कप्तान राजवंशी, मोहम्मद बाजारु, धुमालाल राजवंशी र फाकातु राजवंशीले कतिको तिर्खा मेटे, त्यसको हिसाब छैन तर उनीहरूको अनुभवले विस्मृतिमा पुग्न लागेको काँकडभिट्टाको त्यो समयको कथा बताउँछ ।
काँकडभिट्टा — देशको पूर्वी सीमाञ्चल काँकडभिट्टा अहिले पो भव्य सहर भयो । पहिला कहाँ हुनु यस्तो । जंगलामुलुक थियो । औलोको प्रकोप उस्तै । दिउँसै कराउँथे स्याल । कहिलेकाहीं गर्जिन्थे बाघ पनि । २०२० सालको दशकमा राजा महेन्द्रले बर्मेली नेपालीभाषीलाई बोलाए । हूल बाँधिएर आएका बर्मेली जंगल फडानी गरेर बस्न थाले सिमानामा, पर्खालजसरी । बस्ती बाक्लिँदै गयो । जंगल मासिँदै गए । स्यालहरू हराउँदै गए । बाघको गर्जन सुनिन छाड्यो ।
बर्माबाट मात्रै होइन, भारतको दार्जिलिङ, सिक्किम, मणिपुर, मिजोरम, नागाल्यान्ड, अरुणाञ्चलबाट ‘सुरक्षित’ आश्रयको खोजीमा आएका नेपालीभाषीका कारण यो जंगल सहरोन्मुख बन्दै गयो । मूलतः तीसको दशकपछि पूर्वी पहाडबाट ‘पहाडे’ समुदायको ताँती सुरु भयो । मेघालयको कोइला खानी हिँडेका हुन् या भुटानतिर बाटो खन्न लम्केका, सबै यतै अल्झिए । यो ‘ट्रान्जिट’ बजारमा क्रमशः होटल, लज खुल्न थाले । गाडी, घोडा गुड्न थाले ।
२०५० को दशकअघि अहिले जस्तो पानीको छेलोखेलो कहाँ हुनु । काकाकुल जिन्दगी थियो । खोला, पोखरी र जरुवा पानीको भर थियो । पानी पाउनै मुस्किल । पछि इनार खनियो । सहरले तिनै सीमित इनारको पानी पिउँथ्यो । कप्तान राजवंशी, मोहम्मद बाजारु, धुमालाल राजवंशी र फाकातु राजवंशीहरू यो सहरमा टुप्लुक्क आइपुगे र सिंगो सहरका मान्छेको तिर्खा मेटाए ।
झापा, सदरमुकाम चन्द्रगढीको देउनिया (महाजन) परिवारमा जन्मिए पनि कप्तान राजवंशीलाई परिस्थितिले ‘दुखिया’ बनायो । परिवारको गर्जो टार्न कप्तानबाट ‘पानीवाला’ बने । ‘चन्द्रगढीले जन्मायो । काँकडभिट्टा मेरो कर्म थलो हो,’ फरासिलो स्वभावका ८६ वर्षीय कप्तानले मुस्काउँदै सुनाए, ‘इँटाभट्टाचाहिँ मेरो टाउको लुकाउने थलो ।’
यी चारै जना ‘पानीवाला’ को जवानी सहरको तिर्खा मेटाउँदा–मेटाउँदै बित्यो । अर्थात् पानी जस्तै बग्यो उनीहरूको जवानी । २०३४ देखि पानी बोक्न थाले कप्तानले । बाँसको भाटामा बाँधेर झुन्ड्याइने टिनका दुई भाडालाई तराईमा भार भनिन्छ । सुरुमा आठ आना भार पानी बोकेको अनुभव उनीसँग छ । ‘मैले पानी बोक्न थाल्दा एक्लै थिएँ,’ उमेरले पाका उनी जोसिए, ‘पछि बिस्तारै पानीवालाहरू थपिँदै गए ।’ उनका अनुसार आठ आनाबाट रुपैयाँ, दुई रुपैयाँ, ५ रुपैयाँ हुँदै ३० रुपैयाँसम्म पुग्यो एक भार पानीको भाउ ।
५० को दशकपछि जब स्थानीयका घरमा पानी बग्न थाल्यो तब कप्तानको ‘पेसा’ संकटमा पर्यो । यद्यपि उनले ६० को दशकको अन्त्यतिर मात्रै यो पेसा चटक्कै छाडे । ‘घरैपिच्छे पानी बग्न थालेपछि सहरले हाम्रो खोजी गर्न छाड्यो,’ घर नजिकैको पसलमा चियाको सुर्को तानेपछि उनले थपे, ‘जति बेला पानीको अभाव थियो, सहरलाई हामी चाहियो । अब त किन चाहियो र !’
काँकडभिट्टाका होटलमा पानी पुर्याउँदै फाकातु राजवंशी ।तस्बिर सौजन्य : कृष्ण सिंजाली
उनले प्रायःजसो पर्यटन कार्यालय र राष्ट्र बैंकभित्रको गहिरो इनारबाट पानी झिक्थे । भारमा भर्थे अनि सकिनसकी बोकेर बजारका होटल, पसल र घरमा सेवा दिन्थे । करिब ४० वर्ष पानी बोकेका कप्तानको पानीको भार थेग्दाथेग्दै ज्यानै कुप्रिएको छ । ‘कुनै बेला मैले एउटा होटलमा एकै दिन १ सय १० भारसम्म पानी ओसारेको थिएँ,’ ती दिन सम्झिँदा उनी जिब्रो टोक्छन्, ‘पानी बोक्दा बोक्दा पिठ्यूँ नै कुप्रियो । कम दुःख गरें मैले काँकडभिट्टावासीलाई पानी ख्वाउन ।’
उनी काँकडभिट्टा नउक्लिएको पनि धेरै भइसक्यो । भारतमा रहेकी छोरीको घर जाँदा कहिलेकाहीं निस्कन्छन् । बजार घुम्दै पुराना दिन सम्झिएर रोमाञ्चित हुन्छन् । पुराना चिनारुले मायाले बोलाउँछन् । दूध हालेको मिठो चिया पिलाएर खातिरदारी गर्छन् । ‘पानी बोकेर दुई छाक खानचाहिँ कहिल्यै अभाव भएन,’ उनले थपे, ‘पहिला धेरै दुःख गरिएछ । अहिले छोराछोरीको कमाइ खाएर बसेको छु ।’
***
२०३० सालतिर काँकडभिट्टा उक्लिएका थिए, तत्कालीन ज्यामिरगढी गाविसका मोहम्मद बाजारु । खेती किसानीबाहेक रोजगारीको कुनै माध्यम थिएन, न पढेलेखेकै थिए । खासमा रोजगारी खोज्दै देहातबाट सीमाञ्चल आइपुगेका हुन् उनी । ‘पढालिखा भए पो राम्रो काम पाइन्थ्यो,’ पाको ज्यान सम्हाल्दै ७६ वर्षीय बाजारुले सुनाए, ‘अनि पानी बोक्न थालें ।’
सुरुवातमा उनले मेची खोलाको पानी ओसारेर होटल, लजमा पुर्याए । पछि खोलाको पानी बोक्न गाह्रो भएपछि इनारको पानी बोक्न थाले, आठ आना भार । करिब ४० वर्ष सहरलाई पानी ख्वाएका उनको खुट्टा अहिले मज्जाले टेकिँदैन । कान पनि सुन्न छाडे । ‘पानी भारको असर खुट्टामा बढी परेछ,’ उनले सुनाए, ‘खुट्टा टेकिन छाडेको पनि धेरै भइसक्यो । तर पनि सकिनसकी हिँड्छु ।’
परिवारबाट हेपिएका उनी स्थानीय गोपाल कार्कीकहाँ आश्रय लिएर बसेका छन् । बजारमा मागेर र भत्ताको पैसाले गुजारा गर्छन् । ‘पुराना मान्छेले माया गरेर पैसा दिन्छन्,’ उनी हल्का मुस्काए, ‘कतिले बूढो मान्छे अझै ज्युँदै छौं भनेर जिस्क्याउँछन् ।’
***
धुमालाल राजवंशी शनिश्चरेबाट काँकडभिट्टा पुग्दा पानीवालाहरू प्रशस्तै थिए । इनार पनि थुप्रो खनिएका थिए । एक दर्जनजति इनारमा इँटाभट्टा, धुलाबारी, भारतको बतासी, अधिकारी, नक्सलबारीका पानीवाला पानी बोक्न आउँथे । यही भीडमा धुमालाल मिसिए । पानीवाला बन्नुअघि उनले हलीगोठाला गरे । होटेलमा भाडा माझे । अर्काको घरमा बनिबुतो गरेर पेट पाले । हली बसेपछि उनीहरूको अधीनमा चल्नुपर्ने भयो, उनलाई त्यो सह्य भएन । अनि विकल्प खोजे । एक दिन काँकडभिट्टा बजार घुम्दै पुगेका उनले पानी ओसार्दै गरेको दृश्य देखे । यो पेसाप्रति उनको मोह जाग्यो ।
‘मलाई पनि पानी बोक्न सिकाइदेऊ न बोक्छु’ भने । कसैले भन्यो, ‘गाह्रो काम छ, तैंले सक्दैनस् ।’ तर, उनले हरेस खाएनन् । आफैं भार बनाएर बोक्न थाले । केही साता त दुवै काँधमा ठूलठूला ठेला उठ्यो । काध सुन्नियो । मरितरी बोक्दाबोक्दै ठेला मर्दै गए । सुन्निएको पनि बस्दै गयो । मासु मरेपछि बल्ल बानी पर्यो । ‘परिश्रम गरेर साहुलाई बुझाउनुपरेन,’ ७० वर्षीय उनले पेट देखाउँदै भने, ‘सबै साहुलाई मनाउन सकिन्छ तर यसलाई मनाउन बहुत गाह्रो छ ।’
शनिश्चरेमा जन्मिएका उनले बुबाआमाको अनुहार देख्न पाएनन् । फुपूले हुर्काइन् । बढाइन् । अनि काम खोज्दै अरू पानीवालाझैं उनी पनि यो सीमान्त सहरमा आइपुगे । एक समय त उनलाई पानी बोक्न भ्याइनभ्याई भयो । खाना, खाजा खान पनि भ्याएनन् । ३० वर्षजति सहरका मान्छेलाई पानी बोकेर बाँडे । धर्म भयो कि अधर्म उनलाई थाहा छैन । ‘पानी बोक्दाबोक्दै जवानी पनि पानीले बगाइलग्यो,’ धुमालालले दुःख बिसाए, ‘धारा आएपछि पनि ५/७ वर्ष पानी बोकें ।’ यतिबेला पुरानो काँकडभिट्टा झलझली सम्झिएर रोमाञ्चित हुन्छन् उनी । ‘त्यो झुप्राझुप्रीको बजारमा आज अग्ला महल देख्दा सपना जस्तो लाग्छ,’ थप्छन्, ‘यो सहर यस्तो होला भन्ने त लागेकै थिएन ।’
डेरा बस्दाबस्दा हैरान भएपछि उनले थुकतेल गरेर जोगाड गरेको पैसाले ६ धुर घडेरी जोडे । त्यही जमिनमा अहिले उनी छोराबुहारीसँग बस्छन् । ‘पानीको कमाइ यही हो,’ घर देखाउँदै उनले भने ।
***
एक दशकअघिसम्म फाकातु राजवंशी झिसमिसेमै घरबाट निस्किन्थे । करिब तीन किलोमिटर हिँडेर काँकडभिट्टा पुग्थे । दिनभर इनार र होटल चाहर्थे । साँझ मात्रै फर्किन्थे । करिब चार दशक काँकडभिट्टालाई पानी ख्वाएका फाकातुले अहिले साधुको भेष धारण गरेका छन् । ‘पहिला पानी बोकेर धर्म गरियो, अब साधु भएर जिन्दगी बिताइदिने हो,’ ७१ वर्षीय फाकातुले भने । यही कामबाट उनले परिवारको जीवन धानेका थिए । इनारहरू मासिँदै गएपछि पेसा संकटमा पर्यो । ‘ढुंगा पचाउने उमेर पानी बोक्दाबोक्दै बित्यो,’ उनी भन्छन्, ‘अहिले बुढेसकालमा काल पर्खेर बसेको छु ।’
१० वर्षअघि इनारबाट पानी झिक्दै फाकातु राजवंशी । तस्बिर सौजन्य : कृष्ण सिंजाली
फाकातु कप्तान राजवंशीका छिमेकी हुन् भने धुमालालका मीत । पानी बोक्ने क्रममा धुमालालसँग मन मिल्यो मीत लाए । फाकातुले पनि मीतज्यू धुमालालले झैं पानी बोकेरै १० धुर घडेरी जोडे । अनि सानो छाप्रो हाले । ‘ऊबेला काँकडभिट्टा काकाकुल अवस्थामा थियो,’ विगत सम्झँदै उनी भन्छन्, ‘एक भार पानी बोकेको आठाना मिल्थ्यो ।’
आरम्भमा दैनिक १ सय कमाउँदा उनी खुसीले उफ्रिन्थे । पछि त दिनकै ६/७ सय कमाइ हुन थाल्यो । जम्मा गरेको त्यही कमाइ घडेरी किन्न खर्चिए । ‘२०५० बाट काँकडभिट्टा खानेपानी उपभोक्ता आयोजनाले घरघरै पानी बाँड्न थालेपछि हाम्रो पेसा खोसियो,’ फाकातु बिट मार्छन्, ‘धेरै दुःख गरिएछ क्यारे यो ज्यान थिलथिलो भएको छ ।’
***
पानीवालाहरूको पानीले तिर्खा मेटिरहेको काँकडभिट्टामा बेलायत सरकारको करिब डेढ करोडको लगानीमा २०४२ मै खानेपानी आयोजना सुरु गरेको थियो । बीचमा केही वर्ष अवरोधपछि २०४८ बाट आयोजना पुनः सुरु भयो । ‘६० सालपछि मात्रै घरघरमा धारा वितरण सुरु भयो,’ खानेपानी आयोजनाका कार्यालय प्रमुख दीपक पोखरेलले भने, ‘अहिले ७ हजारभन्दा बढी धारा वितरण गरिएको छ । ५० हजारभन्दा बढी उपभोक्ताले पानी खाइरहेका छन् ।’
उनका अनुसार पर्यावरणमाथिको बढ्दो आक्रमणका कारण पुनः पानीको अभाव सुरु हुन थालेको छ । उत्तरी देहात बाहुनडाँगी लगायतका क्षेत्रका अधिकांश कल, इनार, खोला, पोखरी सुक्न थालेका छन् । ‘अब १० वर्षभन्दा उता पानी वितरण गर्न सकिएला भन्ने लागेको छैन,’ पोखरेलको चिन्ता छ, ‘जमिनमुनिको पानीले अब धेरै समय थेग्ला भन्ने लागेको छैन ।’
काँकडभिट्टाका होटलमा पानी पुर्याएर फर्किंदै फाकातु राजवंशी ।तस्बिर सौजन्य : कृष्ण सिंजाली
पुराना बासिन्दा बुद्धिनाथ पौड्याल २०२० सालताका काँकडभिट्टामा बस्ती बस्न सुरु भएको बताउँछन् । आफूहरूले त्यतिबेला नदीबाट पानी बोकेर खाने गरेको विगत सम्झिँदै उनले सुनाए, ‘निकैपछि मात्रै होचो भूभाग खोजेर इनार खन्न सुरु भयो । तर निकै गहिरो गरेर खनिएका इनारबाट पनि पर्याप्त पानी आउँदैनथ्यो ।’
काँकडभिट्टा खानेपानी आयोजनाका पूर्वअध्यक्षसमेत रहेका पौड्यालले जनसंख्या बढ्दै जाँदा र पानीको स्रोत सुक्दै जाँदा काँकडभिट्टाको काकाकुल फेरि बल्झिन सक्ने सुनाए । आयोजनाले बाँड्ने दैनिक ६० लाख लिटर पानीले अहिले काँकडभिट्टाले तिर्खा मेटिरहेको छ । ‘खोला, नहर, पोखरी सबै सुक्न थाले । अब चाँडै पानीको अभाव देखिने हो कि,’ उनले चिन्ता गरे ।
