गाउँमा अझै बढेन चुनावी चहलपहल

कार्तिक १७, २०७९

कान्तिपुर संवाददाता

अछाम — मंसिर ४ गते मतदान हुने दिन आउन अब १८ दिन मात्र बाँकी रहँदा ग्रामीण भेगमा अझै चुनावी रौनक छाएको छैन । उम्मेदवारहरू घरदैलो र व्यक्तिगत भेटघाटका माध्यमबाट मत मागिरहेका छन् । चुनावी आमसभा कोणसभाका माध्यमबाट प्रचारप्रसार सुरु भएपछि चुनावी माहोल तात्ने देखिन्छ ।

पाँच वर्षअघि सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभामा निर्वाचनका बखत अछामका दुवै निर्वाचन क्षेत्रका मतदातामा ठूलो उत्साह देखिएको थियो । त्यतिबेलाको जस्तो उत्साह यो पटक भने मतदातामा खासै देखिँदैन । अघिल्लो आम निर्वाचनमा तत्कालीन वाम गठबन्धनले एकताको नारा दिएर बृहद् कम्युनिस्ट पार्टी बनाउने र देशलाई स्थायित्व दिने बचनले मतदाता पनि उत्साहित बनेका थिए । अछामका दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्रमा तत्कालीन वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका थिए भने प्रत्यक्षतर्फ कांग्रेसले कुनै पनि सिट जितेन । अहिले गठबन्धन उल्टिएको छ । तर पनि २०७४ को जस्तो उत्साह देखिँदैन । 

मंगलसेन नगरपालिकाका–१३ का उमेश धामी जितेर जाने प्रतिनिधिसँग खासै अपेक्षा नरहेको बताउँछन् । स्वास्थ्य, सडक र शिक्षा क्षेत्रको विकासको प्रत्याभूति गर्ने उमेदवारलाई मत दिए पनि पूरा नगरेको उनको भनाइ छ । साविकको बस्ती गाविस मंगलसेन नगरपालिकामा परिणत भए पनि नगरपालिकामा हुनुपर्ने पूर्वाधार छैन । बस्तीबासी अहिले पनि आधा दिन पूरै हिँडेर बजार झर्नुपर्ने बाध्यतामा छन् । भौगोलिक रूपमा आफ्नो क्षेत्र निकै विकट रहेको र यहाँका समुदायको शिक्षा र स्वास्थ्यमा पहुँच पुग्न नसक्दा विकासले गति लिन सकेको छैन । 

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully