कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

फुटबलका नम्बर १ ‘बाल दाइ’

कोही खेलाडी जीवनमा मात्र धेरै सफल हुन्छ, पछि हराउँछन् । कोही खेल्न सफल हुँदैनन्, तर प्रशिक्षक उम्दा भएर निस्कन्छन् । बालगोपाल खेलाडी र प्रशिक्षक दुवैमा अत्यधिक सफल रहे । सायद एक हातका पाँच औंला पनि बढी हुन सक्छन्, यस्ता सफल व्यक्ति खोज्ने हो भने, जसमा बालगोपाल पर्छन् ।
नेपाली राष्ट्रिय फुटबल टिममा पनि लामै समय बिताएका उनले ११ अन्तर्राष्ट्रिय खेलमा राष्ट्रिय टोली सम्हालेका छन् र यसबीच नेपाललाई दुई उपाधि पनि दिलाएका छन्
हिमेश

काठमाडौँ — कुनै बेला यो संस्कृति जस्तै थियो– भित्री काठमाडौंका किशोरहरू नजिकैको टुँडिखेलमा मौका पायो कि फुटबल खेल्न जान्थे । त्यही टुँडिखेल नजिक पर्छ, खिचापोखरी । अझ ठ्याक्कै भन्दा खेचापुखु ।

फुटबलका नम्बर १ ‘बाल दाइ’

बालगोपाल महर्जन त्यहीं जन्मे, त्यहीं हुर्के बढे । अनि सुरुआतमा आफ्नो घरबाट हाम फाल्दा पुगिने टुँडिखेलमा फुटबल सिके ।

यो भयो केही नभए पनि चार दशकभन्दा अघिको कुरा । त्यतिबेला उनी किशोरावस्था पुग्दा नपुग्दाको उमेरका थिए । अहिले उनको उमेरले आधा दशकभन्दा बढी छोइसकेको छ । र, उनको फुटबल खेल जीवनले एउटा यस्तो वृत्त पूरा गरेको छ, जसमा सबथोक छ । अचेल उनी धेरैका ‘बाल दाइ’ भएका छन् । यिनै बाल दाइको फुटबल जीवनले दुर्लभ सम्पूर्णता पाएको हो । कोही खेलाडी जीवनमा सफलता धेरै हुन्छ । तर पछि हराउँछन् । कोही खेलाडीका रूपमा सफल त हुँदैनन् । तर प्रशिक्षक भने उम्दा भएर निस्कन्छन् । कोही न त खेलाडीका बेला राम्रा हुन्छन्, न त प्रशिक्षक ।

बालगोपाल खेलाडी र प्रशिक्षक दुवै भूमिकामा उत्तिकै राम्रा रहे । अत्यधिक सफल पनि भए । यस्तोमा भन्न कर लाग्छ, नेपाली फुटबलका नम्बर १ हुन्, उनी । उनको फुटबल जीवनले सम्पूर्णता पाउन एक उपलब्धि आवश्यक थियो, त्यो पनि अब पूरा भएको छ । उनकै नेतृत्वमा चर्च ब्वाइज युनाइटेड क्लबले मंगलबार मात्र सहिद स्मारक लिग ‘ए’ डिभिजनको उपाधि जित्यो । थ्रीस्टारसँग आफूलाई सुहाउँदो बराबरी (गोलरहित) को नतिजा निकालेपछि चर्च ब्वाइजले एक खेलअगावै लिग जित्ने निश्चित भएको हो ।

सबथोक जितेका खेलाडी

खेलाडी र प्रशिक्षक दुवै भूमिकामा ‘ए’ डिभिजन लिग जित्ने धेरै कम छन् । सायद एक हातका पाँच औंला पनि बढी हुन सक्छन्, गन्ने हो भने । बालगोपालले वर्ष २०६१ मा थ्रीस्टारका लागि ‘ए’ डिभिजन लिग जितेका थिए । त्यति बेला लिग फुटबल आफ्नो लोकप्रियताको उत्कर्षमा पुग्ने क्रममा थियो । थ्रीस्टारले सबैको प्रशंसा बटुल्दै लिग जित्यो । थ्रीस्टारको उपाधि यात्रामा उनी एक महत्त्वपूर्ण खेलाडी थिए, निर्णायक नै भन्दा पनि हुन्छ ।

त्योभन्दा अगाडि २०५७ को ‘ए’ डिभिजनमा बालगोपालले आरसीटीका लागि ‘ए’ डिभिजन खेलेका थिए । उनी क्लबका कप्तान नै थिए । आरसीटी दोस्रो स्थानमा आएको थियो । त्यही वर्ष आरसीटीले शुभजन्मोत्सव कप पनि जितेको थियो । राजाको नाममा हुने प्रतियोगिता भनेपछि सजिलै बुझ्न सकिन्छ, त्यो बेला यसको महत्त्व कति थियो भनेर । नेपाली घरेलु फुटबलकै सबैभन्दा ठूलो नकआउट प्रतियोगिता यही थियो । बालगोपालले त्यो पनि जिते ।

उनले जितेका अरू सानाठूला नकआउट प्रतियोगिताको सूची बनाउँदा लामो हुन सक्छ । उनले ब्वाइज स्पोर्ट्सदेखि संकटा, मनाङ मर्स्याङ्दीदेखि थ्रीस्टार, आरसीटीदेखि फ्रेन्ड्स क्लबबाट खेले । यिनै क्लबहरूबाट मोफसलमा उनले नकआउट प्रतियोगिता पनि उत्तिकै जिते । त्यस अर्थमा उनले एक फुटबल खेलाडीका रूपमा नेपालमा जे जति जित्न सकिने थियो, त्यो सबै जिते । कुरा यत्तिकैमा टुंगिन्न । उनको अन्तर्राष्ट्रिय खेल जीवनबारे चर्चा गर्न अझै बाँकी छ ।

उनले नेपाली राष्ट्रिय टिमको कप्तानी पनि गरे । आफू खेल्दा उनी राष्ट्रिय टिमका एक महत्त्वपूर्ण सदस्य त थिए नै । उनले नेपालका लागि ५२ पल्ट खेल्ने अवसर पाए । दक्षिण कोरिया र ओमानमा भएको दुई लेगको सन् २००३ मा एसिया कप छनोट दोस्रो चरणसँगै उनको अन्तर्राष्ट्रिय खेल जीवनले पूर्ण विराम पायो । राष्ट्रिय टिमबाट उनले दक्षिण एसियाली खेलकुदमा एक स्वर्ण र एक रजत जिते । १९९३ मा बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुदको फुटबलमा नेपालले स्वर्ण जितेको थियो ।

बालगोपाल त्यस टिमको एक सदस्य थिए, भलै उनी मैदानमा उत्रन भने पाएनन् । अझै पनि त्यो सफलतालाई नेपाली फुटबलकै अहिलेसम्मको सबैभन्दा ठूलो र ऐतिहासिक सफलता मानिन्छ । नेपालले बंगबन्धु रंगशालामा भएको फाइनलमा बलियो भारतलाई टाइब्रेकरमा हराएको थियो । यदि फुटबल टिम खेल हो, व्यक्तिगत होइन भन्ने तथ्यलाई स्विकार्ने हो भने त्यो सफलतामा बालगोपालको योगदानलाई बिर्सन सकिन्न, पाइन्न पनि ।

१९९९ मा दक्षिण एसियाली खेलकुदको आठौं संस्करण नेपालमै भएको थियो । त्यसमा पनि नेपाल फुटबलतर्फ फाइनल पुगेको थियो, तर उपाधि भिडन्तमा बंगलादेशसँग पराजित भयो । रजत पदक जितेको यस टिममा पनि बालगोपाल प्रमुख खेलाडी थिए, उनको बोली बिक्थ्यो । नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा पनि बालगोपालले त्यो सबै जिते, जसबारे कसैले कल्पना गर्न सक्थ्यो । सन् २००५ मा उनले पहिलो प्रेसिडेन्ट्स कपको मौका छोपेर पूर्णरूपमा खेलाडी जीवनबाट संन्यास लिए ।

रेफ्रीतिर बरालिँदा

खेलाडी जीवनबाट संन्यास लिएपछि पनि बालगोपाल चुपचाप रहेनन् । फुटबलमै व्यस्त रहे । वर्ष २०६० मा उनलाई नेपाली फुटबलको सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कार ‘रूपक स्मृति सम्मान’ प्रदान गरियो । यो कति ठूलो पुरस्कार थियो भनेर बुझ्न उनी अगाडि यसलाई जितेका खेलाडीको नाम हेर्दा पुग्छ । ती हुन्– राजु शाक्य, उमेश प्रधान, मणि शाह, दीपक अमात्य र उपेन्द्रमान सिंह मात्रै । फेरि यो पुरस्कार कसैको नाममा राखिएको थियो भने ती थिए, स्वर्गीय रूपकराज शर्मा ।

उनलाई नेपाली फुटबलको पहिलो वास्तविक कप्तान मानिन्छ । पछि उनको विमान दुर्घटनामा निधन भयो । त्यसपछि उनकै योगदान सम्झिन उनकै नाममा पुरस्कार स्थापना गरिएको थियो । शर्माले खेल जीवन छाडेपछि रेफ्री बने । पछि उनी अन्तर्राष्ट्रिय ख्याति प्राप्त रेफ्री नै भए । खेल्ने जमानामा उनको जर्सी नम्बर हुने गर्थ्यो, १४ । बालगोपालका लागि उनी आदर्श रहेछन् । दुवै मिडफिल्डबाट खेल्ने । रूपकराजलाई पछ्याउँदै बालगोपालले पनि १४ नम्बर जर्सी नै लगाए ।

त्यसैले उनी पनि बने, रेफ्री । बढीमा दुई वर्ष, नभएर एक वर्ष बालगोपाल रेफ्री पनि भए र भन्थे, ‘मेरा लागि रूपकराज शर्मा आदर्श थिए, म उनकै बाटो पछ्याइरहेको छु ।’ तर उनी लामो समय यसमा टिक्न सकेनन् । यसको एउटा ठोस कारण उनको ढाड दुख्ने समस्या थियो । आखिरमा रेफ्रीले पनि खेलका क्रममा खेलाडी जत्तिकै दौडिनु पर्थ्यो । अथवा हुन सक्छ, बालगोपालले नेपालमा रेफ्री हुनुमा भविष्य देखेनन् । नेपालमा रेफ्री भनेपछि सम्झिनुपर्ने नाम हो, ज्ञानीराजा श्रेष्ठ ।

यिनै श्रेष्ठको आरोप के छ भने बालगोपालले भविष्य नदेखेकै हुन्, अलिकति अवसरवादी भएको पनि आरोप लगाए । तर जे भयो, त्यो राम्रो भएको थियो । जस्तो भयो, राम्रो हुनकै लागि भएको थियो । बालगोपालले रेफ्री खेल जीवन छाडेर ठीकै गरे । रेफ्री कायम रहेको भए, त्यो बेला ४५ वर्षमै संन्यास लिनुपर्थ्यो । ज्ञानीराजा जस्तै बालगोपाल पनि संन्यास लिएर कतै हराइसकेका हुन्थे । उनलाई साँच्चै हराउनु थिएन । केही समय रेफ्रीमा बरालिएका थिए ।

सबथोक जितेका प्रशिक्षक

त्यसपछि भने उनको खेल जीवनले नयाँ अवतार लियो र यो थियो, प्रशिक्षकको । फुटबल प्रशिक्षक भएर पनि उनले सबथोक जिते । जस्तो, अहिले नै उनले चर्च ब्वाइजका लागि सहिद स्मारक लिग ‘ए’ डिभिजन जिते । खेलाडी छँदाकै जस्तो, मनाङ र थ्रीस्टारका लागि प्रशिक्षक भएर पनि उनले केही नकआउट प्रतियोगिता जिते । यसअघि उनले थ्रीस्टार र मनाङकै लागि छोटो समय लिगमै प्रशिक्षकको भूमिका पनि निभाए ।

चर्च ब्वाइजमा उनी सुरुदेखि मुख्य प्रशिक्षक थिएनन् । आठौं चरणदेखि मात्र उनले पूर्णतः क्लब सम्हाल्न थालेका हुन् । त्यसअघि क्लबभित्र कचमच चलिरहेको थियो । सुरुमा प्रदीप हुमागाईं मुख्य प्रशिक्षक थिए । उनी विदेशी थिए, त्यसैले औपचारिक रूपमा उनको नाम प्रशिक्षक भनेर उल्लेख छैन । बाहिर जस्तै कारण दिए पनि प्रदीपले झगडाकै वातावरणबीच चर्च ब्वाइज छोडे । त्यसपछि चर्च ब्वाइजले क्लब इतिहासमै एउटा ठूलो निर्णय लियो, बालगोपाललाई अनुबन्ध गर्ने ।

अहिले त्यसको नतिजा पनि खुबै स्वादिलो ढंगले आएको छ, लिग च्याम्पियनकै रूपमा । फेरि एकपल्ट दोहोर्‍याएर भन्नुपर्छ, कुरा यत्तिकैमा सकिन्न । नेपाली राष्ट्रिय फुटबल टिममा पनि बालगोपाल लामै समय बिताएका प्रशिक्षक हुन् । उनले नेपालका लागि ११ अन्तर्राष्ट्रिय खेलमा राष्ट्रिय टोली सम्हालेका छन् र यसबीच नेपाललाई दुई उपाधि पनि दिलाएका छन् । उनको नेतृत्वमा नेपालले २०१६ मा बंगबन्धु गोल्डकप जित्यो, यो जितसँगै नेपाली फुटबलमा अन्तर्राष्ट्रिय सफलताको खडेरी तोडिएको थियो ।

बालगोपाल मुख्य प्रशिक्षक हुँदा नै नेपालले २०२१ मा थ्री नेसन्स कप पनि जित्यो । त्यसबीच २०१८ मा नेपालले साफ च्याम्पियनसिपको सेमिफाइनल यात्रा पनि तय गरेको थियो । ढाकामा भएको त्यस प्रतियोगितामा नेपाल लामो समयपछि अन्तिम चारमा पुगेको थियो र त्यति बेला पनि प्रशिक्षक थिए, तिनै बालगोपाल । राष्ट्रिय टिमसँग जोडिएर उनको नाममा एउटा अर्को ठूलो उपलब्धि पनि आउँछ र यो जोडिन्छ, २०१९ को दक्षिण एसियाली खेलकुदसँग । काठमाडौंमा भएको पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको थियो । यो ओलम्पिक टिम थियो । यसरी बालगोपालले दक्षिण एसियाली खेलकुदको १३ औं संस्करणमा प्रशिक्षक भएर पनि स्वर्ण जिते । यसअघि उनले खेलाडी भएर यही पदक जितेका थिए । नेपालले एक अवसरमा यू–१९ साफ च्याम्पियसिप पनि जितेको छ, २०१५ मा । कप्तान थिए, विमल घर्तीमगर । यसमा पनि मुख्य प्रशिक्षक हुन्, बालगोपाल नै । अझ विमल पुस्ताको खेलाडीलाई हुर्काउने, बढाउने खास प्रशिक्षक नै उनी हुन् ।

विमलसँगैका अर्का खेलाडी हुन्, रक्षक अनन्त तामाङ । उनै अनन्तको कप्तानीमा चर्च ब्वाइज लिग विजेता बन्यो । त्यसमा अर्का एक जना अञ्जन विष्ट पनि पर्छन् । नेपालमा एकै पटक मात्र फ्रेन्चाइज लिग भएको छ, नेपाल सुपर लिग (एनएसएल) का नाममा । २०१९ मा भएको यो प्रतियोगिताको विजेता थियो, काठमाडौं रेजर्स । यसका मुख्य प्रशिक्षक पनि अरू कोही होइन, यिनै बालगोपाल थिए । साँच्चै गज्जब छैन र बालगोपालले अहिलेसम्म तय गरेको यात्रा ? यहाँनिर एउटा प्रतिप्रश्न बन्छ । प्रशिक्षकका रूपमा के छ त उनमा ? सबैभन्दा ठूलो त उनी फुटबलका सच्चा विद्यार्थी हुन् ।

प्रशिक्षक हुन पनि मोटोमोटो किताब पढ्नुपर्छ । रातरात गृहकार्य गर्नुपर्छ । कठिनभन्दा कठिन जाँच दिनुपर्छ । यस्ता जाँचमा नेपालबाट प्रायः पहिलो हुने विद्यार्थी बालगोपाल नै हुन् । राम्रो विद्यार्थीका रूपमा उनी फुटबल पनि राम्रोसँग बुझ्छन् । खेलको ९० मिनेटको क्रममा ठीक समयमा ठीक निर्णय गर्न सक्छन् । यसको सूची बनाउँदा पनि लामै हुन्छ । ठ्याक्कै भन्दा बालगोपालमा साँच्चै केही छ र त उनले प्रत्येक पल्ट आफूलाई प्रमाणित गरेका छन् ।

त्यसैले मज्जाले भन्न सकिन्छ, उनी नेपाली फुटबलका नम्बर १ हुन्, खेलाडी र प्रशिक्षक दोहोरो भूमिकामै । उनी ‘ट्र्यु सिरियल विनर’ हुन् ।

प्रकाशित : जेष्ठ २४, २०८० १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?