सेन्सर झमेलामा ‘परस्त्री’ 

असार ६, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — असार १५ मा रिलिजको तयारीमा रहेको फिल्म ‘परस्त्री’ लाई सेन्सर बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । फिल्मका केही दृश्यप्रति आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो । 

बोर्डले फिल्मका तीन दृश्य हटाउन निर्माण पक्षलाई आग्रह गरेको छ । ती दृश्य हटाएपछि फिल्मलाई प्रदर्शन अनुमति दिइने बोर्डको भनाइ छ । 

निर्मात्री शर्मिला पाण्डेले सेन्सर बोर्डले भनेअनुसारका दृश्य हटाउँदा फिल्मको कथा नै समाप्त हुने बताएकी छन् । ‘हामी दृश्य हटाउन तयार छैनौं । बरु, कानुनी उपचार खोज्छौं,’ उनले भनिन् । 

सुरज पाण्डे निर्देशित फिल्म प्रेम र रोमान्ससँगै र बदलाको विषयमा केन्द्रित छ । पछिल्लो समय नेपाली समाजमा देखिएको विवाहेत्तर सम्बन्ध र त्यसले परिवारमा पारेको असर फिल्मको मुख्य विषयवस्तु हो । फिल्ममा कोसिस क्षत्री, शिल्पा मास्के, गौरव विष्टलगायतका कलाकारको मुख्य भूमिका छ ।

नीरज कँडेलले छायांकन गरेको फिल्म दीर्घ खड्काले सम्पादन गरेका हुन् । फिल्मको कथा दीपेन्द्र के खनालले लेखेका हुन् । भारतमा पनि रिलिज गर्ने तयारीका साथ फिल्म हिन्दीमा समेत डब गरिएको छ । 

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully