मामा-भान्जाबीच प्रतिस्पर्धा

कार्तिक २२, २०७९

कान्तिपुर संवाददाता

म्याग्दी — जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । उक्त क्षेत्रमा एमाले र सत्ता गठबन्धनबाट रघुगंगा गाउँपालिका–२ भगवतीका एकै वडा मामा–भान्जा उम्मेदवार बन्दा चुनाव थप रोचक बन्न पुगेको हो । एमालेका पुराना देवेन्द्रबहादुर कटुवालविरुद्ध नाताले नजिकका भान्जा पर्ने माओवादी केन्द्रका हरिबहादुर भण्डारी उम्मेदवार छन् । कटुवालकी आमा र भण्डारीकी हजुरआमा (आमाकी आमा) सहोदर दिदीबहिनी हुन् । 

यो क्षेत्रमा बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका पर्छन् । गत स्थानीय तह निर्वाचनमा बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एमाले जितेको छ । रघुगंगामा भने कांग्रेसले जितेको छ । जिल्लामा धेरै मतदातामध्ये पर्ने रघुगंगा गाउँपालिका–२ भगवतीमा एमालेले वडाध्यक्ष जितेको छ । 

कटुवाल लामो समयदेखि शिक्षण पेसामा रहेका, पूर्वभगवती गाविस अध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख र एमाले जिल्ला अध्यक्षसमेत रहेका छन् । सत्ता गठवन्धनमा माओवादीले पाएको प्रतिनिधिसभा सदस्यको टिकट रघुगंगाकै कांग्रेस नेता खमबहादुर गर्वुजालाई दिएर, आफूले प्रदेश निर्वाचन क्षेत्र रोजेर रघुगंगा–२ भगवतीका मतदातालाई फुटाउने रणनीति अपनायो । त्यसैले गठबन्धनले मामाविरुद्ध युवा उमेरका भान्जा ‘तुरुप’ हानेको हो ।

तथापी रघुगंगा गाउँपालिकामा गठवन्धनलाई अग्रता कायम राख्ने र एमालेलाई विपक्षीको अग्रता घटाउन चुनौती छ । गठबन्धनले कटुवाललाई ‘चिसो’ भनी आलोचना गर्छन् । मामा–भान्जा आआफ्ना चुनावी एजेन्डा बोकेर निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा छन् । तर कटुवाल र भण्डारीको उम्मेदवारीलाई लिएर भगवती गाउँ भने नराम्रोसँग द्वन्द्वमा फसेको छ । स्थानीयका सामाजिक सञ्जालमा व्यक्ति घोचपेचमा उत्रेका छन् । भगवतीको चुनाव विचार, सिद्धान्त र योजनाका आधारमा मत माग्ने भन्दा भाइखलक र रगत, वंशको आधारमा समाज विभाजित हुँदा जन्म–मृत्यु संस्कारका गतिविधिसमेत प्रभावित हुन थालेका छन् । 

‘उम्मेदवारद्वय सहज रूपमा चुनावी मैदानमा शालीन रूपमा प्रस्तुत छन् । तर स्थानीय मतदाताबीच कित्ताकाट यति गहिरिएको छ कि भाइखलक, कुलवंशबाट समेत निकाल्नुपर्नेसम्मका गतिविधिले एउटै समुदायका अझ नानागोता बीच फरक–फरक पार्टीबाट भएको उम्मेदवारी समुदायका लागि हानिकारक देखिएको छ,’ स्थानीय धिरेन खत्रीले भने, ‘चुनावमा मामा–भान्जा जसले जिते पनि मिलेको समाज भने भाँडिएको छ । मन चुँडिएका छन् । यो नराम्रो हो ।’

कान्तिपुर

Link copied successfully