कांग्रेस नेताहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर दिए बधाई

वैशाख २७, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसका विभिन्न तहमा रहेका नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा चालेको कदमको प्रशंसा गरेका छन् ।

बुधबार गृहमन्त्रालय पुगेर गोविन्दराज पोखरेल, गुरुराज घिमिरे, मधु आचार्य, रन्जित कर्ण, भुपेन्द्रजङ्ग शाही, नरेश यादवलगायतका नेताहरू पुगेर गृहमन्त्रीलाई बधाई तथा आभार व्यक्त गरेका हुन् । गृहमन्त्रीको सचिवालयका अनुसार कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्ध सरकारको कदमको प्रशंसा गरेका थिए । सम्पूर्ण जरोकिलो खोतलेर यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन समेत नेताहरूले अनुरोध गरेका थिए ।

जवाफमा गृहमन्त्री  श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन समृद्धि, समृद्धिका लागि सुशासन र सुशासनका लागि भ्रष्टाचारको निर्मम नियन्त्रण वर्तमान सरकारको मूल प्राथमिकता भएको बताएका थिए ।

राज्यविरुद्धको अपराध भन्न मिल्ने नक्कली शरणार्थी भ्रष्टाचार प्रकरणका नाइकेहरूको पहिचान र गिरफ्तारीमा गृहमन्त्री श्रेष्ठले सफलता हासिल  गरेको कांग्रेस नेताहरूले बताएका थिए । यो ऐतिहासिक कदमले लोकतन्त्र स्थापनापछिको गतिहीनतालाई क्रमभङ्ग गर्दै, जनतामा आशा सिर्जना गरेको ठम्याइसमेत उनीहरूको थियो ।

बुधबार मात्र नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् । 

नक्कली शरणार्थी प्रकरण

कान्तिपुर

Link copied successfully