बौद्ध शिक्षा ग्रहण गर्न सकियो भने व्यक्ति, परिवारमात्र होइन, पूरै समाज सेवाभावमा समर्पित हुन्छ भन्ने विश्वास बोकेर केही युवाहरू अहिले बौद्ध शिक्षा फैलाउन लुम्बिनीमा तल्लीन छन्
लुम्बिनी — बुद्ध अनुयायीहरू भन्छन्– बौद्ध शिक्षा ग्रहण गर्न सकियो भने व्यक्ति, परिवारमात्र होइन, पूरै समाज सेवाभावमा समर्पित हुन्छ । यही विश्वास बोकेर केही युवाहरू अहिले बौद्ध शिक्षा फैलाउन लुम्बिनीमा तल्लीन छन् ।
शान्ति, सद्भाव, करुणा र मैत्रीको कुरा गर्दै उनीहरूले बौद्ध शिक्षा फैलाइरहेका देखिन्छन् । तिनैमध्येका एक हुन्, रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारका ३६ वर्षीय भिक्षु सुमंगलो ।
मधेशी हिन्दु परिवारमा जन्मिएका उनी हुनेखाने नै थिए । परिवारको खर्चमा उनले कान्तिपुर कलेज अफ मेडिकल साइन्स काठमाडौंमा डिप्लोमा इन फार्मेसी पढे । ‘अन्तिम वर्षमा पढ्दै गर्दा एक दिन भ्यागुता मारेर त्यसलाई चिरफार गरेर अध्ययन गर्नुपर्ने भयो,’ उनले भने, ‘भ्यागुताको मृत्यु देखेर मन आत्तियो ।’ सानैदेखि प्राणी हिंसा गर्नु हुन्न भन्ने मान्यता राख्ने उनलाई ‘भ्यागुतो चिरफार’ ले भित्रैदेखि बिथोलिदियो । त्यसपछि आयो उनको जीवनको टर्निङ प्वाइन्ट । त्यो घटनाले उनलाई अहिंसाको अभियानमा जोडिन उत्प्रेरित गर्यो । पढाइ पूरा नगरी काडमाडौंबाट बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको घर फर्के । अनि थाले, ध्यान साधना गर्न । ‘यो सबै पूर्वजन्मको संस्कारजस्तो लाग्यो,’ उनले भने, ‘ममा अहिंसा, माया र प्रेमको संस्कार भरिएको थियो । सायद त्यसैले मलाई भिक्षु बन्न मन लाग्यो ।’ २१ वर्षको उमेरमा एकाएक घर छोडेर मुनि विहार भक्तपुरमा गई श्रामनेर (भिक्षु) जीवनमा प्रवेश गरे ।
गेरुवस्त्र लगाएपछि उनको यात्रा शान्ति र शिक्षा फैलाउनमै खर्चिएको छ । थप जान्ने, बुझ्ने र बुद्ध शिक्षा अनुसरण गरेर परिवार, समाज र मुलुकलाई अनुशासित र सभ्य बनाउने ध्याउन्नमै उनी दत्तचित्त छन् । ‘भिक्षु बन्नका लागि बुवाआमालाई धेरै कभिन्स गर्न पर्यो,’ उनले भने, ‘बुवाआमाबाट स्वीकृति पाउँदाको त्यो क्षण अविस्मरणीय छ ।’ दुःखबाट मुक्त हुन सक्ने बुद्धको उपदेश/शिक्षा सुन्ने, सिक्ने मौका पाएर व्यवहारमा उतारी साँच्चै नै मानव बन्न सकिन्छ जस्तो लागेर गेरुवस्त्र धारण गरेको उनले सुनाए । ‘चित्तलाई राम्रो पार्न सके बुद्धसमेत बन्ने क्षमता भएको मानव जीवनलाई सानो उमेरदेखि नै ठूलो परिवर्तन ल्याइदिन्छ भन्ने लागेर यसतर्फ आकर्षित भएँ,’ उनले भने ।
बुद्ध शिक्षा अध्ययन गर्न उनी २००९ मा थाइल्यान्ड गए । राजधानी बैंकक नजिक रहेको महामुकुट बुद्धिष्ट विश्वविद्यालयमा पाँच वर्ष लगाएर बुद्धिस्ट फिलोसिपमा डिप्लोमा गरे । ‘२०१३ मा लुम्बिनी फर्कें,’ उनले भने, ‘यहीं केही गर्नुपर्छ भन्ने मनमा लागेकाले लुम्बिनी फर्केको हुँ ।’ बालबालिकालाई सानैदेखि शान्ति र शिक्षाको ज्ञान सिकाइयो भने राम्रो प्रभाव पर्छ भनेर उनले लुम्बिनी थाई विहारको सूचना केन्द्रमा बालबालिकालाई पढाउन थाले । झन्डै तीन वर्षसम्म यहीं काम गरे । ‘बौद्ध शिक्षाको उद्देश्य मानिसलाई मानवताको महत्त्व बुझाउनु हो,’ उनले भने, ‘आफूमात्र होइन, अरूलाई पनि असल व्यक्ति बन्न प्रेरित गर्नु हो ।’ लुम्बिनीको प्रचारप्रसार गर्दै बुद्ध शिक्षा फैलाउन उनले बुद्धको जीवनी र उपदेश पुस्तक प्रकाशन गरेका छन् । नेपालीसहित अंग्रेजी र चिनियाँ भाषामा प्रकाशित उनको पुस्तक अब हिन्दी, थाई र बर्मेली भाषामा प्रकाशनको तयारी छ ।
ललितपुर महानगरपालिका पेप्सीकोलाका श्रीवजिर प्रेम सानैमा भिक्षु बने । ‘बुवाआमा ध्यान साधना गर्ने हुनुहुन्थ्यो,’ ३७ वर्षीय उनले भने, ‘म पनि उहाँहरूसँगै ध्यान बस्थें ।’ ९–१० वर्षको उमेरमै एक जना चिनेजानेका भिक्षुको साथ लागेर भिक्षु बने । २७ वर्षअघि कीर्तिपुर विहारमा भिक्षु भएका उनले श्रीलंकाको क्यान्डीमा रहेको पेरादेनी विश्वविद्यालयबाट बुद्ध धर्म र पाली भाषामा एमफिल गरेका छन् । थारू हिन्दु परिवारमा जन्मेहुर्केका उनी बुद्ध शिक्षा र ज्ञानमा परिपक्व भएपछि श्रीलंकाको क्यालेनिया र श्री जयवर्द्धनपुर विश्वविद्यालयमा प्राध्यापनमा संलग्न भए । उनले कोलम्बोमा रहेको श्री उपतिस धम्म स्कुलमा १८ वर्ष सहायक प्रधानाध्यापकका रूपमा काम गरे । ‘गृहस्थी जीवनभन्दा सयबार बढी भिक्षु जीवन सुखी र खुसी छ,’ उनले भने, ‘बुवाले काठमाडौंकै राम्रो स्कुलमा मलाई पढाउनुभएको थियो । त्यसकारण त्यो जीवन पनि सफल हुन्थ्यो । तर, मेरो भिक्षु जीवन त्योभन्दा सय गुणा बढी सार्थक र उपलब्धिमूलक छ ।’ जीवनको मूल्य समाजलाई कति सेवा गर्न सकिन्छ भन्नेमा केन्द्रित हुने उनले सुनाए ।
श्रीलंकामा पढाउँदा उनले बुद्ध पूर्णिमाका बेला चार पटक राजधानी कोलम्बोमा नेपाल चिनाउने काम गरे । गंगारामयमा हुने सप्ताहव्यापी कार्यक्रममा बुद्ध जन्मस्थल लुम्बिनीको प्रतिरूप (रिप्लिका) बनाएर प्रदर्शन गरे । उनले मायादेवी मन्दिर, मायादेवी गर्भवती भएपछि नुहाएको कमलको फूल फुलेको पुष्करणी पोखरी र चारैतिरको हरियाली वातावरण बनाएर नेपालको लुम्बिनी रिप्लिकामा हुबहु उतारेर देखाएका थिए । यसले लुम्बिनी आउन नसकेका श्रद्धालुले जन्मस्थलको श्रीलंकामै दर्शन गरेको उनले सुनाए । ‘बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिई पर्यटकीय गन्तव्य बनाउने यसको खास उद्देश्य थियो,’ उनले भने, ‘त्यसमा हामी सफल भयौं ।’ उनी चार वर्षयता भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापन पेसामै संलग्न छन् ।
धनगढी उपमहानगरपालिका–१५ उर्माका ३० वर्षीय भिक्षु कोलिय विशुद्धीले बुद्ध धर्मलाई धर्मका रूपमा मात्र नभएर शिक्षा र ज्ञान दिने ज्योतिका रूपमा अँगालेको बताए । उमेर अनुसार बौद्ध शिक्षा सबैलाई औषधीय गुण भएको उनको दाबी छ । मानिस जन्मेपछि के गर्नुपर्छ, युवा, वयस्क वृद्ध भएकाले के गर्ने, समाजसेवा कसरी गर्ने, मानव सेवा र कल्याण कसरी गर्ने लगायतका सबै जिज्ञासाको उत्तर बुद्ध धर्ममा समेटिएको उनले बताए । ‘सानैदेखि बुद्ध शिक्षा सुनेको र जानेको थिएँ । पुस्तक खोज्दै पढ्न थालें,’ उनले भने, ‘बुद्ध शिक्षाप्रति आस्था र ज्ञान बढ्दै गयो ।’ उनी १८ वर्षको उमेरमा बुद्ध जन्मस्थल लुम्बिनीमा भिक्षु जीवनमा प्रवेश गरेका थिए । ‘८ वर्ष भयो पूर्ण भिक्षु (उपसम्पदा) भएको,’ उनले भने, ‘अब शान्ति शिक्षा देशना गरेर जनहितमा काम गर्छु ।’ कक्षा ६ देखि श्रीलंकामा बौद्ध शिक्षा अध्ययन गर्दै आएका उनी श्रीलंकाको कोलम्बोमा रहेको क्यालेनी विश्वविद्यालयबाट पाली भाषामा स्नातक हुन् । डेढ वर्षदेखि लुम्बिनीमा बस्दै आएका उनी छिट्टै श्रीलंका गएर पढाइ पूरा गरेर नेपाल आएर पुनः मानव सेवा गर्ने सोचमा छन् ।
३० वर्षीय भिक्षु पियरत्न १६ वर्षअघि श्रामनेर अर्थात् भिक्षु जीवनमा प्रवेश गरेका हुन् । अध्ययन, अनुशासन र ज्ञानशिक्षा बाँड्दै पाको भएपछि उनी उपसम्पदा अर्थात् पूर्ण भिक्षु भएको पनि ९ वर्ष बितिसकेको छ । २००६ मा श्रीलंका पढ्न गए । श्रीलंकाको प्रिभेना स्कुलमा कक्षा ६ देखि १२ कक्षासम्म अध्ययन गरे । तर, जे काम गरे पनि नेपालमै गर्ने हुटहुटीले नछाडेपछि आफू लुम्बिनीमै फर्किएको उनले बताए । ‘यता आएर लुम्बिनी बौद्ध विश्वविद्यालयबाट स्नातक गरें,’ उनले भने, ‘अहिले बुद्धिस्ट स्टडिजमा एमएको थेसिस बुझाउने तयारीमा छु ।’
धनगढीको थारू परिवारमा जन्मेका उनी सुरुमा हिन्दु संस्कारमा हुर्किए । त्यसपछि केही समय क्रिश्चियनको अभ्यास थाले । तर, मन, वचन र चित्त शुद्ध एवं संयमित हुन सकेन । त्यसपछि बुद्ध धर्म अभ्यास थालेका उनी अहिले निकै खुसी र सुखी छन् । ‘पूर्वजन्ममा राम्रै कर्म गरेको रहेछु,’ उनले भने, ‘अहिले बुद्धको अनुयायी बन्न पाएँ ।’ लुम्बिनी घुम्न आउने सबैले ‘अहा कति राम्रो लुम्बिनी !’ भन्दा यहीं बस्न पाउने आफू ज्यादै भाग्यमानी भएको सम्झेर खुसीको सीमा नरहने उनले सुनाए । बुद्ध शिक्षा अन्य धर्मभन्दा निकै व्यावहारिक, वैज्ञानिक, ज्ञान र सीपमूलक रहेको उनको जिकिर छ । लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित लक्ष्मीपुरमा रहेको लुम्बिनी ज्ञानप्रभा आधारभूत विद्यालयको सहायक प्रधानाध्यापक हुन् उनी । उनी कम्प्युटर र परियती शिक्षा पढाउँछन् । परियती बुद्ध शिक्षा र नैतिक आचरणको विषयवस्तु भएको उनले बताए । कक्षा १, २ र ३ का विद्यार्थीलाई कथा सुनाएर पुस्तकरहित ढंगले परियती शिक्षा पढाउँदा छुट्टै आनन्द मिल्ने उनले बताए । कक्षा ४ र ५ मा पुस्तकमार्फत परियती शिक्षा पढाउँछन् ।
