दाहालको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहालको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ

हरिराम उप्रेती

गोरखा — प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ का विजयी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन खर्च विवरण पेस गरेका छन् । निर्वाचनमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण उनले जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन् । 

दाहालको उम्मेदवार प्रतिनिधि भगवती भट्ट तिवारीमार्फत निर्वाचन खर्च विवरण पेस भएको जिल्ला निर्वाचन कार्यालयका गोरखामा प्रमुख टेकबहादुर कोइरालाले जानकारी दिए । सवारी साधन, प्रचार सामग्री, प्रचारप्रसार, प्रतिनिधि परिचालनमा उक्त रकम खर्च भएको दाहालले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा उल्लेख छ ।

मतगणना सकिएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । दाहालले मंसिर १५ गते नै खर्च विवरण पेस गरेका हुन् । गोरखा–२ को मतदाता संख्या, क्षेत्रफल, र मतदान केन्द्रको आधारमा प्रतिनिधिसभा तर्फ २९ लाखसम्म खर्चको हद तोकिएको थियो । गोरखामा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएकामध्ये ४९ मध्ये १९ जनाले बुधबारसम्म खर्च विवरण बुझाएका छन् ।

प्रकाशित : मंसिर २१, २०७९ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीमा ४ महिनायता सवारी दुर्घटनामा १ सय ६५ ले ज्यान गुमाए

सन्जु पौडेल

तिलोत्तमा — लुम्बिनी प्रदेशमा पछिल्लो चार महिनायता सवारी दुर्घटनाबाट १ सय ६५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा १ सय ७५ जना घाइते भए । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा परी १ सय ९ जना सामान्य घाइते भएका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका सडक दुर्घटनामा धेरै दुर्घटना हुनेमा रुपन्देही जिल्ला पहिलो नम्बरमा देखिएको छ । रुपन्देहीमा गएको चार महिनामा १ सय १४ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनाबाट ३८ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक रहेको छ । दुर्घटनामा परी ६१ जना गम्भीर घाइते भएका छन् भने १९ जना सामान्य घाइते भएका छन् । त्यस्तै, कपिलवस्तु जिल्लामा गत चार महिनामा ६० वटा सवारी दुर्घटना भएकोमा २७ जनाको मृत्यु भएको छ । ४४ जना गम्भीर घाइते भएका छन् । १२ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

सो अवधिमा बाँके जिल्लाभर ५८ वटा सवारी दुर्घटना भएकोमा २२ जनाको मृत्यु भएको छ । २८ जना मानिस गम्भीर घाइते भएका छन् भने १७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । दाङमा ५२ वटा सवारी दुर्घटना भएकोमा १५ जनाको मृत्यु भएको छ । ३५ जना गम्भीर घाइते भएका छन् । नवलपरासी पश्चिममा २७ दुर्घटना भएकोमा १२ जनाले ज्यान गुमाएका छन् । १४ जना गम्भीर घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बर्दियामा २६ वटा सवारी दुर्घटना भएकोमा ९ जनाले दुर्घटनाबाट ज्यान गुमाएका छन् । २२ जना गम्भीर घाइते भएका छन् ।

मंसिर महिनाको १९ दिनमा प्रदेशमा ३१ दुर्घटनाबाट बाट २३ जनाको ज्यान गुमाएका छन भने २६ जना गम्भीर घाइते छन् । तीव्र गतिका कारण सवारी नियन्त्रण हुन नसकेर, ट्राफिक लेनको प्रयोग नगर्दा धेरै दुर्घटना हुने गरेको पाइएको हो ।

पाल्पामा २१ दुर्घटना भएकोमा १२ जनाले ज्यान गुमाएका छन् भने १४ जना गम्भीर घाइते भएको देखिएको छ । प्यूठान मा १६ वटा दुर्घटना भएकोमा १२ जनाले दुर्घटनाबाट ज्यान गुमाएका छन् । ३४ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अर्घाखाँचीमा चार महिनामा १० वटा दुर्घटना भएकोमा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । रोल्पामा ८ वटा सवारी दुर्घटना भएकोमा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएको प्रहरीले जनाएको छ । गुल्मीमा ३ वटा दुर्घटना भएकोमा ३ जनाको मृत्यु भएको छ भने पूर्वी रुकुममा ३ वटा दुर्घटना भएकोमा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको ट्राफिक प्रहरीको तथ्यांक छ । विशेष गरेर तराई क्षेत्रमा दुई पांग्रे मोटरसाईकलबाट धेरै दुर्घटना भइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

तीव्र गतिका कारण सवारी नियन्त्रण हुन नसकेर, ट्राफिक लेनको प्रयोग नगर्दा धेरै दुर्घटना हुने गरेको पाइएको हो । लम्बिनी प्रदेशमा कुल ३ सय ९८ दुर्घटना भएकोमा दुई पांग्रे मोटरसाइकल मात्र २ सय ४० रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी निरीक्षक अमृत भण्डारीले बताए ।

दुर्घटनाको मुख्य कारण भनेको चालकको लापरवाही, सडकको दुरावस्था, तीव्र गति, ट्राफिक लेनको प्रयोग नगर्दा दुर्घटना हुने गरेको उनले बताए । दुर्घटना न्यूनीकरण गर्न विभिन्न जिल्लाहरूमा विभिन्न खालका सवारी साधनका चालक तथा सहचालकहरूलाई ट्राफिक नियमबारे पढाउने प्रशिक्षणसमेत गराउँदै आएको भण्डारीले बताए ।

प्रकाशित : मंसिर २१, २०७९ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×