‘सेल्फ डिफेन्स’ मा किशोरी

सिन्धुपाल्चोकका दुई क्याम्पस, एक बहुप्राविधिक शिक्षालय र नौ विद्यालयका ४० किशोरीले आफूहरूमाथि हुन सक्ने शारीरिक, मानसिक तथा यौनजन्य हिंसाको प्रतिकार गर्न ‘आत्मरक्षा तालिम’ लिएका छन् 

वैशाख २१, २०८०

अनिश तिवारी

सिन्धुपाल्चोक — बलात्कार र हत्याका घटना सुन्दा निराश भएकी चौतारा साँगाचोकगढी–६ पीपलडाँडा गाउँकी १८ वर्षकी स्वस्तिका सापकोटा बारम्बार घोत्लिरहन्थिन् । आफैंमाथि यस्तो घटनाका प्रयास भएछ भने कसरी बच्ने होला ? आफ्नो सुरक्षा आफैं कसरी गर्न सकिन्छ ? यी कुरा सोचिरहँदा उनी आफैंलाई भित्रैबाट भयंकर डर पनि लाग्थ्यो ।

संयोगवश उनको मनैको कुरा पूरा भयो । उनी वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश युवापरिषद्को आर्थिक सहयोगमा जिल्ला युवा समितिले चौतारामा आयोजना गरेको ‘दुईदिने महिला आत्मरक्षा तालिम’ मा सहभागी भइन् । 

केही समयअघि स्थानीय विद्यालयबाट एसईई दिएर फुर्सदिलो समयलाई सदुपयोग गरेकी उनी आत्मरक्षाको अभ्यासपछि आफ्नो सुरक्षाप्रति सचेत देखिन्छिन् । ‘किक, बक्सिङ र ब्लक प्रहार रोक्ने विधिबारे पूर्ण जानकारी लिएँ, आत्मविश्वास झनै थपिएको छ, आफ्नो सुरक्षाबारे एकदमै ढुक्क बनेकी छु, आक्रमण कसरी रोक्ने भन्नेबारेमा प्रस्ट जानिसकेकी छु,’ आक्रमण रोक्ने दुई ‘स्टेप’ देखाउँदै उनले भनिन् । गाउँ बजार होस् वा बाटो, सार्वजनिकस्थल चौतारा साँगाचोकगढी नगर–१२ स्थित जुगल बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययन गरिरहेकी २१ वर्षकी सुमिता श्रेष्ठलाई आफूमाथि केही हुन सक्ने त्रासले च्याप्थ्यो । 

यसअघि कहिलेकाहीं लाग्थ्यो हामीले यसरी डराएर बाँच्नु नै नियति हो । हाम्रो संसार भन्नु नै यही हो । जब उनले प्रशिक्षकबाट समय दिएर आफ्नो आवश्यकता सोचेर आत्मरक्षा सिकिन् । श्रेष्ठले आफूलाई पहिलेको तुलनामा खुबै हिम्मतिलो र आफ्नो संसार फराकिलो भएको अनुभव गरेकी छन् । अहिले घरमा पनि अभ्यास जारी राखेकी उनले आक्रमण रोक्दै उल्टै प्रहार गर्ने बारेमा जानिसकेपछि दिनरात कसरत र अभ्यास झनै बढाउन थालेकी हुन् । ‘कसैले नराम्रो नियतले आक्रमण गरे कसरी नियन्त्रण गर्ने र प्रतिकार गर्ने भन्नेबारे जानिसकेको छु, त्यो अभ्यासलाई घरमा अभ्यास गरिरहेकै छु, यसले धेरै सहज गराएको छ,’ उनले भनिन् । 

सापकोटा र श्रेष्ठझैं चकित परेकी चौतारा साँगाचोकगढी–८ की २० वर्षकी ससिला तामाङको अनुभव पनि उस्तै उस्तै छ । आक्रमण रोक्दै रक्षा गर्ने कसरत जानेपछि आफूलाई धेरै बलियो महसुस गरेको तामाङको कथन छ । गाउँबजार हिँड्दा कसैले केही भन्दा उनलाई तत्काल प्रतिकारमा जवाफ फर्काउन मन लाग्थ्यो । ‘कसैले नियतवश हिंसा गर्न खोजेको थोरै महसुस भए पनि उनी आफैंभित्र गहिरोमा दबिएर बस्थिन् र प्रतिकार गर्ने त हिम्मत नै आउँदैनथ्यो,’ तामाङ भन्छिन्, ‘योभन्दा अघि हामी फुकेर नहिँडेकोजस्तो लाग्थ्यो, अब भने धेरै कुरा बुझे र आत्मरक्षाको तरिका पनि जानेर अभ्यासमा ल्याए, अनि कसरी नदेखिने गरी हिंसा हुन्छ भन्ने कुरा पनि जाने, अब सबै कुरालाई गहिरिएर बुझ्ने भएको छु ।’ 

जिल्ला युवा समिति सिन्धुपाल्चोकका प्रदेश युवा स्वयंसेवक रूपक दुलालका अनुसार दुई दिनको ‘सेल्फ डिफेन्स’ तालिममा सहभागी २ क्याम्पस, १ बहुप्राविधिक शिक्षालय र ९ विद्यालयका ४० किशोरीहरूको हौसिँदो अनुभव छ । वैशाख १७ र १८ गते सञ्चालित ‘दुईदिने महिला आत्मरक्षा तालिम’को उदघाट्नमा पुगेकी चौतारा साँगाचोकगढी नगरकी उपमेयर सीता थापा किशोरीको उत्साह र खेल देखेर दंग परेकी थिइन् । 

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद्को आर्थिक सहयोगमा जिल्ला युवा समितिले आयोजना गरेको तालिमलाई चौतारा साँगाचोगढी नगरले हल उपलब्ध गराएको स्वयंसेवक रूपकले बताए । ‘उहाँहरू एकदमै उत्साहित देखिनुभएको छ, धेरैले घरमा गएर अभ्यासलाई निरन्तरता दिनुभएको देखिन्छ, बढ्दो बलात्कार र यौन दुर्व्यवहारको घटनाबाट बच्नका लागि विभिन्न शारीरिक अभ्यास सिकाइएको छ,’ दुलालले भने । दुई महिला प्रशिक्षकद्वय महिला आत्मरक्षा प्रशिक्षक पार्वती पौडेल र प्रदेश युवा परिषद्की प्रशिक्षक सीतामाया बुलुनबाट २०/२० जनाको दुई समूहमा विभाजन गरेर शारीरिक, मानसिक, भावनात्मक, यौनजन्यलगायत हिंसाको सशक्त रूपमा प्रतिकारका लागि किशोरीलाई चौतारा बजारमा तालिम दिइएको थियो ।

सुरुवाती चरणमा आक्रमणबाट कसरी बच्ने, संवेदनशील अंगको बचावट गर्नेदेखि अन्तिममा सुरक्षाका लागि उल्टै प्रहार गर्नेलगायत गतिविधि बारे प्रशिक्षण दिइएको छ । आफूमाथि हुने अप्रत्यक्ष र प्रत्यक्ष यौन हिंसा दुर्व्यवहारबारे सचेतना परामर्श लिएपछि किशोरीलाई आत्मरक्षाका लागि तयार गरिएको छ । ‘जुनसुकै समयमा पनि किशोरीमाथि सम्भावित विविध प्रकारको हिंसाको विरुद्धमा प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यका साथ तालिम दिइएको छ, यसले केही प्रभाव पार्नेमा हामी केही हदसम्म ढुक्क छौं,’ प्रशिक्षक सीतामाया बुलुनले भनिन् । 

तालिममा सकारात्मक सोच, नेतृत्व विकास, आत्मरक्षा तथा प्रतिकार गर्ने तौरतरिका, महिला तथा बालबालिकाको हकअधिकार, घरेलु, सामाजिक र यौनजन्य हिंसा तथा न्यूनीकरणका उपायलगायत विभिन्न विषयबारे सचेतना दिइएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रामकुमार यादवका अनुसार आर्थिक वर्ष ०७९/८० मा मात्रै बलात्कार र यौनहिंसाका घटना नौ वटा छन् । अघिल्ला आर्थिक वर्षका घटनाक्रम नियाल्दा यस्ता जटिल घटना किशोरीमाथि अलि बढी भएको देखिएको उनले बताए । ‘यस्ता घटना हुन नदिन गरिएको यो तालिम राम्रो हो, थप सचेतनाका लागि पनि प्रहरीले आफ्नोतर्फबाट कदम चालिरहेकै छ,’ डीएसपी यादवले भने ।

युवा ग्यालरी

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully