मेसीले पाए सबथोक

फ्रान्सको पेरिसमा सोमबार राति सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएसागै लियोनल मेसीले पहिले दायाातर्फ रहेका केलियन एमबाप्पेतर्फ फर्के र खुसी साटे। अनि बल्ल आफ्नी श्रीमती एन्टोनेलातर्फ । यस्तै पाराका छन् मेसी ।

फाल्गुन १७, २०७९

हिमेश

काठमाडौँ — फुटबलमा चासो राख्ने सबैले एकै मुखले भन्ने गर्थे– ‘लियोनल मेसी जत्तिको खेलाडी अरू कोही छैन ।’ तर केही महिनाअघिसम्म भने मेसीको पछाडि खेलाडी जति राम्रो भए पनि विश्वकप जित्न नसकेको भनेर कुरा काट्नेको संख्या पनि उस्तै थियो ।

उनीहरू भन्ने गर्थे, ‘बरु मेसी अभागी पो छन् । क्लब फुटबलमा सबथोक जितेर पनि आफ्नो देश अर्जेन्टिनाका लागि खासै केही गर्न सकेनन् ।’ यी भए करिब दुई वर्षअघिसम्मका कुरा । तर पछिल्लो समय भने मेसीका लागि सबथोक फेरिएको छ । अनि, उनका फ्यान र विरोधीहरूका लागि पनि । 

अब त भन्नैपर्छ, सबैले भन्न पनि थालेका छन्– भाग्य होस् त मेसीको जस्तो । सोमबार राति फ्रान्सको राजधानी पेरिसमा त्यस्तो कार्यक्रमको आयोजना गरियो, जसमा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सन् २०२२ को उत्कृष्ट खेलाडीसँगै विभिन्न विधामा अवार्ड बाँडेको थियो । पुरुषतर्फ सबैभन्दा उत्कृष्ट ठहरिने खेलाडी को त ? यसमा कुनै शंका थिएन । कार्यक्रमको अघिल्लो पंक्तिको कुर्सीमा मेसी थिए, उनको दायाँ केलियन एमबाप्पे थिए, बायाँ आफ्नी श्रीमती एन्टोनेला ।

नभन्दै विजेता खेलाडीको नाम घोषणा गरियो– लियोनल मेसी । सबैभन्दा पहिले उनले एमबाप्पेतर्फ फर्के र खुसी साटे । अनि बल्ल आफ्नी श्रीमतीतर्फ । मेसी यस्तै पाराका छन् । अर्जेन्टिनाले कतारमा भएको पछिल्लो विश्वकप जितेको थियो, मेसीकै कप्तानीमा । पूरा प्रतियोगितामा उनले राम्रो होइन, गज्जबै खेले । त्यसैले प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि चुनिए । आफूले खेलेको पाँचौं विश्वकपमा सात गोल पनि गरे ।

त्यस अगाडि उनले आफ्नो देशका लागि विश्व फुटबलको यो सबैभन्दा ठूलो प्रतियोगिता जित्न सकेका थिएनन् । तर यसपल्ट जितेपछि सबैले एकै स्वरले माने, अब भने मेसीको कुरा काट्न पाइने छैन । कथा सुरु हुन्छ, सन् २०२१ को कोपा अमेरिकाबाट । विश्वकपपछि दुई ठूला प्रतियोगितामा एउटा युरो हो भने अर्को कोपा । युरो युरोपको भयो, कोपा दक्षिण अमेरिकाको । कोपाको पछिल्लो संस्करण अगाडि मेसीले साँच्चै अर्जेन्टिनाका लागि केही ठूलो उपाधि जित्न सकेका थिएनन् ।

त्यसैले कहींकतै बहस छेडिँदा यही कुरा निस्कन्थ्यो, मेसीले जित्ने भनेको क्लब फुटबलमै हो । उनकै नेतृत्वमा ब्राजिललाई हराएर कोपा जितेपछि फेरि भन्न सुरु भयो, यो मात्र जितेर कहाँ हुन्छ र ? विश्वकप जितेर देखाओस् न । कतारमै पनि अर्जेन्टिना सुरुमै साउदी अरबसँग पराजित भयो, उनका विरोधीहरूलाई हाँस्ने बहाना मिलेको थियो । तर त्यसपछि भने अर्जेन्टिना रोकिएन । अन्ततः मेसीको विश्वकप जित्ने सपना पूरा भयो नै, फाइनलमा फ्रान्सलाई हराएर ।

त्यस खेलको मूल कथा नै मेसी भर्सेस एमबाप्पे थियो । त्यसमा मेसीले नै जिते । यसपल्टको अवार्ड कार्यक्रममा पनि यस्तै भयो, मेसीले फेरि एकपल्ट एमबाप्पेलाई हराए । खालि मीठो संयोग के भने दुवै अचेल एकै क्लबबाट खेल्छन्, फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट । अवार्ड थापेपछि मेसीले पनि भने, आफू त साँच्चै भाग्यमानी पनि हो । उनकै शब्द यस्ता रहे, ‘सबैको सपना हुन्छ, विश्वकप जित्ने । तर कमैले मात्र यो सपना पूरा गर्न पाउँछन् ।’

उनी अझ भन्थे, ‘यो वर्ष मेरा लागि गज्जब रह्यो । मैले आफ्नो जुन सपना थियो, त्यो साकार गरें । यसका लागि मैले निकै मिहिनेत पनि गरेको थिएँ । आफ्नो खेल जीवनको अन्त्य अन्त्यतिर पुगेर मैले यो अवार्ड जितें । मेरो खेल जीवनमा सम्भव सबैभन्दा खुसीको क्षण भनेको यही हो । त्यसैले मैले भगवान्लाई एकपल्ट धन्यवाद दिनै पर्छ ।’ मेसी अचेल ३५ वर्षका भए, उनले जितेको फिफाको उत्कृष्ट खेलाडीको अवार्ड सातौंपल्ट हो । अब न मेसीलाई न अरू कसैलाई उनको खेल जीवनबारे गुनासो रहनेछ ।

मेसीलाई पछ्याउँदै एमबाप्पे

एमबाप्पे भर्खर २४ वर्षका भए । उनी मेसीभन्दा ११ वर्षले कान्छा छन् । मेसीले खेल्न छाडेपछि कसैले उनको स्थान लिन्छ भने ती एमबाप्पे नै हुन् पनि भनिन्छ । कतार विश्वकपको त्यो फाइनल आखिरमा कसले बिर्सन सक्छ र ? त्यसमा मेसी बराबरकै खेल प्रदर्शन गरेका थिए, एमबाप्पेले । झन्डै झन्डै फ्रान्सलाई जिताएका थिए । त्यसैले पुरुषको उत्कृष्ट खेलाडी सूचीमा उनी दोस्रो स्थानमा रहे । उनी यसरी शीर्ष तीनको सूचीमा परेको पनि यो पहिलोपल्ट हो ।

सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा पनि उनी चौथोमा परेका थिए । मेसीले ५२ अंक पाएका थिए, एमबाप्पेले ४४ । तेस्रो स्थानमा थिए, अर्का फ्रान्सेली खेलाडी करिम बेन्जेमा । विश्वकपको ठीक अगाडि रियल म्याड्रिडका बेन्जेमाले अको प्रतिष्ठित अवार्ड बालन डे’अर जितेका थिए । तर चोटकै कारण उनले कतारमा खेल्न पाएनन् । त्यही बालन डे’अरको सूचीमै परेका थिएनन्, मेसी । यसपल्टको फिफा अवार्डको यस्तै शीर्ष सूचीमा क्रिस्टियानो रोनाल्डो भने परेनन् ।

एउटा प्रश्न महत्त्वपूर्ण छ, फिफाले यो अवार्डको विजेताको निर्णय कसरी गर्छ त ? यसको उत्तर हो, उत्कृष्ट खेलाडी चयन गर्न राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरूले मतदान गर्ने गर्छन् । सँगै केही खास खास पत्रकारले । अब अर्को प्रश्न, त्यसो भए, मेसीले पहिलो रोजाइका आफ्ना खेलाडीका रूपमा कसलाई मतदान गरे होलान् ? यसको उत्तर हो, पीएसजीकै साथी खेलाडी ब्राजिली नेयमरलाई । नेयमरलाई नम्बर १ मा राख्नेमा ब्राजिलकै कप्तान थिएगो सिल्भा पनि थिए ।

नेपालको राष्ट्रिय टिमका कप्तान हुन्, किरण चेम्जोङ । उनले एमबाप्पेलाई पहिलो स्थानमा राखेर मतदान गरे । त्यसपछि मात्र मेसी र लुका मोडरिचलाई मत दिए । अनि प्रशिक्षक प्रवेश कटुवालले भने मेसीलाई नै पहिलो स्थानमा राखे, त्यसपछि भने एमबाप्पे र भिनिसियस जुनियरलाई रोजे । यो फिफाको उत्कृष्ट खेलाडीको अवार्डको खराब पक्ष के भने यसमा चर्चा खालि विजेता पुरुष खेलाडीकै मात्र हुन्छ, अरू सबै त्यसको ओझेलमा पर्छन् ।

नत्र अवार्ड त अरू धेरै विधामा पनि थियो । सन् २०२२ को वर्षको उत्कृष्ट महिला खेलाडी बनिन्, बार्सिलोनाकी एलेक्सिया पुटेलास । उनले दोहोर्‍याएर यो अवार्ड जितेकी हुन् । अर्जेन्टिनाकै विश्वकप विजेता लियोनल स्कालोनी उत्कृष्ट प्रशिक्षक चुनिए । यस्तै उत्कृष्ट गोलरक्षक रहे, अर्जेन्टिनाकै इमिलिनो मार्टिनेज । महिलातर्फ उत्कृष्ट प्रशिक्षक सरिना वेगमन रहिन् । यी डच प्रशिक्षककै नेतृत्वमा इंग्ल्यान्डले महिलातर्फको युरो जितेको थियो ।

कार्यक्रमका क्रममा भर्खरै जसो निधन भएका पेलेलाई पनि सम्झिइयो । कार्यक्रमका क्रममा पेलेकी श्रीमती मारसियालाई सम्मानस्वरूप विशेष ट्रफी प्रदान गरिएको थियो । त्यस अवसरमा उनले पनि गज्जबका केही शब्द बोलिन् । उनले भनिन्, ‘म भगवान्लाई तीन शब्द भन्न चाहन्छु । उनले हामीलाई एडिसन दिए । एडिसनले हामीलाई पेले दिए । अनि बाँकी विश्वले पेलेलाई आफ्नो बनाए । म कृतज्ञ, कृतज्ञ र कृतज्ञ छु ।’

युवा ग्यालरी

हिमेश

Link copied successfully