पुतलीका रङ थरीथरी

झुसुलकिरासँग तर्सिनेहरू पुतली मन पराउँछन्, तर, रंगीविरंगी भएर उड्ने हुन्जेल यसले पार गर्ने जीवनका चार चरण सहज छैन

वैशाख ३, २०८०

गोविन्द पोखरेल

पोखरा — पुतली देख्नुभएको छ ? कति थरीका ? सम्झिन थाल्नुभयो होला । मुलुकमा कति थरीका पुतली पाइएलान् भन्ने जिज्ञासा भए दुई ठाउँमा जान सकिन्छ । पोखराको पृथ्वीनारायण क्याम्पस परिसरको अन्नपूर्ण संग्रहालय र काठमाडौं स्वयम्भूको प्राकृतिक विज्ञान संग्रहालय ।

पृथ्वीनारायण क्याम्पस परिसरको संग्रहालयमा पुतली संग्रह धेरै छ । नेपालमा पाइने अधिकांश पुतली, तिनको वैज्ञानिक जानकारी यहाँ पाइन्छ । स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालयमा भन्दा धेरै प्रजातिका पुतलीहरू यहाँ संकलन गरेर राखिएको छ । दुवै ठाउँमा पुतली बाजे भनेर चिनिएका विज्ञ कोलिन स्मिथले गरेका संकलन धेरै छन् ।

आखिर पुतली के हो ? के गर्छ यसले ? जीव विज्ञानमा रुचि राख्नेहरूका लागि मात्रै नभई बालबालिकालाई यो धेरै चासोको विषय छ । किरा वर्गभित्र पर्ने पुतलीहरूलाई ‘लेपिडप्टेरा’ भनिन्छ । लेपिड भनेको ‘स्केल’ (कत्ला) र ‘टेरा’ भनेको पखेटा हो । ‘पखेटामा कत्ला जस्तो देखिने भएकाले लेपिडप्टेरा भनिएको हो,’ पुतली संग्रहालयमा कार्यरत सुरेन्द्र परियार बुझाउँछन्, ‘यो समूहमा पुतली र पुत्ली (मोथ) दुवै पर्छन् । लेपिडप्टेरालाई हेटोरोसेरा (पुत्ली) र रोपालोसेरा (पुतली) वर्गमा बाँडिएको छ ।’

पुतली र पुत्लीमा देखिने फरक भनेकै यी दुवैको टाउको अगाडिको भागमा देखिने एन्टेनाको भिन्नता हो । रोपालोसेराको एन्टेनाको माथिल्लो भाग केही डल्लो हुन्छ । यसका अलावा पुतलीको शरीरमा धेरै झुस नहुने, राति नउड्ने, पेट केही सानो हुने गर्छ । रोपालोसेरालाई अहिले ६ वटा परिवारमा गाभिएको छ । नेपालमा ६ वटै परिवारका पुतलीहरू पाइन्छन् । संसारमा १८ हजार ५ सय प्रजातिका पुतली रहेको अनुमान छ । तीमध्ये नेपालमा ६ सय ७८ प्रजातिका पुतली अभिलेख भइसकेका छन् । हेस्पिरडाई, प्यापिलिनोइडी, पिरिडी, लाइसिनिडी, रियोनिडी र निम्फालिडी परिवारका पुतलीहरू नेपालमा पाइन्छन् । 

हेस्पिरडाई परिवारका पुतली हेर्दा पुत्ली जस्तै देखिन्छन् । यी पुत्लीसँग मिल्दोजुल्दो देखिन्छ । टाउको अगाडि हुने एन्टेनालाई हेरेर मात्रै थाहा पाइन्छ । पुतली संग्रहालयमा कार्यरत परियार भन्छन्, ‘यिनको एन्टेना हुक जस्तो अंकुशे आकारको हुन्छ ।’ यो परिवारका पुतलीको एन्टेनाको हुकमा डल्लो जस्तो देखिन्छ । यस्तै, यी परिवारका पुतली बस्दा पुत्ली जसरी बस्ने हुँदा छुट्याउन गाह्रो हुन्छ । 

पोखराको पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको  अन्नपूर्ण संग्रहालय । यहाँ नेपालमा पाइने पुतलीको उल्लेख्य संख्यामा संग्रह छ । तस्बिर : कान्तिपुर

प्यापिलिनोइडी परिवारभित्र अधिकांश पुतलीहरू पाइन्छन् । यिनलाई वास्तविक पुतली पनि भन्ने गरिन्छ । कमन ब्लू एपलो प्रजातिको पुतली यही परिवारभित्र पर्छ । यो प्रजाति ३५ सयदेखि ४ हजार मिटरको उचाइसम्म पाइन्छ । अन्य समयमा यी प्रजातिका पुतली २५ सय मिटरको उचाइसम्म झरेको परियारले जानकारी दिए । यस्ता पुतलीहरू हिमाली वातावरणमा अनुकूलन गरेर बसेका हुन्छन् । यिनको शरीरमा हुने धेरै रौं र कालो पेटले ताप सोस्ने भएकाले वातावरणीय अनुकूलन सहज हुन्छ ।

कोलिन स्मिथले नेपालमा ६ सय ६० प्रजातिको पुतली रेकर्ड गरेका छन् । त्यसपछि महेन्द्रसिं लिम्बू, सुरेन्द्र परियार, सृष्टि पन्थी, सञ्जयराज तामाङ, डच नागरिक पाइन्ट भान डी पोएल, अनिसा सापकोटा लगायतले थप प्रजाति फेला पारेपछि नेपालमा पाइएका प्रजाति संख्या ६ सय ७८ पुगेको छ ।

०००

संग्रहालयमा नेपालमा पाइने सबैभन्दा ठूला पुतली ‘कमन बर्ड विङ’ प्रजाति पनि राखिएको छ । यो पुतली तराई र पहाडी जिल्लाहरूमा धेरै नै पाइन्छ । अझ बढी तराई क्षेत्रमा पाइने परियारले जानकारी दिए । यस्तै, बाघको जस्तो रंग देखिने ‘टाइगर बटरफ्लाई’ पनि यही परिवारभित्र पर्छ । पिइरेडी परिवारका पुतलीलाई ‘वाइट्स बटरफ्लाइज’ भनेर पनि चिनिन्छ । सेतो, पहेंलो र सुन्तला रंगका पनि हुन्छन यिनीहरू । यो परिवारभित्रका पुतलीहरू काउली, तोरीलगायतका बोटबिरुवामा निर्भर हुन्छन् । 

नेपालमा पाइने सबैभन्दा सानो प्रजातिको पुतली ‘लाइसेनिडे’ परिवारको पुतली हो । लिस्ट ग्रास ज्वेल बटरफ्लाई सबैभन्दा सानो पुतली मानिन्छ । यो प्रजाति बढी तराई क्षेत्रमा पाइन्छ । यो परिवारका पुतलीहरू सानो र नीलो रंगका हुन्छन् । केही हरिया पनि छन् । सानो शरीर भएकाले छिटोछरितो उड्छन् । घामको किरण पर्दा कहिले हरियो र कहिले नीलो चमक दिने परियारले जानकारी दिए । 

रियोडिनिडे परिवारमा भने धेरै प्रजातिका पुतलीहरूको विशेषता मिलेको हुन्छ । यिनलाई मेटलमार्क्स भनेर पनि भन्ने गरिन्छ । यो परिवारभित्रका पुतलीको भालेको अगाडिका दुईवटा खुट्टा कामविहीन देखिएका हुन्छन् । जबकि पोथीको सबै ६ वटै खुट्टाले काम गरेका हुन्छन् । 

स्कार साइरा भन्ने प्रजातिको पुतली निम्फालिडी परिवारभित्र पर्छ । नेपालमा यो प्रजातिको पुतली ललितपुरको फूलचोकीबाट अभिलेख भएको थियो । निम्फालिडी परिवारका पुतलीको भाले र पोथी दुवैको ४ वटा मात्रै खुट्टा देखिन्छ भने अगाडिका दुईवटा खुट्टा लुकेको हुन्छ । पुतलीको धेरै ठूलो ग्रुपभित्र पर्छ यो परिवार । तराई, पहाड र हिमाल सबैतिर पाइन्छन् । यो परिवारका केही पुतलीहरू खैरो हुन्छन् । जस्तो कि इभिनिङ ब्राउन र डार्क इभिनिङ ब्राउन पुतली । यी पुतलीहरू साँझमा उड्ने र घामको छाया भएको ठाउँमा बस्न रुचाउँछन् । 

पुतली विज्ञ प्राध्यापक भैया खनाल नेपालका पुतलीको संख्या कम हुँदै गएको बताउँछन् । तापक्रममा वृद्धि, बासस्थानको विनाश, विषादीलगायतका कारणले पुतली हराउँदै गएका हुन् । ‘पुतली पोलिनेटरहरू हुन् । परागसेचनमा यिनको भूमिका हुन्छ,’ उनी भन्छन् । किरा र पुतलीले परागसेचन गर्दा कृषि प्रणालीलाई धेरै फाइदा हुने भए पनि त्यससम्बन्धीका अध्ययनहरू नेपालमा नभएको उनले बताए । पुतली संरक्षणका कार्ययोजनाहरू नै नभएकाले यो विषयमा प्रस्ट हुन बाँकी नै रहेको उनको मत छ । 


संकटापन्न अवस्थामा सूचीकृत टेइनोपालपस इम्पेरियालिस प्रजातिको पुतली खोज्न प्राध्यापक खनालसहितको टोली नगरकोट पुगेको थियो । तर, टोलीले फेला पारेन । २१८० मिटरदेखि ३ हजार मिटरको उचाइसम्म यो पुतली यसअघि फूलचोकी, शिवपुरी नागार्जुन र नगरकोटमा फेला परेको थियो । जसअनुसार फूलचोकीमा २१ वटा र नागार्जुनमा ८ वटा भेटिएको उनको अनुसन्धानले देखाएको छ । परागसेचनसँगै पुतलीहरू अरू जीवनको आहारा पनि बनिदिन्छन् । यिनका लार्भा, अन्डा अन्य जीवले खाने, कहिले अरूको आहारा बनिदिने भएकाले प्राकृतिक चक्र सन्तुलन राख्न भूमिका खेलेका हुन्छन् । 

०००

भूगोलअनुसार पुतलीको आयु सरदर ३ सातादेखि ८ महिनासम्म हुने गरेको छ । लामो दूरीसम्म उड्नेको आयु लामो हुन्छ भने एकै ठाउँमा रहने थोरै बाँच्छन् । पुतलीले फूलको रसलाई आहारा बनाउँछ । पुतलीको अवस्था अध्ययन गरेर जैविक विविधताको बारेमा थाहा हुन्छ । तापक्रम घटबढ र बासस्थान विनासले यिनीहरूको जीवन चक्रमा प्रभा पार्छ । अन्य जीवबाट बच्नका पुतली पखेटा उपयोग गर्छन् । 

पुतलीहरू लेपिडप्टेरा अर्डरको रोसेलाफेरा उपप्रजातिमा पर्छन् । पुतली मथ(पुत्ली), फट्यांग्रा र माकुरो जस्तै किरा समूहभित्रै पर्छ । अरु किराका जस्तै ६ वटा खुट्टा हुन्छन् । 

पुत्लीको शरीर सानो र मोटो हुन्छ भने झुसहरू धेरै नै हुन्छन् । पुतली र पुत्लीको फरक भने विभिन्न कारणबाट हुन्छ । पुतलीले पखेटा देखाउँछन् । दिनमा सक्रिय हुन्छन् । खुट्टामा हुने एक प्रकारको स्वाद रिसेप्टर ग्रन्थीले गर्दा स्वाद खुट्टाबाट थाहा पाउँछन् । यिनीहरू बेला बेला ताप लिन्छन् र धेरै गर्मी हुँदा शीतल भएको ठाउँतिर जान्छन् । 

पुतलीको भाले पोथीभन्दा केही सानो हुन्छन् । जीवनचक्र फुल, लार्भा, प्यूपा र वयस्क गरी चार चरणबाट गुज्रन्छ । पुतलीको संसर्ग सुरु हुनुअघि पोथी बसेको ठाउँ नजिकै भाले पुग्छ । पोथीलाई आकर्षित गर्न भाले पखेटा फिँजाएर विशेष प्रकारको नाच गर्छ । उपयुक्त लागे पोथी नजिकिन्छे, अनि सँगै नाच्छे । संसर्गको केही घन्टा वा केही समयपछि भाले पुतली मर्ने अध्ययनहरूमा देखिएका छन् । पोथी चाहिँ अन्डा पार्नका लागि उपयुक्त स्थानमा निस्कन्छे । उपयुक्त बिरुवाको पात खोज्छे । पात ठिक छ कि छैन भनेर कोतर्छे । फूल पार्नुअघि उसले एउटा तरल पदार्थ झार्छे र फुल त्यसैमा टाँसिन्छ । 

विशेष गरेर पुतलीले फुल पार्ने समय वसन्त र शरद ऋतु हो । पुतलीका लार्भा (क्याटपिलर) अवस्था विशेष हुन्छ । फुलबाट सिधै लार्भा बन्छ जसलाई मेटोफर्फसिस भनिन्छ । झुसुलकिरा हुने यो अवस्थामा हन्तकाले हुन्छ । धेरै खानुपर्छ । २ देखि ५ हप्तासम्म क्याटपिलरले खाइरहन्छ । रङ पनि हरियो हुँदा अन्य प्रजातिले खाने सम्भावना कम हुन्छ । झुसिलकिरालाई चरा, भ्यागुता र माकुरा आदिले आहारा बनाउँछन् । अध्ययनहरूका अनुसार अन्डा निस्किएका धेरै लार्भामध्ये निकै कममात्र पुतली बन्ने चरणसम्म पुगेका हुन्छन् । झुसुलकिरापछि पछि प्युपाको अवस्था आउँछ । यो अवस्थामा लार्भाजस्तै खन्चुवा हुँदैन । वयस्क बनिनका लागि केही हप्तासम्म पुतलीका प्युपा निष्क्रिय हुन्छ । जब प्युपामाथि बेरिने एक प्रकारको बेर्ना झर्छ, तब वयस्क पुतलीमा रूपान्तरण हुन्छ । वयस्क भएपछि त्यही पातमा पुतली केहीबेर टहलिन्छ । पखेटा सुकेपछि फुर्र उड्ने गर्छ । 

राष्ट्रिय पुतली घोषणा माग

डाँफेलाई धेरै नेपालीले प्रत्यक्ष देखेका छैनन् । धेरैले नदेखे पनि सरकारले गरेको घोषणाअनुसार डाँफे राष्ट्रिय चरा हो । यही तर्कमा आधारित हुँदै पुतली विज्ञ कोलिन स्मिथले कम देखिने, निश्चित ठाउँमा पाइने एउटा पुतलीलाई राष्ट्रिय पुतली घोषणा गर्न माग गरेका छन् । उनले ‘कृष्ण पिकक बटरफ्लाई’ लाई राष्ट्रिय पुतलीका लागि प्रस्ताव गरेका हुन् । 


एकदमै कम स्थानमा देखिने, केही निश्चित ठाउँमा मात्रै पाइने यो प्रजातिको पुतली दुर्लभ भएकाले भएकाले कानुनले पनि संरक्षण गर्ने भएकाले स्मिथले राष्ट्रिय पुतलीको रूपमा प्रस्ताव गरेका हुन् । यो पुतली आईयूसीएनको रातो किताबमा खतराको सूचीमा छ । यो पुतलीको अवैध व्यापारमा प्रयोग हुने गरेको आशंका गरिन्छ । यो पुतली पेपिलिनोआइडी परिवारभित्र पर्छ । फूलचोकी र कास्कीमा यसको अभिलेख भएको छ । दुर्लभ प्रजातिभित्र पर्छ नेपालका लागि । मयूरको प्वाँखमा जस्तो देखिने नीलो, हरियो रङ यसको पखेटा देखिन्छ । हेर्दा, ठ्याक्कै मयूरको प्वाँखको रङ जस्ता देखिन्छ यो पुतली । पखेटा केही कालो, हरिया, सेतो धर्सा हुने गर्छ । नेपालबाहेक यो प्रजाति चीन, भुटान, भारत, म्यानमार र भियतनाममा पाइएका छन् । यसको पखेटा ४.७ देखि ५.१ इन्चसम्म हुने गर्छ । यो पुतलीको ९१० मिटरको उचाइदेखि ३ हजार मिटरसम्म पाइने गरेको अभिलेख छ ।

गोविन्द पोखरेल विज्ञान, वन, वातावरण, प्रविधि लगायतका क्षेत्रमा कलम चलाउँछन् ।

Link copied successfully