कास्की — कांग्रेस सहमहामन्त्री जीवन परियार २०७४ को प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालासँग पराजित भए । कास्की क्षेत्र नम्बर १ को १ मा पराजित जीवन यसपटक भने उनै प्रतिस्पर्धीलाई चुनाव जिताउन लागिपरेका छन् । नेपालको राजनीतिमा विरलै कम देखिने दृश्य हो यो, अघिल्लो चुनावका प्रतिस्पर्धीलाई अर्को चुनावमा साथै लिएर हिँड्नु ।
दीपक कोइराला यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । माओवादी केन्द्रबाट उम्मेदवार भएका कोइरालालाई अघिल्लोपटक वाम र यसपटक तोकतान्त्रिक समूहको सहयोग मिलेको छ । अहिले परिस्थिति फेरिएको छ । वाम गठबन्धन हुँदै एकतासम्म पुगेर नेकपा बने पनि केपी ओलीले संसद् विघटन गरेपछि तीन टुक्रा भएको छ ।
संसद् विघटनपछि पाँच दलीय गठबन्धन बनेको छ । स्थानीय चुनावमा सहकार्य गरेका दलले संघ र प्रदेशको चुनावमा पनि गठबन्धनलाई कायम राखेका छन् । पहिले जितेका निर्वाचन क्षेत्रमा त्यही दलको उम्मेदवार हुने गठबन्धनभित्रको सहमतिसँगै कास्की १ (१) माओवादी केन्द्रले पायो । रुपा गाउँपालिका र पोखरा महानगरका वडा २६, २७, २९, ३०, ३१ र ३२ यो क्षेत्रमा पर्छन् । पाँच वर्षमा त्यस क्षेत्रका स्थानीयको मन जितेका कोइरालालाई माओवादी केन्द्रले पुन: उम्मेदवार बनायो । प्रदेशसभामा अर्थ तथा विकास समितिको सभापति भएर लोकप्रिय काम गरेका युवा नेता भएकाले पनि कांग्रेससँगै एमाले कार्यकर्ताले पनि मत दिने माओवादीको आकलन छ ।
कांग्रेस सहमहामन्त्री परियार स्वयं प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा छन् । उनी संघीय सांसद बन्ने निश्चितप्राय छ । अब उनको ध्यान आफ्नो निर्वाचन क्षेत्रमा गठबन्धनको उम्मेदवारलाई जिताउनुमा छ । उनी यतिबेला कास्की १ (१) मा उम्मेदवार कोइरालालाई जिताउन स्थानीयसँग भेटघाट गरिरहेका छन् । गठबन्धनका दलका स्थानीय नेतासँगै छन् । दुई युवा र क्षमतावान नेताको जुगलबन्दी जनताले रुचाएका छन् । महाभारत युद्धमा अर्जुनको रथ कृष्णले हाँकेजस्तै कोइरालालाई जिताउन कांग्रेस नेता परियार सारथिको भूमिकामा उत्रिएका छन् । कोइरालालाई जिताउन मत मागिरहेका छन् ।
यसपल्ट गठबन्धनको जित निश्चित भएको परियार बताउँछन् । ओलीले संसद् विघटन गरिसकेपछि विशेष परिस्थितिमा कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको उनले बताए । ‘हामी हिजो झगडा गरेका आदर्श नमिलेका दल पनि एउटै पार्टी भएर एक ठाउँमा बस्नु चानचुने कुरा होइन,’ उनले भने, ‘कुनै बेला माओवादी र कांग्रेस मिलेर सँगै हिँड्छन् भनेर कसैले पनि कल्पना गरेको थिएनन् । संविधानको रक्षा, राजनीतिक स्थायित्व, समृद्धि र विकास निर्माणका लागि गठबन्धन आवश्यक पर्यो ।’
कोइरालासँग प्रमुख प्रतिस्पर्धी भने एमालेका खगराज अधिकारी छन् । उनी पनि पूर्व मन्त्री हुन् । प्रतिनिधिसभाको लागि उम्मेदवार सिफारिस भए पनि पार्टी अध्यक्ष केपी ओलीले प्रदेशसभामा उम्मेदवार बनाएका थिए ।
कोइरालाले संघ, प्रदेश र स्थानीय तहले उद्यमशीलता प्रवद्र्धन गर्ने नीति बनाउन जरुरी रहेको बताउँदै नीति निर्माणको महत्त्वपूर्ण तहमा पुगेर युवा शक्तिलाई आफ्नै परिवारसँग बस्ने वातावरण बनाउने सपना रहेको बताएका छन् । ‘युवालाई घरपपरिवारसँगै बसेर उद्यमसँग जोड्न कसरी पहल गर्न सकिन्छ भनेर लागिपरेको छु,’ उनले भने ।
आफू स्वयं युवा भएकै कारण उनले युवा लक्षित एजेन्डा अघि सारेका छन् । उनले आफू निर्वाचित भएपछि स्थानीय कृषक, उद्यमी, व्यवसायीको हित हुने गरी कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । विकास निर्माणका योजनासमेत कुनै पक्षपात नगरी आवश्यकताका आधारमा बाँडफाँट गर्ने प्रतिबद्धता उनले दोहोर्याए ।
