माइत पर्‍यो फिलिपिन्स

वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा भेट भएर घरजम गरेका मिन्सी–उज्ज्वल, क्रिस्टिना–हिमालय र एनालिजा–सागरको प्रेम कथा उस्तैउस्तै भए पनि संघर्षका कथा फरक छन् 
फिलिपिन्समा जन्मिने बच्चाको थर लेख्न बाबुको उपस्थिति अनिवार्य छ, नत्र आमाको थर उल्लेख गरिन्छ
पर्वत पोर्तेल

झापा — मारिलाओ, फिलिपिन्सको बुलाकान प्रान्तको सबैभन्दा व्यवस्थित नगरपालिका हो । राजधानी मनिलादेखि झन्डै २२ किलोमिटर दूरीमा पर्ने यही सहरकी ‘हुने खाने’ घरानाकी छोरी हुन् मिन्सी अल्भारेज । 

माइत पर्‍यो फिलिपिन्स

दक्षिणपूर्वी एसियाका अन्य देशको तुलनामा महिला स्वतन्त्रतामा अगाडि रहेको यही उदार र खुला समाजमा बाबुआमाको लाडप्यारमा हुर्किएकी मिन्सी सन् २०१५ को अन्त्यतिर कामदारका रूपमा खाडी मुलुक कतारको दोहा ओर्लिएकी थिइन् । दोहास्थित चेन रेस्टुरेन्ट ‘नन्दोज’ मा काम थालेको एक वर्षपछि मिन्सीको भेट भएको थियो, त्यहीं काम गर्ने झापा अर्जुनधारा–४ मदनपुर गाउँका तन्नेरी उज्ज्वल रिमालसँग ।

नेपालको देहातबाट सुखद भविष्यको खोजीमा पुगेका उज्ज्वलको मोडलिङ क्षेत्रमा उचालेको पाइला बीचमै छाडेर कतार पुगेकी मिन्सीसँग पहिलो ‘आँखा जुधाइ’ कामकै क्रममा भयो । एकै ठाउँमा दिनरात सँगै काम गर्दागर्दै नजिकिन पुगे, मिन्सी–उज्ज्वल । ड्युटी आउजाउ मात्रै होइन, बिदामा घुमघाम पनि सँगै गर्न थाले । ‘६ महिनापछि त मिन्सी र म निकै क्लोज भइसकेका थियौं,’ उज्ज्वलले मन्द मुस्काउँदै प्रेम प्रसंग कोट्याए, ‘छोटो समयभित्र सँगै घुम्ने, खाने र सँगै बस्ने स्थितिमा हामी पुगेछौं ।’

भेटघाट जुरेको वर्ष दिन पनि नबित्दै उनीहरू ‘लिभिङ टुगेदर’ मा बस्न थाले । ६ महिना जति सँगै बसेपछि उज्ज्वलको तीनवर्षे रोजगार सम्झौता सकियो । उनी ‘फिनिस’ हानेर घर फर्किने सुर कस्दै थिए । त्यही बेला मिन्सी गर्भवती भइछिन् । पुट्ट फुलेको मिन्सीको पेटबारे कम्पनीका धेरै सहकर्मी जानकार थिए । मिन्सीलाई माइत (फिलिपिन्स) पठाएर उज्ज्वल काठमाडौं ओर्लिए । खासमा मिन्सी–उज्ज्वलबीच चाँडै बिहे गर्ने गोप्य समझदारी थियो । नत्र कमाउन कतार पुगेको वर्ष दिन नबित्दै मिन्सी गर्भवती भएर माइत फिर्ने थिइनन् ।

मिन्सी–उज्ज्वलको अफेयरबारे मदनपुर गाउँ र मारिलाओ नगरका दुवै परिवार बेखबर थिएनन् । उज्ज्वलका बाआमा त नेपाली केटी खोजेर छोराको झ्याइँ पार्न कस्सिएका थिए । तर छोराको प्रेमका अघि उनीहरूको केही जोडबल चलेन । उज्ज्वल बाआमालाई सत्य कुरै नबताई मिन्सीलाई भेट्न फिलिपिन्स उडे ।

‘घरमा बाआमाले सोध्नुभयो भने पश्चिमतिर गएको छ, हप्ता दस दिनपछि फर्किन्छ भन्नु है,’ एयरपोर्टसम्म छाड्न गएका एक जना लंगौटिया यारलाई उज्ज्वलले भनेका थिए । तर, ती यारले पनि कति दिन पो कुरा लुकाउन् । अन्ततः प्रेमिकालाई भेट्न पन्छीझैं उडेर छोरो फिलिपिन्स पुगेको कुरा घरपरिवारमा थाहा भयो । ‘फिलिपिन्स पुगेपछि मेसेन्जरमा कल आयो,’ उज्ज्वलले सुनाए, ‘सबभन्दा बढी आमा रिसाउनुभयो ।’

खासमा मिन्सी सुत्केरी हुन लागेकी थिइन् । फिलिपिन्समा जन्मिने बच्चाको पहिचानका लागि बाबुको उपस्थिति अनिवार्य हुने रैछ ।’ त्यही भएर उनी बच्चा जन्मिनुअघि नै आफू अविवाहित रहेको र नेपाली नागरिक रहेको भन्ने कागजात लिएर उनी पुगेका थिए । मावलमै जन्मियो छोरो । ‘यहाँ जस्तो नागरिकता हुँदैन, तर सरकारी सिस्टममा पहिचान खुलाउन अनिवार्य छ,’ उज्ज्वलले थपे, ‘बच्चाको थर लेख्न बाबु नै चाहिने रैछ । बाबु पहिचान भएन भने आमाको थर उल्लेख हुने रैछ ।’ खासमा जन्मिएको बच्चाको नामको पछिल्तिर ‘रिमाल’ लेखाउने हुटहुटी उनलाई थियो । सन्तानलाई पहिचान दिएर नेपाल फर्केपछि उज्ज्वल काठमाडौंमै काम गरेर केही समय बसे । ९ महिनापछि मिन्सी छोरासहित काठमाडौं ओर्लिइन् । ‘कहिले नदेखेको मान्छेसँग बिहे गरेर नेपाल आउँला भन्ने सपनामा पनि सोचेकी थिइनँ,’ रोमाञ्चित हुँदै फिलिपिनो–अंग्रेजीमा मिन्सीले सुनाइन्, ‘भाग्यले होइन, कर्मले जुराएको हो हाम्रो भेट ।’

काखे बच्चा बोकेरै उनी पनि काम गर्न थालिन् । केही समय नेपाली मोडलिङको अनुभव पनि गरिन् । म्युजिक भिडियोमा काम पाउने पक्कापक्की भइसकेको बेला उनी पुनः गर्भवती भइन् । ‘दोस्रो पटक गर्भवती बनेपछि मेरो मोडलिङ सपना पनि तुहियो,’ उनले भावुक भएजसरी सुनाइन् । यही बीचमा उज्ज्वल मिन्सी र छोरालाई छाडेर रोजगारीका लागि दुबई उडे । तर, भनेजस्तो काम नभएपछि ६ महिनापछि फर्किहाले । फर्किएको एक महिनापछि लकडाउन सुरु भयो । अनि सुरु भए मिन्सी–उज्ज्वलका दुःखका दिन । लकडाउनकै बेला छोरी जन्मिइन् । जन्मिनेबित्तिकै बिरामी । त्यही बेला आर्थिक अभाव । यी नेपाली–फिलिपिनो जोडीले कल्पना नगरेको दुःख झेले ।

जसोतसो लकडाउन झेले । लकडाउन खुलेलगत्तै काठमाडौं छाडेर उनीहरू घर आए । तर, घरमा उनीहरूले माया होइन, तिरस्कार पाए । विदेशी केटी बिहे गरेको पुरानो रिस परिवारले यसैबेला पोखे । ‘मलाई माया नगरे पनि छोराछोरीलाई माया गर्लान् भन्ने थियो तर, उनीहरू पनि हजुरबा–आमाको मायाबाट वञ्चित भए,’ मिन्सीले बिलौना सुनाइन्, ‘मैले त फिलिपिन्समा जस्तै सोचेको थिएँ बाआमाले हामीलाई गर्ल्याम्म अँगालो हाल्लान्, नानीहरूलाई पनि गालामा च्वाप्प म्वाइँ खालान् भन्ने । तर, कहाँ अँगालो, कताको म्वाइँ खानु ।’

परिवारको उपेक्षाबीच मिन्सी उज्ज्वलको मूल घरमा लामो समय अडिन सकिनन् । उनलाई परिवारसँगै घुलमिलमा समस्या थियो । सिंगो समाजसँग घुलमिल हुन त झनै कठिन । भाषा, धर्म, जीवनशैली जस्ता कुराले उनलाई ससुरालमा बसिरहन सहज भएन । उनले उज्ज्वलसँग पहिल्यै भनेकी थिइन्, ‘म तिम्रो घरमा बुहारी बनेर बस्न सक्दिनँ । नेपाली बुहारीहरू बुहारी कम र बेतलबी नोकर बढी लाग्छ मलाई ।’

नचाहँदा नचाहँदै केही समय ‘बुहार्तन’ बेहोरिन् । उनी नेपाली बोल्न जान्दिनन् । तर, कसले के भन्यो होला भन्ने अन्दाज हुन्छ । ‘सासू आमा र परिवारका सदस्यहरूले कति राम्री बुहारी भनेर फुर्क्याइफुर्क्याइ काम लगाउँथे,’ भावुक हुँदै उनले थपिन्, ‘मेरो पिठ्युँ पछाडिचाहिँ कुरा काट्थे ।’

यता उज्ज्वल धर्म संकटमा थिए । आमाको कुरा सही कि मिन्सीको, उनलाई खुट्याउनै गाह्रो हुन्थ्यो । ‘आमाको कुरा मात्रै सुन्दा पनि गाह्रो । श्रीमतीको मात्रै सुनौं न त भन्दा नहुने,’ उज्ज्वलले त्यो कष्टकर समयबारे सुनाए, ‘धर्म संकटमा थिएँ म । यति गाह्रो भयो कि अहिले कल्पना गर्न पनि सक्दिनँ । सास फेर्नै गाह्रो भएको थियो सासू–बुहारीको द्वन्द्वले ।’

घर छाडेर बिर्तामोड डेरा सरेपछि मात्रै सासू–बुहारीबीचको असमझदारी कम भयो । पछिल्ला दुई वर्षदेखि उनीहरू अनलाइनमार्फत बच्चाको कपडा व्यापार गर्छन् । अनलाइन सपिङको योजनाकार भने मिन्सी नै हुन् । १५ हजार रुपैयाँबाट सुरु गरेको अनलाइन व्यापार अहिले फैलिँदै गएको छ ।

परिवार र समाजसँग अन्तरघुलित हुन नसक्दा मिन्सी भित्रैदेखि असन्तुष्ट छिन् । झापामै रहेका अन्य फिलिपिनो दिदीबहिनीहरू कहिलेकाहीं ‘गेट टुगेदर’ गर्छन् । तर यस्तो भेटघाटमा उनलाई खासै जान मन लाग्दैन । किनकि उनको दैनिकी ३ र ५ वर्षका दुई लालाबाला स्याहार्दा स्याहार्दै बितिहाल्छ । ‘६ वर्ष भइसकेछ माइतीघर नगएको पनि,’ टुंग्यौनीमा उनले पीडामिश्रित हाँसोसहित भनिन्, ‘माइतीको सम्झनाले दिनरात सताइरहन्छ ।’

०००

झट्ट हेर्दार् क्रिस्टिना भिल्लारमिनो जनजाति मूलकी नेपाली महिला जस्ती लाग्छिन् । बाटुलो अनुहार अनि ठिक्कको कद । यही अनुहारले गर्दा क्रिस्टिनालाई बाटोमा हिँड्दा कसैले पनि फिलिपिनो ठान्दैनन् । नेपाली जनजाति महिला नै सोच्छन् ।

करिब डेढ दशकअघि बुहारी बनेर नेपाल भित्रिएकी उनको कथा सुरुआती दिनमा मिन्सीको जस्तै पीडादायी थियो । ‘तर, अहिले छैन,’ प्रस्ट नेपाली बोल्ने उनले सुनाइन्, ‘दुःख र पीडामा पनि रमाउने सक्ने खुबी छ मेरो ।’

सन् २००९ तिरै उनलाई झापा गरामनीका हिमालय प्रसाईंले बिहे गरेर घर भित्र्याएका थिए । सेतो छाला, सेतै केश, खैरो आँखा, चुचो नाक भएका अग्ला मान्छेलाई नेपाली समाजले विदेशी ठान्छ । गरामनीका गाउँलेले पनि उनलाई त्यस्तै ठानेका थिए । तर, जब क्रिस्टिनालाई देखे परिवार र गाउँलेले चित खाए । विदेशी बुहारी हेर्न आएका मान्छेले खासखुस गर्न थाले, ‘विदेशी केटी भन्थे, डल्ली लिम्बुनी जस्ती पो रैछ त ।’

घर भित्र्याउनुअघि उनीहरूले काठमाडौंको पशुपतिनाथ मन्दिरमा सिन्दुर–पोते गरेका थिए । त्यसअघि सन् २००७ ताका जन्ती र बेहुला आफैं बनेर एक्लै फिलिपिन्सको टक्लोवन पुगे । फिलिपिनो समाजको रीतिअनुसार बिहे गरेर हिमालय यूईए फर्किए । बिहेपछि छोरी माइतै बस्ने फिलिपिन्सको परम्पराअनुसार क्रिस्टिना ६ महिनासम्म उतै बसिन् । त्यसपछि यूएईमा रहेका हिमालयले बोलाए । दुई वर्ष सँगै बिताएपछि सन् २००९ मा मात्रै उनीहरू काम सकेर गरेर नेपाल फर्किए ।

सुरुमा त हिमालयलाई पनि उज्ज्वललाई झैं सकस नै भयो बाआमा र परिवारलाई सहमत गराउन । तर, उनले ‘बिहे गर्नु मेरो स्वतन्त्रता हो’ भनेपछि बाआमा हच्किए । फेरि एक्लै फिलिपिन्स पुगेर ल्याएकी बुहारीलाई घर प्रवेशमै निषेध गर्नु परिवारले पनि जायज ठानेनन् । ‘केही समय त घर परिवारलाई मनाउन निकै गाह्रो भयो,’ युवा व्यवसायी हिमालयले थपे, ‘उहाँहरूले बिस्तारै बुझ्दै जानुभयो ।’

अहिले क्रिस्टिना–हिमालयको जोडी होटल व्यवसायमा रमाइरहेको छ । बिर्तामोडको सिटी सेन्टरमा रहेको ‘ह्याप्पी किचन’ की हर्ताकर्ता हुन् क्रिस्टिना । ‘किचनलगायतको व्यवस्थापकीय क्षेत्र उनैको जिम्मामा छ,’ हिमालय मन्द मुस्काउँदै थप्छन्, ‘मेरो काम उनलाई हल्काफुल्का सघाइपगाई गर्ने मात्रै हो ।’ फिलिपिनोहरू सेवा क्षेत्रको व्यवस्थापनमा अब्बल भनेर संसारभर चिनिन्छन् । क्रिस्टिनाको व्यवहारबाट त्यो सहजै अनुमान गर्न सकिन्छ । ४ हजार २ सय ५४ किलोमिटर पूर्वको समुद्री टापुबाट बुहारी बनेर नेपाल भित्रिएकी क्रिस्टिना–हिमालय प्रसाईंको रोचक प्रेमकथा यस्तो छ ।

कुवेतको एक होटलकी रिसेप्सनिस्ट क्रिस्टिना र यूएईको एक पेट्रोल पम्पका कामदार हिमालय प्रसाईंबीचको भेट वैदेशिक रोजगारीले जुराएको हो । तर, यी दुईलाई भेटघाटको चाँजो मिलाउने श्रेयचाहिँ क्रिस्टिनाकी दिदीलाई जान्छ । दिदीसँग हिमालयको भेट यूएईमै भयो । त्यही भेटपछि हिमालयलाई क्रिस्टिनासँग प्रेम गर्ने बाटो खुलेको थियो । ‘साथीमार्फत क्रिस्टिनाकी दिदीसँग भेट भएको थियो,’ हिमालयले करिब डेढ दशकअघिको त्यो प्रेमिल पल सम्झिए, ‘उनैले बहिनीसँग प्रेम गर्न प्रस्ताव अघि सारेकी थिइन् ।’

हिमालयका अनुसार क्रिस्टिनाकी दिदीले भनिछन्, ‘बहिनी कुवेतमा छ । तिमीहरू सम्बन्ध विस्तार गर्न चाहन्छौ भने गर है ।’ दिदीको कुरा सुनेपछि परदेशमा एक्लो जीवन बाँचिरहेका तन्नेरी हिमालयको मनमा अचानक प्रेम अंकुरायो । अनि कुवेतमा रहेकी क्रिस्टिनासँग सम्बन्ध बढाउने यत्न सुरु गरे । त्यो बेला अहिले जस्तो छ्यासछ्यास्ती सामाजिक सञ्जाल थिएन, न त मोबाइल नै थियो । ‘याहु च्याट’ भर्खर सुरु भएको थियो । याहु मेसेन्जरबाटै उनले क्रिस्टिनालाई पहिलो मेसेज लेखे, ‘इट्स मी हिमालय प्रसाईं, विल यू बी माई फ्रेन्ड ?’ दिदीबाट हिमालयबारे थोरबहुत सूचना पाइसकेकी क्रिस्टिनाले रिप्लाई गरिन्, ‘ओके आ’म रेडी ।’

बिदा मिल्यो । कुवेतमा रहेकी क्रिस्टिना हिमालयलाई नै भेट्न दुबई जाने भइन् । ‘नेपाली हुँ भन्थ्यौ, तर तिमी त इन्डियनजस्तो अग्लो र हट्टाकट्टा पो रहेछौ,’ एयरपोर्टमा पहिलो भेटपछि क्रिस्टिनाले भनेकी थिइन् । कुवेतबाट यूएई आएपछि क्रिस्टिनाले हिमालयसँग अटुट सम्बन्ध अघि बढाउने निधो गरिन् ।

बिरानो देश । बिरानो परम्परा र रहनसहनबीच जुधिरहेकी क्रिस्टिना अहिले परिवारसँग मिलेर बसेकी छन् । उनले यो अवधिमा नेपाली भाषा पनि मज्जाले सिकिन् । तर, छोराछोरीचाहिँ ज्यादा अंग्रेजी नै बोल्छन् । हिमालयले चाहिँ फिलिपिनी भाषा सिकेनन् । ‘मलाई आवश्यकता नै परेन,’ उनले सुनाए, ‘उनी र नानीहरूसँग अंग्रेजी बोलिन्छ, बाहिर नेपाली । फिलिपिनी त आवश्यकता नै परेन ।’ न भाषा बुझिने, न त काम गर्ने तौरतरिका । नेपाली बुहारी बन्दाको अनौठो अनुभव छ उनीसँग । घरधन्दा पहिलो जिम्मेवारी थियो । नेपाली स्वादको खाना पकाउन सकस । बारीबाट टिपेर ल्याएको तरकारी पकाउनुपर्दा अचम्म लाग्थ्यो उनलाई । नेपाली खाना पकाउन नजान्दा सासूआमाको अनुहारको डरलाग्दो भाव उनलाई अझै सम्झना छ । उनले सुनाइन्, ‘कराएको, गाली गरेको नबुझ्दा ढुक्क हुन्थ्यो ।’

उनलाई फिलिपिन्स र नेपालको समाज बिलकुल फरक लाग्छ । नलागोस् पनि किन, फिलिपिन्समा महिलाहरू धेरै स्वतन्त्र छन् । तर, यहाँ त बन्धक जस्तो । ‘केटीले केटा र केटाले केटी मन पराइसकेपछि सकियो,’ उनले सुनाइन्, ‘न जात सोधिन्छ न त धर्म । मन मिल्यो भने सबै राजी ।’

०००

१५ वर्षअघि खाडी मुलुक दुबईमा भेट भएको थियो, अर्जुनधारा–८ दूधबारीका सागर लिम्बू र फिलिपिन्सकी एनालिजा पायावालबीच । खाडीका देशहरू ५० प्रतिशत फिलिपिनोको र ८० प्रतिशत हाराहारीका नेपालीको मुख्य श्रम गन्तव्य हो । यही गन्तव्यमै सागर र एनालिजाको प्रेम अंकुरायो ।

मिन्सी–उज्ज्वल र क्रिस्टिना–हिमालयझैं अचानक भेटिएका थिए एनालिजा–सागर । यी दुईको प्रेम कथा पनि अघिल्ला दुई जोडीसँग मिल्दोजुल्दो नै छ । अमिल्दो कुराचाहिँ के भने एनालिजाले मिन्सी र क्रिस्टिनाले झैं घरभित्रै विभेद भोग्नुपरेन । न उनले घरमा सासूसँग लड्डी नै खेल्नुपर्‍यो । ‘म आफूलाई निकै भाग्यमानी सम्झिरहेकी छु,’ शनिश्चरे बजारमा रहेको मोटर्सपार्ट्स पसलकी मालिक्नी एनालिजाले सगर्व सुनाइन्, ‘मलाई घर परिवार, श्रीमान् सबैको साथ र सहयोग छ ।’ जनजाति जस्तै देखिने उनी जनजातिकै बुहारी बनेपछि धेरैले उनलाई बुहारीको माइत कता पर्‍यो ? भनेर सोध्थे । नेपाली बोल्न नजाने पनि बुझ्ने उनको जवाफ हुन्थ्यो, ‘फिलिपिन्स ।’ प्रश्नकर्ता ट्वाँ पर्थे ।

दुबईमै बिहे गरेका सागरले करिब १० वर्षअघि लिम्बू परम्पराअनुसार पुनः बिहे गरेर घर भित्र्याए । गाउँले बोलाएर भोज खुवाए । करिब ६ वर्षअघि सागरलाई अचानक हृदयाघात भयो । त्यसपछि श्रीमान्को हेरचाहदेखि दुबईबाट फर्किएपछि सञ्चालन गरेको मोटरपार्ट्स पसलको जिम्मेवारी उनको काँधमा छ । नेपाल आएपछि एनालिजा दुई पटक माइत गइसकिन् । बिरानो देशको ‘बुहार्तन’ भुलेर समुद्रपारिको माइतघर पुग्दा फिलिपिनो बुहारीहरू निकै रोमाञ्चित हुँदा हुन् । एनालिजाले सुनाइन्, ‘माइत पुगेपछि आनन्दको सास फेर्छु ।’

श्रम तथा रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये ८० प्रतिशत नेपालीको मुख्य गन्तव्य खाडीका मुलुक हुन् । नेपाल लेबर माइग्रेसन रिपोर्ट २०२२ का अनुसार सबैभन्दा बढी खाडी उड्ने कामदारको संख्याका आधारमा झापा पाँचौं नम्बरको जिल्लामा पर्छ । डेढ दशकयता वैदेशिक रोजगारीले नेपालीको जीवनशैली मात्रै फेरिएको छैन । अन्तर्देशीय प्रेम विवाहले नेपाली समाजको परम्परागत स्वरूपमा पनि बदलाब ल्याउँदै छ । खाडी पुगेका तन्नेरीले भित्र्याएका फिलिपिनो बुहारीका अनुभवले नेपाली समाज महिलाप्रति कति अनुदार छ भन्ने मात्रै देखाएको छैन, नेपाली समाजको बहुल चरित्रमा थप नयाँ रङ पनि थपेको छ ।

प्रकाशित : जेष्ठ २३, २०८० ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?