एसईईपछि पढाइ छाडेर भारततिर

कामको खोजीमा निस्केका किशोर छोराहरुको बिदाइमा आमाहरु बसपार्कमा रूँदै । अछाममा ५५ प्रतिशत विद्यार्थी मात्रै मावि तहसम्म ।

वैशाख ११, २०८०

मेनुका ढुंगाना

अछाम — शनिबार बिहान अछामको रामारोशन गाउँपालिका–३ पसेलाकी जौमती विक छोरालाई निधारभरि अक्षता लगाइदिएर जयगढ बसपार्कसम्म पुर्‍याउन आइन् । गत चैतमा एसईई दिएका उनका १६ वर्षीय छोरा नृप गाउँका २७ जना दौंतरीसँगै कामको खोजीमा भारत हिँडेका हुन् ।

पहिलो पटक भारतको मुम्बई हिँडेका नृपलाई बसपार्कमा छाड्दा जौमती बसपार्कमै डाँको छाडेर रोइरहिन् । बालकै उमेरका नृप पनि आमालाई सम्झाउन नसकी छातीमा टाँसिँदै रोएको दृश्यले अन्य यात्रुका आँखा पनि रसाएका थिए । 

नृप जौमतीका जेठा छोरा हुन् । उनका तीन भाइबहिनी छन् । नृपले भारत गएर अब आमासहित तीन भाइबहिनीका लागि खर्च जुटाउनुपर्नेछ । कमाउन भनेरै तीन वर्षअघि मुम्बई हिँडेका नृपका बाबु घर छाडेयता परिवारको सम्पर्कमा छैनन् । ‘यसैगरी कमाउन जान्छु भनेर ३ वर्षअघि नृपका बाबु बम्बै जाने बेला यही बसपार्कमा पुर्‍याउन आएकी थिएँ तर अहिलेसम्म कहाँ छन्, के गर्दै छन्, खबर छैन,’ जौमती भक्कानिइन्, ‘छोरालाई बिदाइ गर्न आएकी छु, के–कसो हुने हो चिन्ता लागिरहन्छ ।’ 

यति बेला सुदूरपश्चिमका सबैजसो बसपार्क र भारतीय नाकामा १५–१६ वर्ष उमेरका किशोरहरू सयौंको संख्यामा देखिन्छन् । रातो टीका लगाएका, झोला भिरेका किशोरहरू एसईई सकेर कामको खोजीमा भारत जान थालेका हुन् । आर्थिक अवस्था कमजोर भएका कारण कामको खोजीमा निस्कनुपरेको उनीहरू बताउँछन् । १५/१६ वर्षको एसईई दिएका छोरालाई भारत पठाउन बसपार्कसम्म आउने अधिकांश आमाहरू भक्कानिएर रुँदै आफ्ना सन्तानलाई बिदाइ गरेका भेटिन्छन् । 

चैते दसैंपछि वैशाख १ गते नयाँ वर्षको दिन मनाइने बिसु चाड सकेर अहिले यहाँका धेरैजसो युवाको भारत फर्किने समय हो । यति बेला अछामलगायत सुदूरपश्चिम पहाडमा चल्ने यात्रुवाहक साधन भरीभराउ हुन्छन् । यहाँबाट श्रीमान् र छोराहरू कामको खोजीमा जान्छन्, आमा र श्रीमतीहरू बसपार्कबाट आफन्तलाई बिदाइ गरेर मन अमिलो पार्दै घर फर्कन्छन् । यसपालि एसईई दिएका तुर्माखाँद गाउँपालिका–३ का रवि बुढाको आर्थिक अवस्था पनि नृपको जस्तै छ । एसईईपछि पढ्न परिवारको अवस्थाले नधान्ने भएपछि १६ वर्षमै उनले पनि मुम्बईलाई गन्तव्य ताकेका छन् । आफूले माथिल्लो कक्षा पढ्न नपाए पनि भाइबहिनीका लागि खर्च जुटाउन भारततिर गएर काम नगरी नहुने उनले बताए । ‘बुबाको उहिल्यै मृत्यु भयो । मैले नै ४ भाइबहिनी हेर्नुपर्नेछ । एसईईसम्म त जसोतसो पढें,’ उनले भने, ‘गाउँका मान्छेले अब तिमी कमाउने भइसक्यौ, भारत जाऊ भनेपछि बम्बै हिँडेको हुँ ।’ 

आफ्नो पढाइ एसईईमै रोकिए पनि भाइबहिनीलाई उच्च शिक्षा पढाउने धोको रविको पनि छ । ‘बम्बैमा भएका आफन्तले होटलमा काम खोजिदिएका छन् । उता गएर यस्तै काम गर्ने हो,’ उनले भने, ‘मैले कमाउन नसके भाइबहिनीको पनि पढाइ मेरोजस्तै हुन्या हो ।’ एसईई दिएर भारत जाने क्रममा बसपार्कमा भेटिएका नृप र रवि प्रतिनिधि पात्र मात्रै हुन् । धेरै परिवारका पुरुष श्रम गर्न भारत पस्ने गरेका छन् । चाडबाडमा आएका कतिपयले फर्कंदा छोराहरूलाई साथै लैजान्छन् ।  कतिपयका बाबु नफर्केपछि खोजीका लागि सन्तान भारत पस्छन् । धेरै परिवारका एसईईसम्मको पढाइ उच्च शिक्षामा पुगेसरह छ । भारत पस्ने किशोरहरुको पढाइ त्यसभन्दा अघि बढ्दैन । अछाममा २०६२ वैशाखमा कक्षा १ मा जम्मा ३० हजार ८ सय ७३ विद्यार्थी भर्ना भए । त्यो वर्ष कक्षा १ भर्ना भएका विद्यार्थीले १० वर्षपछि अर्थात् २०७१ मा एसएलसी दिँदा चार हजार विद्यार्थी मात्र थिए ।

यहाँ हरेक वर्ष पढ्न छाडेर भारततिर जाने क्रम बढेको छ । शिक्षा विकास तथा समन्वय इकाइ अछामको तथ्यांकअनुसार कक्षा दोहोर्‍याउने विद्यार्थीको संख्या २२.१३ प्रतिशत छ भने कक्षा छोड्ने दर १९.७ प्रतिशत छ । उत्तीर्ण भएर माथिल्लो कक्षामा जाने विद्यार्थीको संख्या ५८.२९ प्रतिशत मात्र छ । आधारभूत तहमा रहेका विद्यार्थीमध्ये ३६.५३ प्रतिशत मात्र निमावि तहमा पुग्ने गर्छन् । मावि तहसम्म पुग्ने विद्यार्थीको संख्या भने ५५ प्रतिशत मात्र हुने गरेको पाइएको छ ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully