गुनासा नसुन्ने नेताप्रति जनता उदासीन

उम्मेदवारछँदा ज्यूहजुरी गर्दै मतदाताका घरखेत पुग्ने गरेपनि जितेपछि टेर पुच्छर नलगाउने गरेको स्थानीयको आरोप

कार्तिक २२, २०७९

अगन्धर तिवारी

पर्वत — यतिबेला निर्वाचनको माहोलले पुरै देश तातेको छ । विभिन्न राजनीतिक दल, तिनका उम्मेदवार र कार्यकर्ता मत माग्दै सर्वसाधारणको घरदैलो चाहर्न थालेको एक महिना पुग्न थालिसकेको छ । मत माग्न घरघरै हात जोड्दै र खुट्टा ढोग्दै उम्मेदवार घरदैलोमा पुगेका छन् ।

त्यति मात्र होइन उम्मेदवारहरू खेतबारीमासमेत पुग्न थालेका छन् । सत्ता गठबन्धन तथा एमालेको मुख्य प्रतिस्पर्धा रहेको पर्वतमा दुवैतर्फका उम्मेदवारले चुनाव प्रचार अभियानलाई तीव्रता दिइरहेका छन् । त्यसबाहेक स्वतन्त्र उम्मेदवार पनि भ्याएसम्मको प्रचार गरिरहेका छन् ।

उम्मेदवार घरदैलो गरिरहँदा मतदाता भने वर्षभरि खाने खेती थन्क्याउने चटारोमा छन् । यतिबेला उम्मेदवारको नमस्कार फर्काउनसमेत किसानलाई समय छैन । ‘समय होस् पनि कसरी ?’ फलेवास नगरपालिका–६ का सुवास लामिछानेले भने, ‘वर्षभरि खाने खेती थन्क्याउने यही बेला हो । उनीहरूको पछि लागेर हिँडेर यहाँ कसले गर्दिन्छ । चुनावपछि सबैको अवस्था थाहा भएकै को । हामी मर्नै लागेर भेट्न गए पनि मुन्टो बटार्दै बाटो लाग्छन् ।’ 

दैलामुनिको बारीमा सिँचाइको माग गरेको पुस्तौं बित्दासमेत टेरपुच्छर नलगाएका नेताप्रति उनले निराशा प्रकट गरे । ‘बाह्रै महिना सिँचाइ सुविधा हुँदो हो त कति परिवारले तरकारी खेती लगाएरै आम्दानी गर्थे,’ लामिछानेले भने, ‘पाँच वर्षमा एकपटक भोट माग्न आउँदा गर्दिन केही भन्दैनन् । चुनाव जितेपछि पारा उही हो । अब कसको विश्वास गरौं ?’ सिँचाइ अभावकै कारण कैयौं युवा विदेश पलायन भएको उनले सुनाए । खानीगाउँमा सिँचाइको सुविधा सहज भए कैयौं परिवारले तरकारी र नगदेबालीबाट लाखौं आम्दानी गर्न सक्ने स्थानीय पंकज क्षेत्री बताउँछन् ।

उम्मेदवार मत माग्दै घरमा पुग्दा कुश्मा–१० की सारदा अधिकारी बाँदर लखेट्न खेतमा दौडिंदै थिइन् । असारभरि दुःख गरेर लगाएको धान पाक्ने बेलामा एक दिन मात्रै रुग्न छोड्यो भने बाँदरले छिनमै सखाप पारिदिन्छ । गत भदौ अन्तिम साता पसाउन लागेको धानमा एकदिन पसेको बाँदरको बथानले आधाभन्दा बढी नोक्सान गरिदिएको उनी सुनाउँछिन् । ‘लौ न बाँदरबाट खेती जोगाउने उपाय सिकाइदिनोस् भन्दै कैयौंपटक वडा र नगरपालिकालाई गुहार्‍यौं,’ अधिकारीले भनिन्, ‘भोट माग्ने बेलामा हुँदैन र सक्दैनौं केही भन्दैनन् । चुनावपछि गर्ने केही होइनन् ।’ नजिकैको मल्याङ्दी खोलामा पुलको माग गरेको पुस्तौं बित्दसमेत मागको सुनुवाइ नभएपछि बर्खामा पारितर्फको खेतमा आउजाउ गर्न र खेतीबाली लगाउन उस्तै हैरानी खेप्नुपरेको उनको गुनासो छ ।

पैयुँ–७ की सीतादेवी बस्यालको उस्तै गुनासो छ । चुनावमा एकपटक मात्रै उम्मेदवारको अनुहार देखेर मतदान गर्दै आएकी उनलाई आफ्नो पुस्ता एकोहोरो मतदान गरेर मात्रै बित्नेमा चिन्ता छ । ‘हामीले ठूलो कुरा कहिल्यै मागेकै छैनौं । गाडीघोडा चाहियो भनेका छैनौं । ठुल्ठूला महल बनाइदिनुपर्‍यो भनेका छैनौं,’ उनले भनिन्, ‘खेतबारीमा पानी चाहियो, बालबच्चा पढाउने गतिलो विद्यालय हुनुपर्‍यो, गाउँसम्म आउने बाटो सजिलो हुनुपर्‍यो, लगाएको खेती ढुक्कले भित्र्याउन पाइयोस् । यस्ता काम पनि गर्न नसक्ने नेतालाई अब हामीले कहिलेसम्म एकोहोरो भोट मात्रै दिइरहने ?’ वर्षभरि खाने खेती बल्लतल्ल बाँदरको पञ्जाबाट उम्काएकी उनलाई यतिबेला राजनीतिक दलका प्रचारका कारण समयमा थन्क्याउन समस्या परेको छ ।

राजनीतिक दल र उम्मेदवार भने घरदैलोमा मत मार्ग्दै गर्दा किसान र मजदुरका ससानाभन्दा पनि महत्त्वाकांक्षी र पूरा गर्नै नसकिने आश्वासन लिएर डुलिरहेका छन् । दुई दशकदेखि ट्र्याकसमेत खुल्न नसकेको कालीगण्डकी करिडोरलाई उम्मेदवारले चुनावी नारा बनाएका छन् । किसानका खेतबारीसम्म बाह्रै महिना सिँचाइको समस्या छ, उम्मेदवारहरूले सडकको कुरा गरिरहेका छन् । खानेपानीको अभावमा कैयौं बस्ती काकाकुल छन्, उम्मेदवार सुरुङमार्गको कुरा गरिरहेका छन् । बेरोजगारीले हजारौं युवा विदेश पलायन भइरहेका छन्, उम्मेदवार औद्योगिक ग्राम र उद्यमका कुरा गरिरहेका छन् । उम्मेदवारले पूरा गर्नै नसकिने आश्वासन दिनुभन्दा क्रमिक रूपमा पञ्चवर्षीय योजना बनाएर सोहीअनुसार काम गर्नसके मात्रै मतदाताको मन जित्न सकिने संघीय संसद्मा स्वतन्त्र उम्मेदवारी दिएका अरुण पौडेल बताउँछन् । क्रस खुकुरी चुनाव चिह्न लिएर प्रचार अभियानमा रहेका पौडेलले आफूले सक्ने जति मात्रै वाचापत्र लिएर जिल्ला दौडाहमा लागेको बताए ।

अगन्धर

Link copied successfully