विद्रोही सुरक्षा

फाल्गुन १६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सुरक्षा पन्त र कमलमणि नेपालको मुख्य अभिनय रहेको फिल्म ‘बहाव’ को ट्रेलर सार्वजनिक भएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म आगामी चैत २४ गते रिलिज हुँदै छ ।

प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्मको ट्रेलरमा सुरक्षालाई प्रेमी, विद्रोही र पागलपन भावमा देखाइएको छ । काम र विदेश जानुभन्दा पनि क्रान्ति गर्ने सोच सुरक्षामा देखाइएको छ । ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख विषय बनाइएको फिल्मको ट्रेलर सुरक्षा वरपर घुमेको छ । 

राजधानीमा सोमबार आयोजित कार्यक्रममा अभिनेत्री सुरक्षाले फिल्ममा जोडिनु आफैंका लागि सुखद क्षण भएको बताइन् । ‘कुनै फिल्म आउँछन्, जान्छन्, तर यो फिल्मका लागि मेरो बुझाइ फरक छ । किनकि यस्तो फिल्म दर्शकमाझ आउनुपर्छ,’ सुरक्षाले भनिन्, ‘बहाव परिवारभित्रको विद्रोहको कथा हो । यसले नेपालको अधिकांश परिवारको कथा भन्छ ।’

लेखक तथा निर्देशक कँडेलले लकडाउनका बेला ‘बहाव’ लेखेको बताए । ‘यो फिल्मसँग जोडिएका घटना, किस्सा धेरै छन् । तर जुन कथा मैले लेखें, त्यसमा निर्माता श्रीधर पौडेल सहमत हुनु मेरा लागि ठूलो उपलब्धि थियो,’ उनले भने, ‘हामी सुटिङका लागि चितवन जाने तयारी गरिरहँदा निर्माता श्रीधर पौडेलको बोली अस्वस्थताका कारण रोकियो । त्यस्तो तनावको अवस्थामा पनि उहाँले मलाई पूर्ण रूपमा विश्वास गरेर सबै जिम्मेवारी दिनुभयो ।’

निर्माता श्रीधर पौडेलले निर्देशक कँडेलको कथाबाट प्रभावित भएपछि आफू लगानी गर्न राजी भएको खुलाए । ‘उसको स्क्रिप्ट मैले पढेपछि कथा फरक लाग्यो । किनकि मैले यसअघि फरक कथाको गोपी पनि बनाएको थिएँ । त्यही कारण बहावको कथाले मलाई छोयो,’ उनले भने । श्रीधरले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए ।

अर्का अभिनेता पवन श्रेष्ठले आफ्ना लागि ‘बहाव’ भए पनि व्यावसायिक कलाकारसँग काम गर्न पाउँदा खुसी लागेको बताए । त्यस्तै सूर्य शर्मा भट्टले आफू युनिभर्सिटीको प्रोफेसर भएको खुलाउँदै पहिलो पटक अभिनय गर्न पाउँदा उत्साहित भएको बताए ।

फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउन्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायांकन छ । फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एन्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउन्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जित क्षत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दै छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully