क्यारेबियन सागरमा हराए ७ नेपाली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यारेबियन सागरमा हराए ७ नेपाली

अवैध बाटो अमेरिका छिर्न लाग्दा कोलम्बियाको समुद्रमा डुंगा दुर्घटना
जनकराज सापकोटा

काठमाडौँ — कोलम्बियाको राजधानी बोगोटादेखि झन्डै ८ सय किलोमिटर टाढा रहेको सानो सहर निकोक्लीको एक होटलमा रहेका २१ वर्षीय एन्जल बुढामगरले असार पहिलो साता दाङमा रहेका काकालाई भिडियो कल गरे । घोराही–१२ स्थित घरमा रहेका काइँला काका जनक बुढासँगको कुराकानीमा उनले आफूसहित तीन नेपाली र १० बंगलादेशी सामुद्रिक मार्ग हुँदै क्यारेबियन कोस्टस्थित कपुरगाना जान लागेको बताए । एकदमै हतारमा देखिएका उनले काकालाई भने, ‘अब एक साता मेरो फोन लाग्दैन । चिन्ता नगर्नू ।’

दुई मिनेट १७ सेकेन्ड लामो भिडियो कुराकानीको अन्त्यमा एन्जलले चिन्ता नगर्नु भनेको तीन दिनपछि एक जनाले जनकलाई कोलम्बियामा पानीजहाज दुर्घटना भएको खबर सुनाए । उनले यो खबरको पुष्टि गर्न एन्जललाई अमेरिका पठाउने जिम्मा लिएका अनेकन एजेन्ट, एन्जलसँगै होटलमा बसेका तर त्यो यात्रामा नमिसिएका नारायण भन्ने अर्का नेपाली र डुंगा दुर्घटनामा परेर बाँचेका एक बंगलादेशीसँग कुराकानी गरे ।

सबैसँगको कुराकानीपछि उनले थाहा पाए– होटलबाट निस्केका तीन नेपालीसहित १३ जनाको टोलीमा अर्को होटलमा बसेका पाँच जना नेपाली पनि मिसिएका रहेछन् । जनकले घटनाबारे कान्तिपुरलाई सुनाए, ‘सबैसँगको कुराकानीबाट दुर्घटनामा परेर एन्जलको मृत्यु भएको निष्कर्ष निकाल्यौं ।’ घटनाक्रमको विश्लेषणपछि घोराही–१२ का वडाध्यक्ष राजेन्द्र बुढाले छोरा एन्जलको विधिपूर्वक किरिया गरिसकेका छन् ।

गहिरो शोकमा डुबेका राजेन्द्रले दुनियाँले तेरो छोरा कहाँ पुग्यो भनेर सोध्ने गरेको पृष्ठभूमि बाँध्दै भने, ‘साँच्चै भगवान् छ भने मेरो छोरासँग स्वर्गमा भेट होला ।’ अवैध बाटोबाट अमेरिका जान हिँडेकाहरू कोलम्बियाको दुर्गम गाउँ कपुरगानाबाट छिमेकी देश पानामाको सीमामा पर्ने डेरियन ग्याप भनिने घनाजंगलको बाटो हुँदै पानामा छिर्ने गर्छन् । संयुक्त राष्ट्रसंघअन्तर्गतको आईओएमले सन् २०१६ मा प्रकाशित गरेको ‘माइग्रेसन एन्ड माइग्रेन्ट्स : अ ग्लोबल ओभरभ्यु’ शीर्षकको प्रतिवेदनमा डेरियन ग्यापको यात्रालाई ‘घोस्ट ट्रेल’ को नाम दिइएको छ । कपुरगानापछि सुरु हुने यही जंगल यात्रालाई इंगित गर्दै एन्जलले अंकललाई फोन नलाग्ने कुरा बताएको बुझ्न सकिन्छ ।

दुर्घटनापछि उद्धारमा खटिएको कोलम्बियाको कोभेनास कोस्ट गार्ड स्टेसनका अनुसार डुंगामा १८ जना सवार थिए । तीमध्ये एक नेपाली र पाँच बंगलादेशीको उद्धार भएको छ । अन्य सात नेपालीसहित १२ जना हराइरहेका छन् । स्टेसनले जनाएअनुसार घटना १९ जुन (असार ५) मा भएको हो ।

होटेलबाट डुंगा चढ्न जानुअघि ३ नेपाली(रातो घेराभित्र) र १० जना बंगलादेशी ।

असार १० र ११ गते बंगलादेशबाट प्रकाशित पत्रिका ‘डेली स्टार’ ले पनि कोलम्बियाको पोएर्तो स्कोन्दिदोस्थित क्यारेबियन सागरमा ८ नेपाली र १० बंगलादेशी आप्रवासीहरू चढेको डुंगा दुर्घटनामा परेको समाचार छापेको छ । उक्त समाचारमा पाँच जनाको उद्धार भएको र तीमध्ये ३ जना बंगलादेशीको पहिचान भए पनि दुई जनाको परिचय नखुलेको उल्लेख छ ।

उक्त डुंगामा सवार ८ नेपालीमा एन्जलसहित दाङ तुल्सीपुरकै हेमराज अधिकारी, दाङ पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतकै ग्यादीका राजु गुरुङ, स्याङ्जाका नाम नखुलेका देवकोटा, म्याग्दीका प्रकाश विक तथा जिल्ला र नाम नखुलेका अर्का एक जना छन् । तीमध्ये उद्धार गरिएका म्याग्दीका प्रकाश विक एक अस्पतालमा उपचार गराएर फर्किइसकेका छन् ।

डुंगा दुर्घटनामा हराएका तुलसीपुरका हेमराज अधिकारीको राहदानी ।

एन्जलको परिवारले दुर्घटनामा परेर आफ्नो मान्छेको मृत्यु भएको टुंगो लगाए पनि डुंगामा सवार अरू परिवारका सदस्य घटना के भएको हो भन्ने निष्कर्षमा पुगिसकेका छैनन् । त्यसो त डुंगा चढ्न होटलबाट हिँडेको बताएका कोही पनि त्यसयता परिवार वा आफन्तीको सम्पर्कमा आएका छैनन् । डुंगामा सवार कुश्माका दिनेश गौतमका दाजु दीपकले घटनाको दिनयता भाइसँग कुनै सम्पर्क नभएको बताए । उनले भने, ‘कसैले के भन्छन्, कसैले के भन्छन् । दुर्घटनामा कतिको मृत्यु भएको हो, को–को बाँचेका हुन्, केही यकिन गर्न सकिरहेका छैनौं । चिन्ता मात्रै बढेको छ ।’

दीपकले म्याग्दीका प्रकाशसँगको कुराकानी उद्धृत गर्दै भने, ‘प्रकाशले आफूलाई छालले हुत्याएको, केही डुब्न लागेको डुंगामा झुन्डिएको देखेको र पछि क–कसको के भयो थाहा नभएको बताए ।’ कान्तिपुरले डुंगा दुर्घटनामा बाँचेका प्रकाशसँग पनि सम्पर्क गरेको थियो । ह्वाट्स एपमार्फत सम्पर्कमा आएका प्रकाशले आफूलाई अहिले ठीक भएको बताए पनि अरूको अवस्थाबारे केही उत्तर दिएनन् ।

उद्धार गरिएका म्याग्दीका प्रकाश विक । तस्बिर : कोभेनास कोस्ट गार्ड स्टेसन

दुर्घटनामा ८ जना नेपाली परेको पुष्टि भए पनि कति जनाको मृत्यु भएको हो, मृत्यु भएका भनिएकाको शव कहाँ राखिएको छ, तिनीहरूलाई कसले कोलम्बियासम्म पुर्‍याएको हो भन्नेबारे सरकारी तवरबाट कुनै सूचना सार्वजनिक भएको देखिन्न । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले कोलम्बियामा भएको डुंगा दुर्घटनामा नेपाली परेको विषयमा एक जनाको परिवारका सदस्यले आफूलाई व्यक्तिगत रूपमा जानकारी गराएको बताइन् ।

कोलम्बियामा भएको दुर्घटनामा नेपालीको मृत्यु भएको जानकारी बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई पनि सरोकारवाला परिवारका सदस्यले मौखिक रूपमा गराएका थिए । मानव बेचबिखन नियन्त्रण ब्युरोका प्रवक्ता एसपी अनुरागकुमार द्विवेदीले कोलम्बिया घटनाबारे आफूहरूले कुनै औपचारिक सूचना नपाएको बताए । प्रहरी वा निजामती कर्मचारीको तहबाट पनि यो घटनाबारे चासो राख्ने, परिवारजनलाई आवश्यक सूचना दिने तथा घटनामा जिम्मेवारहरूको पहिचान र खोजी गर्ने काम भएको देखिन्न ।

डुंगा दुर्घटनाबारे बुझ्न कान्तिपुरले सम्पर्क गरेका एक दर्जन सूचना स्रोतले दिएको जानकारी केलाउँदा ८ जना नेपालीलाई तीन फरक–फरक एजेन्टले फरक–फरक मितिमा काठमाडौंबाट उडाएका थिए । उनीहरू सबैलाई नेपाली एजेन्टहरूले अवैध मार्गबाट कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला हुँदै मेक्सिको पुर्‍याएर त्यहाँबाट अमेरिका छिराउने योजना बनाएको देखिन्छ ।

दुर्घटनाग्रस्त डुंगा ।

सम्पर्कमा आएका परिवारका सदस्यहरूका अनुसार चैत २३ गते पर्वतका दिनेश र म्याग्दीका प्रकाश विकसँगै अमेरिका जान भन्दै काठमाडौंबाट दुबई पुगेका थिए । दुबईमा केही दिन बसेर उनीहरूलाई एजेन्टले मस्को–जर्मनी–ब्राजिल हुँदै कोलम्बिया पुर्‍याएको देखिन्छ । दाङका जनकका अनुसार एन्जल र रेशम डिंगा मगर दाङबाट चैतको १७ गते दाङबाट काठमाडौं आएर दुबईका लागि उडेका थिए । अरूचाहिँ कसरी र कहिले कोलम्बिया पुगेका हुन् भन्नेबारे सूचना प्राप्त हुन सकेन ।

काइँलो काका जनकका अनुसार एन्जललाई एजेन्टले करिब दुई महिना दुबईमै राखेका थिए । त्यहाँबाट एन्जल, दाङकै हेमराज अधिकारीसहित तीन जना युक्रेन हुँदै फ्रान्स र त्यहाँबाट कोलम्बिया पुगेको देखिन्छ । कोलम्बिया पुगेपछि हेमराज र एन्जललाई कोरोना संक्रमण पुष्टि भएकाले उनीहरू राजधानी बोगोटाको एक होटलमा १४ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए । काका जनकका अनुसार संक्रमणमुक्त भएपछि उनीहरूलाई एजेन्टले राजधानी बोगोटाबाट झन्डै साढे ४ सय किलोमिटरको टाढा रहेको मेडलिन सहर पुर्‍याएको देखिन्छ । एन्जलले आफूहरूलाई मेडलिन सहरमा प्रहरीले समातेको तर एजेन्टले छुटाएर निकोक्लीको सहर पुर्‍याएको बताएका थिए ।

क्यारेबियन सागरमा भएको डुंगा दुर्घटनाका घाइतेहरू उद्धारपछि स्थानीय अस्पतालमा । तस्बिर : द डेलीस्टारडटनेट

अमेरिका पुर्‍याउने भन्दै मानव तस्करको संगठित एजेन्टहरूले आठै नेपालीलाई पछिल्लो दुई महिनादेखि कोलम्बियामा रोकेर राखेको थिए । कोलम्बियासम्म पुग्ने क्रममा सबै नेपालीले औसतमा जनही ३० लाख आसपासमा खर्च गरेको देखिन्छ । जनकका अनुसार एन्जलले मात्रै २७ लाख ७२ हजार रुपैयाँ एजेन्टलाई बुझाएका थिए ।

संगठित मानव तस्करका एजेन्टहरूको आश्वासनको पासोमा परेर दर्जनौं देश छिचोल्दै गरिने महिनौं लामो अवैध यात्राका क्रममा नेपालीले ज्यान गुमाएको यो पहिलो घटना होइन । २०७५ वैशाखमा पनि नेपालबाट भारत गएर अवैध मार्ग हुँदै हैटी पुगेका तीन नेपाली महिलालाई मानव तस्करका एजेन्टले हैटीको राजधानी पोर्ट औ प्रिन्स पुर्‍याएका थिए । त्यही क्रममा क्यारेबियन सागरमा १८ दिनसम्म हराउँदा भोक र प्यासले छटपटिएर जहाजभित्रै भक्तपुरकी सुमित्रा कुँवरको मृत्यु भएको थियो ।

(दाङबाट दुर्गालाल केसी, पर्वतबाट अगन्धर तिवारी र स्पेनबाट मारियो लोपेज आरेउको सहयोगमा)

प्रकाशित : असार २५, २०७८ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

महानगरको सौन्दर्य चेत 

जनकराज सापकोटा

काठमाडौँ — बुधबार मध्यान्ह काठमाडौं महानगरपालिकाले आधा दर्जनभन्दा धेरै कर्मचारी लगाएर रत्नपार्कको आकाशे पुलमा बनाइएको मुरल कला मेटेको खबर सार्वजनिक भयो । कोभिड फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी र सरसफाईमा खटिएकाहरुको सम्मानमा बनाइएको मुरल कला मेट्न महानगरपालिकाले देखाएको हतारो कुनै नौलो थिएन । 

गत वर्षको भदौमा कोरोना संक्रमितहरुलाई राख्न महानगरले एउटा गतिलो आइसोलेसन सेन्टर बनाउन नसकिरहेका बेला आफू भने संक्रमित भएपछि सपरिवार सोल्टी होटलको आइसोलेसनमा बस्न रुचाउने कम्युनिष्ट दलका विद्यासुन्दर शाक्य मेयर भएको सहरमा यस्तो हुनु कुनै किञ्चित अनौठो घटना थिएन ।

प्रत्येकजसो बिजुलीका पोलमा गुजुल्टिएका तारहरू, ठाउँ कुठाउँ पैदलयात्री अल्झाउन लत्रिएका तारहरू, केहीबेरको बर्षापछि भलमा परिणत हुने बाटोघाटो, सार्वजनिक भित्तामा बर्षौदेखि नमेटिएका राजनीतिक दलका नाराहरू सबैले महानगरको सौन्दर्य बढाएकै थिए । बेलाबखत सहरका चोक कुनामा थुप्रिराख्ने फोहोर, हलक्कै हुर्किएका घासले भरिएका पार्कहरु, सानाठूला खाल्डाको धरापले भरिएको सडक पेटीहरु सबैले सहरको आभा बढाइरहेकै थिए । सहरी सौर्न्दयको यस्तो मानक बनाइरहेको महानगरपालिकाले एउटा मुरल कला मेट्ने हतारो देखाउनु कुनै नयाँ कुरा थिएन ।

सहरको सौर्न्दय जोगाउने नाममा महानगरले यसअघि पनि सडक छेउछाउका गीत गाएर दुई चार पैसा जम्मा पार्ने दृष्टिविहीनहरुलाई पटकपटक खेदेर आफ्नो ‘सक्रियता’ देखाएको थियो । दृष्टिविहीनहरुले कुन दुःखले जोरेको माईक र स्पिकर खोस्दै उनीहरुलाई लेखेटेर आफ्नो बहादुरी देखाएको धेरै महिना बितिसकेको छैन । फुटपाथमा दुईचार घोगा मकै बेच्नेहरुलाई खेद्ने तर ठूला होटलले सडकमै पार्किङ बनाएको पटक्कै नदेख्ने महानगरले बुझेको सौर्न्दयको मानक के हो हामीले देखिसकेका छौं । रानीपोखरीमा डोजर चलाउँदा, कमलपोखरीको कंक्रिट थुपार्दा, माइतीघर मण्डलमा झिलिमिली बत्ती हाल्दा र अनि मण्डलको एकछेउमा कलाको हुर्मत काढ्ने शैलीको नेपालको नक्साको फलामे प्रस्तर आकृति ठड्याउँदा हामीले महानगरको सौन्दर्य देखिआएकै हो ।

सार्वजनिक भित्तामा कुनै पनि नाफामूलक प्रयोजन नभएको कला मेट्न महानगरले देखाएको हतारो अर्थपूर्णमात्रै छैन, त्यसले महानगर हाँक्नेहरुको कलाचेतको गरिबी पनि देखाइरहेको छ । के महानगरले कुनै दल विशेषले सर्मथन वा विरोधमा, जयजयकारमा वा आलोचनामा सार्वजनिक भित्तामा केही नारा लेखेको भए यसैगरी मेट्नसक्ने थियो ? बेलाबखत सहरका कुनाकुनामा कुनै धर्मभिरुले उस्तै खाले नारा पोतेको, कुनै सनकी नेताका कार्यकर्ताले शक्तिको तुजुक देखाउन राजनीतिक नारा लेखेको हामीले देखिआएकै हो । बिजुलीका कुनचाहिँ पोल सद्दे छन् जहाँ कुनै पम्प्लेट नटासिएको होस् ! कुनचाहिँ चोकका कुन भित्ता खाली छन्, जहाँ कसैले कुनै विज्ञापनको बोर्ड नझुण्ड्याएको होस् । यी सबै कुरुप दृश्यहरुले नबिझाएका महानगरका आँखा केही कलाकारले कैयन घन्टाको मिहनेतपछि तयार भएको एउटा कलामा पर्‍यो ।

जुन महानगरमा पिसाबले च्याप्दा पस्ने कुनो छैन, जुन महानगरमा सुस्ताउने गतिलो पाटी छैन, जुन महानगरमा कुम नोठिक्कन पैदल हिँड्ने मार्ग छैन, त्यो महानगरको सौन्दर्य एउटा मुरल कलाले बिग्रन्छ ? सौन्दर्य बिग्रने अरु धेरै कुराहरू छन् महानगरमा । जसलाई गफैमात्र लडाएर पदमा टिकिराखेका मेयरले देख्दैनन्, सुन्दैनन् ।

सहरको सौर्न्दय त्यतिबेलै बिग्रेको हो, जतिबेला २ बर्षमै मेट्रो रेल कुदाउँछु भनेर उनले चुनाव जितेका थिए । सहरको सौन्दर्य त्यतिबेलै बिग्रेको हो, जतिबेला उनले चुनावी वाचाहरु चटक्कै बिर्सिएका थिए र कसैले सम्झाइदिँदासम्म मात्रै पनि उनको अनुहारमा लाजभन्दा क्रोधको रंग मिसिनथालेको थियो ।

सहरको बचेखुचेको सौन्दर्य कोरोनाको पहिलो लहरमा झनै पखालिएको थियो । जतिबेला सडकमा भोकाहरू एक छाक भातको खोजीमा निस्केका थिए । जतिबेला महानगरपालिकाले एक गास भातको आशमा खुलामञ्चमा भेला भएहरुबाट सहरको सौर्न्दय बिग्रने घोषणा गरेको थियो । अनि खुलामञ्चको भूईंमा लस्करै बसेर कागजको प्लेटबाट भात खाइरहेकाहरूलाई तितरवितर पारेको थियो । आफ्नो शक्ति देखाएझैं गरेर महानगरले कैयौं दिनदेखि दाताहरूको सहयोगमा खाना खुवाईरहेकाहरुलाई सहरको सौर्न्दय बिग्रनेगरी खाना नबाड्न आदेश दिएको थियो ।

सहरको सौन्दर्य यहाँका मजदुरहरू भोकै पर्दा खुइलिइसकेको थियो । सहरको आभा यो सहर बनाउने कामदारहरू भोकले च्यापिएर उपत्यका छाडी सयौं किलोमिटर लामो पैदल मार्चमा निस्कँदा मुर्झाइसकेको थियो । सहरको बचेखुचेको सौर्न्दय यहाँका गल्ल्लीको फोहोर बटुल्ने, यहाँका महलको मार्बल घोट्ने, यहाँका शौचालय सफा गर्ने, दिनगन्तीको हिसाब गर्दै मजदुरी गर्नेहरू भोकै पर्दा खुइलिइसकेको थियो ।

यो महानगरले अस्पतालमा बेड र अक्सिजन खोज्दै कुदिरहेका एम्बुलेन्सको लस्कर र छिटो दागवत्ती दिने पालो आउला भनेझैं गरेर आर्यघाटतिर कुँदिरहेका शव वाहनहरूको लस्कर देखेको धेरै दिन भएको छैन । घरभित्रै थुनिएर बसेका महानगरवासीले मृतकका आफन्तको चित्कार र सामान्य उपचारको आशमा भौंतारिइरहेका मानिसको क्रन्दन भुलिसकेका छैनन् । महामारीको सन्नाटा पनि बिलाउन नपाउँदै, दुईचार झर्को पानीले महानगरको दुःख पनि पखाल्न नपाउँदै महानगरपालिकाले देखाएको सौन्दर्य प्रेम ‘विद्या चिन्तन’को अपूर्व आविष्कार हो ।

जुन महानगरमा रात परेपछि भुस्याहा कुकुरहरूको जुलुस निस्कन्छ, जुन महानगरको सडकपेटीमा भोकले दोब्रिएर र चिसोले कठ्याग्रिएर मानिसहरू सुतिरहेको देख्न सकिन्छ, जुन महानगरका फोहोर चोकहरूमा अझै पनि फेन्सिडिल खाइरहेका र डेन्ड्राइट सुँघिरहेका बालबच्चा देख्न पाईन्छ, जुन नगरमा अझै पनि काम नपाएर एक छाक भात खोज्दै सडक नाप्नेहरूका पाईतालाको भोक-संगीत सुनिन्छ, त्यो महानगरले गरेको सौन्दर्यको चिन्ता नालायकीको एउटा श्रृंखला हो ।

प्रकाशित : असार १७, २०७८ २०:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×