देउवालाई आरजुको चिन्ता

लहरो तानिँदै जाँदा आफ्नै श्रीमती आरजु राणासम्म आइपुग्ने भयले कांग्रेस सभापति शेरबहादुर देउवा चिन्तित
खाँण पक्राउपछि कांग्रेस वृत्तमा ‘कम्पन’, उनलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने/नगर्नेमा कांग्रेसभित्र विवाद
कुलचन्द्र न्यौपाने

काठमाडौँ — पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेपछि कांग्रेस वृत्तमा कम्पन गएको छ । खाँण पक्राउ परेकामा भन्दा यो प्रकरणको लहरो तानिँदै जाँदा आफ्नै श्रीमती आरजु राणासम्म आइपुग्ने भयले सभापति शेरबहादुर देउवालाई बढी चिन्तित बनाएको उनीनिकट नेताहरू बताउँछन् । पार्टीको आमूल रूपान्तरणको मुद्दा उठाएर अभियानमा जाने तयारीमा रहेको कांग्रेसभित्रको एउटा पक्षले भने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेरै धन्यवाद दिएको छ । 

देउवालाई आरजुको चिन्ता

देउवा बुधबार बिहान ९ बजेदेखि नै नेता–कार्यकर्ता भेटघाटमा जुटेका थिए । गण्डकी प्रदेश सरकारमा मन्त्री बनाउने विषयलाई लिएर बागलुङबाट आएको कांग्रेसको एउटा टोलीसँग बाहिर कुरा गरिरहेका बेला देउवालाई खाँण पक्राउ परेको खबर सुनाइएको थियो । खबर सुन्नासाथ उनी जुरुक्क उठेर भित्र गए । पछि बाहिर आउँदा निकै तनावमा देखिएको एक कार्यकर्ताले बताए । उक्त टोलीपछि देउवाले कोशी प्रदेशका कांग्रेस सांसदको डेलिगेसनसँग एकछिन छलफल गरे । कोशीमा सरकार निर्माणको एजेन्डा लिएर आएका सांसदसँग उनी खासै खुलेर बोल्न सक्ने अवस्थामा थिएनन् ।

‘मैले बालकृष्ण दाइका बारेमा केही कुरा बुझ्न खोज्दै थिएँ, जिज्ञासा राख्नुअघि नै सभापतिज्यूले आज मुढ खराब छ भन्नुभयो । हाम्रो विषयमा समेत राम्रो कुराकानी हुन पाएन,’ सहभागी एक सांसदले भने, ‘खाँण दा समातिएको घटनाले उहाँ निकै तनावमा देखिनुभएको थियो ।’

खाँण पक्राउ परेलगत्तै देउवाले अपराह्न पार्टी पदाधिकारी बैठक बोलाएका थिए । बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा नेताहरूबीचमै विवाद भएको थियो । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अनुसन्धानलाई सघाउन पनि निलम्बन गर्नुपर्ने बताएका थिए । तर, सहमहामन्त्री महेन्द्र यादवसहित केही नेताले भने उनको बचाउ गर्दै निलम्बन गर्नु नपर्ने बताए ।

कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले भने निलम्बनको विषय बैठकमा नउठेको दाबी गरे । पदाधिकारी बैठक पूर्वनिर्धारित रहेकाले खाँणको पक्राउ र बैठक संयोग मात्रै भएको उनको तर्क थियो । ‘यो प्रकरणमा उहाँलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो, आफैं अनुसन्धानमा सहयोग पुर्‍याउँछु भन्नुभएको छ,’ महतले भने, ‘पहिले अनुसन्धान होस्, त्यसपछि उहाँ दोषी ठहर भएको अवस्थामा हामीले पार्टीमा राखिराख्नु नै पर्दैन ।’

देउवाको राजनीतिक सफलताका पछि खाँणको बलियो साथ रहँदै आएको थियो । उनको बलियो साथले १४ औं महाधिवेशनमा देउवालाई सभापति बन्न सहज बनेको थियो । महामन्त्रीको दाबा गरेका खाँणले देउवालाई सभापति बनाउन आफ्नो महत्त्वाकांक्षासमेत त्यागेका थिए । महामन्त्रीको प्रतिस्पर्धामा अघि सरेका उनी केन्द्रीय सदस्यमा खुम्चिए । मंसिर ४ को संसदीय चुनावमा पराजयपछि भने देउवासँग उनको सम्बन्ध पातलिएको थियो भने आरजुसँग राम्रो थिएन । आफू पराजित हुनुमा आरजुको असहयोग पनि कारण रहेको बुझाइ खाँणले अनौपचारिक रूपमा बताउने गरेका थिए । चुनावपछि कसको नेतृत्वमा सरकार बनाउने भन्ने विवाद चलिरहेका बेला गृहमन्त्रीको हैसियतमा रहेका खाँणलाई एक पटक बालुवाटार जानसमेत रोकिएको थियो ।

चुनावपछि खाँणले माओवादी अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा सरकार बनाउँदा गठबन्धन जोगिने तर्क गर्दै आएका थिए । तर, उनको सुझाव आरजुलाई मन परेको थिएन । दाहाललाई कुनै हालतमा रोक्ने पक्षमा आरजु थिइन् । संविधानको धारा ७६ (२) अन्तर्गत प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिले दिएको अन्तिम समयसीमा पुस १० का दिन बालुवाटार र बालकोटमा सत्ता समीकरणका लागि भइरहेका रस्साकसीबीच केही सूचना बोकेर बालुवाटार छिर्न लाग्दा खाँणलाई रोकिएको थियो । त्यसपछि खाँण र आरजुबीचको सम्बन्धमा दरार आएको थियो ।

भुटानी शरणार्थी प्रकरणमा गिरोहका सदस्यले आरजुलाई साढे २ करोड र खाँणकी श्रीमती मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अप्रमाणित अडियो बाहिरिएपछि यी दुई परिवारबीच दरार आउनुमा आर्थिक लेनदेन नै मुख्य कारण रहेको कतिपय नेताहरूको बुझाइ छ । ‘पछिल्लो पटक आरजु र मञ्जुबीचको सम्बन्ध राम्रो थिएन, सम्बन्ध बिग्रनुमा आर्थिक लेनदेन रहेको बुझाइ थियो,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भनिन्, ‘अडियो सार्वजनिक भएपछि यही प्रकरणमा भएको लेनदेन हो कि भन्ने आशंका बढेको छ ।’

खाँणनिकट स्रोतका अनुसार गृह प्रशासनको सामान्य अनुभवसमेत नभएका टेकनारायण पाण्डेलाई गृहसचिव बनाएकामा त्यतिबेलै कांग्र्र्रेसभित्र चर्चा भएको थियो । किन यस्तो गर्नुभयो भनेर हामीले सोधेका हौं तर उहाँले मुसुक्क हाँसेर तत्काल कुनै जवाफ दिनु भएन, अनौपचारिक सिटिङमा गृहसचिव ल्याउँदा आफ्नो हात नभएको भनेर आरजुतिर संकेत गर्नुभएको थियो,’ खाँणनिकट अर्का एक नेताले भने, ‘गृहको काममा समेत धेरै हस्तक्षेप गरेको गुनासो पनि आउने गर्दथ्यो ।’

खाँण पक्राउपछि संसद्मा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिएका छन् । भुटानी शरणार्थी प्रकरणको लहरो माथिसम्म तानिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएका निरन्तर बैठकप्रति संकेत गर्दै थापाले संसद्बाटै यस्तो भेटघाटले अनुसन्धानलाई प्रभावित पार्न नपाइने भन्दै चेतावनी दिएका छन् ।

शरणार्थी प्रकरणमा संलग्न जुनसुकै दलको जुनसुकै ओहोदाको व्यक्ति भए पनि कारबाही हुनुपर्ने महामन्त्री थापाको भनाइ छ । बजारको हल्लाले पनि अनुसन्धान प्रभावित हुन नहुने उनले बताए । ‘यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ । तपाईंको फिल्म चल्छ । हाउसफुल हुन्छ । नभए हल खाली हुन्छ । सबैले हेरेको छ, यहाँ अनुसन्धान गरे भनेर मात्र हुँदैन, विश्वास लाग्नुपर्छ,’ थापाले भने, ‘नागरिकलाई अनुसन्धानमा फ्री र फेयर भयो भने मात्रै विश्वास हुन्छ ।’

खाँणको पक्राउलगत्तै पार्टी रूपान्तरणको मुद्दा उठाउँदै आएको कांग्रेसको एउटा समूहले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर बधाई दिँदै नाम जोडिएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान गरेर कारबाही हुनुपर्ने बताएको थियो । केन्द्रीय सदस्य मधु आचार्य, गोविन्दराज पोखरेल र युवा नेताहरू गुरुराज घिमिरे, रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, देवराज चालिसे, भरत खड्का, विनोद कायस्थलगायत करिब ३० जनाले गृहमन्त्रीलाई भेटेर नक्कली शरणार्थी प्रकरणका दोषी जतिसुकै शक्तिशाली भए पनि नछाड्न दबाब दिएका थिए ।

‘आजसम्मको काममा हामीले सराहना गरौं, कुनै कसैको दबाब र बहाना बनाएर अनुसन्धान कमजोर बनाउन, पछि हट्ने काम हुन्छ कि भनेर खबरदारी गर्ने काम गरौं,’ टोलीको नेतृत्व गरेका आचार्यले भने, ‘शक्तिशाली, ठूला, साना, मझौला जस्तोसुकै माछा भए पनि उम्किन नपाउन्, कुनै दबाब र प्रभावमा परेर नभाग्नुहोस् । यो अभियानप्रति हाम्रो ऐक्यबद्धता छ भनेर भन्यौं । गृहमन्त्रीले पनि जुनसुकै शक्तिशाली भए पनि अपराधीलाई नछाड्ने प्रतिबद्धता जनाउनुभएको छ ।’

कांग्रेसका प्रतिनिधिसँग गृहमन्त्री श्रेष्ठले तीन नेताको बैठकमा पनि अपराधीलाई जोगाउन आफू कुनै हालतमा नलाग्ने प्रस्ट जवाफ दिएको बताएका थिए । ‘म निरपराध मान्छेलाई दाग लगाउन, आग्रह, पूर्वाग्रह र हिलो छ्याप्नका लागि यो सब गरिरहेको छैन, अपराधी जुनै घरानाको होस् अथवा तागत र हैसियतको होस् । दोषीलाई उन्मुक्ति दिने काम कदापि हुन्न । तपाईंहरू निर्धक्क भए हुन्छ ।

तपाईंहरूको यो ऐक्यबद्धताले मलाई थप बल मिलेको छ,’ गृहमन्त्री श्रेष्ठको भनाइ उद्धृत गर्दै कांग्रेस नेता आचार्यले भने, ‘निरपराध पर्ला कि भन्ने कुरामा म आफैं सचेत छु । नडराउनुहोस् । अपराध गर्ने व्यक्ति जस्तोसुकै, जोसुकै भेटे पनि छोडिन्न । कारबाही गर्छु ।’ कांग्रेस नेताहरूले ठूलो काण्डमा सेक्युरिटी प्रिन्टिङ प्रेस पनि रहेको र त्यस्तो काण्डसमेत राजनीतिक नेतृत्वकै संलग्नतामा भएकाले कारबाही हुनुपर्ने माग उठाएका थिए ।

प्रकाशित : वैशाख २८, २०८० ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?