स्थानीय चुनावमै हामी कहाँ गठबन्धनले नतिजा निकालिसकेको अवस्था हो । अब मैले खाली स्थानीय चुनावमा गठबन्धनले पाएको मतलाई जोगाउनुपर्नेछ, र अहिलेको मेरो मिहिनेत भनेको मतान्तर बढाउनका लागि हो ।
काठमाडौँ — आसन्न निर्वाचनमा देशभर मुलतः नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को गठबन्धनबीच मुख्य प्रतिस्पर्धा छ । अहिले उम्मेदवारहरू मतदाता रिझाउन घरदैलो गरिरहेका छन् ।
यसै सन्दर्भमा भक्तपुर-२ मा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार दुर्लभ थापा क्षेत्रीसँग ईकान्तिपुरका प्रकाश धौलाकोटीले गरेको संक्षिप्त कुराकानी :
चुनावको प्रचारप्रसार कस्तो भइरहेको छ, मतदाताको प्रतिक्रिया के छ ?
म घरदैलो गरिरहेकै छु । जताततै उत्साह छ । सायद यो चुनाव जित्ने माहोल होला, पार्टीका साथीहरू, गठबन्धनका साथीहरू एकदमै उत्साहित भएर लाग्नुभएको छ । टोल–टोलमा, चोकहरूमा पुगेर अहिले मतदातासँग भोट मागिरहेको छु, उहाँहरूले स्वागत गर्नुभएको छ, माया र शुभकामना दिइरहनुभएको छ । यो सबै कुराले म पनि उत्साहित छु । म नेपाली कांग्रेसको जिल्ला सभापति हुँ । म आफैँ उम्मेदवार भएपछि अहिले पार्टीका, गठबन्धनका साथीहरू सबै एकढिक्का भएर प्रचार प्रसारमा लाग्नुभएको छ । त्यसकारण अहिले जुन उत्साह र माहोल छ, यो अपूर्व छ ।
मतदाताका मागहरू चाहिँ के छन् ?
यहाँका मतदाताको ठूलो माग केही पनि छैन । उहाँहरू राज्यबाट पाउनुपर्ने आधारभूत सेवा सुविधासहितको जीवन बाँच्न चाहानुहुन्छ । देशमा स्थायी सरकार होस्, जनताले निर्वाचित गरेको संसद्ले पूरा समय काम गरोस् । जनताको दैनिकीका विषयमाथि संसद्मा छलफल होस्, सरकारले समाधान गरोस् । स्थानीय सरकारले प्रभावकारी सेवा प्रदान गरोस् । सबैको जोड यही कुरामा हो । त्यसबाहेक स्थानीय आवश्यकता र मागहरू पनि छन् ।
सडक, खानेपानी, ढल लगायत विभिन्न क्षेत्रमा स्थानीय विकासका योजनाहरू पनि माग भएको छ । मलाई के लाग्छ भने जहाँ मानिसहरूको बसोबास छ, त्यहाँ स्थानीय सरकारले कम्तिमा आधारभूत सुविधाहरू पुर्याइदिनुपर्छ । सडक, ढल, खानेपानी भनेको त आधारभूत सेवा सुविधाको कुरा हो, यो त सरकारको ड्युटी हो गर्नैपर्छ र गरिरहेको छ । यो नियमित प्रक्रिया नै हो । आमनिर्वाचनबाट निर्वाचित भएको सांसदले क्षेत्रमा आधारभूत सुविधा पुर्याउन लाग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । नागरिकलाई आधारभूत सेवा सुविधा पुर्याउनु त सरकारको ड्युटी नै हो नि !
तपाईंका चुनाव एजेन्डाहरू चाहिँ के–के हुन् ?
यो संसदीय निर्वाचन हो । यसमा राष्ट्रिय मुद्दाहरूले नै महत्व राख्छन् । दलीय व्यवस्थामा व्यक्तिभन्दा पनि पार्टी केन्द्रमा हुनुपर्छ भन्ने लाग्छ । अहिले नेपाली कांग्रेसको नेतृत्वमा जुन गठबन्धन बनेको छ, यो यतिकै बनेको चुनावी गठजोड मात्रै होइन, नेकपा एमालेले जसरी संसद्लाई मास्ने, अहिलेको व्यवस्था र संविधानमाथि नै आक्रमण गर्ने कदम चाल्यो, त्यसकाविरुद्ध बनेको गठबन्धन हो, यो चुनाव पनि त्यही हो । यो व्यवस्था जोगाउने कि मास्ने ? जनप्रतिनिधि संसद्, लोकतन्त्र र संविधान मास्ने कि त्यसलाई बचाएर लैजाने ? भन्ने प्रतिस्पर्धा हो । राजनीतिक रुपमा यो नै अहिले सबैभन्दा महत्वपूर्ण विषय हो ।
यसबाहेक नेपाली कांग्रेसले घोषणापत्रमार्फत् सबै कुराहरू प्रस्तुत गरेको छ । मुलुकको आर्थिक विकास, पूर्वाधार, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रहरूमा भोलि बन्ने सरकारले के–के गर्न सक्छ भनेर हामीले प्रष्टसँग भनेका छौँ । यहाँ स्थानीय एजेण्डाको कुरा गर्ने हो भने हामीले क्षेत्रको विकासलाई जोड नदिने कुरै छैन ।
हामी राजधानीमै छौँ । निरन्तर विकासका योजनाहरू पनि सञ्चालित छन् । तर, खानेपानी, सडक, ढल, विद्युत्, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा काम गरेर कहिल्यै नसकिने रहेछ । मैले यी सबै कुरालाई आधारभूत कुराहरू भनेको छु । आधारभूत सेवा सुविधाहरू यहाँबाट जसले जितेपनि यहाँ बन्नुपर्छ, बन्छन्, नागरिकले प्राप्त गर्नैपर्छ । तैपनि मैले क्षेत्रका टोल–टोलसम्म पुगेर त्यहाँका जनताका समस्याहरूलाई नजिकबाट बुझेको छु । स्थानीय सरकार छ, भोलि प्रदेश र केन्द्रमा पनि गठबन्धनकै सरकार बन्दैछ । यहाँका नागरिकलाई आधारभूत सुविधा उपलब्ध गराउने कुरामा म प्रतिबद्ध छु ।
अहिले तपाईंको जो प्रतिस्पर्धी हुनुहुन्छ, उहाँ यो क्षेत्रमा विकासप्रेमी नेताकोरुपमा छवि बनाउनुभएको छ । तपाईंहरूबीचको प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ?
मेरो प्रतिस्पर्धी जो हुनुहुन्छ, उहाँ निवर्तमान सांसद हो । उहाँले गठबन्धनका कारण त्यो बेला चुनाव त जित्नुभयो, तर अहिले परिस्थिति त्यस्तो छैन । मतदाताहरू उहाँसँग खुसी छैनन् । एकदमै धेरै असन्तुष्टि छ । त्यसकारण यसपटक पनि मतदाताले परिवर्तन खोजिरहेका छन् । त्यो परिवर्तनको बाहक म बन्न सक्छु भन्ने लाग्छ ।
०७४ बामगठबन्धन भएका कारण उहाँको पक्षमा माहोल आयो, उहाँले जित्नुभयो । तर, तपाईंलाई थाहै छ, यो त्यही क्षेत्र हो, यहाँ ०७० चुनावमा एमाले तेस्रो स्थानमा थियो । अब यसपालि हाम्रो प्रतिस्पर्धाको कुरा गर्नुहुन्छ भने मैले चुनाव जित्दैछु, यो कांग्रेसको राम्रो संगठन भएको क्षेत्र हो, हाम्रो गठबन्धन पनि छ । स्थानीय चुनावमै हामी कहाँ गठबन्धनले नतिजा निकालिसकेको अवस्था हो । अब मैले खाली स्थानीय चुनावमा गठबन्धनले पाएको मतलाई जोगाउनुपर्नेछ, र अहिलेको मेरो मेहिनेत भनेको मतान्तरलाई बढाउनका लागि हो ।
अर्को कुरा तपाईंले जुन विकासप्रेमी नेताको कुरा गर्नुभयो, त्यो विज्ञापन धेरै भएको मात्रै हो, खास उहाँले केही पनि गर्नुभएको छैन । उहाँको ठाउँमा अरुले जितेको भएपनि यहाँको सडक, खानेपानी, ढल बन्नुपर्छ, बन्दैछन् । यो सरकारले गर्ने नियमित काम हो । आधारभूत विकासलाई कसैले रोक्न सक्दैन । उहाँले अलग्गै योगदान गरेर खासै त्यस्तो प्रभावशाली काम गर्न सकेको मैले देखेको छैन । बरू सरकारले नियमित काममा खर्च गरेको बजेटको हिसाब जोडेर मैले यति बजेट भित्राएँ भनेर विज्ञापन चाहिँ राम्रोसँग गर्नुभएको छ, त्यसको श्रेय लिन खोज्नुभएको छ । तर, यहाँका मतदाता त्यति अबुझ छैनन् ।
तपाईले जित्नुहुन्छ त, जित्ने आधारहरू नि ?
म कांग्रेसको भक्तपुर सभापति हुँ । यहाँ मैले गएको १५ वर्षदेखि निरन्तर संघर्ष गरेको छु । क्रियाशील सदस्यमात्रै ११ हजार छन् । टोल–टोलसम्म कांग्रेसको बलियो संगठन छ । म अहिले दोहोरिएर सभापति छु, तर सभापति नहुँदा पनि मैले यो ठाउँको विकासको लागि, यहाँका समस्याहरूको समाधानका लागि प्राथमिकताका साथ काम गरेको छु । यहाँका मतदातासँगै खाएर, डुलेर काम गरेको छु । यो हामीले ०१५ सालमै चुनाव जितेको ठाउँ हो ।
०४८ मा, ०५६ मा र ०७० मा पनि हामीले यहाँ चुनाव जितेकै हौँ । त्यो भनेको यो कांग्रेसकै बलियो जनाधार भएको क्षेत्र हो । एमाले त मैले अघि पनि भने, ०७० सालसम्म यहाँ एमाले तेस्रो हो । ०७४ मा गठबन्धन भएका कारण एमालेले जित्यो । तर, यसपटक एमाले फुटेको छ । माओवादी सहित अरु दल हामीसँग गठबन्धनमा छन् । र, त्योभन्दा धेरै यसपटक भक्तपुर कांग्रेसमा जनलहर छ, कार्यकर्तामा उत्साह र एकता छ ।
यस्तो उत्साह र एकता विगतमा थिएन । साथीहरू भन्दै हुनुहुन्छ, यसपटक पनि जितिएन भने त कहिल्यै जितिदैंन भनेर । त्यसकारण यसपटक मलाई यहाँबाट चुनाव जित्न कठिनाई छैन । मलाई मतदाताले माया नै गर्नुभएको छ ।
