वीरगन्जको विविध स्वाद

भुजा–पकौडीदेखि पान, चिया, दही र लस्सीसहित रैथाने परिकारका मौलिक स्वाद

चैत्र २३, २०७९

भूषण यादव

वीरगन्ज — शिरमा राजस्थानी टोपी । सेतै फुलेका बाक्ला जुँगा । धपक्क बलेको अनुहारको ठूलो तस्बिर वीरगन्जको कैलाश होटलदेखि घडिअर्वातर्फ जाने सडकको बायाँतर्फको एकतले घरमा राखिएको छ । हँसिलो अनुहारको त्यो तस्बिर राखिएकै घरमा वीरगन्जको चर्चित ‘बब्लु टी’ सञ्चालनमा छ ।

करिब २८ वर्षअघि सञ्चालनमा आएको यो चिया पसल अहिले वीरगन्जमा पुराना स्वाद दिने ठाउँ खोज्नेको रोजाइमा पर्छ । रामनिवास शर्माका जेठो छोराको नाम हो बब्लु । बाबुले छोराको नाममा चौकी (खाट) माथि स्टोभ राखेर चिया पसल सुरु गरेका हुन् । 

‘पहिलो दिन त एक पोको दूधको चिया पनि खपत भएन,’ ७७ वर्षीय शर्मा सम्झन्छन्, ‘अहिले त कति बिक्री हुन्छ, त्यसको लिमिट नै छैन ।’ जीवनयापनका सिलसिलामा अनेकन कामको अनुभव बटुलेका शर्माले २०५१ सालतिर वीरगन्जमा चिया पसल गर्ने निधो गरेका थिए । भारत राजस्थानको झुझुनु निवासी शर्माले त्यसअघि हरियाणा र नेपालको हेटौंडा, काठमाडौं र वीरगन्जको सीमावर्ती सहर रक्सौलमा अनेकन काम गरेका थिए ।

कस्तो भए चियाको स्वाद ग्राहकको जिब्रोमै बस्छ भनेर पारंगत हुनुअघि रामनिवासले अनेकन दुःखका काममा हात हालेका थिए । ९ कक्षामा २ पटक फेल भएपछि उनी घरबाट भागेर हरियाणा पुगेका थिए । त्यहाँ ७ रुपैयाँ प्रतिमहिनामा एउटा आँटा मिलमा काम गरे । ‘६/७ महिना काम गरेपछि उनलाई भाइले उडिसा लगेको थियो । त्यहाँ मट्टीतेलको पसल खोलेका थियौं,’ शर्माले भने, ‘मट्टीतेल कारोबार नजमेपछि केही महिनापछि ठूलो दाइले नेपालको हेटौंडा ल्याए ।’ 

हेटौंडाको टेलरिङ कपडा उद्योगमा काम थालेकै बेला उनको विवाह सीमावर्ती बजार रक्सौलमा भइसकेको थियो । हेटौंडाबाट उनी फेरि राजस्थान नै फर्किए र परिवारमा अनवन बढेपछि उनी रक्सौलस्थित ससुराली आए । त्यहाँको ब्लक रोडमा उनले आफ्नै होटल सञ्चालनमा ल्याए । तर, घाटाको व्यापारले उनी अडिन सकेनन् । सीमावर्ती क्षेत्रमा सामानको ओसारपोसार र भारु सटहीको काम थाले । तर यसमा पनि घाटाले नै पछ्याइरह्यो । त्यसपछि उनी वीरगन्ज आए र चिया पसल सुरु गरे । त्यसपछि भने उनलाई अनेकतिर चहार्न परेन । 

उनले जतिबेला चिया बेच्न सुरु गरेका थिए, त्यतिबेला वीरगन्जमा पसलमा आएर चिया खाने चलन थिएन । भीडभाड हुने चोक/ठाउँमा चिया पिउने चलन थियो । त्यसैले उनी केतलीमा चिया बोकेर बढी भीडभाड हुने भन्सार, घण्टाघर, बसपार्क, माईस्थानलगायतका चोक पुग्थे । चिया पसलमा आएर चिया नखाने ग्राहकको शैलीका कारण उनी केतलीमा चिया राखेर भीडभाड भएतिर पुग्थे । यसरी ६ महिना चिया बेचेपछि उनका ग्राहक पसलमै आउन थाले ।

उनको चियाका पारखी बढ्दै गए । खोजीखोजी चिया पिउने बढेपछि ती भीडको ग्राहकलाई उनले पसलसम्म तानेर ल्याए । र, आफ्नो तस्बिरसहित बोर्ड टाँगे । अनि सुरु भयो– बास्नादार कडक चियाको यात्रा । उनको चिया यात्रामा केही कुरा उस्तै छन् । चियाको स्वाद अनि उही मट्का । फरक यत्ति हो, पहिले मट्का हातैले बन्थे । अहिले मेसिनले । अर्को कुरा पनि फरक छ, पहिले उनी बिहानदेखि साँझसम्म आफैं कस्सिन्थे । अहिले त हुर्किसकेका दुई छोराले उनलाई चिया दोकानमा सघाउन थालेका छन् । 

उनको चियाको पारखी हरेक उमेर समूहका छन् । चिया पारखी बिहान ६ बजेदेखि दोकानअघि आइसक्छन् । दिउँसो केहीबेर भीड पातलिए जस्तो देखिन्छ । तर बेलुका फेरि बढिहाल्छ । दैनिक ६० देखि ८० लिटरसम्म दूधको चिया बेच्ने रामनिवास आफ्नो कर्मबाट प्रसन्न देखिन्छन् । २८ वर्षदेखि उनी वीरगन्जको एउटा चोकमा चियाको बास्ना फैलाएर यहाँको परिवर्तन र गति नियालिरहेका छन् । ‘पहिले र अहिलेको वीगन्जमा धेरै अन्तर छ,’ उनले भने, ‘मान्छेहरूले पैसा धेरै कमाए, रोड र ठूला बिल्डिङ पनि बने । तर, व्यवहार र विचार पहिला जुन थियो, त्यो अब छैन ।’ 

वीरगन्ज निवासी लेखक चन्द्रकिशोर पछिल्लो समय परिकार व्यवसायमा वीरगन्जलाई बब्लु टीले जोगाइदिएको बताउँछन् । ‘बिहानदेखि साँझसम्म त्यहाँ हरेक वर्ग र तप्काका मान्छेको जमघट हुने गर्दछ,’ चन्द्रकिशोर भन्छन्, ‘बाहिरबाट आएका साथीलाई जाऔं मट्का चिया खान भन्न पाइएको छ । यहाँको तारे होटलमा बस्ने पनि बिहान वा साँझ अनुकूल मिलेको समयमा पैदलै त्यहाँ पुगेर माटोको भाडामा चियाको चुस्की लिन्छन् ।’ 

चन्द्रकिशोरका अनुसार वीरगन्ज गाउँहरूको महानगर हो । यहाँ केही पुराना गाउँ छन् । यो सहर हुनुभन्दा अगाडि केही बस्ती थिए । ती अझै पनि छन् । ती बस्तीका आफ्नै विशेषता थिए । केही विशेषता अझै जोगिएका छन् । जब यो सहरले वीरगन्ज नाम धारण गर्‍यो, धेरै गाउँ समाहित भयो । नगवा, मुर्ली, लक्ष्मनवा, घडिअर्वा, पिप्रा, छपकैया पुराना बस्ती हुन् । यही गाउँ सम्पन्न पनि थिए । गाउँहरू मिलेर जब सहर भयो, सहरलाई चिनाउने केही पात्रहरू हुन्छन् । केही व्यवसाय हुन्छन् । 

***

वीरगन्जलाई एक समय ताप्केले चिनाउँथ्यो । कुनै समय वीरगन्जको ताप्के मसहुर थियो । माईस्थानमा चिउरा–दहीको कारोबार हुन्थ्यो । चोकको दक्षिण पश्चिम कुनामै दही–चिउराको पसल थियो । ७३ वर्षीय भरत साह कानु २०२२ सालदेखि दही–चिउराको कारोबारमा छन् । माईस्थान चोकमा रहेको आफ्नो दाजुको पसलमा उनले १३ सालसम्म काम गरे । २०३५ सालपछि भने उनले आफ्नै दही–चिउराको पसल थापे । उनका अनुसार सुरुमा देहातबाटै दूध आउँथ्यो । पछि हेटौंडाबाट पनि आउन थाल्यो । ‘गाउँ देहातबाट दूध खरिद गरी आफैंले दही जमाउँथे,’ भरत भन्छन्, ‘त्यसबेला ३ रुपैयाँ प्रतिकेजी बिक्री हुने दही अहिले १ सय ६० रुपैयाँमा बिक्री हुन्छ ।’ 

माईस्थान चोकदेखि गहवामाई मन्दिर जाने क्रममा बायाँपट्टि छ, भरत दही एन्ड स्वीट्स पसल । अस्वस्थताका कारण भरत अहिले पसलमा नियमित बस्दैनन् । तर पनि उनले पुरानै दहीको स्वाद कायमै राखेका छन् । उनका अनुसार पहिले दही खान आउने अधिकांशले घरबाटै भुजा/चिउरा लिएर आउँथे । ‘मोग्लानको पत्तामा भुजा र दही राखेर खान्थे । सहरभन्दा पनि देहातका मान्छेले त्यसबेला बढी दही खान्थे,’ भरत विगत सम्झिँदै भन्छन्, ‘अहिले त सहरका बासिन्दा पनि दहीका सौखिन भएका छन् ।’

जाडो महिनाभन्दा गर्मीमा दहीको खपत बढी हुने गरेको उनले बताए । दही–चिउरा खान आउने ग्राहकलाई दही तौलेर चिउरा र खुर्सानी प्लेटमा राखेर पस्किने गरिन्छ । दही–चिउराकै कारोबार फैलिएर अहिले भरतले मिठाई र कपडाको व्यवसाय पनि विस्तार गरेका छन् । ‘शिक्षा, भौतिक पूर्वाधारमा धेरै विकास भएको छ,’ उनले वीरगन्जको बदलाव सम्झिँदै सुनाए, ‘पहिले धेरैले पढ्न रुचाउँदैनथे, गहवामाईको मन्दिर पनि यो स्वरूपमा थिएन ।’ 

***

वीरगन्जका चोक गल्लीका दसौं वर्षदेखि अनेकन स्वादका परिकार बेच्नेहरूले यो सहरको मौलिक स्वादलाई कायम राख्ने प्रयास गरेका छन् । तिनैमध्येको एक हो, आदर्शनगरमा मुख्य सडकमा सर्राफ मार्केट अगाडिको गल्लीमा रहेको बनारसी पान पसल । पसल सञ्चालक सुरेश चौरसियाका अनुसार करिब ६५ वर्ष अगाडि उनका हजुरबुबा जंगीलाल चौरसियाले पान व्यवसाय सुरु गरेका थिए । हजुरबुबापछि उनका बुबा लक्ष्मीचन्द चौरसियाले पान व्यवसाय अगाडि बढाए । ‘बुबा हुँदा उनकै छेउमा बसेर सहयोगीको काम गर्थे,’ उनले भने, ‘बुबा बितेको १० वर्ष भयो । अहिले एक्लैले व्यवसाय हेर्ने गरेको छु । छोरा बाहिर काम गर्छन् ।’ 

सुरेशले बुबाबाटै पानको पातमा विभिन्न मसला मिलाएर राख्न सिकेका थिए । आदर्शनगर क्षेत्रमा रहेको उनको पसलमा विभिन्न वर्ग र समुदायका पानका पारखी आउने गरेका छन् । ‘अहिले त व्यापारमा मन्दी चलिरहेको छ,’ सुरेश भन्छन्, ‘तीन पुस्तादेखिको चलिआएको व्यवसाय अहिले खस्किँदो छ ।’ व्यापार चलेका बेलामा दिनमा सय खिल्लीभन्दा बढी पान बिक्री हुने गरेको उनले सुनाए । उनको पसलमा मगही, मीठा, बनारसी पत्तामा पान उपलब्ध छन् । हजुरबुबाको पालादेखि चल्दै आएको व्यवसायी उनीपछि सम्हाल्ने कोही पनि छैनन् । ‘छोराहरू बाहिर काम गर्छन्,’ उनले भने, ‘यो व्यवसाय धान्ने मपछि परिवारमा कोही पनि छैनन् ।’

***

वीरगन्ज आइराख्नेलाई थाहै होला, भुजा–पकौडाको स्वाद । अदालत रोड र पुरानो बसपार्क पश्चिमपट्टि पाउने भुजा–पकौडा खानेको भीड सधैं देखिन्छ । रेडक्रस अगाडिको पकौडाका पसल सञ्चालक ७५ वर्षीय सुरेन्द्रप्रसाद कानु २०१६ सालदेखि यो पेसामा छन् । यसअघि विर्ता, लोहारपट्टी चोक, गीता मन्दिर, मुर्ली चोक, बसपार्कलगायत एक दर्जन ठाउँमा उनले पसल सञ्चालन गरिसकेका छन् । दिनको ४ हजारदेखि ५ हजार रुपैयाँ बराबरको कारोबार हुने गरेको कानु बताउँछन् । 

पुरानो बसपार्कको पश्चिमपट्टि भुजा–पकौडा बिक्री गर्दै आएका बद्रीजी विगत २५ वर्षदेखि यो पेसामा छन् । वीरगन्ज–३ प्रगतिनगरका किरण कटवाल दिउँसोको खाजा प्रायःजसो उनकै पसलमा पुग्छन् । ‘बद्रीजीको पकौडाको स्वादले तान्छ,’ कटवाल भन्छन्, ‘५० रुपैयाँमा भरपेट खान पाइन्छ ।’ आदर्शनगरमै रहेको एक वित्तीय संस्थामा काम गर्ने आशिष पटेलको पनि खाजामा पहिलो रोजाइ बद्रीजीकै भुजा–पकौडा पर्ने गरेको छ । वीरगन्जमा एकताका सेकुवाका लागि गीता मन्दिर रोडका पसल चर्चित थिए । तर, अहिले सहरको धेरै ठाउँमा सेकुवा पसल खुलेका छन् । एक दशकअगाडि रौतहटको कटहरियाबाट आएको मट्का मासुको ब्रान्डिङ यहाँको पानीट्यांकी क्षेत्रमा भएको थियो । पछिल्ला ६/७ वर्षयता भने वीरगन्जमा मटका मासुको स्वाद फैलिन थालेको छ । 

विगतमा सेकुवाको स्वादमा रमाएको सहरलाई कटहरियाको मटका मासुले फरक स्वादको अनुभूति दिएको छ । ‘बाहिरबाट आएका साथीभाइ वा आफन्तलाई वीरगन्जमा पनि मट्का मासु पाइन्छ भनेर स्वाद फेर्न पाएका छौं,’ वीरगन्ज–१२ का रामेश्वर तिवारी भन्छन्, ‘मासु खान सौखिनहरूका लागि कटहरियाको मट्का मासुले स्वाद थपिदिएको छ ।’

एकताका वीरगन्जमा मान्छे बगेडीको स्वाद लिन पनि आउँथे । गीता मन्दिर–माईस्थान रोडमा सञ्चालनमा रहेको लक्ष्मी सेकुवाका सञ्चालक धिरेन श्रेष्ठका अनुसार पछिल्लो समय बगेडी खानेहरूको संख्या घट्दो छ । ‘अहिले बगेडीको खपत घटेको छ,’ श्रेष्ठ भन्छन्, ‘हप्तामा सय वटा पनि बिक्री हुन गाह्रो छ ।’ 

वीरगन्जमा अर्को स्वाद लस्सी पनि हो । यहाँका गर्मी काट्न धेरैले यसको स्वाद लिन्छन् तर लस्सीको कारोबारमा कोही जम्न सकेको देखिँदैन । माईस्थान चोकबाट आदर्शनगरतर्फ जाने क्रममा बायाँपट्टि भगवती मेडिकलको छेउमा माखन, मिश्री स्पेसल लस्सीको पसल छ । वीरगन्जमा अरू ३ वटा लस्सी पसलहरू सञ्चालनमा छन् । तर, माईस्थान चोक अगाडि मेडिकल हलको छेउमा त्रिपुरी कुशवाहले सञ्चालनमा ल्याएको लस्सी पसल जसरी चलेका छैनन् । गर्मीको सिजनमा दैनिक करिब २ सय ग्लास लस्सी बिक्री हुने गरेको कुशवाह बताउँछन् । 

उनले लस्सीमा काजु, किसमिस, खोवा, मलाई, बरफ मिसाएर ग्राहकलाई बिक्री गर्छन् । ‘विगत १६ वर्षदेखि उनी यो पेसामा छन् । पहिले सिसाको गिलासमा लस्सी दिन्थे,’ कुशवाह भन्छन्, ‘स्वादमा कुनै परिवर्तन त आएको छैन, तर, सिसाको गिलासको ठाउँ अहिले प्लास्टिक गिलासले लिएको छ ।’ लस्सी खान आउने ग्राहक बस्नका लागि केही थान मात्र कुर्सी राखिएका छन् । गर्मीमा भीड हुँदा अधिकांश उभिएर लस्सी पिउने गरेको उनले बताए । 

कुनै जमानामा वीरगन्जमा हिमाञ्चल केबिन र अमृत केबिन आमनेसामने थिए । सम्भ्रान्तहरू त्यहाँ गएर खाजा खान्थे । ४० को दशकमा त्यो ब्रान्डेड थियो । काठमाडौंको राजकर्णिकार परिवार वीरगन्ज बसाइँ सर्दा विसं २०१० सालमा हिमाञ्चल केबिन सञ्चालनमा ल्याएका थिए । पछिल्लो समय हिमाञ्चल केबिन सञ्चालन गर्दै आएका विजय राजकर्णिकारलगायत परिवारका तीन जनाको मृत्यु कोरोना संक्रमणले भएपछि परिवार अहिले काठमाडौं पलायन भएको छ । हिमाञ्चल केबिन सञ्चालनमा रहेको घरलगायतका अन्य सम्पत्ति बिक्री गरी परिवारका अन्य सदस्यले वीरगन्ज छाडेका छन् । अमृत केबिन अहिले वीरगन्जको लिंक रोडमा सञ्चालनमा रहेको छ । कारोबार विगत जस्तो नरहेको सञ्चालक बताउँछन् । ४० को दशकमा वीरगन्जमा सम्भ्रान्तहरू मःम, चाउमिन खान हिमाञ्चल केबिन पुग्थे । तर अब यो त सम्झना मात्रै भइसक्यो । 

वीरगन्जलाई पछिल्लो समय सातु, भुजा–पकौडा र चिया पसलले चिनाउने काम गरेका छन् । गर्मीमा सातु खाने प्रशस्त हुन्छन् । यहाँको २ नम्बर रोड, ६ नम्बर गेट अगाडि, माईस्थान मन्दिर वरिपरि, मकालु होटल अगाडि सत्तुका राम्रा पसल खुलेका छन् । वीरगन्जको रानीघाटमा विगत २६ वर्षदेखि सत्तुको व्यापार गर्दै आएका गुड्डु गुप्ताका अनुसार सुरुमा व्यापार थाल्दा विर्ता, गीता मन्दिर रोड र घण्टाघरमा मात्र सत्तु बिक्री हुने गरेको थियो । सत्तुको व्यापार विगतमा राम्रो हुने गरेको उनी बताउँछन् । ‘बजारको मान्छे पनि पसलमा सत्तु खान आउँथे,’ उनले भने, ‘अहिले त ठाउँ–ठाउँमा नयाँ पसल खुलेका छन् ।’ 

पछिल्लो समय बढ्दो बेरोजगारीका कारण हरेक चोक र गल्लीमा सत्तु बिक्री हुन थालेको उनी बताउँछन् । कतिपयले साइकल र ठेलामा समेत घुमाएर सत्तु बिक्री गर्न थालेका छन् । ‘विशेष गरी गर्मीमा सत्तुको सेवन गर्नेको भीड लाग्छ,’ गुप्ता भन्छन्, ‘बिहानको समयमा सातु खाने बढी हुन्छन् ।’ ग्राहक घटे पनि पेसा छाड्ने अवस्था नरहेको गुप्ताले सुनाए । ‘यो कामबाहेक अन्य इलम छैन,’ उनले भने, ‘जसरी पनि खर्च धानेको छ ।’ 

वीरगन्ज अनेकन स्वादको सहर पनि हो । तर बदलिँदो सहरमा कैयन् स्वादहरू समय क्रममा हराएर गए । लेखक चन्द्रकिशोरका अनुसार जसरी नेपालगन्ज रावडीका लागि प्रख्यात छ, यहाँ त्यस्तो कुनै परिकार छैन, जसलाई वीरगन्जको मात्र भन्न सकियोस् । जसमा वीरगन्जकै विशेषता होस् । उनले सहरको स्वाद दुई प्रकारले कायम हुने बताए । एक, पुराना गाउँहरू, जसका केही मौलिक परिकार हुन् । जस्तो कि, काठमाडौंमा जुजु धौ ।

सहर महानगर भइसके पनि जुजु धौ बाँचेकै छ । उनले वीरगन्जसँग त्यस्तो मौलिक स्वाद नभएको बताए । उनले भने, ‘भोजपुरी समाजको दुधपुवा एकदम पावरफुल खाना हो,’ उनले भने, ‘तर, यहाँको कुनै पनि होटलमा त्यो परिकार पाइँदैन । गाउँको विशेषता भएको जुन परिकार थियो, त्यसलाई यहाँका आधुनिक व्यवसायीले जोड्न सकेनन् । मार्केटिङ गरिदिएनन् ।’ 

भूषण

Link copied successfully