भए ।

चितवन राष्ट्रिय निकुञ्जले भने बाँदरझुलालाई निकुञ्जको मुख्य अतिक्रमित क्षेत्रका रूपमा लिँदै आएको छ । जगरामका अनुसार राष्ट्रिय निकुञ्ज भएकै कारण उनीहरूको बस्तीसम्म मोटरबाटो पुग्न सकेको छैन । निकुञ्जका कर्मचारीले उनीहरूलाई ट्र्याक्टरबाट खनजोत गर्न प्रतिबन्ध लगाएको छ । केही महिनाअघि भूमि आयोगले जग्गा वितरण गर्ने भन्ने सुनेपछि उनीहरू सबैले फाराम भरेर वडामा बुझाएका थिए । तर उनीहरूको फाराम वडाबाट माडी नगरपालिकाभन्दा अगाडि बढेन । कांग्रेस नेतृत्वको सरकार आएपछि चितवनकै देवी ज्ञवाली अध्यक्ष रहेको भूमि आयोग खारेज गरिदियो । गत भदौमा सरकारले फेरि अर्को आयोग बनाएको छ । ‘हाम्रो समस्या जस्ताको तस्तै छ,’ जगरामले भने ।

उनीहरूले आफ्नो समस्या स्थानीय सरकारले सुने पनि त्यसउपर सम्बोधन गर्न नसक्ने भएपछि काठमाडौं आउनुपरेको सुनाए । माडी नगरपालिका–९ को कार्यपालिका सदस्यसमेत रहेका जगरामले काठमाडौंले आफूहरूलाई न्याय देला कि भन्ने आशा राखेको बताए । उनीहरूको बसोबास क्षेत्र रहेको बाँदरझुलालाई स्थानीय सरकारले हनुमानझुला भनेर नाम बदलेको छ । आन्दोलनकारीहरूले अयोध्यापुरीमा राम मन्दिर बनाएपछि त्यहाँ हनुमान मन्दिर बनाउने दाउ राखेका छन् । जगरामले भने, ‘भगवान्का कुरा सुन्ने तर जनताको दुःख नदेख्ने यो कस्तो तरिका हो ?’

आइतबार आएका आन्दोलनकारीले माइतीघर मण्डलमा न्यायका लागि आन्दोलनरत् नेपालगन्जका महिला कालो फोम ओछ्याएर भुइँमा बसिरहेको देखे । निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका निम्ति महिनौंदेखि आन्दोलनरत उनीहरूलाई देखेर जगरामले संशय व्यक्त गरे, ‘काठमाडौंमा सजिलै न्याय पाइँदैन क्या हो ?’

प्रकाशित : पुस ५, २०७८ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×