२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

क्रिकेटमा फड्को, पूर्वाधारमा तगारो

वर्षमा आउने १ करोड हाराहारी बजेटले योजनामा रहेका कुनै पनि क्रिकेट मैदान पूरा हुन सक्ने देखिँदैन
विनोद पाण्डे

काठमाडौँ — पछिल्ला तीन महिनामा नेपाल प्रमुख अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न व्यस्त रह्यो । विश्वकप क्रिकेट लिग–२ मा नामिबिया र स्कटल्यान्ड तथा यूएई र पपुवा न्युगिनीसँगको खेल आयोजना गरेको नेपालले गत साता एसीसी प्रिमियर कप प्रतियोगिता नै सफलतापूर्वक सम्पन्न गर्‍यो । 

क्रिकेटमा फड्को, पूर्वाधारमा तगारो

एसिया कपको छनोटको आधार रहेको प्रिमियर कप एसियाली क्रिकेट परिषद् (एसीसी) ले आयोजना गरेको थियो भने १० राष्ट्र सहभागी यो प्रतियोगितामा नेपाल त्यसको आयोजक राष्ट्र थियो । प्रिमियर कपमार्फत २५ वर्षपछि नेपालमा एसीसीको राष्ट्रिय टोलीले खेल्ने एकदिवसीय क्रिकेट प्रतियोगिता फर्किएको थियो ।

सन् १९९८ मा एसीसी ट्रफीको आतिथ्यता नेपालले गरेको थियो । प्रतियोगिताको यो दोस्रो संस्करण थियो भने नेपालले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता । त्यसयता एसीसीले आयोजना गर्ने राष्ट्रिय टोलीको एकदिवसीय प्रतियोगिता नेपालले आयोजना गर्न सकेको थिएन । एसीसी ट्रफीको महत्त्व अहिलेको प्रिमियर कपको जस्तै थियो, विजेताले एसिया कपमा प्रवेश पाउँथ्यो । एसीसी ट्रफीको फेरिएको स्वरूप हो प्रिमियर कप । टेस्ट क्रिकेटका लागि दाबी गरिरहेको बंगलादेशले २५ वर्षअघि नवनिर्मित त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मलेसियालाई एसीसी ट्रफीको फाइनलमा ८ विकेटले पराजित गरी एसिया कपका लागि छनोट भएको थियो । २५ वर्षपछि एसिया कपमा छनोट हुने पालो नेपालको आयो । फाइनलमा यूएईमाथि ७ विकेटको जित हात पारी नेपालले पहिलो पटक एसिया कप खेल्ने तय गर्‍यो ।

तर यो बीचमा कीर्तिपुर मैदानमा उल्लेखनीय सुधार भएको छैन । लगभग साढे दुई दशक अगाडिको पूर्वाधारमै नेपाली क्रिकेट अहिले पनि थेगिएको छ । जसका कारण नजिकको अभिभावक संस्था एसीसीको प्रतियोगिता नेपाल आउन यत्रो समय कुर्नु पर्‍यो । विश्व क्रिकेटको सर्वोच्च संस्था (आईसीसी) ले नेपालमा २०१० मा विश्व क्रिकेट लिग डिभिजन–५ आयोजना गर्‍यो । त्यसबाहेक दुई देशबीच वा त्रिकोणात्मक शृंखलामात्र नेपालको आयोजनाको पाटोमा पर्‍यो ।

मूलपानी क्रिकेट मैदान खेल्न योग्य बनाएपछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न ढोका खुलेको क्यान अध्यक्ष चतुरबहादुर चन्द बताउँछन् । ‘अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न हाम्रो सबैभन्दा ठूलो समस्या भनेकै मैदान हो । एसीसीले प्रिमियर कपका लागि तीन मैदान चाहिने भनेको थियो । हामीले दुईवटामा कुरा राख्यौं । मूलपानी क्रिकेट मैदानलाई निर्धारित समयमै तयार गर्छौं भनेर प्रतिबद्धता जनाएपछि एसीसीको टोली काठमाडौं आएर प्रिमियर कप नेपाललाई आयोजना गर्न दिने निर्णय गरेर गएको थियो,’ चन्दले भने ।

२५ वर्ष अगाडि बनाइएको पूर्वाधारमा पेभेलियन र चेन्जिङ रुममा केही परिवर्तन भएका छन् । दर्शकका लागि चोभार एन्डको पछाडि भागमा शौचालय बनाइएको छ । तर अन्य भाग लगभग जस्ताको तस्तै छ । तोकिएको मापदण्ड पूरा नभएपछि २०१५ मा नेपालले आयोजना गर्नुपर्ने विश्व क्रिकेट लिग च्याम्पियनसिपको पपुवा न्युगिनीविरुद्धको दुई खेल यूएईमा गएर खेल्नुपरेको थियो । त्यसको अर्को वर्ष पेभेलियन एन्डको दाहिने छेउमा आधिकारिक ब्रोडकास्ट र प्राविधिकहरूका लागि तीनतले भवन बनाएपछि २०१६ मा नामिबिया र २०१७ मा केन्या आएर नेपालविरुद्ध च्याम्पियनसिपका खेल कीर्तिपुरमा खेलेका थिए ।

प्रिमियर कप, च्याम्पियनसिप, लिग–२ जस्ता इभेन्ट आयोजनाको आर्थिक पाटो लगभग सबै एसीसी र आईसीसीले नै हेर्ने भए पनि मैदान अभावमा नेपाल लगातार रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न पछाडि परिरहेको थियो । कीर्तिपुर मैदान तयारी हालतमा रहे पनि त्यससँगै अन्य मैदानको टुंगो नलाग्दा नेपाल समावेश एसीसी र आईसीसीका प्रतियोगिता काठमाडौंबाट बाहिरिरहेका थिए ।

‘प्रिमियर कपको सम्पूर्ण खर्च एसीसीले नै बेहोर्ने हो । कुल बजेटको ९० प्रतिशत एसीसीले बेहोरेको थियो । हाम्रो थप खर्च भनेको पूर्वाधारमा हो । हामीले मैदान तयार गरेपछि बल्ल उसले आयोजनाका लागि अनुमति दिएको हो,’ चन्दले भने, ‘पूर्वाधारका लागि एसीसीले २५ देखि ३० हजार डलर दिएको थियो । तर त्यति बजेटले पुग्दैन । मूलपानीमा सुविधा पनि बढाउनुपर्‍यो, त्यो बजेट एसीसीले दिने होइन । मूलपानीमा ८० प्रतिशत खर्च गरिएको छ । अर्को पटक २० प्रतिशत तयारी गरे अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिन्छ ।’

नेपाललाई तटस्थ भूमिका रूपमा अगाडि बढाउँदै जी स्पोर्ट्स (टीभी) र यसका मालिक सुवासचन्द्र गोइन्काले त्रिवि क्रिकेट मैदान निर्माण गरेका थिए । यही नवनिर्मित कीर्तिपुर मैदानका आडमा नेपालले १९९८ को एसीसी ट्रफी आयोजना गरेको थियो । एसीसी ट्रफी आयोजनाका लागि चार मैदान हुनुपर्ने एसीसीको सर्त थियो । नेपालले आयोजनाका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसको मैदान र सेन्ट जेभियर्स स्कुल मैदान अगाडि सारेको थियो । पुल्चोकमा दुई मैदान बनाउँदै विभिन्न कमीकमजोरीका बावजुद पनि एसीसी ट्रफी आयोजना गरिएको थियो । यही संरचनामा टेकेर नेपालले २००१ मा एसीसी यू–१९ कप आयोजना गर्‍यो । तर त्यसपछि सेन्ट जेभियर्स स्कुलको मैदान प्रयोगमा आएन । फलतः २००५ मा नेपालले एसीसी यू–१९ कप आयोजना गर्दा जेभियर्स स्कुलको विकल्पमा टुँडिखेललाई एउटा खेल मैदानका रूपमा तयार गरेको थियो । सेन्ट जेभियर्स जस्तै टुँडिखेल मैदान त्यसपछि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रयोगमा ल्याइएन । २००६ देखि २०१० सम्म भक्तपुरको सैनिक आवासीय महाविद्यालयमा एसीसीको विभिन्न उमेर समूहदेखि विश्व क्रिकेट लिग डिभिजन–५ सम्मका खेल आयोजना भए । अहिले यो मैदानबाट पनि नेपालले आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिता टाढिएको छ र स्थानीयस्तरको प्रतियोगितामा खुम्चिएको छ ।

यूएईका सइद अल साफरले सेन्ट जेभियर्समा १९९८ को एसीसी ट्रफीमा बनाएको अविजित दोहोरो शतक, सोही वर्ष र त्यही प्रतियोगितामा वेस्ट इन्डिजका महान् गोर्डन ग्रिनिजको प्रशिक्षणमा बंगलादेश मैदानमा उत्रँदा पुल्चोक इन्जिनियरिङ क्याम्पस मैदानमा दर्शकले गरेको आतिथ्यता, २००५ मा एसीसी यू–१९ कपमा नेपालबिनाको खेलमा पनि भरिभराउ दर्शक, टुँडिखेलमा उभिएर हेरेको क्षण, नेपालले २०१० मा डिभिजन–५ मा जर्सीमाथि सैनिक आवासीय महाविद्यालयमा नेपालले पाएको जित अब इतिहास बनिसक्यो ।

२०११ र २०१३ मा गरी नेपालले पुरुष राष्ट्रिय टोलीको एसीसी ट्वान्टी–२० कप पुल्चोक र कीर्तिपुर मैदानलाई प्रयोग गर्दै आयोजना गरेको थियो । एसीसीले २००७ यता महिलाहरूको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्दै आएको छ, तर मैदान अभावमा नेपालले अहिलेसम्म आधिकारिक महिला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकेको छैन । ‘एसीसी प्रिमियर कप जस्तो ठूलो प्रतियोगिता नेपालमा आयोजना भइरहेको छ, यो धेरै ठूलो विषय हो । एक समय नेपाल आयोजनाका हिसाबमा धेरै पछाडि परेको थियो, त्यो विषय किन हो म छलफल गर्न चाहँदिनँ,’ मूलपानी क्रिकेट मैदानमा आफ्नो पहिलो खेल खेलेपछि ओमानका क्रिकेटर अकिब इल्याजले आफ्नो भ्लगमा भनेका थिए ।

मूलपानीको तल्लो मैदान मूलपानी क्रिकेट रंगशाला, पोखरा क्रिकेट मैदान, भैरहवाको सिद्धार्थ रंगशाला, दाङको घोराही क्रिकेट रंगशाला, कोहलपुर क्रिकेट मैदान, धनगढीको फाप्ला मैदान बर्सेनि सरकारको बजेट भाषणमा पर्दै आएका छन् । तर वर्षमा आउने १ करोड हाराहारीको बजेटले यी कुनै पनि मैदान पूरा हुने लक्षण देखिँदैन । बजेट अभावमै धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा बनाउँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र परेको छ । लिग–२ र प्रिमियर कपको सफलतासँगै सरकारले कीर्तिपुरमा फ्लडलाइट लगाउनुका साथै मैदानको स्तरोन्नति गर्ने घोषणा गरे पनि व्यवहारमा त्यो कतै देखिँदैन ।

६ महिनाअघि आईसीसीले नेपाललाई बंगलादेशसँग मिलेर २०२७ मा आईसीसी यू–१९ विश्वकप महिला विश्वकप आयोजना गर्ने जिम्मेवारी तोकेको घोषणा गरेको थियो । आईसीसीले नेपालमा आयोजना गर्न लागेको यो पहिलो प्रमुख प्रतियोगिता हुनेछ । त्यसका लागि दुई मैदान चाहिने भनिएको छ । क्यानले कीर्तिपुरबाहेक चितवन, पोखरा र भैरहवालाई विकल्पमा अगाडि सारेको छ । निर्माणका हिसाबमा यी मैदानमा अहिलेसम्म कुनै पूर्वाधार थपिएको छैन ।

प्रिमियर कपमा नेपाल र ओमानबीचको समूह चरणको खेल बहुप्रतीक्षित जस्तै थियो । तर हावाहुरी र वर्षाले खेल प्रभावित हुन पुग्यो । हावाहुरीले मैदानभित्रको दुवै साइट स्क्रिन, डिजिटल स्क्रिन, दर्शकका लागि बनाइएको त्रिपालको टेन्ट, आधिकारिक ब्रोडकास्टका लागि बनाइएको क्यामेरा स्ट्यान्ड भताभुंग बनाइदिएको थियो । यसले पनि नेपाल कति कमजोर संरचनामा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिरहेको छ भन्ने देखाउँछ ।

हावाहुरी र वर्षामा दर्शकलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । नेपालले प्रिमियर कपमा खेलेको सेमिफाइनल र फाइनल खेल वर्षाले धेरै मात्र प्रभावित हुन पुग्यो । फाइनल खेल दुई दिनसम्म चल्यो । वर्षामा ओत लाग्न दर्शकले छाता ओढेर पूरै समय दर्शकदीर्घामा उभिएर ठूलो धैर्यता देखाए । रूखको टुप्पोमा बसेर कीर्तिपुरमा भएको खेल हेरेको दृश्य विश्वव्यापी त बन्ला, तर त्यसको जोखिम पनि उत्तिकै हुन्छ । यसले पनि नेपालको क्रिकेटमा पूर्वाधारको स्थिति झल्काउँछ ।

१९९९ मा नेपालले टेम्पो विश्व लिजेन्ड्स कप आयोजना गरेको थियो । भारत, पाकिस्तान र विश्व–११ का भेट्रान टोली कीर्तिपुर आएर खेलेका थिए । जी स्पोर्ट्सले कपिल देव, दिलीप बेङ्गसरकर, रोजर बिन्नी, क्रिस श्रीकान्त, अब्दुल कादिर, मुद्धसर नजर, डानी मोरिसन, मार्क ग्रेटब्याच, एन्ड्रयु हडसन, लरी गोमेजजस्ता विश्व क्रिकेट हस्तीलाई कीर्तिपुरमा ल्याएर खेलाएको थियो । भारतीय क्रिकेट बोर्डसँगको सम्बन्धमा काँडेतार लगाउनुअगाडि जी स्पोर्ट्सले अन्य ठूला इभेन्ट कीर्तिपुरमा ल्याउने प्रयास गरेको थियो । तर आईसीसीले कमजोर भौतिक पूर्वाधारमा नेपाललाई ‘असुहाउँदो खेल स्थल’ मा राखेको थियो । नेपाली क्रिकेटको भौतिक पूर्वाधारको स्थिति अहिले पनि त्योभन्दा धेरै माथि उठ्न सकेको छैन ।

हामीले चाहेर पनि प्रतियोगिता आयोजना गर्न सक्दैनौं : चतुरबहादुर चन्द‚ अध्यक्ष‚ नेपाल क्रिकेट संघ

२५ वर्षपछि नेपालले एसीसीको एकदिवसीय प्रतियोगिता आयोजना गरेर साख फर्काएको छ । नेपालका लागि यो अवसरका साथै एसीसीले दिएको जिम्मेवारी पनि थियो । यो चुनौतीलाई हामीले सफलतापूर्वक सम्पन्न गरेका छौं ।

प्रतियोगिता आयोजना गर्न हामीले चाहेर मात्र हुँदैन । एसीसी मात्र नभएर आईसीसीका पदाधिकारीसमेत नेपालमा क्रिकेटको लोकप्रियता देखेर सकारात्मक थिए । तर मैदान भित्र र बाहिरको विवादले क्यानको क्षमतामा प्रश्न गर्ने ठाउँ थियो । प्रतियोगिता नेपाललाई आयोजना गर्न दिँदा सफल नभइएला भन्ने डर एसीसीलाई थियो । प्रिमियर कपको आयोजनामा नेपाल असफल भएको भए एसीसी पनि असक्षम हुन्थ्यो ।

पछिल्लो समय हामीले प्रतियोगिता सफलताका साथ आयोजना गर्दै गयौं । आईसीसीले दिएको प्रतियोगितामात्र नभएर, क्यान आफैंले पनि प्रतियोगिता र द्विपक्षीय शृंखला आयोजना गर्दै गयो । आईसीसी र एसीसीले यो प्रतियोगिता नजिकबाट नियालेको थियो, हामी पनि त्यसमा सक्षम भयौं । क्यानले पनि अरू प्रतियोगिता आयोजना गर्न दिनुपर्छ भनेर लबिइङ गर्दै आएको थियो । आईसीसी पहिलेदेखि नै सकारात्मक थियो, एसीसी पनि नेपाली क्रिकेटलाई बचाउनुपर्छ भन्ने लाइनमा देखियो । त्रिकोणात्मक शृंखला र द्विपक्षीय शृंखला आयोजना गरेपछि त्योभन्दा ठूलो प्रतियोगिता आयोजना गर्न सकिन्छ भन्ने विश्वास हामीमा बढ्दै गयो । आईसीसी र एसीसीले पनि नेपालले आयोजना गर्न सक्छ भन्नेमा विश्वस्त देखिए ।

क्यानको आफ्नै खर्च र कागेश्वरी मनोहरा नगरपालिकाले पनि मूलपानीका लागि राम्रो सहयोग गर्‍यो । भौतिक र प्राविधिक हिसाबमा कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगका कारण हामी प्रिमियर कप आयोजना गर्न सफल भयौं । प्रिमियर कपका खेल मूलपानीमा आयोजना गर्नु एउटा चुनौती थियो, त्यसलाई नगरपालिकाको सहयोगले सहज भयो । राखेपको समर्थन छँदै थियो । कीर्तिपुर मैदानमा खासै समस्या थिएन । विश्वकप लिग–२ को यूएईसँगको अन्तिम खेलपछि भत्किएको तारबारको क्षति हामी आफैंले बनाइसकेका थियौं । पूर्वाधारको मुख्य रकम मूलपानीमा खर्च गर्‍यौं । त्यही आधारमा हामीले मूलपानीमा सुविधा पनि थपेका थियौं । मूलपानीलाई सुन्दर मैदानका रूपमा विकास गर्ने हाम्रो योजना छ ।

२०११ सम्म एसीसी, आईसीसीका प्रतियोगिता पनि भए । २०१४ मा विश्वकप खेलेर आएपछि जुन हिसाबको विवाद सिर्जना भयो, विश्वकप खेलेर आएपछि खेलाडीले एयरपोर्टबाटै क्यानको विरोध गर्न लागे । त्यसपछि क्रिकेट ठूलो विवादको विषय बन्दै गयो । क्यानमा पनि ध्रुवीकरण देखियो, सरकारले पनि हस्तक्षेप गर्‍यो । त्यसकै जगमा नेपाल आईसीसीबाट निलम्बनमा पर्‍यो । खेलाडीको विवाद मिलाउन क्यानकै पदाधिकारी पन्छिन थालेपछि म आफैं त्यसको संयोजक भएर विवाद मिलाउन लागिपरें ।

क्यानको चारवर्षे निलम्बन र कोभिडका कारण पनि नेपालमा एसीसीका प्रतियोगिता आउन केही ढिलाइ भएको हो । त्योभन्दा अगाडि हामी मैदान नभएका कारण तयार हुन सकेका थिएनौं । २५ वर्ष अगाडिको सुविधा वा १५ वर्ष अगाडिको सुविधाभन्दा अहिलेको क्रिकेट स्तर धेरै अगाडि छ । ड्रेसिङ रुम, ब्रोडकास्टदेखिका सबै सुविधा अहिले बढेको छ । त्यो स्तर कायम गर्न हामीलाई चुनौती थियो, त्यसमा हामी धेरथोर भए पनि सक्षम भएका छौं ।

पूर्वाधार बनाउने क्षमता न क्यानको छ, न हामीसँग त्यस्तो संयन्त्र छ । न आईसीसीले पनि पूर्वाधार बनाउन त्यस्तो विशेष सहयोग दिने गरेको छ । आईसीसीबाट आउने क्यानको बजेट भएका मैदानलाई क्रियाशील बनाउन, क्रिकेट प्रतियोगिता आयोजना गर्न, प्रशिक्षण गर्न, टिमलाई एक्सपोजर दिन र कर्मचारीलाई तलब दिँदा नै सकिन्छ । त्यही भएर पूर्वाधार सरकारले नै बनाइदिनुपर्ने हो । हामीले नेपालमा तीन तहको सरकारलाई यसका लागि भनेर विभिन्न प्रस्ताव राखेका छौं ।

परिकल्पनाचाहिँ हाम्रो ठूलो राष्ट्र बोलाएर खेल्ने भन्ने छ, तर त्यो अनुरूपको मैदान, सुरक्षा, दर्शकलाई सुविधा दिन सक्दैनौं भने त्यो सम्भावना नै रहँदैन । कीर्तिपुरमा दर्शकदीर्घा व्यवस्थित र

फ्लडलाइटको सुविधा हुने हो भने हामी एकस्तर अगाडि बढ्न सक्छौं । भारत, पाकिस्तान नभए पनि आयरल्यान्ड, श्रीलंकादेखि बंगलादेशसम्मका टोली आएर खेलिदिए भने वातावरण बन्दै जान्छ । नेपालको क्रिकेट देखेर सबै सकारात्मक छन् । त्यसैले यसपटक सरकारले बनाउने बजेटप्रति हामी धेरै आशावादी छौं । ७–८ वटा रंगशालामा खुद्रा बजेट दिनुभन्दा एउटामै राम्रोसँग बजेट दिएर निर्माणकार्य सकाउनुपर्छ भन्नेमा हामी छौं ।

सरकारले मूलपानी क्रिकेट रंगशाला पनि दुई वर्षभित्र सम्पन्न गरेर हस्तान्तरण गर्छौं भन्ने जवाफ दिएको छ । अहिले नै हामीलाई दिएमा स्तरीय पिच बनाउँदै जान्छौं । एसीसीको तयारीका लागि हामीले तल्लो मूलपानी मैदानलाई पनि प्रयोग गर्‍यौं । माथिल्लो मैदान अरू हिसाबले ठीक भए पनि नेपालको खेल भएका बेला दर्शकलाई व्यवस्थित गर्ने ठाउँ छैन । माथिल्लो मैदानको उत्तर पूर्वतिर मात्र प्यारापिट बनाउन सकिने अवस्था छ ।

प्रकाशित : वैशाख २५, २०८० ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?