सर्लाही — प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ मा सत्ता गठबन्धन तथा एमाले–जसपा गठबन्धनलाई स्वतन्त्र र बागी उम्मेदवारले चुनौती दिएका छन् । चुनावी मैदानमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नागेन्द्र कुमार राय, एमाले गठबन्धनबाट जसपा नेता राकेश मिश्र, स्वतन्त्रतर्फ यस क्षेत्रका निवर्तमान सांसद अमरेशकुमार सिंह र सत्ता गठबन्धनबाट बागी उम्मेदवारी दिएकी मधुमाला यादव छन् ।
यादव रातो पासपोर्ट मुद्दा लागेका माओवादी केन्द्रका नेता शिवपुजन रायकी छोरी हुन् । गठबन्धनका उम्मेदवारलाई स्वतन्त्र र बागीले कडा टक्कर दिइरहेका छन् ।
यसक्षेत्रमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका रायलाई गठबन्धनबाटै बागी माओवादी केन्द्रका नेता शिवपुजनकी छोरी मधुमाला तथा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका निवर्तमान सांसद सिंहको चुनौती छ । यस क्षेत्रमा सिंह र रायको पकड मजवुत हुनुका साथै यी दुई चिर परिचित प्रतिद्वन्द्वी पनि हुन् । बागी उम्मेदवार बनेपछि सिंहलाई कांग्रेसले पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ ।
०४८ सालको चुनावमा कांग्रेसका तर्फबाट महन्थ ठाकुर निर्वाचित भएका थिए । त्यसपछिको मध्यावधी चुनावमा पनि उनले नै बाजी मारे । ०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा उनी कांग्रेस परित्याग गरेर मधेसवादी दल तराई मधेस लोकतान्त्रिक पार्टीबाट उम्मेदवार थिए । कांग्रेसको तर्फबाट भने अमरेश सिंह उम्मेदवार बने । त्यतिबेला मधेसी जनअधिकार फोरमका उम्मेदवार शिवपुजन रायले ठाकुर र सिंहलाई पराजित गरेका थिए ।
पहिलो संविधान सभामा ‘ब्रेक’ भएको कांग्रेसको सिट पुनः ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा अमरेश सिंहले फर्काए । उनले ठाकुर र रायलाई हराउँदै जित निकाल्न सफल भए । ०७४ सालको निर्वाचनमा उम्मेदवार बनेका शिवपुजन रातो पासपोर्ट बिक्री प्रकरणमा मुछिएपछि उनी चुनाव लड्न अयोग्य भए । उनको उम्मेदवारी खारेज भएपछि ०७४ को चुनाव अमरेशले जहजै जित निकाले । कांग्रेसका उम्मेदवारले जित्दै आएको यो क्षेत्रमा राय जितलाई निरन्तरता दिने दाउमा छन् ।
कांग्रेसका निवर्तमान सांसद स्वतन्त्रबाट चुनावमा होमिएपछि यस पटक भने कांग्रेसलाई जित निकाल्न कठीन हुने आंकलन गरिएको छ । कांग्रेसका उम्मेदवार नागेन्द्रले गठबन्धनमा धोका भए पनि आफू नै जित्ने दाबी गरे । उनले कांग्रेसको पकड क्षेत्र पनि रहेकाले आनो जित सुनिश्चित रहेको बताए । ‘गठबन्धनमा माओवादीबाट धोका भएको छ, उनीहरूको आफ्नै उम्मेदवार छन्, तर गठबन्धनका अन्य दलको मलाई सहयोग छ,’ उनले भने, ‘योभन्दा पहिला पनि कांग्रेसकै क्षेत्र रहेकाले मेरो जित सुनिश्चित छ ।’
यता स्वतन्त्र उम्मेदवार अमरेशले यस पटक पार्टीले टिकट नदिएपनि स्वतन्त्रबाट निर्वाचित हुनेमा ढुक्क छन् । उनले दुई कार्यकाल आफ्नो क्षेत्रमा गरेको विकासको चर्चा आफ्ना मतदाता सामु गरिरहेका छन् । ‘पहिला म चार ताराको झण्डा लिएर चुनावी मैदानमा थिए, यस पटक नेपालको झण्डा बोकेर मैदानमा आएको छु, मेरो जितको आधार नै यही हो,’ उनले भने, ‘जनतालाई विकास चाहिएको छ, जुन मैले गरेर देखाएको छु ।’
गठबन्धनको विरुद्धमा माओवादीबाट उम्मेदवार बनेकी मधुमाला पहिलो पटक चुनावमा होमिएकी हुन् । उनलाई पिता शिवपुजनको साथ छ । उनले महिला र युवाले नेतृत्व पाउनु पर्ने भन्दै जनतासामु मत माग्दै आएकी छन् । जसपाका मिश्रले वाम गठबन्धनबाट बागी नभएको र यस क्षेत्रका उखु किसानको पक्षमा निरन्तर वकालत गरिरहेको जनाउँदै आफू नै निर्वाचित हुने दाबी गरे ।
