कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

आगामी निर्वाचनले प्रतिगामी शक्तिलाई धक्का दिन्छ : भट्टराई

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन् । 

आगामी निर्वाचनले प्रतिगामी शक्तिलाई धक्का दिन्छ : भट्टराई

बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई लड्ने समय नहुने भएकालै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पारे ।

जनताका आकांक्षाहरु दिनप्रतिदिन बढिरहेकाले त्यसलाई पूरा गर्न गठबन्धन बनेको भट्टराईको दाबी थियो । भट्टराईले मंसिर ४ को निर्वाचनले प्रतिगामी शक्तिलाई निर्णायक ढंगले धक्का दिने उल्लेख गरे । संघीय लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नबसेको उल्लेख गर्दै आफूले माओवादीसँग सहकार्य गरिरहेको उनले बताए ।

‘अहिलेको अवस्था विशिष्ट हो । २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्‍यौं । त्यसैभित्र रहेर लुकेर बसेका शक्तिहरु तिनले संविधानलाई उल्ट्याउने दुष्प्रयत्न गरे । तिनलाई अघि सारेर प्रतिगामी शक्ति, राजावादी शक्तिले बोकेर यो संविधानलाई धरापमा पार्ने प्रयत्न गरे । कुचेष्टा गरे, त्यसकै विरुद्धमा अहिले हाम्रो यो गठबन्धन हो । यो निर्वाचनमा पनि प्रतिगमनकारी शक्तिलाई पराजित गर्न सकेनौँ भने, फेरि अघि आउन दियौँ भने संघीय लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर खतरा छ । ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई समय र छुट छैन । जनताका आकंक्षा धेरै अघि गइसके, त्यसैले यसको रक्षा गर्नका लागि हामी एक ठाउँमा आएका हौँ । मंसिर ४ को निर्वाचनले प्रतिगामी शक्तिलाई निर्णायक ढंगले धक्का दिन्छ । अग्रगामी शक्तिलाई स्थापित गर्छ । त्यसअर्थमा हाम्रो सहकार्य हो । अहिलेसम्म यसको जरो त राम्रोसँग गडेकै रहेनछ । जबसम्म लोकतान्त्रिक गणतन्त्रको जरो गाडिँदैन, यसको जगमा विकास र समृद्धिको न्यूनतम आधार तयार हुँदैन त्यतिबेलासम्म हामीले फेरि सहकार्य गरेर जानुपर्छ,'’ उनले भने ।

अध्यक्ष भट्टराईले आफ्नो लक्ष्य नेपालीको विकास, समृद्धि र खुसियाली भएको दाबी गरे । समृद्धि र विकासको काममा पनि गोरखाले नै अग्रणी भूमिका खेल्ने उनले बताए ।

प्रकाशित : कार्तिक १७, २०७९ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?