२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

परम्पराका नाममा सुत्केरीमाथि अत्याचार

कतै छुनु हुँदैन भन्ने मान्यता छ भने कतै देवीदेउता रिसाउने नाममा गर्भावस्थादेखि सुत्केरी हुने बेलासम्म महिलालाई माछामासुबाट वञ्चित गरिन्छ 

काठमाडौँ — बझाङको जयपृथ्वी नगरपालिका–१, कैलाशकी मनसरा सिंह सुत्केरी भएको दुई महिना पुग्न लाग्यो । यससीच उनले पौष्टिक आहार पाउनुपर्ने हो । नवजात शिशुलाई पर्याप्त दूध पुर्‍याउन मात्रै नभएर कमजोर बनेको सुत्केरी ज्यान तंग्रिनका लागि पनि पौष्टिक खानेकुरा आवश्यक थियो । तर, उनको परिवारले परम्परादेखि चल्दै आएको चलन भन्दै कैयन् खानेकुरामा बारबन्देज लगाए । ‘सुत्केरी भएको १२ दिनसम्म नुनसमेत दिइएन ।

परम्पराका नाममा सुत्केरीमाथि अत्याचार

बिहान, दिउँसो र बेलुका भात र घिउ मात्रै खाएँ,’ मनसरा भन्छिन्, ‘अलिक पछि आमाले साग खाएर बच्चाले हरियो दिसा गरेकाले ६ महिनासम्म साग खान हुन्न भन्या छन् ।’

मनसरा प्रतिनिधि उदाहरण मात्रै हुन् । संस्कार, संस्कृति र परम्परा फरक–फरक भएपछि सुत्केरीलाई खानपानमा परहेज गर्ने चलन सबैतिर व्याप्त छ । कुनै ठोस वैज्ञानिक कारण नभए पनि विभिन्न खानेकुरा बार्न लगाउनेदेखि घाम हेर्नसमेत नहुनेजस्ता चलनमार्फत सुत्केरी र नवजात शिशुको स्वास्थ्यमाथि खेलबाड गर्ने काम भइरहेको छ ।

जयपृथ्वी–१ की महेश्वरी विष्ट चैत २५ गते सुत्केरी भइन् । उनलाई परिवारका सदस्यले परम्परा भन्दै १० दिनसम्म नुन खान दिएनन् । सातौं दिन घरदैलोमा आइपुगेका स्थानीय स्वास्थ्यकर्मीले पोसिलो खानेकुरा र सागपात खान सुझाए । तर, परिवारजनले स्वास्थ्यकर्मीको सुझाव मानेनन् । महेश्वरीको घर पुगेकी स्वास्थ्य इकाईकी अहेव सुशीला खड्काले सुनाइन्, ‘यस्तो बेलामा मुख बार्नु हुँदैन भनेर सम्झाउँदा सुनेजस्तो गर्छन् तर परम्परा भन्दै हाम्रो कुरा मान्दैनन् ।’

स्वास्थ्य चौकीका इन्चार्ज कमल जोशीले आमा र सासूले परम्परा र संस्कृतिका नाममा आफूले पछ्याएकै नियम बुहारीलाई मान्न बाध्य पार्छन् । ‘कोही–कोही त जति सम्झाउँदा पनि नमान्ने खालका हुन्छन्,’ उनले भने, ‘पहिला यस्तो बेलामा त्यस्तो खाना खाएका कारण मेरो बच्चा बित्यो, बिरामी भयो भन्छन् । त्यही विश्वासमा परेर मुख बार्छन् ।’ बच्चाको दिसा हरियो देखिए आमालाई सागपात खान दिँदैनन् भने दिसा दहीजस्तो देखिए दूधजन्य खान्की खान रोक्छन् ।

परम्पराका नाममा सुत्केरीलाई पोसिलो खानेकुराबाट वञ्चित गर्दा बच्चा कुपोषित हुने र आमाको स्वास्थ्यमा समस्या देखिने स्वास्थ्यकर्मी बताउँछन् । ‘अन्धविश्वासका कारण मुख बार्न लाउने चलन रहेका गाउँका बच्चा बढी कुपोषित भेटिन्छन्,’ तलकोट स्वास्थ्य चौकीका सिअहेव जनककुमार विष्टले भने, ‘सुत्केरी भएका बेला बढी पोसिलो खाना चाहिन्छ । तर त्यही बेला मुख बार्न लगाउँछन् ।’

बझाङको भन्दा फरक चित्र छैन, अछामको पनि । सुत्केरीलाई छुनु हुँदैन भन्ने मान्यता राख्छन् । शारीरिक रूपमा कमजोर सुत्केरी आफैं सकी नसकी आफ्नो काम गर्नुपर्ने बाध्यता छ । साँफेबगर नगरपालिका–११ देवीस्थानकी रत्ना (नाम परिवर्तन) श्रीमान्, सासू, ससुरा कामका लागि भारत गएकाले सुत्केरी हुने बेला माइतीघर मंगलसेन आइन् । तर, माइतीमा पनि उनलाई सुत्केरीलाई छुँदा अपवित्र भइने भन्दै उनका आमासहित कसैले छोएनन् । रत्नाकी आमाले भनिन्, ‘सुत्केरीलाई छोए मलाई सञ्चो हुँदैन । देउता पनि रिसाउँछन् । नौ दिन भएपछि मात्रै छोरीलाई छुन मिल्छ ।’

स्वास्थ्य संस्थामा आउने अधिकांश सुत्केरीले विभेदको सामना गरिरहेको जिल्ला अस्पताल अछामकी वरिष्ठ नर्सिङ अधिकृत गंगा बुढामगरले बताइन् । ‘सुत्केरीलाई खानेकुरामा बन्देज लगाउँछन्,’ सूचना अधिकारीसमेत रहेकी उनले भनिन्, ‘छोरी जन्मेमा घरपरिवारले गम्भीर अवस्थाकी सुत्केरीलाई भेट्न, साथ नदिँदा हामीलाई धेरै पटक गाह्रो परेको छ ।’

सुत्केरीमाथि विभेद र अन्धविश्वासपूर्ण व्यवहार कर्णालीमा उस्तै भेटिन्छ । गत वर्षको असारमा हुम्लाको खार्पुनाथ गाउँपालिका–४ माजाकी वासु टमटाले गोठमै छोरी गुमाइन् । सुत्केरी अवस्थामा राम्रो खानपान र हेरचाह नभएकाले जन्मिएको २ महिनामै छोरी गुमाएको सम्झिँदा उनको अनुहार अहिले पनि अँध्यारो हुन्छ । परम्पराका नाममा सुत्केरीलाई गोठमा राख्ने र खानेकुरा बार्ने चलनकै कारण उनकी छोरी निमोनिया र कुपोषणबाट बितेकी थिइन् । उक्त वडाका अध्यक्ष रंगमती शाहीले परम्पराका नाममा सुत्केरीमाथि अन्याय भइरहेको बताइन् ।

ताजाकोट गाउँपालिका–५ की मान्की मल्ल सुत्केरी भएको २५ दिन भयो । गोठमै बच्चा जन्माएकी उनी त्यसयता गोठमै बसेकी छन् । तीस वर्षमै चार सन्तानकी आमा बनेकी उनले अरू सन्तान जन्माएका बेला पनि गोठमै सुत्केरी उतारेको सुनाइन् । सुत्केरी हुँदा जुठो हुने भन्दै उनी मात्र होइन, पतिलाई समेत घरभित्र बस्न नदिने चलन छ । मान्कीले भनिन्, ‘सुरुको बच्चा जन्मँदा ४५ दिन गोठको बास बसे । अहिले चौथो पटक भएकाले ३० दिन मात्रै बस्दा होला ।’ मान्कीलाई परिवारले चलिआएको चलन भन्दै सागपात, दूध र दही खान वञ्चित गरेको छ । सुत्केरी हुँदा राम्रोसँग खाना नपाएकाले आफू र बच्चा दुवैलाई सुकेनास लागेको सुनाइन् ।

गाउँपालिका अध्यक्ष लालकेश जैसीले अन्यत्र महिनावारी हुँदा छुई बारेजस्तै कर्णालीका हुम्ला, दैलेख, कालीकोट, मुगु, डोल्पा, जुम्ला र रुकुम पश्चिमलगायतमा सुत्केरी हुँदा जुठो बार्ने र गोठमा राख्ने चलन रहेको बताए । गाउँपालिका स्वास्थ्य संयोजक प्रमुख धनराज ढकालले देवीदेउता रिसाउने नाममा गर्भावस्थादेखि सुत्केरी हुने बेलासम्म माछा, मासु खान वञ्चित गरिने गरेको बताए । अस्पतालमा सुत्केरी भए पनि घर फर्काएर गोठमा राख्ने चलनले सुत्केरी र शिशुको स्वास्थ्यमा असर पारेको उनले बताए । स्वास्थ्य तथ्यांकअनुसार अन्धविश्वासपूर्ण चलनले ताजाकोटमा ४५ प्रतिशत नवजात शिशुमा कुपोषण देखा परेको छ भने ४५ प्रतिशत आमा कुपोषणको सिकार भएका छन् ।

मुगुको सोरु गाउँपालिका–२ की २६ वर्षीया धौली रावल सुत्केरी भएको १४ दिन भयो । उनका पति स्वास्थ्य चौकीका अहेव हुन् । तर, उनले सुत्केरी पत्नीलाई घरभित्र राख्न सकेनन् । देवीदेउता रिसाउँछन् भन्दै उनलाई घर नजिकै छुट्टै कोठामा राखेका छन् । बाबुआमाले नमानेकाले अलग्गै राख्नुपरेको बताउँदै उनले भने, ‘यहाँ त दुई/तीन महिनासम्म गोठमै राख्छन् । घरमा गोठ नभएकाले नजिकै कोठा लिएर राखें ।’

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले लामा जातिबाहेक अन्य जातिले सुत्केरी हुँदा बार्ने गरेको बताए । सुत्केरीलाई गरिने पशुतुल्य व्यवहार, माछा, मासु, दूध, दही खान नदिने संस्कार बदल्नुपर्ने बताए ।

जुम्लाको कनका सुन्दरी गाउँपालिकाको हाटसिजा स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले सुत्केरीलाई पोसिलो खानाको अभाव रहेको बताए । ‘सुत्केरीले नुन, तरकारी पनि खान पाउँदैनन्, यस्तो खानेकुराले जन्डिस बनाउँछ भन्ने सोच छ,’ उनले भने, ‘धर्मकर्मका नाममा माछा, मासु खाँदैनन् । उपलब्ध पोसिलो खानेकुरा बार्न लगाउने चलनले आमा र बच्चा कमजोर हुने गरेका छन् ।’ गुठीचौर गाउँपालिकाको गर्ज्याङकोट हेल्थपोस्टकी इन्चार्ज कालिका न्यौपानेले खानेकुरा बार्ने चलनका कारण सुत्केरीमा स्वास्थ्य समस्या थपिने गरेको बताइन् । ‘सुत्केरीलाई रिंगटा लाग्ने, टाउको दुख्ने, तौल कम हुने समस्या देखिएको छ,’ उपचारका निम्ति आउने सुत्केरीबारे उनले भनिन्, ‘तीमध्ये धेरैले सुत्केरी अवस्थामा पोसिलो खानेकुरा नपाएको देखिन्छ ।’

बालरोग विशेषज्ञ डा. नवराज केसीले कर्णालीमा ५१ प्रतिशत आमामा कुपोषण र रक्तअल्पता देखिएको बताए । ‘सांस्कृतिक नियमअनुसार चल्ने भएकाले पनि सुत्केरी अवस्थाका महिला विभिन्न रोगले पीडित छन्,’ उनले भनिन् । खानेकुराको बारबन्देजका अनेकन अभ्यास छन् ।

गुल्मीको मुसीकोट नगरपालिका–२ हाँडीखोलाकी ५३ वर्षीया गोरी विश्वकर्माले सुत्केरी बुहारी सुनितालाई अनेक थरी खानेकुरा खान नदिने सुनाइन् । ‘हामीले सुत्केरीलाई आँटो, मास, सिल्टुङको दाल, पिँडालु, गाभालगायत चिलाउने र घाउ पकाउने चीज खान दिन्नौं,’ खानेकुराका कारण सुत्केरीको घाउ पाक्ने र चिलाउनेजस्ता समस्या आउने सुनाउँदै भनिन्, ‘चिसो लाग्ने भएकाले हरियो तरकारी र फलफूल दिनु हुन्न । कबेली (फर्सी) मा भिटामिन हुन्छ भने पनि त्यसले चिसो लाग्छ । आलु पनि खान दिनु हुन्न ।’

सुत्केरी स्याहार्नेबारे संस्कार र परम्परा रहेका छन् । ‘अब सुत्केरीको ज्यान भर्खरको हरियो सागजस्तै हुन्छ,’ गोरी भन्छिन्, ‘सुत्केरीलाई पनि धेरै घाममा बसाल्यो भने चक्कर लाग्छ कि भन्ने डर हुन्छ ।’

गुल्मीका ग्रामीण परिवारको कथा गोरीको जस्तै छ । कालीगण्डकी गाउँपालिका–५ फोक्सिङ स्वास्थ्य चौकीकी अनमी सञ्जु थापाले परम्पराका नाममा नवजात शिशु र सुत्केरीमा खराब असर परिरहेको बताइन् । नवजात शिशुमा जन्डिस देखिए आमालाई बेसार र मासु खान नदिने चलन छ । ‘एक जना सुत्केरी रक्तचाप कम भएर जँचाउन आइन्, परम्परागत मान्यताका कारण सुत्केरीको स्वास्थ्यमा असर परिरहेको बताउँदै थापाले भनिन्, ‘पछि थाहा भयो, बच्चामा जन्डिस देखिएपछि उनलाई महिना दिनदेखि पानीसँग मात्रै खाना दिएको रहेछ ।’

काभ्रेको महाभारत गाउँपालिका–६, सुकौराकी २८ वर्षीया आरती वाइबा सुत्केरीका बेला पोसिलो खानेकुरा होइन, मुख बार्न बाध्य पारेको सुनाइन् । ‘दूध खानु हुँदैन, खायो भने रगत धेरै बग्छ भन्छन्,’ वैशाख ५ मा दोस्रो सन्तान जन्माएकी उनले भनिन्, ‘फलफूल खायो भने चिसो लाग्छ, हरियो तरकारी खायो भने बच्चा बिरामी हुन्छ भन्छन् ।’ खानीखोला–६ सालघारीकी ३२ वर्षीया बिमला थोकरले समुदायको चलन भन्दै सुत्केरीलाई दूध, दही, माछा, खसीको मासु खान दिन नहुने बताइन् । सुत्केरी घर बाहिर निस्कन नहुने जनाइन् ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तमराज सेढाईंले सुत्केरी शरीरलाई अधिक पोषणको आवश्यकता पर्ने बताए । ‘यस्तो बेला पोसिलो र झोलिलो खानेकुरा खानुपर्छ,’ परम्पराका नाममा गलत अभ्यास त्याग्नुपर्ने उल्लेख गर्दै भने, ‘सुत्केरीलाई सुप, सागसब्जी, दूध, दही, माछा, मासु, अन्डा, गेडागुडी, दाल, घिउजस्ता खानेकुरा खुवाउनुपर्छ ।’

सुत्केरीमाथि खानाको बारबन्देज पहाडमा जस्तै मधेशमा पनि देखिन्छ । रूपन्देहीको कोटहीमाई गाउँपालिका–३ की १३ दिने सुत्केरी गीता पालले परम्पराअनुसार सुत्केरीलाई भात खान नदिने र एउटै कोठाभित्र बसेर बच्चाको स्याहार गर्नुपर्ने नियम रहेको बताइन् । ‘रोटी र सोठ (भेली, काजु, बदाम, छोहडा, नरिवल आदि मिसाएर बनाइएको खानेकुरा) दिने गरिन्छ,’ उनले भनिन्, ‘सुत्केरी भएको १२ दिनपछि मात्र भात खान दिइन्छ ।’ चिसो लाग्छ भनेर फलफूल खान दिइँदैन । मासु खाए नवजात शिशुको स्वास्थ्य बिग्रने धारणा छ । सुत्केरी मान्छे घर बाहिर निस्कँदा नजर लाग्छ भनेर निस्कन नहुने मान्यता छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–११ की सरोज केवट १० दिनकी सुत्केरी हुन् । सरोजलाई परिवारका सदस्यले चलनअनुसार सुत्केरी भएको १ हप्तापछि मात्र नुहाउन अनुमति दिए । सुत्केरीले भात खान नहुने चलन रहेको बताउँदै भनिन्, ‘सुत्केरी हुँदा नरम भात खान मन लाग्छ तर २ महिना जतिपछि मात्र खान मिल्छ ।’ पारिवारिक संस्कारले खानेकुरामा रोक लगाएप्रति बाध्य भएर बार्नुपरेको सुनाइन् ।

कोटहीमाई गाउँपालिका–३ स्थित स्वास्थ्य चौकीका प्रमुख मनबहादुर कुँवरले रीतिरिवाजका नाममा चलेका चलनले सुत्केरीको स्वास्थ्य बिग्रिने गरेको बताए । ‘सुत्केरी र उनका परिवारलाई सम्झाउनै गाह्रो पर्छ,’ उनले भने, ‘चलन भनेर छोडिदिने हो भने बच्चालाई कुपोषण हुने सम्भावना बढी हुन्छ ।’

महोत्तरीको बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीकी अनिशा सदा एक महिनासम्म घरभित्र झ्यालढोका थुनेर बसिन् । उनलाई वैशाख २ गते मात्रै घर बाहिर निस्कन दिइयो । किनकि सुत्केरीले सूर्यको प्रकाश हेरे भूतप्रेतले छुन्छ भन्ने मान्यता छ । ‘कहिले बाहिर निस्किनुजस्तो भएको थियो,’ उनले भनिन्, ‘हावा र घाममा बस्न नहुने, चिसो छुन र खान नहुनेले सकस भयो ।’

धनुषाको चित्रपुरबाट बर्दिबास अस्पतालमा सुत्केरी हुन आएकी रेनुदेवी महतो वैशाख ४ गते तेस्रो सन्तानको आमा बनिन् । उनलाई सुत्केरीको पीडाभन्दा ६ दिन कसरी कटाउने भन्ने चिन्ता थपियो । किनकि सुत्केरीले ६ दिनसम्म नुन खानु हुँदैन भन्ने चलन छ । अलिनो दालभात, दूधभात, सखर हालेको हलुवा र घिउमा पकाएको बेसार खानुपर्छ । घाम हेर्न हुँदैन । भनिन्, ‘कहिले ६ दिन कट्ला र मीठो खाउँला भन्ने आशा छ ।’ उनकी सासू शान्तिदेवीले घरमा छठियार (बच्चा जन्मेको ५ दिन) को पूजा नभएसम्म परम्पराअनुसार नुन खान नदिने र उज्यालो प्रकाश हेर्न नहुने बताइन् । उनले सुत्केरीलाई साग खान दिए बच्चालाई पेट दुख्ने र सुत्केरी कस सफा नहुने विश्वास रहेको सुनाइन् ।

बर्दिवास अस्पतालमै बच्चा जन्मिएपछि घर फर्किएकी लालबन्दी–१६ की यशोदा पाठकले सुत्केरी हुँदा आलु खान नहुने नियम रहेको बताइन् । ‘आलु खाए घाउ पाक्छ, साग खाए सुत्केरी हुँदाको कस बाँकी रहन्छ भनेर सुत्केरी समयमा यी खानेकुरा बार्ने चलन छ,’ उनले सुनाइन् ।

पर्सास्थित जिल्ला स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत मीरा यादव छठिहार र यससँगै जोडिएका परम्परा तथा रूढिवादी प्रथा लामो समयदेखि स्वास्थ्य चुनौती रहँदै आएको बताउँछिन् । ‘एकातिर बच्चा नजन्मेसम्म मात्र आमाको ख्याल गरिन्छ भने जन्मिसकेपछि बच्चाको मात्र ख्याल गरिने परम्परागत सोच र प्रवृत्तिले समस्या छ,’ उनी भन्छिन्, ‘अर्कोतिर बच्चा जन्मिसकेपछि २४ घण्टा पनि अस्पतालमा नबस्ने प्रवृत्तिले पनि समस्या भएको छ, कतिपय सुत्केरीको रक्तस्राव रोकिएको हुँदैन तैपनि परिवारजनले जबर्जस्ती सुत्केरी र शिशुलाई घर लग्न खोज्छन् ।’ परम्परा बदल्न एकदमै गाह्रो भएको उनको भनाइ छ ।

पाँचथरको याङवरक गाउँपालिका–४ की होमा पोखरेल आफूले ७ जना सन्तान जुवानोको रस खाएरै हुर्काएको अझै सुनाउँछिन् । ‘रुचोस् कि नरुचोस्, गिलो भातमा ज्वानोको झोल डुबाएर खाइन्थ्यो,’ सुत्केरी हुँदा बाइस दिनसम्म पानी अछुत भएर अलग्गै राखिएको अनुभव सुनाउँदै भनिन्, ‘अलिअलि खुट्टा टेकिन थालेपछि बाहिरको काम गर्नैपर्थ्यो । अहिले त्यस्तै अवस्था ठ्याक्कै नरहे पनि पूरै फेरिएको छैन ।’ सुत्केरीलाई अन्धविश्वासका कारण दूध, माछा, मासु, अन्डा, फलफूल र सागपात खानबाट वञ्चित गरिने चलन रहेको सुनाइन् ।

म्याग्दीको बेनी अस्पतालकी सिनियर अनमी सुमित्रा पुन परम्पराका नाममा सुत्केरीलाई पोसिलो खान नदिने संस्कार देखेर अचम्म मान्छिन् । ‘हामी सुत्केरीलाई माया गरेरै धेरै मासु, घिउ खुवाउँछौं तर हरियो सागपात खान नहुने, फलफूल खान नहुनेलगायतका अन्धविश्वासले स्वास्थ्य समस्यामा फसिरहेका छन्,’ उनले भनिन् । कतिपय समुदायमा चिसो लाग्दैन भनेर सुत्केरीलाई मदिरा खान दिने गलत अभ्यास पनि रहेको बताइन् ।

तनहुँको ऋषिङ गाउँपालिका–५ की कालीमाया कुमालले सुत्केरीमाथि गरिने व्यवहार समयअनुसार परिवर्तन हुँदै गएको बताइन् । ‘यस क्षेत्रमा पहिला सुत्केरी भएको १५ दिनसम्म छुट्टै राखिन्थ्यो भने अहिले सँगै बसेर स्याहारसुसार पाउँछौं,’ उनले भनिन् । घिरिङ गाउँपालिका–१ की सुनिता सुनारले सुत्केरी बार्ने नाममा खानपानमा रोक लगाउने चलन बिस्तारै फेरिएको सुनाइन् ।

रूपटार सामुदायिक स्वास्थ्य केन्द्रकी स्वास्थ्यकर्मी सोमकुमारी थापाले ऋषिङमा ५/६ वर्ष अघिसम्म सुत्केरीलाई १५/२० दिनसम्म छुट्टै राखिन्थ्यो । अहिले त्यो चलन मान्न छोडेको सुनाइन् । यस भेगका दराई र मगर बाहुल्य आफ्नो क्षेत्रमा नवजात शिशुको भात खुवाई नगरी खोलानाला तर्न नहुने मान्यता छ ।

महोत्तरीको बर्दिबास अस्पतालकी स्त्री रोग विशेषज्ञ डा. कृष्णा महर्जनले स्वास्थ्य संस्थाले दिएको निर्देशनअनुसार सुत्केरीलाई खुवाउनैपर्ने खानेकुरा पौष्टिक आहार, सागसब्जी दिनुपर्ने बताइन् । परम्पराका नाममा अनावश्यक बन्देज लगाउनु सुत्केरी आमा र शिशुको स्वास्थ्यमाथि लापरबाही गर्नु मात्र नहुने उनको कथन छ । बर्दिवास–१४ की प्रतिमा श्रेष्ठले परिवार र समाजका कुरा मान्दामान्दै सुत्केरी मानसिक रूपमा बिरामी पर्ने गरेको बताइन् । वैशाख ४ मा दोस्रो सन्तान जन्माएकी उनले भनिन्, ‘शारीरिक रूपमा महिला बिरामी परेकै बेला यो खानु, त्यो नखानु, यसो गर्नु, उसो नगर्नु भन्दा मानसिक पीडा हुँदो रहेछ । शरीर चलमलाउन नसकेका बेला मानसिक रूपमा दिएको अनावश्यक संस्कार र परम्परा सुत्केरीका लागि पासो भइरहेको छ ।’

गगनशिला खड्का (गुल्मी), ज्योति श्रेष्ठ (काभ्रे), सन्जु पौडेल (लुम्बिनी), सुनिता बराल (महोत्तरी), शंकर आचार्य (पर्सा), लक्ष्मी गौतम (पाँचथर), घनश्याम खड्का (म्याग्दी), सम्झना रसाइली (तनहुँ), वसन्तप्रताप सिंह (बझाङ), मेनुका ढुंगाना (अछाम), ज्योति कटुवाल र तृप्ति शाही (सुर्खेत)

प्रकाशित : वैशाख २७, २०८० १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?