शिथिल शशांक अर्थात् ‘मुन्नु’

महामन्त्रीसहितको बलियो विरासत भएर पनि राजनीतिको ओरालो यात्रामा छन्, शशांक । स्वनिर्णयको अभाव, अरूबाट बढी सञ्चालित, विवादास्पद अभिव्यक्ति र पियक्कड शैली उनका कमजोरी मान्छन्, निकटतम नै ।
शशांक अहिले न संस्थापन पक्षका भएका छन् न त शेखर समूहका नै । दुवै पक्षबाट अलग भएका उनी यति बेला राजनीतिको मझधारमा छन् । 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस संस्थापक नेता बीपी कोइरालाका जेठा छोरा प्रकाशले फरक बाटो समातेपछि बीपीको विरासत धान्न आइपुगे ‘मुन्नु’ अर्थात् शशांक । कोइराला परिवार र धेरै कांग्रेसी नेताले अहिले पनि बीपीका कान्छा पुत्रलाई ‘मुन्नु’ नामले बोलाउँछन् । 

शिथिल शशांक अर्थात् ‘मुन्नु’

माइला छोरा श्रीहर्ष राजनीतिमै आएनन् । जेठा छोरा प्रकाश बीपीले बनाएको कांग्रेसबाटै अलग भए । तत्कालीन राजा ज्ञानेन्द्रको कदमलाई समर्थन गरेपछि पार्टीले कारबाही गर्‍यो । प्रकाशलाई ज्ञानेन्द्रले मन्त्री बनाएपछि त कांग्रेसमा फर्कने सम्भावनाको पनि अन्त्य भयो । चिकित्सक शशांक २०६० सालसम्म पनि राजनीतिमा थिएनन् । बीपीको उत्तराधिकारीका रूपमा देख्न चाहने कांग्रेसीले नै शशांकलाई राजनीतिमा तानेका थिए । आमा सुशीला उनलाई चिकित्सक भएर नाम कमाएको हेर्न चाहन्थिन् । सफल चिकित्सक बनेर आमाको चाहना पूरा गरे पनि उनका पछिल्ला गतिविधि र सुस्तताले बीपीको उत्तराधिकारी बनेको हेर्न चाहेका शुभचिन्तकलाई भने उनले निराशा बनाएका छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनदेखि उनको संसदीय राजनीतिक सुरु भएको हो । त्यसयताका चार वटा निर्वाचनमा उनले हार बेहोर्नुपरेको छैन । २०६२ को एघारौं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य उनी १३ औं महाधिवेशनदेखि महामन्त्री नै बने । तर बलियो लिगेसी तथा महामन्त्री जस्तो पदमा भएर पनि उनी पछिल्लो समय राजनीतिको ओरालो यात्रामा छन् । स्वनिर्णयको अभाव, अरूबाट बढी सञ्चालित, बेलाबखतका विवादास्पद अभिव्यक्ति र अव्यवस्थित जीवन शैलीले उनलाई कमजोर बनाउँदै लगेको कांग्रेस नेता नै तर्क गर्छन् ।

‘जसको निजी जीवन कमजोर हुन्छ, त्यसलाई पीएहरू र अरू स्वार्थ समूहले चलाइदिन्छन् । निजी जीवन मर्यादित हुन सक्यो भने मात्रै त्यसलाई कसैले चलाउन सक्दैन,’ कोइरालाहरूसँग पारिवारिक सम्बन्धमा रहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘जसलाई उनका निजी जीवनका सबै थाहा छ भने चलखेल गरिदिन्छ नै । यस्तो नियति भारतका नेहरूदेखि बेलायतका चर्चिलसम्मले बेहोर्नुपर्‍यो ।’ शशांक निकटहरू भने उनले खानपानको शैली सुधार्न सके पार्टीको नेतृत्व लिने सम्भावना अझै रहेको देख्छन् । उनीनिकट एक नेता भन्छन्, ‘मुख्य कुरा उनले आफ्नो पियक्कड शैली सुधार्दै राजनीतिमा सक्रिय भए अझै बिग्रिएको केही छैन ।’ यस्तो सम्भावना देख्नेमा मीनेन्द्र रिजाल पनि एक हुन् ।

१५ औं महाधिवेशनबाट आफू नेतृत्वमा आउन बल नगर्ने भनेर देउवाले केही दिनअघि सार्वजनिक कार्यक्रममै घोषणा गरेका छन् । कांग्रेसको विधानले पनि दुई कार्यकालभन्दा बढी नेतृत्व लिन नपाउने प्रबन्ध गरेको छ । देउवाले अझसम्म कसैलाई उत्तराधिकारी अघि सारेका छैनन् । अहिले देउवा शेखर र शशांक दुवैलाई समदूरीमा राख्दै आएका छन् । शशांक आरजुको राजनीतिक भविष्य सुरक्षित पार्ने दिशामा सम्झौता गर्न सकिने बताउँछन् ।

‘शेखरसँग इमेज छ । क्रियाशीलता छ । संगठन छ । १४ औं महाधिवेशनमा पाएको मत छ । यो सबैलाई छाडेर शेखरमा एकल निर्णय गरेर अघि बढ्न सक्ने ल्याकत भने छैन तर शशांक यी सबै भारीबाट मुक्त छन्,’ नेता रिजाल भन्छन्, ‘शेखरको यो कठिनाइमा शशांकको उदयको अझै सम्भावना छ, उसलाई यी सबैको भारी बोक्नुपर्ने अवस्था छैन ।’

कांग्रेसको नेतृत्व शशांकको हातमा आउने सम्भावना भने देख्दैनन्, विश्लेषक आचार्य । शशांक असफल भएको निष्कर्ष उनको छ । ‘उनले राजनीतिलाई ग्ल्यामर ठाने । हाई प्रोफाइल भएपछि सबै हुन्छ ठाने । स्थानीय परिस्थिति र अन्तर्राष्ट्रिय जगत्लाई यसैबाट प्रभावित पार्न सकिन्छ भन्ने बुझे । राजनीतिलाई जनतासँग जोडेनन् । जनता र कार्यकर्ताप्रति उत्तरदायी भएनन् । त्यो रोग अरूमा पनि छ । तर, शशांकमा बढी भयो,’ बीपीको विरासतको लाभ जनताले पाउनुभन्दा आफ्नै लागि मात्र भजाए जस्तो भएको विश्लेषण गर्दै आचार्यले थपे, ‘स्वार्थीहरूले फन्दामा पारी उपयोग मात्र गरे । बीपीले बनाएको विरासत धान्न र कमिसनखोरविरुद्ध लड्न नसक्दा उनी आफू त सक्किए नै, उनीमाथि ठूलो अपेक्षा पनि सक्काए ।’ उनी काठमाडौं आएपछि भाइभारदारको संगतबाटै कमजोर बनाइएको आचार्यको बुझाइ छ ।

२०४८ देखि नै शशांकको महाराजगन्जस्थित निवास शक्तिकेन्द्र थियो । शशांक टोखा बस्थे । गिरिजाप्रसादले उनकै निवासबाट लामो समय शक्तिकेन्द्र चलाए । त्यही शक्ति प्रयोग गरेर पछि सुशील कोइराला पनि राजनीतिको मियोमा आए । महामन्त्री भएपछि शशांक पनि टोखाबाट महाराजगन्ज नै सरे । त्यति बेला संस्थापन इतरपक्षमा टिमको मूल शक्तिमा शशांक नै थिए । तर, उनले आफ्नो शक्तिको भेउ नै पाएनन् । १४ औं महाधिवेशनमा आफ्नै समूह छाडेर देउवालाई सभापति बनाउन आफ्नै दाजु शेखर (केशव कोइरालाका छोरा) प्रति ‘घात’ गरे । त्यसपछि उनको शक्ति पनि छिन्नभिन्न भयो । कोइरालाको विरासतमा हुर्केकाहरू शेखरसँग मिसिए । शशांक अहिले न त संस्थापनमा छन्, न शेखर समूहमै । दुवै समूहबाट अलग भएका शशांक राजनीतिको मझधारमा छन् । उनी भन्छन्, ‘म गुटमा विश्वास गर्दिनँ, त्यसैले कतै छैन ।’

अर्को शक्तिकेन्द्र थियो– विराटनगरको कोइराला निवास । बीपीपछि कोइराला निवास गिरिजाकै छत्रछायामा थियो । पछि उनले अंशबन्डामा उक्त निवास शेखरको भागमा पारिदिए । प्रकाश, शशांक र श्रीहर्षले अंशबन्डामा पाएको विराटनगरको जग्गा तत्कालै बेचे । विराटनगरको माटोसँग बीपीका तीनै भाइ छोराहरूकै सम्बन्ध टाढिएको छ ।

समकालीनमा राजनीतिका यी तीन कोइरालाबीचमा पनि कसले नेतृत्व लिने भन्नेमा चर्किएको मतभेद अझै अन्त्य भएको छैन । सुजाता स्वास्थ्यका कारण पनि नेतृत्वप्रति आकांक्षी छैनन् । १४ औं महाधिवेशनमा पार्टीको सभापतिमा देउवासँग प्रतिस्पर्धा गरेका शेखरमा फेरि एक पटक पार्टीको नेतृत्वमा उठ्ने धोको देखिन्छ । शशांक पनि पार्टी सभापतिका लागि लक्ष्य बनाएर हिँडिरहेको बताउँछन् । नेतृत्वका लागि देउवाको आशीर्वाद पाउनेमा उनी ढुक्क छन् ।

आचार्यका अनुसार पार्टीको महामन्त्री र १५ वर्षको संसदीय यात्राको परीक्षाबाट शशांकको राजनीतिमा धेरै उछलकुद भइसकेको छ । उनकै शब्दमा शशांक राजनीतिबाट निथ्रिसकेका छन् । ‘व्यक्तिगत तहमा शशांक बीपीकै आँखीझ्याल थिए । आँखामा राखे पनि नबिझाउने, अरूलाई बढी सम्मान गर्ने र चार्मिक पर्सानालिटी । खराब मान्छे हैनन्,’ आचार्य भन्छन्, ‘उनको मुख्य कमजोरी नै खानपिउनमा भयो । गलत संगतमा परे । अब उनीबाट कोइरालाको विराट फर्कन्न, फर्किए शेखरबाटै फर्किन्छ ।’

२०३८ तिर बीपीलाई स्वास्थ्यले च्याप्दै लगेको समय एक बिहान केहीले उनको उत्तराधिकारीको कुरा निकालेका थिए । तर, बीपीले ‘यिनले नेपाल बुझेका छैनन्, नेपाल घुमेका छैनन् । मेरो छोरा हुन् भन्दैमा यिनलाई दिनुपर्छ भन्ने छैन, कांग्रेसमा दुःख गरेका, मुलुक चिनेका थुप्रै छन् । उनीहरूले चलाउँछन्’ भनेका थिए ।

‘मलाई नै सभापतिमा अघि सार्ने सम्भावना छ’

राजनीतिबाट हराउनुभयो ? छाड्नेतिर जान लाग्नुभएको हो र ?

राजनीतिबाट हराउने वा छाड्ने कुरा हुन्न । पदमा नभइएला तर राजनीति छाडेर अलग बस्ने कुरा हुन्न । अबको मुख्य लक्ष्य भनेको पार्टीको १५ औं महाधिवेशन नै हो । शेरबहादुरजीको यो अन्तिम कार्यकाल हो । कांग्रेसको अवस्था राम्रो छैन । संगठनलाई दुरुस्त पार्ने भ्रातृ संस्थाका अधिवेशन भएका छैनन् । सबै लथालिंग छन् । अब एउटा खाका बनाएर अघि बढ्ने सोचमा छु ।

राष्ट्रिय राजनीतिमा पनि तपाईंको कहीँ कतै भूमिका देखिएन । अब किनारा लाग्दै जानुभयो भनिन्छ नि ।

म गुटमा विश्वास गर्दिनँ । कुनै गुट पनि छैन । र, गुटको अन्त्य हुनुपर्छ भनेर आफ्नो दृष्टिकोण राख्दै आएको छु ।

देउवाले उत्तराधिकारीका रूपमा अघि सार्न लाग्नुभएको हो ?

त्यो पनि सम्भावना छ । पटक–पटक यो पार्टी बीपीले बनाएको हो, तिमी बीपीकै छोरा हौ । तिमी जत्तिको उपयुक्त अरू छैनन् भनेर मलाई भन्दै आउनुभएको छ । ठोकुवा त गर्न सक्दिनँ । तर, उहाँले उत्तराधिकारी बनाउने सम्भावना छ ।

शेखरजीलाई अघि बढाउन खोजेको जस्तो संकेत देख्नु हुन्न ?

त्यसमा कुरै छैन, सोझै मलाई रोज्नु हुन्छ । त्यो विश्वास मलाई छ ।

त्यसको आधार ?

शेरबहादुरजी बेलायतमा बस्दादेखि नै मेरो सम्बन्ध हो । २०४६ को जनआन्दोलनपछि मैले नै उहाँलाई देशमा लोकतन्त्र आइसक्यो, अब फर्कनुहोस् भनेपछि फर्कनुभयो । भारतको बनारसमा छँदा पनि हामी सँगै सिनेमा हेर्न जान्थ्यौं । गहिरो मित्रता थियो । उहाँको दृष्टिमा के छ भन्न सक्दिनँ । तर, मलाई विश्वास छ, सबै दृष्टिले मलाई नै सहयोग गर्नु हुन्छ ।

पार्टी सभापतिको पछिल्लो कार्यशैलीलाई कसरी हेर्नुभएको छ ?

शेरबहादुरजीले सक्नु भएन । यसरी भएन भनेर धेरै पटक भनें । भ्रातृ संस्था बनाउनु भएन । संगठनलाई चुस्त, दुरुस्त बनाउनुपर्छ । कुनै पनि जिल्ला जाँदा त्यहाँ महिला संघ, नेविसंघ, दलित संघ, मुस्लिम संघ सबैको उपस्थिति देखिनुपर्‍यो । तर, अहिले यस्तो छैन । संगठन कमजोर भयो ।

पार्टी सभापतिको स्वार्थ त अहिले आरजुको सुनिश्चित भविष्यलाई लिएको देखिन्छ । त्यसका लागि तपाईं तयार हुनुहुन्छ ?

आरजुलाई पनि समेट्नुपर्छ । राजनीति भनेकै सम्झौता हो । सम्झौतामा जान सकिन्छ । तर, आरजुको पार्टीमा कति देन हो ? पार्टीभित्रको महत्त्वपूर्ण पदमा स्थापित गर्ने कुरा जबर्जस्तीबाट मात्रै हुन्न । महत्त्वपूर्ण पोर्टफोलियो दिएर जान सक्ने सम्भावना मैले त देखिरहेको छैन । आरजुलाई नेतृत्वमा अघि बढाउने कुरा त्यति सहज छैन ।

प्रकाशित : जेष्ठ २६, २०८० ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?