पूर्वगृहमन्त्री खाँणलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति *

वैशाख २७, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले बताए । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । बुधबार नै उनका स्वकीय सचिव नरेन्द्र केसीसमेत पक्राउ परेका छन् ।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए ।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

*  यसअघिको शीर्षकमा पूर्वगृहमन्त्री खाँणलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति हुनुपर्नेमा ४ दिन भएकोमा सच्याइएको छ । सम्पादक 

नक्कली शरणार्थी प्रकरण

कान्तिपुर

Link copied successfully