३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

एमालेलाई सघाएको आरोपमा गण्डकी प्रदेशका मन्त्री आचार्य बर्खास्त

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बर्खास्त गरेका छन् । आसन्न निर्वाचनमा एमालेको पक्षमा लागेको भन्दै उनलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

एमालेलाई सघाएको आरोपमा गण्डकी प्रदेशका मन्त्री आचार्य बर्खास्त

मन्त्रिपरिषद्‍मा हेरफेर गरिएको पत्र मुख्यमन्त्री कार्यालयबाट प्रदेशप्रमुख पृथ्वीमान गुरुङसमक्ष पुगिसकेको छ । मन्त्री आचार्यलाई हटाउन मुख्यमन्त्रीले गरेको सिफारिस प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट स्वीकृत भइसकेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए ।

एमालेलाई सघाएको भन्दै सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले तुरुन्त हटाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भनेका थिए । तर मुख्यमन्त्री आफ्नै गृह जिल्ला पूर्वी नवलपरासी रहेका र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमेत चितवनस्थित घर गएकाले बर्खास्तीमा ढिलाइ भएको थियो । प्रदेशप्रमुख गुरुङ र मुख्यमन्त्री पोखरेल मंगलबार दिउँसो पोखरा आएलगत्तै मन्त्री आचार्यलाई हटाइएको हो ।

आचार्यले भने आफूलाई किन हटाइएको भन्ने बारे केही थाहा नभएको बताए । ‘मैले सम्हालेको मन्त्रालय एक नम्बर बनाएर छाडिदिएको छु,’ उनले टेलिफोनमा भने, ‘राजनीतिक रूपमा म स्वतन्त्र छु । उहाँहरू पनि (मुख्यमन्त्री) स्वतन्त्र हुनुहुन्छ ।’ उनले आफूले बागलुङसमेत पुगेर एमालेको प्रचार नगरेको दाबी गरे । उक्त मन्त्रालय मुख्यमन्त्री आफैले सम्हाल्ने भएका छन् ।

आचार्य २०७८ जेठ २९ मा बिनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए । पछि असार ११ मा उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए । आचार्य गत निर्वाचनमा गोर्खाबाट बाबुराम भटराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए ।

मंसिर ४ गतेको निर्वाचनमा उनलाई टिकट नदिएर फणिन्द्र देवकोटालाई प्रदेशसभामा उम्मेदवार बनाइएको छ । देवकोटा माओवादीको चुनाव चिन्हबाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका हुन् । आफूलाई पार्टीले फेरि उम्मेदवार नबनाएपछि आचार्य असन्तुष्ट रहेको बताइन्छ ।

पार्टीका आधिकारिक उम्मेदवार देवकोटाविरुद्ध मन्त्री आचार्यले बागी उम्मेदवारी दिएर पछि फिर्ता लिएका हुन् । यो निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउन एमालेसँग साँठगाँठ गरेको भन्दै उनलाई हटाइएको हो ।

मन्त्री आचार्य मन्त्रीकै हैसियतमा एमालेको प्रचारमा बागलुङलगायतका जिल्लामा समेत सक्रिय रहेको पाइएपछि पार्टी उनकै पार्टीको निर्देशनमै हटाइएको स्रोतको भनाइ छ ।

प्रकाशित : कार्तिक २२, २०७९ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?