कटहरियाको ‘कटिया’ स्वाद

माटोको भाँडोमा तेल, प्याज, लसुन, नुन, बेसार, सुकेको खुर्सानी, जिराको दाना, मरीच र प्याज आवश्यकताअनुसार राखेपछि ३५० ग्रामजति खसीको मासु हालेर बिर्कोले छोपी कोइलाको मन्द आगोमा पकाइने कटिया करिब ४० मिनेटमा तयार हुन्छ

वैशाख ९, २०८०

रौतहट — पूर्वपश्चिम राजमार्गबाट झन्डै २८ किलोमिटर दक्षिणपश्चिम लागेपछि आउँछ, कटहरिया बजार । बजारको छेवैमा छ, कामेश्वरजीको कटिया पसल । त्यहाँ ५२ वर्षीय कामेश्वर साह हरदम माटोका भाँडामा आगोको ताउ लगाइरहेका भेटिन्छन् । बिहान ७ बजेदेखि राति ९/१० बजेसम्म उनको पसलबाट मगमग पाकिरहेको मासुको मीठो बास्ना फैलिरहेकै हुन्छ । अनि सदाबहार मुस्कानसहित स्वादका पारखीलाई स्वागत गर्न कामेश्वरलाई भ्याइनभ्याई देखिन्छ ।

३९ वर्षअघि कामेश्वरले कटिया पसल सुरु गरेका थिए । खसीको मासु माटोको भाँडोमा राखेर कोइलाको मन्द आँचमा घण्टौं पकाएपछि तयार हुने कटियाको स्वाद मधेश झर्ने धेरैका निम्ति अब नयाँ रहेन । अहिले रौतहटमा मात्रै सयको हाराहारीमा कटिया पसल खुलेका छन् । कामेश्वरले सुरु गर्दा यसको स्वाद धेरैको जिब्रोले पाइसकेको थिएन । कामेश्वर आफैंलाई पनि थाहा थिएन, कटहरियाबाट सुरु भएको यो स्वाद लोकप्रिय हुँदै कटियाका रूपका प्रसिद्ध होला भन्ने ।

पूर्वपश्चिम राजमार्ग आसपास पनि कटियाका थुप्रै पसल छन् तर यसको पुरानो र असली स्वाद लिन भने गरुडा, मौलापुर, जंगलसैया र देबाहीगोनाहीलगायत गाउँको संगम कटहरिया बजार नै पुग्नुपर्छ । कटहरियामा कटिया कति पाक्छ भनेर बुझ्न स्थानीय खसी व्यापारी श्यामसुन्दर सोनी र शेख तबारकको कुरा सुने पुग्छ । उनीहरू दुवै दैनिकजसो गाउँ घुमेर खसी किनेर ल्याउँछन् । एक पटक गाउँ घुम्दा २० वटासम्म खसी ल्याउने गरेको तबारक बताउँछन् ।

‘जिल्लाभरि लाग्ने हाटबजारबाट पनि खसी किनेर ल्याउँछु,’ उनले भने, ‘सिजनमा (जाडोको समयमा) १५ वटासम्म खसीको मासु बेच्छौं । अरू बेला १०/११ वटासम्म काटेर बिक्री गर्छौं ।’ उनका अनुसार काटिएका खसीमध्ये कम्तीमा ८ वटा त कटियाकै लागि भनेर बिक्री हुन्छ । उनले आफ्नो हिसाब सुनाउँदै भने, ‘कटहरियामा मात्र दैनिक २ सय ५० भन्दा धेरै कटिया बिक्री हुन्छ ।’

कामेश्वरभन्दा अघि उनका बाबु अमिरीलालले कटिया स्वाद स्थानीयलाई चखाएका थिए । आफ्नो जग्गा नभएकाले अमिरी अधियाँमा खेतीपाती गर्थे तर कृषि कर्मले उनलाई परिवार चलाउन पुगेन । बजार बन्दै जान थालेको कटहरियामा उनले मदिराका अम्मलीहरू प्रशस्तै देखेका थिए । २०३५ सालतिरको कुरा हो, अमिरीलालले बजारको सानो छाप्रोमा होटल सुरु गरे । दैनिक खाजाका अलावा उनी काँसको लोटाभित्र मासु पकाएर बेच्थे । मदिराका अम्मलीहरूले लोटामा गुजगुज पाकेको मासु सितनका रूपमा खान्थे । बिस्तारै उनले पकाएको मासुले धेरैलाई लोभ्याउँदै गयो । आगोको भुंग्रोमा लोटामा मासु पकाउँदा लोटा छिट्टै कालो हुने, पाकेपछि समातेर निकाल्न पनि गाह्रो पर्ने भएपछि उनले लोटाको सट्टा माटोको हाँडीमा मासु पकाउन थाले । माटोको भाँडोमा पकाएको मासुको स्वाद झनै बेजोड निस्कियो ।

केही समय हाँडीमा पकाएको मासु बेचेपछि उनलाई त्यसमा पनि अप्ठ्यारो लाग्दै गयो । एक दिन अमिरीले नजिकैको कुमालेलाई स–साना लोटा आकारमा माटोका भाँडा बनाइदिन भने । अनि यस्तो भाँडाको नाम अमिरीले नै राखिदिए, कटिया । स्थानीय बज्जिका भाषामा कटियाको अर्थ माटोको ‘सानो घैंटो’ अर्थात् कहिया हुन्छ । यही कहिया समय क्रममा बोलीचालीको भाषामा कटिया बन्न पुग्यो । 

कामेश्वरका अनुसार कटिया प्रख्यात हुन केही वर्ष लाग्यो । उनले २०४५ सालबाट कटियाको मासुको चर्चा छरछिमेकका बजारमा पनि हुन थालेको बताए । ‘माटोको भाँडोमा पकाइने मासुको स्वादबारे मदिरा सेवन गर्नेहरूबाट प्रचारप्रसार भएको हो,’ उनले भने, ‘उसै बेलादेखि यसको माग र बिक्री निकै बढेको छ ।’ उनका अनुसार पछिल्लो १५ वर्षयता कटियाका पारखीको संख्या बढिरहेको छ । 

कटहरियाका ६७ वर्षीय पन्नालाल पण्डितले २०४५ सालपछि नै यसको पारखी र पसल बढ्दै गएको बताए । ‘कटहरियामा लोटाबाट सुरु भएको कटिया अहिले बाहिर पनि उत्तिकै प्रख्यात छ, ‘उनले भने, ‘जिल्लाभरि कटिया खाने र बनाउने पसलको संख्या पनि थपिइरहेको छ ।’

बाबुले सुरु गरेको पदचाप पछ्याउँदै स्वादको व्यापारमा तल्लीन कामेश्वरलाई कहिल्यै फुर्सद हुन्न । बिहान ७ नबज्दै पसल खोलेर उनी कोइला तयार पार्छन् । मासु किन्न नजिकैको बजार जान्छन् । मासु छानेर टुक्रा पार्दापार्दै बिहान बितिसक्छ । सुरुवाती दिनमा दैनिक पाँच वटा भाँडामा कटिया बेच्ने उनी हिजोआज दैनिक ४० देखि ५० भाँडासम्म कटिया बेच्छन् । उनले सुनाए, ‘माटोको भाँडोमा पाक्ने भनेर यसै पनि मानिसको रुचि छ, कहिल्यै नखाएकाहरू कस्तो स्वाद होला भनेर अचम्म मान्दै खान्छन् ।’

कामेश्वर अहिले दिनमा औसत १५ किलोभन्दा धेरै मासुको कटिया बिक्री गर्छन् । कटहरिया बजारमा एक किलो खसीको मासुको एक हजार रुपैयाँ पर्छ । एक किलोबाट तीन वटा कटिया पाक्छ, माटोको भाँडालाई २० रुपैयाँ पर्छ । एक पटक पकाइसकेको माटोको भाँडामा अर्को पटक पकाउन मिल्दैन । यो सबै मूल्यसहित जोडेर उनले ५ सय ५० रुपैयाँमा एउटा कटिया बेच्छन् । उनकै भनाइमा एउटा कटिया बेच्दा सालाखाला सय रुपैयाँजति फाइदा हुन्छ । ५ सयको लगानीमा बाबुले सुरु गरेको होटलको आम्दानीले उनले दुईतले पक्की घर र ७ कट्ठा जग्गा जोडेका छन् । घरपरिवारको दैनिक खर्च सजिलै धानेका छन् ।

हेटौंडाका सुजन काफ्ले पेसाले जग्गा व्यवसायी हुन् । एक वर्षअघि कामविशेषले रौतहट आएका बेला उनी कटियाको मासु खान सिधै कटहरिया सोझिन्छन् । कामविशेषले रौतहट पुगे भने उनले परिवार र साथीभाइलाई ल्याउने कोसेली भनेकै कटिया हुन्छ । ‘घरमा पकाएको मासुभन्दा भिन्न स्वादको हुने भएकाले परिवारका सदस्यले समेत साह्रै मन पराएका छन्,’ उनले भने, ‘कहिल्यै बिर्सन नसकिने स्वादको परिकार रहेछ ।’

अहिले कटहरिया बजारमा करिब एक दर्जन कटिया पसल छन् । । अमिरीलालका छोरा कामेश्वर र हिरालालका छोरा विजय साहबाहेक अरू सबै नयाँ हुन् । बजारको मुख्य चोकमा विजय कटिया हाउस छ भने केही पर कामेश्वरको कटिया पसल । यही स्वादको व्यापारले उनीहरूले कटहरियाको नाम मात्रै चिनाएका छैनन्, व्यक्तिगत जीवनमा सफलता पनि हासिल गरेका छन् ।

कटियाको स्वाद लोकप्रिय हुनुमा यसको पकाउने तरिका मुख्य कारण हो । कामेश्वरका अनुसार कटिया भनिने माटोको भाँडोमा तेल, प्याज, लसुन, नुन, बेसार, सुकेको खुर्सानी, जिराको दाना र मरीच आवश्यकताअनुसार राखिन्छ । त्यसमा ३५० ग्रामजति खसीको मासु हालेर माटोकै बिर्कोले छोपिन्छ अनि कोइलाको मन्द आगोमा बसाइन्छ । करिब ३० देखि ४० मिनेटमा पाक्ने कटियाको स्वाद दाउराबाट बनाइएको कोइलाका कारण पनि स्वादिलो हुने गरेको उनको अनुभव छ ।

फतुवा विजयपुरका मौजेलाल साह कटिया खानैका लागि कटहरिया पुग्न थालेको एक दशक भइसक्यो । कामेश्वरको स्वादमा पल्केका उनले सुनाए, ‘यहाँ जस्तो स्वादिष्ट अन्त कतै पाइँदैन ।’ लामो समय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (प्लान) मा कार्यक्रम संयोजकका रूपमा रौतहटमा बसेर काम गरेका जीवनाथ पराजुलीले जिल्ला छाडेको ५ वर्ष बितिसक्दा पनि कटियाको स्वाद सम्झिराख्छन् । ‘कटियाको मासु अन्यत्रभन्दा निकै स्वादिष्ट हुन्छ,’ उनले भने, ‘रौतहट बसाइका बेला दिनहुँ खाइयो । अहिले पनि खाउँखाउँजस्तै लाग्छ । जीवनमा नभुल्ने स्वाद ।’

रामेश्वरकहाँ कटियाको स्वाद लिन आउने स्वदेशी मात्रै छैनन्, सीमावर्ती भारतीय पनि छन् । उनका अनुसार पहिला खसी वा कुखुराको तास, फ्राई वा झोल राखेको मासु मात्र खान्थे । मासु पसलमा मानिसको भीड देखिए पनि अन्य परिकारतिर कसैको ध्यान जाँदैनथ्यो तर कटहरियामा कटियाको सुरुवात भएपछि अहिले सबैको जिब्रोमा बसेको छ । रौतहटका चन्द्रनिगाहपुर, गरुडा, समनपुर, गौरमा पनि कटिया पाइन्छ । ‘बाहिरबाट नम्बर पत्ता लगाएर पहिला अर्डर गर्छन्, यति भाँडो बनाएर प्याक गरिराख्नुस् भन्छन्,’ कामेश्वरले सुनाए, ‘रौतहटको कटिया बाहिर पठाउन पाउँदा मन आनन्द हुन्छ ।’

कटहरियामा कामेश्वरपछि कटियाको स्वाद पछ्याउँदै व्यापार गर्ने अर्का पात्र हुन्– विजय साह । १५ वर्षदेखि कटियाको स्वादमा रमेका उनले पनि कामेश्वरजस्तै बाबुले सुरु गरेको पेसालाई निरन्तरता दिँदै आएका छन् । रौतहट आउनेले यहाँको विशेष स्वाद के हो भन्नेबित्तिकै कटियाको नाम लिने गरेको उनले सुनाए । उनले भने, ‘बारा कलैको सेकुवा, बरमझियाको बाजेको पेडा, पालुङको मूला अनि भक्तपुरको दही भनेजस्तै रौतहटको कटिया भइसक्यो ।’ 

स्थानीय समाजसेवी एवं पूर्वसांसद कुन्दन कुशवाहका अनुसार माटोको बन्द भाँडोमा मासु पकाउने चलन राजस्थानमा राजपरिवारका सदस्यबाट सुरु भएर यता भित्रिएको हुन सक्ने बताए । उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष पण्डीप्रसाद जैसवालले कटिया जिल्लाकै पहिचान बनेको भन्दै बाहिरका पाहुनालाई जिल्ला आएका बेला मीठो स्वाद चखाउन पाइएको बताए । कटहरियाका ७१ वर्षीय सुकदेव साह कटियाको स्वाद एकचोटि खाएपछि कहिल्यै बिर्सन नसकिने बताउँछन् । उनले भने, ‘एक पटक खानेले वाह क्या गजबको स्वाद भनिहाल्छन् । मैले धेरै प्रकारका मासुको परिकार खाएँ तर यतिको स्वाद अन्यमा पाइन्न ।’

Link copied successfully