टिकटकमा डेटिङ !

असार ८, २०८०

मेनुका ढुंगाना

स्थान: सामाजिक सञ्जाल टिकटक विषय:डेटिङ लाइभसमय:साझ ५:३० बजेउपस्थिति संख्या:औसतमा १२ सयहोस्टको आईडी नाम:जोडी खोज्ने ठाउँयो टिकटक लाइभका होस्ट हुन् झापाको बिर्तामोडका ३१ वर्षीय शिशिर शर्मा । उनलाई लाइभमा देख्नासाथ सहभागीले एकोहोरो कमेन्ट लेख्न थालिहाल्छन्, जीएफ (गर्लफ्रेन्ड) चाहियो र बीएफ (ब्वाइफ्रेन्ड) चाहियो ।

लाइभमा जोडिएकाहरू यतिमै चुप बस्दैनन् बरु आफूलाई सुहाउने जोडी खोजिदिन होस्टलाई अनुरोध गर्छन् । जवाफमा शिशिरले भने गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड मात्रै नभएर विवाहका लागि जोडी खोजिदिने नै आफ्नो काम भएको पटकपटक दोहोर्‍याइराख्छन् । अनौठो त यो छ कि, यो लाइभमा जोडिने अधिकांश फर्जी नाम वा निक नेम भएको टिकटक आईडीबाट जोडिएको देखिन्छ । 

आफ्नो टिकटक लाइभमा जोडिनेको संख्या बढिरहेका बेला होस्ट शर्माले डकुचा नामकी केटीलाई गेस्ट बनाउँछन् । अनि होस्ट र डकुचाबीच कुराकानी सुरु हुन्छ । होस्टरले डकुचा र इसारालाई गेस्टमा कुर्न लगाएर अरू युवतीलाई पनि क्रमश: गेस्ट बनाउँछन् र उनीहरूसँग यस्तै शैलीको कुराकानी गर्छन् । यसपछि उनले सल्यानकी २५ वर्षीय गीता भण्डारीसँग कुरा सुरु गरे । होस्ट शर्माको टिकटक लाइभमा प्रत्येक ५ मिनेटको अन्तरमा सहभागी हुनेहरूको संख्या बढिरहेको थियो । यही समयमा टिकटकमा अर्को पनि लाइभ चलिरहेको थियो । जसमा भने १३ सय जना प्रत्यक्ष रूपमा सहभागी थिए । यो टिकटक लाइभलाई होस्ट गरिरहेकी थिइन् आफूलाई अश्ना राई बताउने युवतीले । 

अश्नाले पनि शिशिरले जस्तै आफ्नो काम जोडी खोजिदिने रहेको बताइन् । उनले जोडी खोज्न चाहने इटहरीकी १२ कक्षा पढ्ने १८ वर्षीया आर्या राईलाई गेस्ट बनाएर कुराकानी सुरु गरिन् । उनले बिहे गर्नका लागि केटा चाहिएको हो कि ब्वाइफ्रेन्ड मात्र भनेर सोधिन् । जवाफमा आर्याले भनिन्, ‘पहिले ब्वाइफ्रेन्ड बनाउने, मन मिल्यो, विचार मिल्यो भने बिहे पनि गर्ने ।’ आर्याले आफूलाई लिम्बू थरको केटा चाहिने बताएपछि अश्नाले लाइभमा जोडिएमध्ये कोही लिम्बू छ भनेर सोधिन् । 

यत्तिकैमा इलामका लिम्बू लोइस नामक टिकटक अकाउन्टबाट एक युवा लाइभमा जोडिए । उनले आफू सिंगल भएको र केटी साथी खोजी दिनुहुन्छ भनेर तपाईंको लाइभमा आएको बताए । उनले त्यही बेला आर्या राई र लोइस लिम्बूलाई कुरा गराइदिइन् । 

लाइभबाटै उनीहरूले एकअर्कालाई फलो गरे अनि म्यासेन्जरमा कुरा सुरु गरे । होस्ट अश्नाले कुरा मिल्यो भने अगाडि बढ्ने र मिलेन भने फेरि लाइभमा आएमा अर्को खोजिदिने भन्दै यो जोडीको काम टुंग्याइन् ।

यी दुई घटना प्रतिनिधि लाइभ मात्रै हुन् । कान्तिपुरले गरेको खोजीनितीमा नेपालका विभिन्न ठाउँबाट करिब ५० भन्दा बढी लाइभ यसरी प्रत्येक दिन सञ्चालन हुने गर्छन् । जसमा हजारौं युवायुवती सहभागी भएर गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड खोजिरहेका छन् । उनले आफ्नो कामको महत्त्व बुझाएजसरी भने, ‘हेर्नुस् मान्छेहरू बेरोजगार छन् । काम पनि केही छैन । हामीले यसरी लाइभ चलाउँदा रमाइलो पनि हुन्छ । कसैको उद्धार पनि हुन्छ । हाम्रो कमाइ पनि हुन्छ ।’ 

उनले टिकटक लाइभबाट जोडी बन्छौं भनेर गएका कतिपय एकअर्कासँग जोडिने, अन्तरंग कुरा गर्ने, पैसाको लेनदेन गर्ने र अन्त्यमा धोका भयो भन्दै रुँदै आफूकहाँ आउने गरेको बताए । भने, ‘हाम्रै माध्यमबाट जोडिएकाहरू ठगियौं भनेर पनि आएका छन् । हामीले त एकअर्कालाई भेटाइदिने हो । बाँकी सम्बन्ध बढाउने नबढाउने त उनीहरूको हातको कुरा हो नि ।’ 

अन्य विषयमा टिकटकमा लाइभ बसेर कुरा गर्दा कसैले पनि नसुन्ने र यस्ता विषयमा बहस गर्दा धेरै मान्छे जोडिने र गिफ्ट पाइने भएकाले आफूले जोडी खोज्ने काम सुरु गरेको उनले बताए । उनका अनुसार अहिले टिकटकमा यसरी लाइभ चलाउनेको प्रतिस्पर्धा नै हुन थालेको बताउँदै भने, ‘मैले किराना पसल सञ्चालनमा ल्याएको छु । फुर्सदमा हुनेबित्तिकै लाइभ बसिहाल्छु । गिफ्ट आयो भने कमाइ पनि राम्रो हुन्छ ।’

युवा ग्यालरी

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully