लज्जित छ पूर्वउपप्रधानमन्त्रीको ओहदा

नेपालीलाई अनागरिक बनाउने गम्भीर आरोपमा पक्राउ परेका रायमाझी सबैभन्दा माथिल्लो ‘ओहदा’ का नेता हुन् । चार पटक सांसद, पाँच पटक मन्त्री, उपप्रधानमन्त्री, माओवादी संसदीय दलको उपनेता तथा माओवादी र एमालेको सचिव हुँदै उकालो चढिरहेका उनले यो धन्दामा छोरालाई समेत मतियारका रूपमा प्रयोग गरे ।
मातृका दाहाल

काठमाडौँ — नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउन गरिएको अपराधका आरोपित पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वैशाख २० देखि फरार उनले बिरामी परेको भन्दै संसद् सचिवालयमा पत्र पठाएका थिए । तर, उनी भागेको १२ औं दिनमा राजधानीको बुढानीलकण्ठस्थित एक मित्रको घरबाट पक्राउ परेका छन् ।

लज्जित छ पूर्वउपप्रधानमन्त्रीको ओहदा

अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँछु भनेका रायमाझी त्यही राति बाटोबाटै गायब भएका थिए । छोरा सन्दीप भने त्यही साँझ बुटवलबाट पक्राउ परेका थिए । काठमाडौंको सट्टा उनी पोखरा पुगेको प्रहरीका एक अधिकारीको भनाइ छ ।

‘पोखरामा गोप्य बासस्थानको प्रबन्ध मिलाएका उनका एक हितैषी दक्षिण सीमापार भागेका थिए । ती व्यक्ति उतै निगरानीमा परेपछि रायमाझी लुकेको ठाउँको पहिचान खुलेको थियो,’ ती अधिकारी भन्छन्, ‘तर, प्रहरी टोली शनिबार पोखरा पुग्दा रायमाझी त्यहाँबाट हिँडिसकेको पत्ता लाग्यो । उनी निगरानीमा रहेकाले आइतबार पासीकोटस्थित एक घरमा छापा हानेर पक्राउ गर्न सम्भव भएको हो ।’ रायमाझीलाई काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ, सोमबार अदालतमा उपस्थित गराउने तयारी छ ।

नेपालीलाई अनागरिक बनाउने गम्भीर आरोपमा पक्राउ परेका रायमाझी राजनीतिक पृष्ठभूमिका हिसाबले सबैभन्दा माथिल्लो ‘ओहदा’ का नेता हुन् । अखिल छैटौंबाट राजनीति सुरु गरेका उनी चार पटक सांसद, पाँच पटक मन्त्री, उपप्रधानमन्त्री, माओवादी संसदीय दलको उपनेता तथा माओवादी र एमालेको सचिव हुँदै उकालो चढिरहेका थिए । २०४८ मा संयुक्त जनमोर्चाबाट अर्घाखाँची–१ मा उम्मेदवारी दिएका उनी २०५२ बाट माओवादी सशस्त्र द्वन्द्वमा लागेका थिए, २०५४ मा माओवादी पोलिटब्युरो सदस्य बने । भूमिगतकालमा भारत प्रवास कमिटीको दुई पटक इन्चार्ज भएका उनी सशस्त्र युद्ध उत्कर्षमा पुगेका बेला २०६१/६२ मा पश्चिम कमान्ड इन्चार्ज भए । उनको निर्देशनमा सन्धिखर्क, बेनीलगायत आक्रमण भएका थिए ।

नेकपा विघटनसँगै पछिल्लो पटक पूर्वपार्टी माओवादी छाडेर एमालेतिर लागेका उनी दसौं महाधिवेशनबाट सचिव बनेका हुन् । अर्घाखाँचीबाट लगातार चार पटक निर्वाचित भएर ‘लोकप्रिय’ नेताको छवि बनाएका रायमाझीले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आपराधिक गिरोहको योजनाका मतियारका रूपमा आफ्नो नाम दर्ज गराएका छन् । ठगी र संगठित अपराधका अलावा उनीमाथि प्रहरीले राज्यविरुद्धको अपराधको कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।

नेपालमा शान्ति प्रक्रिया सुरु भएपछि शक्तिमा आएका रायमाझीका ‘दाहिने हात’ बनेका थिए सानु भण्डारी । उता तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पुत्री सुजाताका स्वकीय सचिवका रूपमा केशव दुलालले दायरा फराकिलो बनाएका थिए । आफ्नै र रायमाझीको सम्पर्क सूत्र प्रयोग गर्दै र राज्यशक्तिमा सोझो पहुँच बनाएका केशव–सानुको गिरोहले ठगीका लागि सरकारबाटै नीतिगत निर्णय गराउँदै भुटानी शरणार्थीका नाममा कार्यदल गठन गराएका हुन् ।

दुलाल र भण्डारीलाई शक्तिकेन्द्रको पहुँचमा पुर्‍याउन र मन्त्रालयबाट निर्णय गराउने काममा रायमाझी सक्रिय रहे । यसक्रममा गिरोहका नाइके केशव दुलालसँग गोसाइँकुण्डको ‘सयर’ गर्न पनि भ्याएका थिए । अझ, आर्थिक कारोबारमा छोरा सन्दीपलाई पनि प्रयोग गरेका थिए ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाले माओवादीका पूर्वसांसदसमेत रहेका इन्द्रजित राईलाई सुरक्षा सल्लाहकार बनाएका थिए । गिरोहकै योजनाअनुसार गृह मन्त्रालयले २०७६ जेठ ३० मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो जसलाई ‘नेपालमा रहेका भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याई विकल्प तथा सुझावहरूसहित प्रतिवेदन पेस गर्ने’ कार्यादेश थियो ।

वास्तविक शरणार्थीको समस्या समाधान गर्न होइन, नक्कली शरणार्थी खडा गर्ने उद्देश्यले कार्यदल गठन गरिएको थियो । त्यही प्रयोजनका लागि कार्यदलको निर्णय भएको थियो । ‘म त्यसबेला गृह सचिव थिएँ, गृहमन्त्रीज्यू (थापा) ले शरणार्थी समस्या समाधान कार्यदलमा नियुक्त गर्न भन्दै ३ जनाको नाम दिनुभएको थियो,’ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख रहेका प्रेमकुमार राईले कान्तिपुरसँग यसअघि नै भनेका छन्, ‘त्यसमध्ये गणेश केसी भन्ने व्यक्ति को थियो, मलाई थाहै थिएन ।’

कार्यदलको संयोजकमा गृह मन्त्रालयको सहसचिवबाट अवकाश पाइसकेका बालकृष्ण पन्थी थिए । हाल ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष रहेका केसीलाई विज्ञका रूपमा सदस्य बनाइएको थियो । त्यस्तै शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिव थिए ।

ललितपुरका केसी कसरी शरणार्थी समस्या समाधानसम्बन्धी विज्ञ भए ? उनी आफैंले कान्तिपुरसँग भने, ‘ललितपुर, हात्तीवनमा मेरो छिमेकी हुन् सानु भण्डारी । उनैले गृहमा एउटा कार्यदल बन्दै छ, त्यसमा तपाईंले सदस्य राखिनेछ, अवसर हो, काम गर्नुहोला भनेका थिए । उनले भनेजस्तै मैले असार ३०, २०७६ मा पत्र पाएँ ।’

सरकारी कार्यदल र गिरोहले एकापसमै मिलेर काम गरेका थिए । केसीको भनाइमा पनि भण्डारीमार्फत दुलालसँग भेट भएको र एक पटक भण्डारीको हात्तीवन निवासमा खानपिनको कार्यक्रम हुँदा त्यहाँ नेता रायमाझीसँग पनि छलफल भएको थियो । उनीहरूको समेत उत्साहमा काम गर्दै जाँदा गृहमा इन्द्रजित राईसँग पनि सहकार्य भएको उनको भनाइ छ ।

नेपालमा रहेका भुटानी शरणार्थीको व्यवस्थापन तथा ‘दर्ता छुट’ को लगत संकलन गर्न सरकारले अघि बनाएको कार्यदलको प्रतिवेदनमा चलखेल गरेर गिरोहले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान योजना बनाएको थियो । यसैका लागि ५० लाख रुपैयाँसम्म असुलेर ८७५ जनाको नक्कली सूची थपिएको थियो ।

काम फत्ते नहुँदै २०७८ असार २९ मा ओली सरकार विस्थापित भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्री र सचिवमार्फत पनि रायमाझीले धन्दा अघि बढाएका थिए । तर नेपाली नागरिकलाई राज्यस्तरबाटै अनागरिक बनाएर अमेरिका पठाउने भनिएको काम हुन नसक्ने भएपछि उनीहरूको पोल खुलेको हो । यही क्रममा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री र बहालवाला सचिवसहितका ‘उच्च पदस्थ’ पक्राउ परेका हुन् ।

गत चैत १२ मा गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परेका थिए । त्यसयता तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १२ जना हिरासतमा परिसकेका छन् । आइतबार मात्रै प्रहरीले तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक र कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अरू केही व्यक्तिविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिए पनि फरार रहेको प्रहरीका एक अधिकारीले बताए । उनीहरूको खोजी भइरहेको ती अधिकारीले बताए ।

अहिलेसम्म यो प्रकरणमा १ सय ६ जनाका तर्फबाट करिब २४ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी परेका छन् । अनुसन्धान प्रतिवेदन अर्को साता सरकारी वकिल कार्यालयमा पेस गर्ने प्रहरी तयारी छ । यो प्रकरणमा ठगी र संगठित अपराधको अलावा राज्यविरुद्धको अपराध, मानव बेचबिखन तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, किर्ते, प्रमाण नष्टलगायतका कम्तीमा आधा दर्जन कसुरमा आरोपितमाथि अनुसन्धान जारी छ ।

थापाका छोरा प्रतीक र कांग्रेस पूर्वसांसद आङटावा शेर्पाविरुद्ध आइतबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

स्रोतका अनुसार कांग्रेस नेता शेर्पाले प्रहरी हिरासतमा रहेका आरोपितलाई भेटेर पूर्वगृहमन्त्री खाणको नाम नपोल्न ‘दबाब’ र ‘प्रलोभन’ दिएका थिए । त्यसपछि निगरानीमा परेका शेर्पा सार्वजनिक रूपमा देखिएका थिएनन् । शरणार्थी प्रकरणमा नाम जोडेर समाचार आउन थालेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत संलग्नता इन्कार गरेका थापाका छोरा प्रतीक अहिले कहाँ छन् भन्ने अत्तोपत्तो छैन ।

कांग्रेस सांसदको खण्डन

कांग्रेस संस्थापन पक्षकी सांसद कान्तिका सेजुवालले सभापति शेरबहादुर देउवालाई भेटे पनि कुनै दबाब वा चेतावनी नदिएको बताएकी छन् । खाणलाई मात्र फसाएर आरजु राणालाई बचाउन खोजिएकामा आपत्ति जनाउँदै सांसद टोलीले चेतावनी दिएको समाचार कान्तिपुरमा आइतबार प्रकाशित भएको थियो । ‘हामीले नियमित भेटघाट गरेका हौं, आधारहीन विषय समाचारमा आएकामा आश्चर्यचकित छौं,’ उनले भनेकी छन् ।

जो हिरासतमा छन्

  • टोपबहादुर रायमाझी (पूर्वउपप्रधानमन्त्री)
  • बालकृष्ण खाँण (पूर्वगृहमन्त्री)
  • टेकनारायण पाण्डे (सरकारका सचिव)
  • इन्द्रजित राई (तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार)
  • नरेन्द्र केसी (तत्कालीन गृहमन्त्री खाणका प्रमुख स्वकीय सचिव)
  • सन्दीप रायमाझी (रायमाझीका छोरा)
  • केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर थुलुङ राई, टंक गुरुङ, रामशरण केसी, गोविन्द चौधरी (गिरोहका सदस्यहरू)

जो फरार छन्

  • प्रतीक थापा (तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा)
  • नीरज राई (तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा)
  • आङटावा शेर्पा (कांग्रेसका पूर्वसांसद)

प्रकाशित : जेष्ठ १, २०८० ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?