काठमाडौँ — निर्वाचन आयोगले मोरङ ४ मै निर्वाचन हुने गरी काम गर्ने तयारी गरेको छ । मोरङ क्षेत्र नम्बर ३(१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा के हुन्छ भन्ने विषयमा आयोगले स्पष्ट पारेको छ ।
थापाको मंगलबार बिहान डेंगी संक्रमणबाट निधन भएको थियो । आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले प्रदेशसभा उम्मेदवारको निधनको जानकारी आयोगलाई रहेको र त्यसबारे आयोगले पुनः मनोनयनलगायत सबै प्रक्रिया पूरा गर्ने र मंसिर ४ मा नै मतदानको तयारी भइरहेको बताए ।
'निर्वाचनको नयााँ कार्यक्रम प्रकाशित हुन्छ । आयोगले केन्द्रबाट निर्णय गरेर पठाइदिन्छ र सम्बन्धित निर्वाचन अधिकृतले सम्बन्धित दललाई मात्रै अवसर प्राप्त हुने गरी फेरि उम्मेदवारी दिने गरी कार्यतालिका प्रकाशित गर्छ,' उनले भने, 'निर्वाचनका सबै प्रक्रिया छोटो समयमा सम्पन्न गरेर मंसिर ४ गते नै त्यो क्षेत्रमा पनि निर्वाचन हुन्छ ।'
मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन हुन लागेको छ ।
