शीर्ष नेताको छलफललाई आशंका गर्नु पर्दैन : प्रधानमन्त्री दाहाल

'आशंका गरिरहनु जरुरी छैन, हामीले प्रस्ट भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठीक ढंगले गरोस् भनेर हामीले आदेश दिएका छौँ ।'

वैशाख २७, २०८०

रासस

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा बुधबार शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु आवश्यक नभएको बताएका हुन् । 

'मिडियामा जसरी तपाईंहरूले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन, हामीहरूको भेट बढी सदनलाई कसरी सञ्चालन गर्ने, समिति बनाउने विषयमा छलफल भएको हो,' उनले भने ।  प्रधानमन्त्री दाहालले अगाडि भने,  'नक्कली भुटानी शरणार्थी ठगीका विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडि बढाएको छ, त्यसलाई कुनै अवरोध गर्न हुँदैन भन्नेमा शीर्ष नेताको सहमति रहेको छ ।'

प्रहरीले आफ्नो काम गरिरहेकाले यसमा कुनै शंका गर्नुपर्ने स्थिति नभएको उनको भनाइ छ । 'आशंका गरिरहनु जरुरी छैन, हामीले प्रस्ट भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठीक ढंगले गरोस् भनेर हामीले आदेश दिएका छौँ । प्रहरीले आफ्नो काम गरेको छ । यसकारण यो विषयमा द्विविधा हुनुपर्ने, आशंका गर्नुपर्ने कारण छैन,' प्रधानमन्त्री दाहालले भने । सोसम्बन्धमा विधि विधान, नियम र पद्धतिअनुसार अनुसन्धान भएको जनाउँदै उनले प्रहरीले आफ्नो काम गरेको बताए । 

रासस

Link copied successfully