काठमाडौँ — नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले भ्रष्टाचार न्यूनीकरण गर्न सबैको प्रयास हुनुपर्ने बताएका छन् । उनले भ्रष्टाचार एउटा गम्भीर रोग बनेको भन्दै त्यसलाई निर्मूल पार्न नसकिने अवस्थासम्म पुगिसकेको बताए ।
‘वास्तवमा भ्रष्टाचार भनेको हामीले नै गर्ने हो । हामीले नगर्ने हो भने भ्रष्टाचार कम भइहाल्छ । यसलाई निर्मूल गर्न सकिन्छ कि सकिँदैन ? कतिपय देशले त निर्मूल पनि गरेका छन्,’ उनले भने, ‘तर मलाई लाग्छ, भ्रष्टाचार निर्मूल गर्नै नसकिने विषय होइन, तर हामीले त्यसलाई प्रयत्न गर्नुपर्ने हुन्छ,’ बुधबार प्रतिनिधिसभा बैठकमा उनले भने ।
उनले भ्रष्टाचारमा सरकारले शून्य सहनशीलताको नीति लिनुपर्ने बताए । ‘बीपी कोइराला प्रधानमन्त्री हुँदा उहाँको भाइले नयाँ जुत्ता लगाउनुभयो, जब त्यसको स्रोतमाथि प्रश्न उठ्यो, उहाँले त्यही दिन उहाँलाई बर्खास्त गरिदिनुभयो । भ्रष्टाचारमा सरकारको, राजनीतिक नेतृत्वको त्यो किसिमको शून्य सहनशीलता हुनुपर्छ,’ उनले भने ।
नेता कोइरालाले नेपाल कृषिप्रधान देश भए पनि अहिले कृषि क्षेत्रमा बजेट विनियोजन नै हुन छोडेको बताए । ‘हामी नेपाल कृषिसम्बन्धी देश हो भन्छौँ । तर बजेट दुई प्रतिशत मात्रै हुन्छ । हामीले निर्भरतामा बाँचिरहेका छौँ । हाम्रो १७ लाख हेक्टर खेतीयोग्य जमीन छ । ६० प्रतिशत ४० वर्षमुनिका युवाहरू छन् । तर दुःखलाग्दो कुरा के छ भने युवाहरू सबै विदेशमा छन्,’ उनले अघि भने, ‘उनीहरू यही बसेर त्यहाँभन्दा बढी कमाउने वातावरण कसरी बन्छ ? त्यसमा ध्यान दिनु आवश्यक छ । त्यसतर्फ हाम्रो ध्यान किन गइरहेको छैन ?’
उनले सरकारले कृषि क्षेत्रमा लगानी बढाएको अवस्थामा कृषि नै मुलुकको आर्थिक विकासको प्रमुख आधार बन्न सक्ने बताए ।
