हरिजन परिवारको पुस्तैनी पेसा नै माटोका मूर्ति र भाँडा बनाउनु थियो । बाबुलालले जिन्दगीमा पहिलो पटक माटोमै सिर्जना भर्ने रहर गरे । भाँडा बनाउन जानेनन् बरु मूर्ति तयार पारे । अहिले त कतारी राजाको कार्यालयमै उनका ३० वटा चित्र सजिएका छन् ।
लुम्बिनी — उनी सामान्य देखिन्छन् । धेरै बोल्दैनन् । पढाइ, लेखाइ सामान्य तर चित्रकारितामा अब्बल । जापानदेखि कतारसम्म उनका पेन्टिङले वाहवाही कमाइसके । सबैले उनको कला र सिर्जनात्मक हातको मुक्तकण्ठले प्रशंसा गर्छन् ।
उनी हुन्– रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारका ४३ वर्षीय बाबुलाल हरिजन । बाबुलालले कला र पेन्टिङको कुनै औपचारिक शिक्षा लिएका छैनन् । लुम्बिनी आसपास देवमूर्ति बनाउनुपर्दा उनका बाबु प्यारेलाल मिस्त्री सबैको रोजाइमा पर्थे । उनैको संगत र सीपले बाबुलाललाई पनि मूर्तिकार बन्न प्रेरित गर्यो । जेनतेन साँझ–बिहानको हातमुख जोर्न सक्ने हरिजन परिवारको अवस्था थियो । त्यसैले पनि बाबुलालले एसएलसी उत्तीर्ण गर्न सकेनन् । एसएलसीमा दुई विषय लागेपछि उनी विद्यालय परिवर्तन गरेर भर्ना भए । तर, परीक्षा दिन नपाउँदा उनको शैक्षिक यात्रामा बिराम लाग्यो । उनी गाउँघरमा माटो र सिमेन्टका मूर्ति तथा पेन्टिङ बनाउँदै रमाउन थाले । यसैले जेनतेन उनको परिवारको खर्च चल्दै थियो । तर, यत्तिमै उनी सन्तुष्ट भएनन् । परिवार संख्या बढ्दै गयो । खर्च थपिँदै गयो । यसलै जीवनयापन कष्टकर बनाउँदै लग्यो । आफ्नै कला र सीपलाई तिखार्दै यही पेसालाई निरन्तरता दिन चाहन्थे । तर, सम्भावना कम थियो ।
२०६० सालतिर कपिलवस्तुको भैसकुण्डामा दुर्गा मूर्ति बनाइरहेका बेला त्यहींका सफिक मुसलमानले बाबुलालको कला र सीप देखे । उनी मन्त्रमुग्ध भए । त्यो भेट नै बाबुलालको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । कतारको ओस्मान इन्टेरियर डिजाइनिङ डेकोरेसनमा कस्टमर रिलेसन अफिसर भएर काम गरिरहेका सफिकले बाबुलाललाई कतार जाने प्रस्ताव राखे । उनले पनि ख्यालख्यालमै ‘ओके’ भन्दिए । मूर्ति बनाएर फर्किंदा घर नपसी सोझै भैरहवा गएर राहदानी फर्म भरे । घरका कसैलाई थाहा दिएनन् । काठमाडौंबाट राहदानी नआउँदै उनको पेपर भिसा आयो । भिसा आएपछि घरमा भने । परिवार आश्चर्यमा परे ।
कतार पुगेपछि बाबुलालको जीवनशैली नै फेरियो । पैसा कमाए । नयाँ ठाउँमा नयाँ सिर्जना बनाउन सिके । सीप र दक्षता बढाए । अहिले उनी महिनाको ४ हजार रियाल (१ लाख ४४ हजार नेपाली रुपैयाँ) कमाउँछन् । खान र बस्न कम्पनीले नै व्यवस्था गरिदिएको छ । सुरुमा उनी जम्माजम्मी २० हजार खर्च गरेर मासिक २ हजार रियाल पाउने सर्तमा कतार पुगेका थिए । ‘म त बुद्ध जन्मस्थल लुम्बिनीमा हुर्के, बढेको भुइँमान्छे,’ उनले भने, ‘अहिले गल्फ मुलुक कतारमा नेपाली कला, सीप र सिर्जनालाई पस्कन पाउँदा खुसी छु ।’ कतारको वातावरण, रीतिरिवाज, परिवेश र संस्कृति फरक छ । अहिले त्यसैअनुसार आफूलाई परिमार्जित गरिरहेको उनले सुनाए । ‘मैले कतारमा बनाएका पेन्टिङ उत्कृष्ट मानिएका छन्,’ उनले भने, ‘मेरो सिर्जना र कला देखेरै कतारी राजा शेख तमिम बिन हमाद अल थानीको कार्यालय (राजप्रासाद) ले ३० वटा पेन्टिङ लगेको छ ।’
क्यानभासमा बनाइएका कतारको राष्ट्रिय चरा बाजका २५ वटा र गमलामा बनाइएका उल्लुका ५ पेन्टिङ राजप्रासादमा लगिएको उनले बताए । ‘यो मेरा लागि जीवनको अविस्मरणीय क्षण हो,’ उनले भने, ‘यसभन्दा ठूलो खुसी अरू के हुन सक्छ र ?’ कतारको अलखोरमा रहेको आफूले काम गर्ने क्याटलक इन्टेरियर डिजाइनिङ कम्पनीबाट ती पेन्टिङ किनेर लगेको उनले बताए । राजप्रासादको खेलकुद शाखामा काम गर्ने अली अब्दुल्लाह हुसेनीले आफ्ना पेन्टिङ कार्यालयमा सजाएर राखिएको बताएको बाबुलाल सुनाउँछन् ।
नेपालबाट कतार जाँदा सुरुमा सल्वारोडमा रहेको ओस्मान इन्टेरियर डिजाइनिङ एन्ड डेकोरेसनमा उनले १४ महिना काम गरे । ‘त्यहाँ क्याटलक इन्टेरियरका म्यानेजर घुम्दै आएका थिए,’ उनले भने, ‘मेरो कला र सीप देखेर आकर्षिक भए । झन्डै दोब्बर पारिश्रमिक दिएर आफ्नो कम्पनीमा लगे ।’ अहिले आफ्नो कला देखेर अर्को कम्पनीले ६ हजार रियाल दिएको उनले बताए । ‘तर, पैसा मात्रै सबै कुरा होइन,’ उनले भने, ‘धेरै ठाउँ चहार्नु हुँदैन भनेर गइनँ ।’ झन्डै २० वर्षमा १५ पटक कतार आउआउ गरे । १२/१३ वर्ष कतार बसे । ‘अझै १२/१४ महिना उतै बस्छु,’ लुम्बिनीको महिलवारमा भेटिएका उनले भने, ‘७/८ महिना यतै रहन्छु ।’ कम्पनीले वर्षमा एक पटक आफ्नै खर्चमा नेपाल आउने जाने सुविधा दिएको उनले सुनाए ।
सुरुमा कतार पुग्दा कम्पनीका म्यानेजरले काम गर्ने मान्छे यही हो भन्दै तलदेखि माथिसम्म हेरेर मुख खुम्च्याएको उनले सम्झिए । ‘मेरो जीउडाल देखेर पेन्टिङ गर्नेजस्तो लागेन होला,’ उनले भने, ‘साँझ कमलको फूलको नमुना दिएर चित्र बनाउन भने । मैले राति २ बजेसम्म चित्र चिरिच्याट्ट बनाएर बिहानै दिएँ ।’ चित्र हेरेपछि उनको मुहार हँसिलो देखिएको उनले सुनाए । ‘चित्र हेरेपछि त गला मिलाए,’ उनले भने, ‘म पनि खुसी भएँ ।’ त्यसपछि अंगुरको झाडीको चित्र कोर्न लगाएको उनले सुनाए । ‘त्यो चित्र हेरेपछि त उनी यति खुसी भए कि सीमै रहेन,’ बाबुलाल सम्झन्छन्, ‘लन्च खाऔं भन्दै तारे होटलमा लिएर गए । त्यसपछि खुसीले मेरो मुटुको धड्कन बढायो ।’ आफ्नो लगन र मिहिनेतलाई देखेर कम्पनीले हेड चित्रकार बनाएको उनले सुनाए । कम्पनीमा अहिले भारत, बंगलादेश र नेपालका गरी १५ चित्रकार कार्यरत छन् । ‘आफ्नो कामबाट सन्तुष्ट छु,’ उनले भने, ‘थोरै भए पनि ललितकला पढेको भए अझ राम्रो गर्न सक्थें ।’
बाबुलालले आफ्नो सीपलाई स्वदेशमा पनि मुखरित गरेका छन् । लुम्बिनीमा भर्खरै बनाएको चिटिक्कको घर हेर्दै पनि उनको कला देखिन्छ । घर प्रवेश गर्ने मुख्य ढोकादेखि भित्री ढोका सबै कलात्मक छन् । बिमदेखि सिलिङ सबै आध्यात्मिक, शान्तिप्रति समर्पित र वातावरणमैत्री बनाएका छन् । कतारको चित्रकारिताबाट उनले राम्रो कमाइ पनि गरेका छन् । महिलवार बजारमा ८ लाखमा ८ धुर जग्गा खरिद गरेका रहेछन् । त्यसमा भर्खर करिब १ करोड रुपैयाँ खर्च गरेर ४ कोठे पक्की घर बनाएका हुन् । दाजुका छोराछोरीको धुमधामले विवाह गरेका छन् । घर व्यवहार चलाएका छन् । कतारमा काम गर्न थालेपछि कामप्रति सन्तुष्ट रहेको उनले सुनाए । ‘कतारमा नाम र दाम दुवै छ,’ उनले भने, ‘अहिले त्यता पनि बाबुलाल भनेर चिन्न थालेका छन् ।’ कहिलेकाहीं राम्रो काम गरेबापत ग्राहकको ‘बक्सिस’ पनि पाउने गरेको उनले सुनाए । ‘एक हजार रियालसम्म बक्सिस पाएको छु,’ उनले भने, ‘त्यो बेला संघर्षको फल मिठो हुन्छ भन्ने महसुस हुन्छ ।’
बाबुलालका अनुसार हजुरबुबाका पालादेखि यो पेसा अपनाएका हुन् । अहिले पनि घरमा श्रीमतीबाहेक आफू, दुई छोरा सुनील–सुजित र छोरी शर्मिला गजबका चित्र बनाउँछन् । आफूले पढ्न नसके पनि जेठो छोरा सुनीललाई काठमाडौंस्थित ललितकला क्याम्पसमा ब्याचलर अफ फाइन आर्ट पढाइरहेका छन् । ‘यसले मलाई धेरै सन्तुष्टि दिएको छ,’ उनले भने, ‘एसईई दिएर बसेको सानो छोरालाई पनि ललितकलामै पढाउने सोचेको छु ।’ बुबाको संघर्ष र लगनले आफूहरूलाई पढ्न अझ उत्प्रेरित गरिरहेको छोरा सुनीलले सुनाए । ‘बुबाको सपना साकार पार्छौं,’ उनले भने ।
लुम्बिनीस्थित महिलवार गाउँमा रहेको हरिजन परिवारको पुस्तैनी पेसा नै माटोका मूर्ति र भाँडा बनाउनु थियो । उनले जिन्दगीमा पहिलो पटक माटोमै सिर्जना भर्ने रहर गरे । ‘माटोका भाँडा बनाउनचाहिँ मैले जानिनँ, माटो खेलाएर मूर्ति बनाउने ढंगचाहिँ सानैदेखि जानें,’ उनी भन्छन् । मूर्तिकलाबाहेक उनी पेन्टिङ र चित्र बनाउन पनि असाध्यै सिपालु छन् । सिसाकलमदेखि वाटर कलर, पोस्टर कलर र आयल कलर सबै माध्यममा उनी पोख्त छन् । कलाकारिताको धेरै माध्यम जाने पनि उनको मनचाहिँ ‘पोट्रेट चित्र’ मा बसेको छ । उनी एकाध घण्टामै मान्छेको हुबहु ‘पोट्रेट चित्र’ बनाउन सक्छन् । ४/५ वर्षको उमेरमै माटोमा कला भरेर सिर्जनात्मक यात्रामा तानिएका उनलाई थप बाटो देखाउने काम बुबाले गरेको बताए ।
बुढ्यौलीमा ग्यालरी सपना
लुम्बिनी विश्व शान्तिको मुहान । खुनगाईस्थित बुद्ध आदर्श माविमा पढेका बाबुलाल विद्यालयमा पनि शान्ति, सद्भाव, करुणामैत्री र कला देखाउने माहोलमा हुर्किए । त्यसका लागि उनी चित्र कोर्थे । माटाका मूर्ति पनि बनाउँथे । यी दुवै कलामा उनी निरन्तर लागिरहे । पुरस्कार र स्याबासी पाइरहे । पुरस्कार, स्याबासी र निरन्तरको साधनाले कला निखारिँदै गयो ।
जिल्ला शिक्षा कार्यालयको विभिन्न ठाउँमा स्रोत केन्द्र थियो । २०५७ सालतिर उनैले बनाएको कला र सिर्जनाले गर्दा रूपन्देहीकै उत्कृष्ट स्रोत केन्द्र लुम्बिनी बन्यो । बुद्ध आदर्शमा पढ्दा मुलुकभरिका विद्यालयबाट जापानमा आयोजित बुद्धमूर्ति बनाउने प्रतियोगितामा उनी पनि सहभागी थिए । उनैले बनाएको बनाएको माटोको बुद्धमूर्ति पहिलो भयो । उनी जापान जान छनोट भए । दुर्भाग्य ∕ छनोट भएको सूचना विद्यालयबाट पाउन नसक्दा निकै दुःखी बने । ‘कारण विद्यालय अरू कसैलाई पठाउन चाहन्थ्यो,’ उनले भने, ‘तर, मेरो सिर्जना पुरस्कृत भयो ।’ जेहोस्, जापानमा समेत आफ्नो कला मन पराउने मान्छे छन् भन्न पाउँदा गर्व लागेको उनले सुनाए ।
हरेक चित्रमा नयाँपन खोज्ने उनी बाटो हिँड्दाहिँड्दै एक से एक डिजाइन निकाल्छन् । एउटा ढुंगा भेटे भने पनि त्यसमा चित्ताकर्षक कला निकाल्ने खुबी राख्छन् । ‘उत्सुक र रुचि भएकाको यही पहिचान हो,’ उनी भन्छन् । टाउको हेरेर शरीर कस्तो थियो भन्ने पत्ता लगाउन सक्नु नै चित्रकारको खुबी भएको उनले सुनाए । कतिपय कुरा अनुमान, हाउभाउ र स्थानीय परिवेशले निर्धारण गर्ने उनको अनुभव छ । ‘चित्रकला मनको भाव व्यक्त गर्ने सशक्त माध्यम हो,’ उनले भने, ‘चित्र संसारलाई गहिरो रूपमा बुझ्ने र अरूलाई पनि बुझाउने महत्त्वपूर्ण माध्यम हो ।’ उनको विचारमा कला भनेको मानवीय आत्माको अभिव्यक्ति हो । ‘समयअनुसार यसको प्रयोग र प्रस्तुति फरक–फरक हुने गर्छ,’ उनले भने, ‘त्यसैले रङको प्रयोग यिनै परिस्थितिबाट जन्मने गर्छ ।’
लुम्बिनीमा आर्ट ग्यालरी खोलेर जीवनको उत्तरार्द्ध स्वदेशमै बिताउने बाबुलालको सोच छ । ‘छिट्टै नेपाल फर्कने सोचमा छु,’ उनले भने, ‘त्यहाँबाट कमाएर ल्याएको पैसाले यहाँ राम्रो ग्यालरी चलाएर कलामार्फत लुम्बिनीबाटै शान्तिको सन्देश विश्वभर फैलाउन चाहन्छु ।’्
