‘राष्ट्रिय नेता भएपछि आलोचना, समर्थन हुनु स्वाभाविक’
ताप्लेजुङ — घरदैलो अभियानमा फक्ताङलुङ गाउॅपालिका–५ हेल्लोक पुगेका कांग्रेस सभापति गजेन्द्रप्रसाद तुम्याहाङले एमाले उम्मेदवार योगेश भट्टराईविरुद्ध आक्रामक अभिव्यक्ति दिए । संस्कृति मन्त्री हुँदा पाथीभरा क्षेत्रको जग्गा कौडीको भाउमा कम्पनीलाई दिएको, तिम्वूङ पोखरीलाई विष्णु पोखरी बनाएको, सुकेटार विमानस्थलको नाम परिवर्तन गरी रविन्द्र अधिकारी विमानस्थल बनाएको लगायतका आरोप लगाए ।
यसको एक सातापछि कांग्रेस जिल्ला कार्य समितिका पूर्वसभापति दिपेन्द्र सेन्दाङले आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी पुगेर भट्टराईलाई नग्याउनु पर्ने र सके मोसो दल्नुपर्ने आक्रोश पोखे । वामदेव गौतम गृहमन्त्री हुँदाको मुख्य योजनाकार तथा कालो बजारीकरण गर्नेको नाइके भएको लान्छना लगाए । दुवैले दिएको अभिव्यक्तिको भिडियो माओवादीको भातृ संगठन वाईसीएलका जिल्ला अध्यक्ष कैलाश लिम्बूले आफ्नो फेसबूक पेजबाट सार्वजनिक गरे ।
प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार सञ्जुहाङ पालुङवाले आफ्नो घोषणा पत्रमा भट्टराईको नाम नलिई ताप्लेजुङबाट जितेर जाने जनप्रतिनिधिले गरेका ‘जनघाती’ काम भन्दै सूची सार्वजनिक गरे । नेपाल वायु सेवा निगमलाई नीजिकरण गरी १ खर्बभन्दा बढी रहेको सम्पत्तिलाई ५० अर्बमा बेच्ने प्रयास गरेको, विभिन्न देशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन निजी विमान प्रयोग गरेको लगायतका आरोप लगाएका छन् । स्वतन्त्र सहित ११ उम्मेदवार रहेको प्रतिनिधिसभाका मुख्य प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका खेलप्रसाद बुढाक्षेत्री र एमालेका भट्टराई छन् ।
स्थानीय तह निर्वाचनलाई नियाल्ने हो भने उनीहरूबीच तीब्र प्रतिस्पर्धा छ । धेरैको आँखाको तारोचाहिँ भट्टराई बनेका छन् । एमालेका निवर्तमान जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्सोहाङले उनी राष्ट्रिय नेता भएकाले यो स्वाभाविक ठान्छन् । ‘सामाजिक सञ्जालमा हेर्यो भने यतिबेला कांग्रेसका शेरबहादुर देउवा, एमालेका केपी ओली, माओवादीका प्रचण्डलगायतको धेरै आलोचना देखिन्छ,’ उनले भने, ‘राष्ट्रिय नेता भए पछि देशभरिबाट आलोचना, समर्थन दुवै हुनु स्वाभाविक रहेछ ।’
आलोचनासॅगै समर्थन पनि उत्तिकै रहेको साम्सोहाङको दाबी छ । माओवादीले आफू नबोलेर कांग्रेसलाई उत्तेजक बनाएर प्रयोग गरेकोमा उनको चित्त दुखाइ छ । ‘माओवादी साथीहरू कांग्रेस नेताले उत्तेजक भएर बोलेको जति काटेर सामाजिक सञ्जालमा हाल्नुहुन्छ,’ साम्सोहाङको प्रश्न छ, ‘उहाँहरूले बोलेका अरु कुराचाहिँ किन नहाल्या ? भट्टराई र बुढाक्षेत्री आफ्नो मुख्य प्रतिस्पर्धी रहेको दाबी गर्ने जनता समाजवादी पार्टीका उम्मेदवार चन्द्र मादेन पाँच वर्षमा गर्न नसकेका कामको विषयमा आफूले टिप्पणी गरेको बताउँछन । ‘प्रमाण नपुग्ने र हावादारी विषयमा म प्रश्न उठाउँदिन तर उहाले आश्वासन दिएर गर्न नसकेका काम माथि टिप्पणी गरेको छु,’ मादेनले भने । सामाजिक सञ्जाल र सम्बोधनको क्रममा उठेका सवालहरूको भट्टराईले विज्ञप्ति निकालेर जवाफ दिएका छन् ।
पहिचान विरोधीको आरोप खेपेका उनले संविधानको प्रस्तावनामा लेखिएको विशेषताप्रति एमालेको पूर्ण विश्वास र प्रतिबद्धता रहेको उल्लेख गरेका छन् । ‘किरात धर्मगुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गर्दै उहाँको जन्मजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय हाम्रै पार्टीका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेको स्मरण गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ ।
तिम्बुङ पोखरी, फुङफुङे झरनालाई नेपालका सय पर्यटकीय गन्तब्यमा राखेर वजेट विनियोजन गरिएको, उक्त पोखरीको नाम परिवर्तन गर्न नखोजिएको सुकेटार विमानस्थलको नामका विषयमा आफुले त्यही बेला सामाजिक सञ्जालबाट आपत्ति जनाएको उल्लेख गरेका छन । कुनै पनि गलत सूचनाको भ्रममा नपरी मंसिर ४ मा हुने चुनावमा मतदान गरिदिन उनले अपिल गरेका छन् । ८८ हजार २ सय ८५ मतदाता रहेको जिल्लामा गत स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेबीच पूर्ण गठबन्धन भएको थियो भने नेकपा एससॅग आंसिक भएको थियो । ६१ वटा वडा रहेको ताप्लेजुङमा एमालेले २४ हजार ९ सय ९५, कांग्रेसले १८ हजार ६ सय १८, माओवादी ४ हजार ४ सय ९७, स्वतन्त्र १ हजार ९ सय ७२, नेकपा एस ८ सय ५४, जसपा ५ सय ४१ र राप्रपाले ३ सय ९७ मत प्रात गरेका छन् ।
प्रदेश सभा १ मा एमाले १२ हजार १ सय २५, कांग्रेस ९ हजार ३ सय २३, माओवादी २ हजार ९, स्वतन्त्र १ हजार ७ सय ९५, लिम्बूबान ५ सय ६१, एस ४ सय ८३ र राप्रपाले ३ सय ७९ मत ल्याएका थिए । प्रदेश सभा २ मा एमाले १२ हजार १ सय ७०, कांग्रेस ९ हजार २ सय ९५, माओवादी २ हजार ४ सय ८८, जसपा ५ सय ४१, एसको ३ सय ७१ छ ।
