काठमाडौँ — अभिनेता सरोज खनालको निर्देशनमा बनेको नेपाली फिल्म ‘बगान’ को टिजर सार्वजनिक भएको छ । फिल्मको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाका रूपमा चित्रण गरिएको छ । आगामी असार २९ गते रिलिज हुने ‘बगान’ मा एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यवहारलगायत विषयवस्तु प्रस्तुत गरिएको छ ।
फिल्ममा करिश्मासँगै सरोज खनाल, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, आकाश श्रेष्ठ, प्रमिला कार्कीलगायतको अभिनय रहेको छ । स्वप्न नीरवको कथामा आधारित फिल्मबाट अभिनेता खनालले निर्देशनमा डेब्यु गरेका हुन् ।
नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’ का निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डीओपी, उत्सव दाहाल र नारायण जीसीको छायांकन, अर्जुन जीसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समीर मियाँको भीएफएक्स तथा रेनिश फागोको कलर करेक्सन रहेको छ । ब्याकग्राउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहको रहेको छ ।
फिल्म नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहेका विभिन्न देशमा प्रदर्शन गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । ‘बगान’ को वितरण काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र डीसीएनले तथा उपत्यकाबाहिर एफडी कम्पनीले गर्दै छ ।
