सल्यान — मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलका उम्मेदवारहरूले घरदैलो गरिरहेका छन् । अहिले खेतीको सिजन चलिरहेकाले अधिकांश उम्मेदवारहरूले किसानकै बारीमै गएर मत मागिरहेका छन् । तर किसानलाई भने पाकेको बाली भिर्याउने र नयाँ बाली लगाउने चिन्ता छ ।
केही उम्मेदवारले किसानलाई धान काट्न, बाली भित्र्याउन र जोत्न सघाइरहेका छन् । उनीहरूले खेतबारीमै पुगेर नमुना मतपत्र दिँदै आफूलाई मतदान गर्न अनुरोध गरिरहेका छन् । तर किसान भने पाकेको धानबाली भित्र्याउन, खेत जोत्न, तोरी र गहुँ छर्नमा बिहानदेखि बेलुकीसम्म व्यस्त छन् । विगतमा उमेदवारसँगै हिँडेर प्रचारप्रसारमा समेत संलग्न हुने किसानहरूसमेत अहिले निर्वाचनको कुनै मतलब नभएको गर्चेका प्रेमबहादुर विष्टले बताए । आवश्यकता परेको बेला सहयोग नगर्ने नेताहरूका कुरा सुन्न अहिले समय नभएको गर्चेकै निर्मला बुढाले बताइन् ।
अहिले किसानले उम्मेदवारहरूका कुरा सुन्न छाडेको कालीमाटी गाउँपालिका–२ माघेका नन्दबहादुर डाँगीले बताए । ‘हामीलाई असार/साउनमा रासायनिक मल चाहिएको थियो, हामीले बारम्बार माग गर्दा अनुदानको मल पाउन सकेनौं,’ उनले भने, ‘न बिउँ समयमा पाइन्छ, नेताले जनतालाई सघाउदैनन् भने हामीले किन उनीहरूको कुरामा वास्ता दिने ?’
