कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिका हिँडेका ८१ नेपाली मोरक्कोबाट फर्काइए

जनकराज सापकोटा

काठमाडौँ — संगठित मानव तस्करको भर परेर अवैध बाटोबाट अमेरिका छिर्ने भन्दै हिँडेका ८१ नेपाली मोरक्कोको कासाब्लाङ्काबाट डिपोर्टमा परेका छन् । एकैचोटि धेरै संख्यामा नेपाली देखिएपछि अध्यागमनले शंका लागेर अनुसन्धान थालेको र डिपोर्टको निर्णय भएको डिपोर्टमा परेमध्येका एक नेपाली सुनाए । 

अमेरिका हिँडेका ८१ नेपाली मोरक्कोबाट फर्काइए

यतिका धेरै नेपाली एकैचोटि कसरी त्यहाँ पुगे भन्ने खुलिसकेको छैन । केही पहिल्यैदेखि र केही हालसालै भिजिट भिसामा दुबई पुगेकाहरू डिपोर्टमा परेका कान्तिपुरको सम्पर्कमा आएका एक जनाले बताए । सरकारले भिजिट भिसामा दुबई जानेमाथि कडाइ गरिरहेका बेला उनीहरू कसरी त्यहाँ पुगे भन्ने शंकास्पद देखिएको छ । स्रोतका अनुसार पछिल्लो समय अवैध रूपमा अमेरिका लैजान दुबईबाट मोरक्कोको कासाब्लाङ्का पुर्‍याउने र त्यहाँबाट बोलिभिया वा ब्राजिल छिराउने काम भइरहेको छ । कोरोना संक्रमणको तेस्रो लहर रोकिएपछि संगठित मानव तस्करका एजेन्टहरूले यो रुटको प्रयोग बढाएका हुन् । पछिल्लो रुटको प्रयोग गरेर यति धेरै नेपाली अमेरिका छिर्न लागेको यस्तो घटना पहिलो पटक सार्वजनिक भएको एक प्रहरी अधिकारीले बताए । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्रोतका अनुसार डिपोर्ट भएकामध्ये केही सोमबार रातिसम्म नेपाल आइपुग्ने बुझिएको छ ।

यसअघि पनि नेपालीहरू अवैध रूपमा अमेरिका जाने भन्दै काठमाडौंबाट दिल्ली–इन्डोनेसिया हुँदै इथियोपिया पुगेर अलपत्र भएका वा काठमाडौंबाट भियतनाम, इथियोपिया, मादागास्कर, जोर्डन, दुबई, अजरबैजान पुगेर बन्धक बनेका घटना सार्वजनिक भएका थिए । मानव तस्करले मुख्यगरी दिल्लीबाट रुस हुँदै स्पेन–बोलिभिया–इक्वेडर–कोलम्बिया–पानामा–कोस्टारिका–निकारागुवा–होन्डुरस–ग्वाटेमाला–मेक्सिको रुट प्रयोग गरेर अमेरिका छिराउने प्रयास गरेको देखिन्छ ।

प्रकाशित : जेष्ठ २४, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?