मिथिलाका परिकार पस्कन देशविदेशमा आउटलेट खोल्ने योजनाका साथ बीबीसी मास्टर सेफ सन्तोष साहले जनकपुरमा मिथिला थाली रेस्टुरेन्ट सुरु गरेका छन् । उनले पाँच वर्षभित्र एक सय शाखा सञ्चालनमा ल्याउने योजना बनाएका छन् ।
जनकपुर — जनकपुरको रामानन्द द्वारबाट थोरै उत्तर लागेपछि एउटा नौलो प्रकारको रेस्टुरेन्ट खुलेको छ । भित्र पस्नेलाई मिथिला आर्टको कुनै ग्यालरीमा पसेजस्तो भान गराउन भित्ताभरि पेन्टिङ छन् । प्रवेशद्वार नजिकै छ, मिथिला चित्र कोरिएका माटोका चारवटा मग, त्यसमा छन् जिब्रोपड्काउने चार थरी आचार ।
मिथिलाको कुनै गाउँको झलक दिने रेस्टुरेन्टभित्र पलङ छ, परालको गुन्द्री ओछ्याइएको । बेलायती सञ्चार संस्था बीबीसीको पाककला प्रतियोगिता यूके मास्टरसेफ प्रोफेसनल्स रिम्याच २०२१ का विजेता मास्टर सेफ सन्तोष साहले मिथिलाको ८४ व्यञ्जन पस्कन बुधबारदेखि सञ्चालनमा ल्याएको यो मिथिला थाली रेस्टुरेन्ट हो ।
जनकपुरसँग सन्तोषको बेग्लै सामीप्यता थियो । सिरहा कर्जन्हाका साह बाल्यकालमा जानकी मन्दिर दर्शनका लागि जनकपुर आइरहन्थे । मास्टरसेफमार्फत पाककलाको ख्यातिमा उचाइ चुमेपछि उनी जनकपुर आउँदा उनलाई ५४ किलोको माला लगाएर स्वागत गरिएको थियो । बारम्बारको जनकपुर आउजाउमा उनलाई एउटै कुरा खड्केको थियो, यहाँ रैथाने स्वादको प्रवर्द्धनको खाँचो छ । गतवर्ष जनकपुरमै हुँदा दिउँसो उनलाई भोक लाग्यो । साथीसँग एउटा होटल पुगेर उनले जिरा राइस अर्डर गरे । एक गाँस मुखमा हाल्दै उनले चाल पाइहाले, ‘यो त बासी भात भुटेर ल्यायो ।’ त्यसपछि उनलाई लाग्यो, जनकपुरमा मिठो खाना खुवाउने ठाउँको खाँचो छ ।
यस्तै अर्को तीतो घटना पनि उनीसँग छ । एक पटक उनले जनकपुरमा रिक्सावालालाई सोधे, ‘यहाँ मिठो खाना कहाँ पाइन्छ ?’ रिक्सावाला एकछिन गम खाए तर केही बोलेनन् । यी दुई अनुभवले उनलाई केही गर्न घचघच्यायो । ‘जनकपुरका लागि एउटा राम्रो एडिसन हो मिथिला थाली,’ मास्टर सेफ साहले भने, ‘जनकपुरको खाना अन्डररेटेड थियो । त्यसैले मेरो पहिलो रेस्टुरेन्ट जनकपुरमा खोलेका छौं ।’ मिथिला थालीको उद्घाटन सन्तोष र उनकी आमालेगरे । २४ थरीका परिकार बनाइएका पहिलो दिन खाना खान र फोटो खिचाउन आउनेको भीड लाग्यो । भीड धेरै भएपछि खानपिनको व्यवस्थापनका लागि निकै गाह्रो परेको थियो । ‘सुरुवातमै मिथिलाको खानालाई माया गर्नेको भीड देखेर म उत्साहित छु,’ उनले भने ।
उनका अनुसार मिथिला थालीमा पस्किने खानाका १५ थरीका परिकार नियमित हुनेछन् । बिरियाको साग (मधेशको गुन्द्रुक), करीबरी, आलु चोखा, आलुको भुजिया, चार किसिमको तरुवा (आलु, परवल, भान्टा, लौका), तिरौली–फुलौरी, माछा, मिथिलामै उत्पादन हुने चामलको भात, तरकारी र रहरको दाल । त्यसमाथि आगोमा तताएर ल्याएको घिउ । ‘हामीले खानाको परिकारमा कुनै सम्झौता गर्दैनौं,’ सेफ सन्तोषले भने, ‘खानाको गुणस्तर र स्वादलाई उत्तम बनाउन भान्सामा ८ जना सेफ छन् ।’
मिथिला थालीमा दुईवटा भान्सा छ । एउटा भान्सा मिथिलाको देहातमा हुनेजस्तै बनाइएको छ । माटोको चुलोमा दाउरामा पकाइन्छ खाना । सिलौटोमा पिसिन्छ मसला । मिथिला खाना बनाउनका लागि भान्सामा ५ जना छन् । ‘मिथिला थाली सस्तो र मिठो छ । ननभेज र भेजको अलग–अलग भान्सा छ,’ सन्तोषले भने, ‘मिथिला खानाको भान्सामा एकल महिलालाई प्राथमिकता दिएको छु । उनको बच्चालाई हामी नै पढाउँछौं र मिथिला खानाको बिक्री हुने हरेक थालीको ३ रुपैयाँ अनाथालयलाई दिन्छौं ।’
हिमालय ग्लोबल इन्भेस्मेन्ट कम्पनीमार्फत करिब दुई करोडको लगानीमा सन्तोषले मिथिला थालीको पहिलो आउटलेट जनकपुरमा खोलेका हुन् । मिथिला थालीमा उनले यहाँका महिलालाई जोड्न खोजेका छन् । अदौरी, कुम्रौरी, बिरिया, तिलौरी साहको टिमले गाउँ–गाउँबाट संकलन गरेर ल्याउँछ ।
मिथिलाको यो परिकार बनाउन साहले गाउँ–गाउँमा महिला समूह बनाएर आयआर्जनका लागि काममा लगाएको छ । ती महिला समूहबाट मिथिला थाली रेस्टुरेन्टले बिरिया १ हजार ७ सय रुपैयाँ किलो र तिलौरी ५ सय रुपैयाँ किलो खरिद गर्छन् । ‘हामीले बजार भाउभन्दा बढी नै मूल्य दिएका छौं,’ सन्तोषले भने, ‘स्टोरेज बनाएर तरकारी, बिरिया, तिलौरी सबै राखिएको छ । मिथिला थालीमा यो परिकार खान पनि पाइन्छ । कोसेली लिएर जान पनि पाइन्छ ।’
मास्टर सेफ सन्तोषको लक्ष्य महत्त्वाकांक्षी छ । उनले आगामी ५ वर्षमा आफ्नो रेस्टुरेन्टका मिथिला थालीका एक सय शाखा सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । अब, उनी दोस्रो आउटलेट कतारको दोहामा खोल्दै छन् । मिथिला थालीलाई विश्वव्यापी गर्ने उनको अभियानमा हिमालय ग्लोबल इन्भेस्टमेन्ट कम्पनीका दीपक श्रेष्ठ, रोबट विश्वकर्मा र सविन महर्जनले साथ दिएका छन् ।
‘दोहामा मिथिला थालीको डिमान्ड छ । त्यसैले अर्को ब्रान्च छिट्टै दोहामा खोल्दै छौं,’ सन्तोषले भने, ‘काठमाडौंमा थकाली खानाको मात्र हजारजति होटल छ । अब काठमाडौंलाई पनि मिथिला थाली खुवाउनेछौं ।’ कतारको दोहामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका कामदार प्रशस्त छन् । उनीहरूले खाने दालभात नै हो । ‘दोहामा साताको एक पटक मात्रै यी देशहरूका कामदार खाना खान आए पुग्छ,’ उनले भने, ‘दोहामा २ देखि ३ डलरमा मिथिला थाली बेच्ने हाम्रो योजना छ ।’
दोहा, पोखरा, मुग्लिन, काठमाडौं, वीरगन्ज, विराटनगरलगायत ठाउँमा ५ वर्षमा मिथिला थालीका शाखा सञ्चालनमा ल्याउने दाबी उनले गरे । मिथिलाको रेसेपी विश्वव्यापी बनाउने अभियान रहेको उनले बताए । ‘मलाई धेरैले धेरै ठाउँबाट एप्रोच गर्छन् रेस्टुरेन्ट खोलौं भनेर,’ उनले भने, ‘म चाहेको भए जहाँ खोल्न सक्थें । तर, जनकपुरमा पनि मिठो खाना पाइन्छ भनेर पहिलो आउटलेट यहाँ खोलेको हुँ । अब अरू ठाउँमा मिथिला थाली खुल्दै जान्छ ।’
